विकासन्युज

सेञ्चुरी कमर्शियल बैंकको गण्डकी प्रदेशमा नयाँ ८ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेशका विभिन्न स्थानमा ८ वटा शाखा कार्यालयहरु एकैसाथ सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेश कार्यालयको उद्घाटन प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका थिए । ८ वटा शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानिय जनप्रतिनिधि, स्थानिय व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । गत असारसम्म मसान्तसम्म बैंकले ६१ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

मिर्मिरे लघुवित्तको सेयर रजिष्टारमा नेपाल एसबीआई मर्चेन्ट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्टार सम्बन्धित सबै काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ । एसबीआईले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने छ । शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि मिर्मिरे र नेपाल एसबीआईबीच सम्झौता भएको छ । नेपाल एसबिआईका प्रबन्ध संचालक रमेश घिमिरे र मिर्मिरेका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

वाणिज्य बैंकलाई भारुमा ऋण लिन बाटो खुल्यो, हाउजिङ, घरजग्गा र रियलस्टेटमा लगानी गर्न नपाइने

  काठमाडौं । वाणिज्य बैंकहरुले भारतीय रुपैयाँ (भारु) मा भारतबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट बैंकले बुधबार निर्देशन जारी गरी प्राथमिक पुँजीको २५ प्रतिशत मात्र भारुमा ऋण लिने बाटो खुला गरेको हो । सो रकम बैंकले जलविद्युत, विद्युत प्रसारणलाइन, सडक, लघुवित्त र पर्यटन क्षेत्रमा लगानी गर्न पाउने छन् । हाउजिङ, घरजग्गा र रियलस्टेटमा भने लगानी गर्न नपाउने व्यवस्था गरेको राष्ट बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुगानाले बताए । \उनका अनुसार भारुमा लिएको कर्जाको अवधि न्युनतम १ वर्षदेखि ५ वर्षसम्म हुनेछ । ऋणदाताले सहमति जनाएमा समय थप गरिने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । भारत सरकारले जारी गरेको टेजरी विल्सको औसत डिस्काउन्ट दरमा १ प्रतिशत प्रिमियम थप गरि लिन सक्ने व्यवस्था गरेको छ । सो कर्जामा ब्याज बाहेक कुनै शुल्क लाग्नु नहुने राष्ट बैंकले जनाएको छ । विदेशबाट ऋण लिदा बैंकले धितो र ग्यारेन्टी लिन नपाउने व्यवस्था गरिएको छ । नेपाल बैंकर्स संघको सुझावका आधारमा केन्द्रीय बैंकले भारुमा विदेशबाट ऋण लिने व्यवस्था गरेको हो । यो व्यवस्थाले गत वर्षको जस्तो लगानीयोग्य पुँजीको अभाव नहुने अपेक्षा गरिएको छ । डलरमा ऋण लिदा महंगो पर्ने भएको भन्दै बैंकहरुले भारुमा ऋण लिन पाउने व्यवस्था गर्न माग गरेका थिए ।यसअघि नै केन्द्रीय वैंकले परिवत्र्य मुद्रा डलर र युरोमा पनि विदेशबाट ऋण लिन बाटो खुला गरेको थियो । डलरमा ल्याउने ऋण महंगो र जोखिम बहन गर्नका लागि हेजफण्ड पनि नभएको बैंकहरुले ८० अर्ब रुपैयाँ भन्दा बढी विदेशबाट ऋण लिन पाउने छन् ।

म्याराडोनाले भने-‘अब अर्जेन्टिनाको प्रशिक्षक मै बन्छु’

काठमाडौं । फुटबलका राजा भनेर चिनिने डिएगो म्याराडोनाले आफु अर्जेन्टिनाको प्रशिक्षक बन्न चाहेको बताएका छन् । उनले बिना पारिश्रमिक नै प्रशिक्षक बन्न चाहेको बताएका हुन् । सामाजिक सञ्जालमा अर्जेन्टिनाका पत्रकारसँग रिसाउदै भनेका छन् “मेरा दाजुभाई म अझै अर्जेन्टिनाको प्रशिक्षक बन्न सक्छु र दाबेदार पनि हुँ, म सम्झन्छु जब मैले खेलेको, मलाई अझै पनि त्यो शक्ति कायमै छ । तर मलाई किन कसैले पनि बुझ्न चाहदैनन् । मलाई धेरै दुख लागेको छ ति पत्रकार जसले मलाई प्रशिक्षकको सूचिमा राखेनन्, म उनिहरुलाई भन्न चाहान्छु हामी अर्जेन्टाइन हौं ।” म्याराडोनाले सन् २०१० को विश्वकप खेलाएका थिए । अफ्रिकामा भएको प्रतियोगितामा अर्जेन्टिना जर्मनीसँग ४ गोल खादै क्वाटरफाइनलबाटै बाहिरिएको थियो । हाल म्याराडोना बेलारुसको डाइनामो फुटबल क्लबसँग ३ वर्षे सम्झौता गरेका छन् ।अर्जेन्टिनाको फुटबल एशोसिएसनले जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको छ ।

मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा

काठमाडौं। दश वर्षको अवधिमा चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जले ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरेको छ । सो अस्पतालले नेपालमा पहिलोपटक २०६५ साउन २४ मिर्गाैला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण कार्यको नेतृत्व डा दिव्यासिंह शाहले गर्नुभएको थियो । उहाँलाई अष्ट्रेलियाली प्रा डा डेभिड फ्रान्सिसले सहयोग गर्नुभएको थियो । प्रत्यारोपण भएकामध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन् । यसैगरी १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या आठ रहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । हप्तामा दुईवटा प्रत्यारोपण कार्य शुरु गरेको अस्पतालले यसलाई निरन्तरता दिँदै आएको छ । प्रत्यारोपणका क्रममा १७ जनाको मृत्यु भएको छ। अस्पतालले आर्थिक अभावका कारण प्रत्यारोपणका लागि आवश्यक परीक्षण गर्ने प्रयोगशाला (एचएलए) स्थापना गर्न नसक्दा भारतमा पठाउनुपर्ने बाध्यता छ । प्रत्यारोपणको दशौँ वार्षिकोत्सवका अवसरमा अस्पतालद्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पताललाई प्रत्यारोपणका लागि आवश्यक पर्ने आर्थिक एवं उपकरण सहयोग गर्ने जानकारी दिनुभयो । सरकारी अस्पतालमा राज्यको ठूलो लगानी रहेको तर स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताउँदै उहाँले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । मन्त्री यादवले भन्नुभयो, “जनताको घर आँगनमा आधारभूतसहित विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउनु सरकारको पहिलो कर्तव्य हो, यस कार्यमा म जुटिरहेको छु, सहयोग गर्न आग्रह गर्छु ।” सरकारी अस्पतालमा जडान भएका उपकरण चाँडै बिग्रने र त्यस्तै उपकरण निजीमा हतपत किन बिगिँ्रदैन भन्ने प्रश्न गर्दै मन्त्री यादवले देश ग्रामीण भेगले बनेको छ, चिकित्सक शहरमा बस्दछन् अब समन्वय जरुरी छ भन्नुभयो । सो अवसरमा पहिलोपटक मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण योगदान पु¥याएका चिकित्सक तथा नर्सलाई सम्मान गरियो । सम्मानित हुनेमा प्रा डा भोलाराज जोशी, प्रा डा महेश खकुरेल, प्रा डा कनकबहादुर रावत, प्रा डा गुणकुमार श्रेष्ठ, प्रा डा दिव्यासिंह शाह, प्रा डा प्रेमराज ज्ञवाली, प्रा डा उत्तमकुमार शर्मा, प्रा डा लोकराज मरहठ्ठा, प्रा डा डेभिड फ्रान्सिस र उपप्रशासक कृष्णदेव पन्त हुनुहुन्थ्यो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा तीर्थराज खनियाँले आगामी दिनमा चिकित्सा अध्ययन संस्थानको क्षमता बढाउन सहयोग थप्दै जाने बताउनुभयो । मिर्गौैला रोग विशेषज्ञ प्रा डा शाहले अध्ययन संस्थानले मिर्गाैला प्रत्यारोपण गरी नयाँ युगको शुरुआत गरेको भन्दै आगामी दिनमा यसको क्षमता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “प्रत्यारोपणको दिनसम्म आइपुग्न विभिन्न कठिनाइ आइप¥यो, यसलाई सहजतापूर्वक समाधान गर्दै नयाँ इतिहास बनाउने काम गरियो ।” सम्मानित प्रा डा फ्रान्सिसले पहिलो प्रत्यारोपण कार्य अन्तर्राष्ट्रिय मापदण्डभन्दा उच्च रहेको स्मरण गर्दै नेपाली चिकित्सकका ज्ञान, सीपको उच्च प्रशंसा गर्नुभयो । अर्का मिर्गौला रोग विशेषज्ञ प्रा डा उत्तमकुमार शर्माले मिर्गाैला प्रत्यारोपणका लागि छुट्टै केन्द्र स्थापना गर्न माग गर्नुभयो।रासस

