गण्डकी विकास बैंकले एकैदिन खाल्याे ३ नयाँ शाखा, कलंकीमा सञ्चालन गर्ने तयारी
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इटहरी, सिराहाको लाहान, र चितवनको भोजार्डमा गरी तीन नयाँ शाखाहरु संचालनमा ल्याएको हो । यीसंगै बैंकको ७६ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै काठमाडौंको कलंकीमा पनि शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।
नुवाकोटका केसीले ९० घण्टा २ मिनेट भाषण दिएर राखे विश्व कीर्तिमान
काठमाडौं । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम भएको छ । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम भएको हो । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई तोडेका हुन् । न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका थिए। राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिएको न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए । निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राख्नुभएका उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र प्रदान गरे। नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी एक आध्यामिक साधक हुन् । केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा गरिसकेका छन्। यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सकेका थिएनन । रासस
माधवकुमार नेपाल अमेरिका प्रस्थान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि बिहिबार त्यसतर्फ प्रस्थान गरेका छन् । अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग भेटघाट पनि हुने नेता नेपालको सचिवालयले जनाएको छ । नेता नेपाल यही भदौ २० गते स्वदेश फर्कनेछन् ।
नेपाली रुपैयाँ झनै कमजोर भई ११३.४९ पुग्यो, दशैं महंगो हुदै
काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसंग झनै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ डलर बराबर ११३ रुपैयाँ ४९ पैसा बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर बलियो हुदा नेपाल रुपैयाँ कमजोर भएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए । भारतीय रुपैयाँ (भारु) डलरसंग कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले शुक्रबार १ डलर बराबर ७१ भारु तोकेको छ । भारु २६ पैसाले कमजोर भएको आरबीआईले जनाएको छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ र बजार भाउ बढ्छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै ८ रुपैयाँले कमजोर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट करमा भारी कटौती गर्ने भएपछि अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी सन् २०१९ देखि लागु हुने गरी कर्पोरेट कर ३५ प्रतिशतबाट २५ प्रतिशतमा झार्ने प्रस्तावमा हस्ताक्षर गरेपछि अन्तर्रा्ष्ट्रिय बजारमा डलर महंगिदै गएको हो । कर्पोरेट कर घट्ने भएपछि भारतलगायत अन्य मुलुकबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । ट्रम्पको कर्पोरेट कर कटौती नीतिले भारतलगायत मुलुकमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।
नेपालका सर्वाधिक धनीको सुचिमा उद्योगपति विनोद चौधरीदेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्म, हेर्नुस कसको सम्पत्ति कति (सूचिसहित)
