मेलम्ची सहित खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिवार्य लिनुपर्ने
काठमाडौं । बहु चर्चित मेलम्ची खानेपानी आयोजना तथा अन्य खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिवार्य रुपमा लिनु पर्ने भएको छ । ‘नेपालको संविधान २०७२’ को मौलिक हक अन्र्तगत धारा ३५ उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि व्यवस्था गरिएको छ । सोहि व्यवस्था अनुसार नागरिकले पिउने पानी स्वच्छ रहेको सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्ह अनिर्वाय गर्न भनिएको हो । मंगलबार बसेको संसद विकास समितिको बैठकले खानेपानी मन्त्रालायलाई यस्ताे निर्देशन दिएको हो । अब उपत्यकामा वितरण गरिने भनिएको बहुप्रतिक्षित मेलम्चीको पानीले समेत नेपाल गुणस्तर चिन्ह लिनु पर्ने छ । संसदको बैठकमा खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नगरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन वार्षिक १ खर्ब बजेट आवश्यक पर्ने तर अहिले ३४ अर्बमा काम गरिरहनु परेको गुनासो पोखेकी थिइन् । खानेपानीले गुणस्तर चिन्ह लिनका लागि आफैं प्रक्रिया सुरु गर्नुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । “हामीलाई पानीको गुणस्तर अनुगमन गर्ने अधिकार छैन तर गुणस्तर चिन्न लिन चाहेमा संस्थान तथा कम्पनीले लिन सक्नेछन्, महानिर्देशक पुडासैनीले भने तर हामीले बेला बेला गुणस्तर चेक जाँच गरी सहयोग भने गर्ने गरेका छौं ।”
महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने, पुँजी २ अर्ब ८४ करोड पुग्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/२०७५ को मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद र ८ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने छ ।
तीन वर्षमा १५ अर्ब नाफा गर्ने एनआईसी एशियाको घोषणा, बोनस सेयरबाट पुँजी १० अर्ब ६६ करोड बनाइने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आगामी तीन आर्थिक वर्ष अवधिमा १५ अर्ब रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ । यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ मात्र खुद नाफा गरेको छ । थोरै नाफा गरेकाले सेयरधनीबाट आलोचना खेपिरहेको यस बैंकले लगानीकर्तालाई भविष्यप्रति आशावादी बनाउने प्रयत्न गरेको छ । बैंकले चालु आर्थिक वर्षमा २ अर्ब ७५ करोड, आगामी आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब १९ करोड र २०७७/७८ मा ७ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ । बैंकले गत वर्ष, चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दुबै दिने जनाएको छ भने तेस्रो आर्थिक वर्ष २०७७/७८ मा नगद लाभांश मात्र दिने जनाएको छ । बैंकले बोनस सेयर दिएर चुक्ता पुँजी तीन वर्षमा १० अर्ब ६६ करोड पुर्याउने उल्लेख गरेको छ । २०७८ असार मसान्तमा बैंकको जगेडा तथा कोषहरु १२ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने जनाएको गरेको छ । तीन वर्षको अवधिमा निक्षेप ३ खर्ब ५० अर्ब, कर्जा लगानी २ खर्ब ५८ अर्ब, पुँजी बजारमा लगानी ४६ अर्ब पुर्याउने जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा २८ रुपैयाँ हुने, आगामी आर्थिक वर्षमा ४८ रुपैयाँ पुग्ने र तेस्रो वर्षमा प्रति सेयर आम्दानी ६५ रुपैयाँ नाघ्ने प्रक्षेपण गरेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । बैंकले १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने क्रममा उक्त विवरण सार्वजनिक गरेको हो । ११ प्रतिशत व्याज दिने गरी ७ वर्ष अवधिको लागि बैंकले ऋणपत्र निष्काशन गरेको छ । ऋणपत्र खरिदका लागि भदौ २१ गतेदेखि आवेदन खुला गरिएको छ । आवेदन छिटोमा २५ गते र ढिलामा असोज १९ गते बन्द गरिने बैंकले जनाएको छ । यसको निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्क लिमिटेड रहेकाे छ ।