नेपाली धरहरामा चिनियाँ लडाइँ, दुताबासको पत्र कुर्दै प्राधिकरण

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले असार २० गते धरहरा निर्माणका लागि आवेदन दिएका ५ वटा कम्पनीलाई प्रारम्भिक छनौट गर्यो । प्राधिकरणले असार २६ गते आर्थिक प्रस्ताव खोल्ने जनाएको थियो तर प्रारम्भिक छनौटमा परेकै मध्येको एउटा कम्पनीले उजुरी गर्यो र प्रधानमन्त्री कार्यालयमा बोधार्थ पठायो । असार २६ गते ११ बजे आर्थिक प्रस्ताव खोल्ने तयारीमा थियो प्राधिकरण तर कार्यालय समय सुरु हुने वित्तिकै प्रधानमन्त्री कार्यालयबाट पत्र आयो । पत्रमा लेखिएको थियो–धरहराको ठेक्का प्रक्रिया तत्काल रोक्नु । त्यसरी प्रक्रिया रोक्न अनुरोध गर्दै उजुरी दिने कम्पनी थियो सिआईसिओ कालिका–रसुवा जेभी । यो कम्पनी धरहरा निर्माणका लागि आवेदन दिएर प्रारम्भिक छनौट सूचिको पाँचौं नम्बरमा थियो । ‘हामी प्रारम्भिक छनौटमा परेका कम्पनीहरुको वित्तिय प्रस्ताव खोल्ने तयारीमा थियौं, एक्कासी प्रक्रिया रोक्नु भनेर प्रधानमन्त्री कार्यालयबाट पत्र आयो’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखा प्रमुख राजुमान मानन्धरले भने । छनौटमा परेकै कम्पनीले उजुरी हाल्नुलाई भने उनले पनि आश्र्चयको कुरा बताए । नेपालका नामुद दुई वटा निर्माण व्यवसायी कम्पनी कालिका कन्स्ट्रक्सन र रसुवा कन्स्ट्रक्सनले चिनियाँ कम्पनी सिआईसीओसँग मिलेर धरहरा बनाउन आवेदन दिएका थिए । धरहरा बनाउन ६ वटा कम्पनीले आवेदन दिएका थिए । तीमध्ये पाँच वटा प्रारम्भिक छनौटमा पर्न सफल भए । ती सबै कम्पनी चिनियाँ जेभीका थिए । अर्थात पाँच वटै चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग जेभीमा आवेदन दिएका थिए । प्रारम्भिक छनौटमा परेर पनि किन प्रक्रिया रोक्न उजुरी दिएको भन्ने प्रश्नको जवाफमा कालिका कन्स्ट्रक्सनका निर्देशक पदम गुरुङले भने–प्राधिकरणले प्रारम्भिक छनौट गर्दा आवेदक कम्पनीहरुको राम्रोसँग अध्ययन गरेको छैन्, बिधि पुर्याएर मात्रै प्रारम्भिक छनौट हुनुपर्छ भनेर हामीले उजुरी दिएका हौं ।’ गुरुङले नेपालमा आएका धेरै चिनियाँ कम्पनीहरु बदनाम रहेको, चिनियाँ सरकारको कालोसूचिमा रहेको बताउँदै उनीहरुमाथी छानविनको माग पनि गरे । प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन अनुसार नै प्राधिकरणले धरहरा निर्माणका लागि नेपाल कम्पनीसँग जेभी गरेका चिनियाँ कम्पनीहरुको अवस्था बुझिदिन नेपालस्थित चिनियाँ दुताबासलाई पत्र लेखेको छ । ‘धरहरा बनाउन जेभी गरेका सबै चिनियाँ कम्पनीहरुको अवस्थाबारे बुझिदिन आग्रह गरेर चिनियाँ दुताबासलाई पत्र पठाएका छौं, त्यहि पत्रको प्रतिक्षामा बसेका छौं’, प्राधिकरणको सम्पदा महाशाखा प्रमुख मानन्धरले भने । चिनियाँ दुताबासले कम्पनीहरुको अवस्थाबारे अध्ययन गरेर पत्र पठाएपछि मात्रै अब धरहरा निर्माणको प्रक्रियाले गति लिनेछ । नेपाली धरहरामा चिनियाँ कम्पनीहरुको लडाइँले निर्माण प्रक्रिया नै रोकिएको छ भने दुताबासको पत्र कुर्नुपर्ने अवस्थामा प्राधिकरण पुगेको छ । नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड(भ्याट र १० प्रतिशत मूल्य वृद्धि)सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ । ४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्ष्भित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्ट राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्काेले ८ जनालाई ओराल्ने छ । त्यसका अलवा धरहरामा भर्याङ समेत निर्माण हुनेछ ।

नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री

काठमाडाैं। अर्थमन्त्री डा युवराज खतिवडाले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताएका छन् । विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराए । उनले नेपालले आर्थिक विकासको लागि लिएको रणनीतिको बारेमा जानकारी गराउँदै दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेकाे बताएका छन् । विश्व बैंकसँग आगामी पाँच वर्षे लगानीको ढाँचा पारित गर्न अनुरोध गर्दै अर्थमन्त्री डा खतिवडाले विश्व बैंकसँगको सहकार्यले नेपालको आर्थिक-सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । यसैबीच खतिवडाले विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरबीच पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अङ्गीकार गरेका सङ्घीयता कार्यान्वयनका सन्दर्भमा राखेका जिज्ञासामा डा खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित भएका करीब ३६ हजार जनप्रतिनिधिमार्फत जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट गरेका थिए । नेपालका आर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै उनले यसमा सरकार निजी क्षेत्रसँग मिलेर कार्य गर्न तत्पर रहेको बताए । मन्त्री डा खतिवडाले सङ्घीयताको व्यवस्थापन र विकासको लागि आन्तरिक साधन र स्रोतमात्र पर्याप्त नहुने भएकाले विश्व बैंकसँग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको बताएका छन् । विश्व बैंकका क्षेत्रीय उपाध्यक्षले नेपालले छोटो समयमा राजनीतिक रूपमा हासिल गरेको परिवर्तन उत्साहजनक रहेको बताउँदै विश्व बैंक समूह एकीकृत रुपमा नेपालको प्राथमिकताको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्न र निजी क्षेत्रमा लगानी बढाउन तयार रहेको जानकारी दिएका छन् । उनले विश्व बैंकको अन्तर्राष्टिय नियोगका अतिरिक्त क्षेत्रीय कोषबाट नेपालको ऊर्जा, यातायातलगायतका पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्रीसँग विश्व बैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकलगायतका पदाधिकारीले पनि भेट गरेर हालको ऊर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने लगानीका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा डा खतिवडाले नेपालको तत्काल चालु आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न अनुरोध गरेका छन् । अर्थमन्त्रीले ऊर्जा क्षेत्रमा कानूनी, संरचनागतलगायतका सुधार गरी लगानीमैत्री वातावरण सिर्जनाका लागि सरकार प्रतिबद्ध रहेको बताए । विश्व बैंकको सो टोलीले नेपालको ऊर्जा क्षेत्रको विकासमा बैंक समूहबाट गर्न सकिने सम्भावित सबै सहयोग उपलब्ध गराउन तत्पर रहेको र उपयुक्त अवसरको प्रतीक्षा गरेको बताउँदै क्षेत्रीय ऊर्जा विकासको सम्भावनाबारे चर्चा गरेका थिए । विश्व बैंकका कार्यबाहक प्रमुख अर्थशास्त्री सान्ता देवराजनले समेत अर्थमन्त्रीसँग भेटघाट तथा छलफल गरेका थिए । सो अवसरमा अर्थमन्त्रीले नेपालले केही दशक अगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासहरूबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधारहरू थालनी गरेको जानकारी दिएका छन् । कार्यक्रममा देवराजनले नेपालले वित्तीय क्षेत्रमा गरेका सुधारको प्रशंसा गर्दै विश्व बैंकले आफ्ना असल अभ्यासहरू नेपालसँग आदानप्रदान गर्दै जाने बताए । तीन दिनसम्म चल्ने नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । बुधवार(आज) सकिने यस बैठकले नेपालको लगानीसम्बन्धी ढाँचा पारित गर्ने अपेक्षा गरिएको छ । रासस

हकप्रदपछि प्रोगेसिभ फाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । बुधबार प्रोगेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले फाइनान्सको २८१ प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १०७.३५ रुपैयाँ रहेको छ । जसको औषत आधार मूल्य प्रतिकित्ता ११७.१७ रुपैयाँ रहेको थियो ।