काठमाडौं । नेपालको सबैभन्दा धनी व्यक्तिको सुचिमा चौधरी ग्रुपका अध्यक्ष उद्योगपति विनोद चौधरी घोषित भएका छन् । फोब्र्सले सार्वजनिक गरेको सन् २०१८ मा नेपालको सबैभन्दा धनीको व्यक्ति उद्योगपति चौधरी भएका हुन् । फोब्र्सले चौधरीका अतिरित्त नेपालका १० जना सर्वाधिक धनी व्यक्तिको सूची पनि सार्वजनिक गरेको छ । नेपालको दोस्रो धनीमा गैरआवासिय नेपाल संघ (एनआरएन) का निवर्तमान अध्यक्ष शेष घले, तेस्रोमा एनआरएनका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो, चौथो नम्बरमा व्यसायी अजेयराज सुमार्गी, पाँचौमा एनआरएन आद्धित्तिय झा, छैठौंमा एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने, सातौंमा राजनीतिज्ञ पशुपतिशम्शेर जबरा, आठौंमा एनआरएन बलराम चेनराइ, नवौमा राजेन्द्रकुमार खेतान र १० औं स्थानमा पूर्व राजा ज्ञानेन्द्र शाहा रहेको फोब्र्सले जानकारी दिएको छ । १. विनोद चौधरीको सम्पत्ति १ अर्ब ६० करोड डलर अर्थात १ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । विश्वका धनीमध्ये १ हजार ३४२ औं नम्बरमा रहेका चौधरीको सम्पत्ति १ अर्ब ६० करोड अमेरिकी डलर अर्थात १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । पछिल्ला वर्षमा चौधरी डलर अर्बपतिको सुचिमा पर्दै आएका छन् । डलर अर्बपछि घोषित हुनेमा चौधरी पहिला नेपाली हुन् । चौधरी ग्रुपका अध्यक्ष समेत रहेका विनोदका मुलुक भित्र र बाहिर गरी ८० कम्पनी सञ्चालनमा रहेको फोब्र्सले जनाएको छ । २.शेष घलेको सम्पत्ति ४१ करोड डलर अर्थात ४१ अर्ब रुपैयाँ छ । अष्ट्रेलियामा व्यवसाय गरिरहेका घले त्यहाँ पनि सर्वाधिक धनीको सूचीमा ९९ औ नम्बरमा छन् । उनी मेलर्वन इन्ष्टिच्युट अफ टेक्नेलोजिजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । उनीसंग २६ करोड ५० लाख डलर सम्पत्ति छ । उनकी श्रीमति जमुना घलेको सम्पत्ति समेत जोड्दा उनी नेपालको दोस्रो धनीको सूचिमा परेका छन् । ३. डा. उपेन्द्र महतोको कुल सम्पत्ति ३६ करोड डलर अर्थात ३६ अर्ब रुपैयाँ रहेको छ । महतोको पेट्रोलियम, अस्पता, बैंकिङ लगायत उपकरण निर्माणमा लगानी रहेको छ । उनको व्यवसया रसियामा छ । पछिल्लो समयमा उनले नेपालमा पनि आफनो व्यवसाय विस्तार गरेका छन् । ४. अजयराज सुमार्गीको २० करोड डलर अर्थात २० अर्ब रुपैयाँ सम्पत्ति छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल निकट व्यवसायी सुमार्गी मुत्तिश्री ग्रुपका अध्यक्ष हुन् । उनले सिमेन्ट, टेलिकम र पानी प्रशोधनका अतिरित्त मिडियामा पनि लगानी विस्तार गरेका छन् । ५. आद्धित्तिय झाको सम्पत्ति १० करोड डलर अर्थात १० अर्ब रुपैयाँ रहेको छ । जनकपुरका झा अहिले क्यानाडामा व्यवसाय गर्दै आएका छन् । ५. आद्धित्तिय झाको सम्पत्ति १० करोड डलर अर्थात १० अर्ब रुपैयाँ रहेको छ । जनकपुरका झा अहिले क्यानाडामा व्यवसाय गर्दै आएका छन् । ६. जीवा लामिछानेको सम्पत्ति ९ करोड २० लाख डलर अर्थात ९ अर्ब २० करोड रुपैयाँ रहेको छ । लामिछाने टिभी उत्पादक कम्पनी टेक्नो ट्रष्टका प्रवन्ध निर्देशक हुन् । उनले रसियामा एल्सन ब्राण्डका एसीडी टेलिभिजन उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । यसअघि उनले रसियामा सामसुङ र एलजी ब्राण्डको टेलिभिजनको डिलरसिपको काम गरेका थिए । लामिछानेले नेपालमा जलविद्युत र वैंकिङ क्षेत्रमा लगानी विस्तार गरेका छन् । ७. पशुपति शम्शेर जबराको सम्पत्ति ८ करोड ४० लाख डलर अर्थात ८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष समेत हुन् । ८.बलराम चिराइको सम्पत्ति ७ करोड डलर अर्थात ७ अर्ब रुपैयाँ पुगेको छ । उनको हङकङमा रियलस्टेट र इलेक्ट्रोनिक्स व्यवसाय सञ्चालनमा छ । ९. राजेन्द्रकुमार खेतानको सम्पत्ति ६ करोड २० लाख डलर अर्थात ६ अर्ब २० करोड रुपैयाँ छ । नेपालमा उनको बैंक तथा वित्तीय संस्था, बीमा, मदिरालागयत १३ उद्योग व्यवसाय सञ्चालनमा छन् । उनी खेतान ग्रुपका अध्यक्ष हुन् । १०. ज्ञानेन्द्र शाहको सम्पत्ति ५ करोड ८० लाख डलर अर्थात ५ अर्ब ८० करोड रुपैयाँ छ । सन् २००१ देखि २००८ सम्म नेपालका राजा रहेका शाहाका १७ कम्पनी रहेको फोब्र्सले जनाएको छ ।
नेपाल र भारतबीच काठमाडौं-रक्सौल रेल सेवा अध्ययन गर्न सम्झौता हुँदै, अघि बढ्ला त योजना ?