महालक्ष्मी लाइफको लाइसेन्स प्रक्रिया अघि बढाउन सर्वोच्चको परमादेश
काठमाडौं । सर्वाेच्च अदालतले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिएको छ । सर्वाेच्च अदालतले असार १४ गतको अन्तरिम आदेशलाई निरन्तरता दिँदै तोकिएको पुँजी र संस्थापक पुर्याई ३० दिन भित्र निवेदन दिन आएमा दर्ता गर्ने प्रक्रिया अघि बढाउन बीमा समितीका नाममा परमादेश जारी गरेको हो । सर्वाेच्चको परमादेशसँगै महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पुँजी र संस्थापकहरुको अद्यावधिक विवरणसहित बीमा समितिमा पेश गरेको छ । ‘कम्पनीले पुँजी र संस्थापकहरुको विवरण बुझाएको छ, हामी अध्ययन गरिरहेका छौं’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले भने । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा अजेयराज सुमार्गीसहित मेगा बैंक, ओम डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक लगायतको लगानी रहेको छ । महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट मनोरञ्जन रमण शर्माले सर्वाेच्च अदालतमा २०७४ असोज २७ गते रिट दायर गरेका थिए । यस अघि बीमा समितिले उपलब्ध गराएको समय सिमा भित्र पूँजी पुर्याउन नसकेपछि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी प्रक्रियाबाट बाहिरिएको थियो । कम्पनीले पूँजी पुर्याउने समय ४५ दिन थपिदिन आग्रह गर्दै बीमा समितिमा निवेदन दिएको थियो तर समितिले समय थप्न अस्विकार गरिदियो । त्यसपछि कम्पनीले सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो ।
भदौ १३ देखि १५ सम्म जोर-बिजोर प्रणाली, हेर्नुहोस् यो रुटमा हुनेछ ट्राफिक प्रभावित
काठमाडौं । भदौ १३, १४ र १५ गते उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित हुने भएको छ । ७ देशका राष्ट्र प्रमुखको सवारी हुने भएकोले ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको हो । भदौ १३, १४ र १५ गते सवारी साधनलाई जोर-बिजोर आधारमा सवारी सञ्चालन हुने महानगरीय प्रहरी प्रमुख डीआइजी मनोज न्यौपानेले बताए । उनका अनुसार १४ गते हुने बिमिस्टेकको उद्घाटनका लागि केहि समय सडक अवरुद्ध हुन सक्नेछ । ‘हामीले ट्राफिक व्यवस्थापनको तयारी अन्तिम चरणमा पुर्याएका छौं, भीआइपी पाहुनाको सवारी हुँदा पुरै सडक खाली गर्ने कि नगर्ने भन्ने विषयमा थप निर्णय हुन बाँकी रहेको छ, प्रमुख न्यौपानेले विकासन्युजसँग भने । १३ गतेदेखि सवारी जोर-बिजोर आधारमा सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजकुमार लम्सालले बताए । उनका अनुसार उपत्यका बाहिर जान चाहने सवारीले बिहान ६ बजेअघि नै गैसक्नु पर्नेछ । यो तोकिएको दिन प्रतिबन्ध लाग्ने सवारीलाई मात्र लागू हुनेछ । अतिथीहरु भदौ १३ गतेदेखि काठमाडौं आउन सुरु हुने भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि अतिथी बस्ने होटलसम्म एकतर्फी मात्र सवारी सञ्चालन हुनेछ । भदौ १४ गते