५ मिनेटको चार्जमै २ घण्टा बोल्न पाइने ‘ओपो एफनाइन’ मोबाइल बजारमा, मूल्य ४५ हजार रुपैयाँ
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ‘ओपो एफनाइन’ मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याशचार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सहित उक्त मोबाइल बजारमा सार्वजनिक गरिएको हाे । सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा एफनाइन उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । तीमध्ये सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोर मार्फत भदौ १४ गतेदेखि बिक्रि शुरु गरेको छ भने स्टारी पर्पलका लागि भने उपभोक्ताले केही समय थप कुर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । भर्खरै सार्वजनिक गरिएको ४जीबीको ओपो एफनाइनको मूल्य ४१ हजार ५९० रुपैयाँ र ६ जीबीको मूल्य ४५ हजार ५९० रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । ओपो एफनाइनको ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८ प्रतिशत स्क्रिन टू बडी रेसिया पृथक ग्राडियण्ट कलर र ३५०० एमएएच ब्याट्री रहेको छ । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धि उपभोक्ताको चिन्ता निवारणमा हामी सफल हुनेमा हामी आशावादी छौं ।’ सार्वजनिक समारोहमाओपोका ब्राण्ड एम्ब्यासेडर दिपिका पाडुकोण र सिद्धार्थ मल्होत्रा अभिनित ‘५ मिनेट चार्ज, २ आवर टक’ शीर्षक दिइएको टीभीसीमा ओपो एफनाइनको भोक फ्ल्याशचार्जिङ क्षमतालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । भोक मार्फत तिब्र गतिको चार्ज ओपो एफनाइनमा भोक फ्ल्यास चार्जको व्यवास्था गरिएको छ । ओपोद्वारा विकसित, लो भोल्टेज चार्जिङ प्रविधि उपयोग गर्ने यस प्रविधिले साधारण ५भी/१ए साधारण चार्जिङका तुलनामा चार गुणा तिब्र चार्जिङ गति क्षमता प्रदान गर्छ । साथै हतार भएको अवस्थामा मात्र ५ मिनेट चार्ज गरी २ घण्टाको समयका लागि पर्याप्त टक टाइम प्राप्त गर्न सकिन्छ । भोक प्रयोग गर्दा चार्जिङ गरिरहेकै अवस्थामा फोनको प्रयोग गर्दा पनि कुनै असर पर्दैन । यो सुविधा हाई भोल्टेज फास्ट चार्जले दिन सक्दैन । ग्राडियण्ट कलर्स सहित वाटरड्रप स्क्रिन फोनमा प्रयोग गरिएको ग्राडियण्ट स्प्रेयिङ प्रविधि र फ्रेम ग्राडियण्ट प्रविधिमार्फत कम्पनीले ग्राडियण्ट डिजाइन सहितको ब्याकका साथै यूनिफाइड भ्यूइङ अनुभव प्रदान गर्छ । प्रत्यक्ष सूर्यको प्रकासमा राख्दा एफनाइन बहुमुल्य रत्न र बगिरहेको पानीझैँ चम्किने कम्पनीले जनाएकाे छ । एफनाइनमा १०८०*२३४० रेजोल्यूशन सहितको आकर्षक ६.३ ईञ्च बेजल-लेस स्क्रिन जडान गरिएको छ । १९.५:९ एस्पेकट रेसियो र ९०.८ प्रतिशत सुपर हाई स्क्रिन टू बडी रेसियो पनि उपलब्ध गरिएको छ । कलरओएस ५.२ एआई प्रणाली ओपोले एफनाइनमार्फत प्रयोगकर्तालाई स्मार्ट अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने सोचका साथ एण्ड्रोइड ८.१मा आधारित कलरओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ । एफनाइनमा गुगल लेन्स पनि उपलब्ध छ । यसले बस्तुको सटिक पहिचान गरी आवश्यक नतिजा तथा सूचना प्रस्तुत गर्न सहज हुने कम्पनीले बताएको छ ।
विश्वको २३ प्रतिशत जनसंख्या ओगट्ने बिम्स्टेकको चौथो सम्मेलन शुरू
काठमाडौं । ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक)को चौथो शिखर सम्मेलन उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘होटल सोल्टी’मा सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिएका छन् । शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्ने छन् ।काठमाडौँ घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ ।
