बजार दोहोरो अंकले घट्दा एनएमबी बैंकको सेयर बढी कारोबार
काठमाडौं । मंगलबार सेयर बजार बढेर लगानीकर्तालाई केही राहत दिए पनि बुधबार दोहोरो अंकले घटेको छ । मंगलबार सेयर बजार १०.७६ अंकले गिरावट आएको छ । बुधबार व्यापार र होटल समूहको सेयर मूल्य बढे पनि बैंक, बीमा, जलविद्युतको सेयर मूल्यमा गिरावट आएको छ । सेयर बजार घटेका बेला एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बुधबार एनएमबीको प्रतिकित्ता ३५० रुपैयाँमा २ करोड ६२ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको ७४ हजार ५३७ कित्ता सेयर किनबेच भएको छ ।
सेयर बजार अलिकति घट्ने वित्तिकै सिद्धिनै लाग्यो भन्दै अफवाह फैलाउनु हुन्नः अध्यक्ष कार्की
डा. रेवत बहादुर कार्की, अध्यक्ष-नेपाल धितोपत्र बोर्ड हामी विश्व लगानीकर्ता सप्ताह मनाईरहेका छौं । एक हप्ताभरी बिभिन्न कार्यक्रम गरेर पुँजी बजारको दिगो विकासको अभियानमा हुनेछौं । बजार अलिकति घट्यो भने बजार सिद्धियो भन्ने अनि अलिकति बढ्यो भने पनि चलखेल भयो भन्ने कुरा छाड्नुपर्छ । बजारलाई स्थिर हिसाबले चल्न दिनुपर्छ । बजार निर्जिव हो, त्यसलाई जीवन्त बनाउने लगानीकर्ताले हो । अलिकति घट्ने वित्तिकै बजार सिद्धिन लाग्यो भनेर अफवाह फैलाउनु हुन्न । लगानीकर्ता सप्ताहमा देखिएको उत्साहले लगानीकर्ता मात्रै नभएर हामी नियामकलाई पनि उत्साहित बनाएको छ । यसमा धितोपत्र बोर्ड र सबै सम्वद्ध पक्षहरुको ठूलो योगदान छ । हामीले करिब एक दर्जन प्रकाशनहरु सार्वजनिक गरेका छौं । यो सबै पुँजी बजारका लगानीकर्ताका लागि नै हो । ज्ञान भन्ने कुरा सधै नयाँ हुन्छ । यी प्रकाशनहरुको मुल उदेश्य भनेको लगानीकर्तालाई शसक्तिकरण गर्ने, सुसुचित गर्ने, विवेकशिल ढंगले लगानी गर्न अभिप्रेरित गर्ने हो । बजार भनेको बढ्ने अनुमान गर्ने र घट्ने अनुमान गर्ने लगानीकर्ताहरु बीचको सन्तुलनले चल्ने हो । बढ्छ मात्रै भन्ने र घट्छ मात्रै भन्नेहरुका आधारमा बजार अघि बढ्न सक्दैन् । २०३ देश भएको संसारमा १२६ देश मात्रै आइएसकोको सदस्य भएका छन् । हामी त्यसमा परेका छौं, जसलाई ठूलो प्रगति मान्नुपर्छ । लगानीकर्ताहरुलाई यो हप्ता बिशेष रुपले पुज्नुपर्छ । अझ यो हप्ता मात्रै होइन सधै पुजा गर्नु पर्छ । लगानी कर्ताबिना बजार अपुर्ण हुन्छ । देशको विकास गर्नुछ भने पुँजी बजारको विकास गर्नुपर्छ । पुँजी बजारको विकास बिना संसारका कुनै पनि देश विकसित भएका छैनन् । न्युन आय भएका देशहरुमा पुँजी बजार नभै हुन्न भन्ने सन्देश स्थापीत भैसकेको छ । हामीले पनि देश विकासका लागि पुँजी बजारको दिगो विकास गर्नु पर्छ भनेका छौं । संघिय संरचना अनुसार प्रदेश नम्बर १ मा प्रदेश कार्यालय स्थापीत गर्दैछौं । विकासमा नागरिकको प्रत्यक्ष सहभागीता हुनुपर्छ । हाल पर्याप्त सूचनाको अभावमा लगानी कर्ता अलमलिएका छन् । हामीले लगानीकर्तालाई पर्याप्त सूचना दिने प्रयास गरेका छौं । जिल्ला गत आर्थिक, प्रशासनिक तथा व्यवसायीक र बैंकिङ अवस्था चित्रण गरिएको प्रतिवेदन सार्वजनिक गर्दैछौं । बोर्डले पुँजी बजारको दिगो विकासका लागि भनेरै गत बर्षदेखि बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । नियामक निकाय नै सबै भन्दा पहिले अनुशासित र पारदर्शी हुनुपर्छ । आफु अनुशासनमा नबसि अरुलाई पाठ सिकाउन पाइँदैन् । केहि दिन अघि लगानीकर्ताका संघ संस्थाबाट साथीहरुले ३० बुँदे सुझाव दिनुभयो । हामीले त्यो कुरा नीति तथा कार्यक्रममा सबै राखिसकेका छौं । उहाँहरुको एउटा सुझाव चाँही अनलाईन मिडियाहरुको नियमन पनि गर्नु परो भनेर लेखेको देखियो । कानुन सम्वत माग पत्र राख्नुस् । मिडियालाई पनि नियमन गर्नुस भनेर हामीलाई अख्तियार पठाउने प्रयास नगर्नुस् । पुँजी बजारको वृद्धि र विकास सबैको दायित्व हो । मार्जिन ट्रेडिङ चाँडै आउँदैछ । सबै ब्रोकरले पुँजी ५ करोड पुर्याउनुस, सबैले मार्जिन ट्रेडिङ गर्नुस् । ५० वटा ब्रोकरले १०।