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनकै छेको पारेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रवार काठमाडौं–रक्सौल रेलसेवाको अध्ययन अगाडि बढाउने समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । दुवै देशका प्रधानमन्त्रीहरूले यसअघि नै सैद्धान्तिक प्रतिबद्धता जनाइसकेको सो विषयलाई यस समझदारीले व्यावहारिक तहमा गति दिने विश्वास व्यक्त गरिएको छ। रेल जोड्ने कुरा यसअघि संयुक्त वक्तव्यहरूमा उठेका थिए। तर शुक्रबार हुने द्वविपक्षीय वार्तापश्चात् रेलको विषयमा मात्र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए। प्रारम्भीक इन्जिनियरिङ तथा ट्राफिक सर्भे नाम दिइने उक्त अध्ययन एक प्रकारको पूर्वसम्भाव्यता अध्ययन हुने र त्यसले भारत जोड्ने रेलको आधारभूत प्रकृतिहरू निर्क्यौल गर्ने नेपालको रेल विभागका अधिकारीहरूले बताएका छन्। भारतले आफ्नै लगानीमा गर्ने बताएको यस अध्ययनले सुरक्षित भूबनोट पहिचान गर्दै लम्बाइको एउटा खाका दिनेछ। रेल विभागका अधिकारीहरूको आकलनमा रक्सौलसम्मको रेल मार्ग १३० किलोमिटर हाराहारीमा हुने बताइएको छ। रेल विभागका महानिर्देशक अनन्त आचार्य भन्छन्,भारतसँगको रेलको कुरा अहिलेसम्म दुई प्रधानमन्त्रीले चासो दिएको विषय थियो अब अभिलेखीकरण भएर एक कदम अगाडी बढ्नेछ। चुनौती प्रस्तावित रेलमार्गको सुरुवाती र अन्य विन्दुबीच झन्डै १ हजार मिटरको उचाइ भिन्नता रहेकोले मालबाहक रेललाई सहज हुने उपयुक्त बाटो पहिचान गर्नु मुख्य काम रहेको उनीहरूको भनाइ छ। रेलको झन्डै ३० किलोमिटर खण्ड उकालो भूभागमा पर्ने बताइएको छ। चीन जोड्ने केरूङ–काठमाडौं रेलवेको प्रारम्भिक अध्ययनको केही अनुभव लिइसकेको विभाग दक्षिणतर्फको काम भने त्यसको तुलनामा प्राविधिक रूपमा धेरै जटिल नहुने विश्वासमा छ। विभागका महानिर्देशक थप्छन्, नेपाल–भारत सीमासम्म रेल आइसकेको लाभका कारण पनि सोचेजसरी भएमा पाँचदेखि सात वर्षमा काठमाडौंमा रेल आइपुग्न सक्छ। यद्यपि छिमेकी दुवै देशबाट रेल आउने योजना भइरहँदा ती पछि आपसी सञ्जालमा जोडिन्छन् कि जोडिँदैनन् भन्नेबारे सरकारी अधिकारीहरू प्रतिक्रिया जनाउन हतारो हुने र त्यो काम त्यस बेलाकै नेपालको आवश्यकताले निर्क्यौल गर्ने बताए। स्रोत बीबीसी
च्याम्पियान्स् लिगको ड्र सार्वजनिक कुन टीमको प्रतिस्पर्धा कोसँँग हेनुहोस् (तालिकासहित )
काठमाडौं । युरोपको प्रतिष्ठित लिग च्याम्पियान्स लिगको ड्र सार्वजकि भएको छ । ३२ क्लबले प्रतिस्पर्धा गर्ने लिगको यो वर्षको लागि तालिका सार्वजकि गरेको हो । आठ टोलीमा विभाजन गरिएको प्रत्येक समुहमा ४ टोली रहेका छन् । प्रतियोगिताको दाबेदार टोली बार्सिलोना ग्रुप ‘बी’ मा परेको छ, रियल म्याड्रिड ग्रुप ‘जी’,एथ्लेटिको म्याड्रिड ग्रप ‘ए’, म्यान्चेस्टर सिटी ग्रुप ‘एफ’, बार्यन म्युनिख ग्रुप ‘ई’ मा पर्दा युभेन्टस् ग्रुप ‘एच’ मा परेको छ । बार्सिलोनाले समुह ग्रुप ‘बी’मा टोटेनह्याम, पीएसभी र इन्टरमिलनसँग खेल्नेछ । यसैगरी रियल म्याड्रिडले रोमा, सीएसका र प्एलजिनसँग प्रतिस्पर्र्धा गर्नेछ । खेल होम र अवे आधारमा सञ्चालन हुनेछ । समुहको शिर्ष स्थानमा हुने २ टोली अन्तिम १६ मा पुग्नेछन् ।