बजारमा एकाएक हरियाली, नेप्से ९ अंकले बढ्दा १३९ कम्पनीको सेयर मूल्यमा वृद्धि
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । सामान्य घटबढ भइरहेको बजारमा बिहीबार नेप्से परिसूचक ९ दशमलब ३९ अंकले बढेर ११८१ दशमलब ६९ अंकमा पुगेको छ । लगातार घटेको बजारमा आज केही मात्रामा सुधार भएको देखिन्छ । कारोबार खुलेदेखि निरन्तर उकालो लागेको बिहीबारको बजारमा २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६७ कम्पनीका ७६ लाख ९९ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी एनआइसी एशिया बैंकको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड रुपैयाँ बढीका प्रमोटर सेयर कारोबार भएका छन् । बिहीबार कमाउने १० उत्कृष्ट कम्पनीहरू झण्डै दोहोरो अंकले बढेको बजारमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस संस्थाका लगानीकर्ताले एकैदिन ८.८८ प्रतिशत कमाएका छन् । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्था, पूर्णिमा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ५.७७, ५.३३ र ५ प्रतिशत कमाएका छन् । दिनभर १६७ कम्पनीको कारोबार भएको बजारमा १३९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको भएको छ । बाँकी २८ कम्पनीका लगानीकर्ताले भने सामान्य अंकले गुमाएका छन् । बिहीबार सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४२ प्रतिशत गुमाएका छन् । बिहीबार होटल बाहेक कारोबारमा आएका सबैसमूह हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ६२ अंकले बढेको छ । त्यस्तै, जिवन बीमा र माइक्रोफाइनान्स समूह क्रमशः २६ र १४ अंकले उकालो लागेका छन् । होटल समूह २.३१ अंकले ओरालो लागेको छ भने बाँकी समूहको सूचक सामान्य एकल अंकले बढेका छन् ।
१९ कम्पनीले ७ अर्ब ३५ करोडको आईपीओ निष्कासन गर्दै, कसको कति (सूचिसहित)
काठमाडौं । जलविद्युत र वित्तीय क्षेत्रका गरी १९ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । १९ मध्ये १७ वटा जलविद्युत कम्पनी रहेका छन् । ७ अर्ब ३५ करोड ७७ लाख ८३ हजार रुपैयाँ बराबरको ७ करोड ३५ लाख ७७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । सबै कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सूचि हेर्न यहाँ क्लिक गर्नुस अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता र कालिका पावर कम्पनी लिमिटेडले १२ करोड रुपैयाँको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाइसकेका छन् । अन्य १७ कम्पनी बोर्डको अनुमति पर्खाइमा छन् । आईपीओ निष्कासन गर्न लागेका जलविद्युत कम्पनीमा रसुवागढी हाइड्रोपावर लिमिटेड रहेको छ । रसुवागढीले १ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ७१ करोड कित्ता निष्कासनको तयारी थालेको छ । यस्तै मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक लगानीकर्ता र आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ । यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन हुदैछ । सीईडीबी हाइड्रो फण्ड लिमिटेडले पनि सर्वसाधारणलाई २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । पछिल्लो समयमा आईपीओ निष्कासन गर्नेमा जलविद्युत कम्पनीको संख्या बढेको छ । न्युनतम १० प्रतिशत आईपीओ जारी गर्नुपर्ने कानूनी व्यवस्थाले गर्दा जलविद्युत कम्पनी सर्वसाधारणमा जान लागेका हुन् । आईपीओ निष्कासन माग गर्नेमा पाँचथर पावर कम्पनी, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रो, शुभश्री हाइड्रोपावर, जोशी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, सीबीआइएल क्यापिटल, चौतारी लघुवित्त वित्तीय संस्था, हिमालय ऊर्जा विकास कम्पनी, मैलुङखोला जलविद्युत, युनिक हाइडेल, गज्र्याङ उपत्याका हाइड्रो र लाफिङ वुद्ध पावर कम्पनी रहेका छन् ।