थाइल्याण्डका प्रधानमन्त्री र भारतिय प्रधानमन्त्री काठमाडौं आउने कार्यक्रम भएको कारण धेरै ट्राफिक समस्या हुने अनुमान गरिएको छ । दुई प्रधानमन्त्रीलाई होटलसम्मको यात्रा र होटलबाट राष्ट्रपति विद्यादेवी भण्डारीले दिने दिवा भोजको लागि शितल निवास प्रस्थान गर्नेछन् । दिवाभोज पछि सबै अतिथिहरु लाजिम्पाट, लैनचौर, जमल, शहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टी होटल पुग्ने कार्यक्रम रहेको छ । अतिथि सवारीको समयमा पुरै सडक खाली गर्ने कि नगर्ने विषयमा निर्णय भै नसकेको प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार अतिथिहरु २० देखि २५ मिनेटसम्म कार्यक्रम स्थलमा पुगि सक्नेछन् । यसकारण सर्वसाधरणले धेरै समस्या बेहोर्ने नपर्ने न्यौपानेले बताए । कार्यक्रम सकिएपछि अतिथीहरु होटल फर्किन पनि केहि समय ट्राफिक प्रभावित हुनेछ । अतिथि सवारीका लागि सरकारले विदेशी सवारीको प्रयोग गर्ने बताएको छ ।
महालक्ष्मी विकास बैंक बिराटनगरको मोरङमा पनि
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बिराटनगरको मोरङमा नयाँ शाखा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरेका छन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैकिङ पहुँच पुर्याउने उद्देश्यका साथ यस बैंकले आगामी दिनहरुमा थप शाखामार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
महिन्द्राको ‘प्लस न्यु एक्सयूभी५००’ गाडी नेपाली बजारमा, मूल्य ८४ लाख ९५ हजार
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले नेपाली बजारमा ‘प्लस न्यु एक्सयूभी५००’ नामक नयाँ गाडी अनावरण गरेको छ । सोमबार नक्सालको महिन्द्रा शोरुम अग्नि इन्कर्पोरेटेड प्रालीमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो । आकर्षक तथा नयाँ डिजाइन भएको उक्त गाडी विभिन्न विशेषताले भरिपूर्ण रहेको छ । आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्क युक्त ‘प्लस न्यु एक्सयूभी५००’ ले उत्कृष्ट एसयूभी(सर्पोटस् यूटीलिटी भेकल) समूहमा एउटा नयाँ मापदण्ड कायम गरेको कम्पनीले बताएको छ । गाडीकाे उन्नत लचिलोपना तथा शान्त क्याबिनले अझ आरामदायी यात्राको अनुभूति दिने छ । एमह्वाक१५५ इंजिनजडित नयाँ एक्सयूभी५०० ले १५५ हर्स पावर र ३६० एनएम टक्र्यिुको शक्ति दिन्छ । छैठौँ पुस्ताको विद्युतीय रूपमा नियन्त्रित भेराइएबल जिओमेट्री टुर्बोचार्जर(ईभीजीटी)ले ‘प्लस न्यु एक्सयूभी५००’ को सवारीलाई अझ बढी ऊर्जा युक्त र उत्कृष्ट बनाउँने यस गाडीको मूख्य विशेषता हो । कम्पनीका अनुसार ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पस् सहितको विद्युतीय सनरुफ, न्यु स्मार्ट वाच कनेक्टीभिटी, जीपीएस नेभिगेसनयुक्त १८ सेमी (७इंच) टचस्क्रिन इंफोटेन्मेन्ट, आदिले यस नयाँ गाडीको सवारीलाई अझ बढी गुणस्तरीय बनाउँछ । त्यस्तै, गाडीमा छ वटा एयरब्याग, एबीएस वीथ ईबीडी र आफ्नो श्रेणीमा आकस्मिक कल गर्न सकिने छ । यस गाडीका पांग्राहरूमा डिस्क ब्रेकहरू जडित छन् जसले गर्दा गाडी उकालोमा पनि सन्तुलित रहने र ओरालो लाग्दापनि नियन्त्रणमा रहने कम्पनीले जनाएको छ । ‘प्लस न्यु एक्सयूभी५००’ गाडी अनावरण गर्ने क्रममा महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभाग (दक्षिण एशिया)का उपाध्यक्ष सञ्जय जादवले ‘प्लस न्यु एक्सयूभी५००’ अनावरणसँगै नयाँ मापदण्डहरू कायम गरिएको बताएका छन् । त्यसैगरी, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले ‘प्लस न्यु एक्सयूभी५००’को नयाँ स्वरूप र नयाँ विशेषताहरूले ड्राइभिङको आनन्द र उत्साह झन् बढाउने बताएका छन् । नेपाली बजारमा ‘प्लस न्यु एक्सयूभी५००’ गाडीको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । जुन गाडी महिन्द्राको जुनसुकै संजाल/शाेरूम मार्फत् सजिलै उपलब्ध गर्न सकिने छ ।