व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको बताएका छन् । यहाँ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य दिँदै उनले हिमालय पर्वत शृङ्खला र हिन्द महासागरबीचको बङ्गालको खाडी क्षेत्र सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षाका लागि विशेष महत्व राख्ने बताएका छन् । बिम्स्टेकमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् । प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हो । “भारतको ‘छिमेकी पहिलो’ प्राथमिकताको नीति यसै क्षेत्रका लागि हो”, उनले भने, “हामी सबै विकासशील देश हौँ, शान्ति र समृद्धि सबैको प्राथमिकता हो तर आजको अन्तसम्बन्धित विश्वमा यो काम एक्लैले गर्न सकिँदैन, सबैको साथ र सहयोग आवश्यक छ ।” व्यापार, अर्थतन्त्र, यातायात, डिजिटल र जनस्तरको सम्बन्धको सम्पर्क सञ्जालमा काम गर्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो । भारतीय प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य मुलुकका महिला सांसदबीच सम्पर्क सञ्जाल बनाउन आवश्यक रहेकामा पनि जोड दिएका छन् । उनले बिम्स्टेक सदस्य राष्ट्रका उद्यमीबीच सम्पर्क र सञ्जाल बढाउन भारत बिम्स्टेकस्तरको सम्मेलन आयोजना गर्न तयार रहेको जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीले सदस्य मुलुकमध्ये अधिकांश कृषिप्रधान देश भएको र जलवायु परिवर्तनका असरसँग जुधिरहेका सन्दर्भमा कृषि अनुसन्धान र शिक्षा विकासमा सहयोगका लागि भारतले यससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने अवगत गराएका छन् । उनले डिजिटल सम्पर्क सञ्जालको क्षेत्रमा भारत आफ्नो राष्ट्रिय ज्ञान सञ्जाल श्रीलङ्का, बङ्गलादेश, भूटान र नेपालमा बढाउन प्रतिबद्ध रहेको बताउँदै यसलाई म्यान्मा र थाइल्याण्डसम्म बढाउने इच्छा व्यक्त गरे । “म आशा गर्छु यस वर्ष अक्टोबरमा नयाँदिल्लीमा हुने ‘इण्डिया मोबाइल काङ्ग्रेस’मा तपार्इँहरु सहभागी हुनुहुनेछ”, उनले भने । भारतीय प्रधानमन्त्री मोदीले सन् २०२० अगष्टमा भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने बताउँदै सबै बिम्स्टेक सदस्य मुलुकलाई अतिथिका रुपमा सहभागी हुन निमन्त्रणासमेत गरेका छन् । उनले बङ्गालको खाडी क्षेत्रका कलासंस्कृति, सामुद्रिक कानून र अन्य विषयमा शोध गर्नका लागि नालन्दा विश्वविद्यालयमा ‘बङ्गालको खाडी अध्ययन केन्द्र’ स्थापना गरिने अवगत गराए । यस क्षेत्रका सबै मुलुकको लामो इतिहास रहेको र इतिहाससँग जोडिएका पर्यटनका सम्भावनाको पूरै लाभ उठाउन पुरातात्विक सम्पदाको पुनरुत्थानमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । हिमालय र बङ्गालको खाडीसँग जोडिएको यस क्षेत्रका देशले पटक पटक प्राकृतिक विपद्को सामना गर्नुपरेको बताउँदै उनले यसमा एकार्काको साथ र सहयोगमा मानवीय सहायता तथा विपद् पुनःस्थापनाको प्रयास आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री मोदीले भने,“ यहाँ कुनै पनि देश यस्तो छैन जसले आतङ्कवाद र आतङ्कवादको सञ्जालसँग जोडिएका आपराधिक र लागुऔषध बेचबिखनजस्ता समस्याको सामना नगरेको होस् ।” उनले यससँग सम्बन्धित विषयमा बिम्स्टेक ढाँचामा एक सम्मेलनको आयोजना गर्न आफू तयार रहेको जानकारी दिए । रासस