सरकारको विरोध गर्ने बेला भएको छैन: अध्यक्ष थापा
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन् । विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पारे । थापाले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गरेका छन्। उनले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गरे । अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । रासस
लक्ष्मी बैंक र एनबीआईबीच तालिम संचालन गर्ने सम्झौता
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार लक्ष्मी बैंकले आफ्नो कर्मचारीहरुका लागि एनबीआईबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
माथिल्लो तामाकोसीको आईपीओ भर्ने ७ दिन थप, भदौ २१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) भर्ने म्याद ७ दिन थप भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएकाले आईपीओको आवेदन दिने म्याद एक साता थप भएको अपरतामाकोसी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । उनका अनुसार आयोजना प्रभावित स्थानीयबासिन्दाले भदौ २१ गतेसम्म आवेदन दिन सक्ने छन् । साउन १६ देखि भदौ १४ गतेसम्म खुला गरिएकोमा अत्याधिक चापका कारण स्थानीयवासिन्दा र जिल्ला समन्वय समितिको अनुरोधमा म्याद थप भएको श्रेष्ठले जानकारी दिए । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । यस्तै सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन हुदैछ ।
उच्च सुरक्षाबीच बिम्स्टेक उद्घाटन, हेर्नुहोस् यी रुट हुनेछन् दिनभर प्रभावित
काठमाडौं । उच्च सुरक्षाबिच दिउँसो ३:४५ बजे ‘होटल सोल्टी’मा बिम्स्टेकको उदघाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । भीआर्इपी सवारी हुँदा भने उपत्यकाका केहि सडक खण्डहरु दिनभर प्रभावित हुने भएका छन् । सम्मेलनमा भाग लिन ६ देशका राष्ट्र प्रमुखहरु काठमाडौं आइपुगिसकेका छन् । परराष्ट्र मन्त्रालयका सुजन ज्ञवालीका अनुसार दिउँसो १२:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज आयोजना गर्ने कार्यक्रम रहेको छ । सबै अतिथिहरु सोल्टी होटलमा रहेकाले दिनभर सवारी हुने हुँदा सोल्टीमोड, कालिमाटी, टेकू, त्रिपुरेश्वर, जमल र महाराजगंज रुट दिनभर प्रभावित हुनेछ । राष्ट्रपतिसँग शिष्टाचार भेटपछि अतिथिहरु पुन ‘सोल्टी होटल’ प्रस्थान गर्नेछन् । उद्घाटन समारोह सकिएपछि सबै देशका राष्ट्र प्रमुखले सम्बोधन गर्नेछन् । सम्बोधन सकिएपछि सबै अतिथिहरु सोल्टीमोड, कालिमाटी, टेकू, त्रिपुरेश्वर, माइतिघर, बानेश्वर, कोटेश्वर रुट हुँदै ‘होटल हायत’ पुग्नेछन् । होटल हायतमा प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोज दिने कार्यक्रम रहको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञावालीका प्रेस सल्लाहकार खेमराज ज्ञावालीले बताए । ज्ञावालीका अनुसार (भोली) शुक्रबार १० बजे केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटघाट हुनेछ । दिउँसो १ बजे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ । यसपछि मोदी पशुपतिनाथमा बनेको धर्मशालाको उद्घाटनमा जाने कार्यक्रम रहेको छ । मोदी शुक्रबार नै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ । सवारीमा उच्च सुरक्षा अतिथिहरुका लागि सेनाको नेतृत्वमा ५ घेरा भन्दा बढी सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा ट्राफिक प्रहरी, दोस्रो घेरामा जनपथ प्रहरी, तेस्रो घेरामा शसस्त्र प्रहरी, चाैथाे घेरामा सेनाले सुरक्षा प्रदान गरिरहेको छ । सवारीको समयमा नेपाली सेनाले हेलिकप्टरबाट समेत सुरक्षा प्रदान गरिरहेको छ ।