म्यानमारमा अल्पसंख्याक मुस्लिम मार्ने सेनापतिलाई नरसंहार मुद्धा
जेनेभा । एएफपी । संयुक्तराष्ट्र संघका अनुसन्धाताहरुले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकको जातीय नरसंहारमा म्यान्मारका सेना प्रमुख र पाँचजना उच्च सैनिक कमान्डर दोषी देखिएकाले उनीहरुमाथि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले सोमबार प्रकाशन गरेको प्रतिवेदनमा म्यान्मारको यस घटनाको स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने पनि जनाएका छन् । म्यान्मारले गतवर्ष अगस्टमा रखाइन राज्यमा गरेको निर्मम दमनबाट जोगिन करिब ७००,००० रोहिङ्ग्या मुस्लिम समुदाय भागेर बंगलादेशमा आश्रय लिन पुगेका थिए । म्यान्मार सेनाले रोहिङ्ग्या पृथकतावादीको खोजीका नाममा मुस्लिम समुदायका घरहरुमा अन्धाधुन्ध आगजनी, हत्या र बलात्कार गरेको आरोप छ । म्यान्मारले जातीय सफायाको आरोपको जोडदार रुपमा खण्डन गर्दै रोहिङ्ग्या विद्रोहीका आक्रमणको जवाफ मात्र दिएको बताउँदै आएको छ । तर सोमबार जारी पछिल्लो प्रतिवेदनमा “म्यान्मारका सेनाप्रमुख मीन आङ हाइङ समेतका उच्च सैनिक नेतृत्वमाथि छानबिन गर्नुपर्ने र जातीय सफायाको मुद्दा चलाउनुपर्ने” उल्लेख छ । प्रतिवेदनमा सेनामाथि रखाइन, काचीन र शान राज्यमा मानवता विरुद्धको अपराध र युद्ध अपराधको मुद्दा चलाउनुपर्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “सेनाले सुरक्षा चुनौतीको यथार्थपरक परिस्थिति निर्माण नहुँदै जथाभावी आफ्ना नागरिकमाथि जाइलागेको देखिएको छ ।” मार्च २०१७ मा राष्ट्रसंघीय मानव अधिकार परिषदले गठन गरेको राष्ट्रसंघीय मिसनले प्रतिवेदनमा भनेको छ, “म्यान्मार सेनाको कमान्डका उच्च सैनिक अधिकारीहरुमाथिको अनुसन्धान र अभियोजन लगाउन पर्याप्त सूचना हामीले पाएका छौं । रखाइन राज्यमा भएका सैनिकका अपराधहरु जातीय नरसंहारको प्रकृति, गम्भीरता र क्षेत्रलाई आकर्षित गर्ने किसिमका छन् र तिनीहरु तथ्यपूर्ण छन् ।” प्रतिवेदनमा नोबेल पुरस्कार विजयी म्यान्मारकी लोकप्रिय नेतृ आङ सान सूकीको पनि आलोचना गरिएको छ । नेतृ सूकीले रोहिङ्ग्या समुदायमाथिको कारबाही रोक्न सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीमा रहेपनि केही काम गर्न नसकेको प्रतिवेदनमा भनिएको छ । राष्ट्रसंघीय अनुसन्धाताहरुलाई म्यान्मार प्रवेशमा रोक लगाएको थियो, तर अनुसन्धाताहरुले ८५७ जना पीडित र प्रत्यक्षदर्शीसँग अन्तर्वार्ता लिएका थिए । उनीहरुले भूउपग्रहीय तस्वीर र आधिकारित कागजात, अन्य तस्वीर र भिडियोका आधारमा निष्कर्ष निकालेका हुन् । प्रतिवेदकहरुले म्यान्मार सेनाले रखाइन राज्यका कम्तीमा १० वटा गाउँमा महिला र बालिकाहरुको सामूहिक बलात्कार गरेको जनाएका छन् । “यी घटनाक्रमको अध्ययनले बलात्कार र यौनहिंसाको सहायताबाट आममानिसलाई तर्साउने, आतङ्कित बनाउने वा सजाय दिने नियत प्रष्ट देखिन्छ ।” सेनाले फेसबुकको प्रयोग समेत गरी मुस्लिम समुदाय विरुद्ध घृणा फैल्याएको प्रतिवेदनमा उल्लेख छ ।