१० करोडको मार्जिन ट्रेडिङ गर्न पाउनु भयो भने ५ अर्बको सुबिधा भैहाल्छ । ५ गुणासम्मको व्यवस्था गरियो भने अरबौंको मार्जिन ट्रेडिङको सुबिधा प्राप्त हुन्छ । ब्रोकरहरुले पनि यसरी नै सोच्नु पर्यो । खाली बैंकबाट लिएर मात्रै अघि बढ्ने सोँच त्याग्नुस् । पुँजी बढाउनुस अनि मार्जिन ट्रेडिङ सुबिधाको अधिकतम सदुपयोग गर्नुस् । हामी खाली अरुलाई गाली मात्रै गरेर बसिरहेका छौं । सरकारलाई गाली मात्रै गरिन्छ । सरकारले नीति मात्रै ल्याउने हो, काम गर्ने हामीले हो । सरकार स्थिर हुने वित्तिकै देश आकाशमा उड्ने होइन् । २०३१ सालमा कोरिया र नेपाल उस्तै अवस्थामा थियो । कोरियनहरुले काम गर्ने रहेछन हामी चाँही खाली गफ मात्रै गर्ने रहेछौं । कोरियाली नागरिकको प्रति बर्ष आम्दानी ७० हजार डलर पुगिसक्यो, हामी एक हजारमै अल्झिएका छौं । त्यसकारण हामीले पनि काम गर्नु पर्यो । आर्थिक गतिबिधी बढाउनु पर्छ । त्यसले कुल गार्हस्थ उत्पादन बढ्छ र जनताको जीवन स्तर उकासिन्छ ।-विश्व लगानीकर्ता सप्ताहको दोश्रो दिन बोर्डका अध्यक्ष डा. कार्कीले व्यक्त गरेको विचार
कृषि विकास बैंकले जोमसोममा गर्यो अनलाईन बैकिङ्गको शुरुवात
काठमाडौं। मुस्ताङ्ग जिल्लाको जोमसोममा कृषि विकास बैंकमा अनलाईन बैकिङ्गको शुभारम्भ कार्यक्रमको मंगलबार असोज १६ गतेका दिन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाबाट औपचारिक उदघाटन भएको छ। । कृषि विकास बैंक क्षेत्रिय कार्यालय, पोखराका निर्देशक श्री मोहदत्त शर्मा पौडेलको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक जोमसोमका प्रबन्धक सुदिल घिमिरेले गरेका थिए। सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा भु.पु. सभासद श्रीमाया थकाली, उच्च शिखर सैनिक शिक्षालयका महासेनानी सुनिलराज विष्ट, बज्रदलका प्रमुख सेनानी पंकज पोख्रेल,उच्च शिखर सैनिक शिक्षालयका प्रमुख सेनानी अमर सिहं थापा, सिमा सुरक्षावलका प्रमुख हरी गुरुङ्ग, पत्राकार महासंघ मुस्ताङ्गका अध्यक्ष सुन्दर थकाली, जिल्ला स्थीत कार्यालय प्रमुखहरु, सेवाग्राहीहरु, जिल्ला समन्वय समिति प्रमुख छिरिङ्ग ल्हामो गुरुङ्ग , प्रमुख जिल्ला अधिकारी शिसिर पौडेल, कर्जा ग्राहकको तर्फबाट भिम बहादुर रसाइलीले बैंकले उपलव्ध गराउने सेवाहरुले मुस्ताङ्ग बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे। कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एचयमगअत को बारेमा जानकारी गराउंदै स्थानीय जनताको सहयोग भएमा बैंकले बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले प्रकाश पारे । त्यस्तै गरी कृषि विकास बैंक लि.का उप–महाप्रबन्धक श्री प्रताप सुवेदीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारे भने कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय पोखराका निर्देशक श्री मोहदत्त शर्मा पौडेलले बैंकले अबका दिनमा मुस्ताङ्गबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश परेका छन्। सो उदघाटन कार्यक्रमको संचालन कृषि विकास बैंक लि.का प्रबक्ता श्री हिमलाल पौडेलज्यूले गरेका थिए।
५ किलो सुन बोकेको २ लाख ५० हजार लिने गरेको छु: सोबहादुर तामाङ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ । परिसरले आज पत्रकार सम्मेलन गरी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कडाइ गरेपछि केरुङ नाका हुँदै भित्रिने क्रम बढेको जानकारी दिएको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पेटीमा बाँधेर सार्वजनिक यातायातमा चढेर सुन ल्याएको अवस्थामा पाँच किलोग्राम सुनसहित रसुवा गोसाइकुण्ड–९ घर भएका सोबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिए । “प्रतिकिलोग्राम रु ५० हजार पाउने आशमा सुन ओसारपसार गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले सुनसहित एक थान मोबाइलसमेत बरामद गरेको छ । यसअघि असोज ९ गते परिसरको टोलीले मोटरसाइकलमा तीन किलोग्राम सुन ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको थियो । सोही समयमा केरुङ नाकाबाट सुन तस्करी भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा रसुवा गोसाइँकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई नियन्त्रणमा लिएको थियो । परिसरका प्रमुख लामा सुनको मालिक अर्को भएको र भरियालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको बताउनुहुन्छ । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ । पक्राउ व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ १ ङ अनुसार एक करोडभन्दा बढी पाँच करोडसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । रासस
पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति
काठमाडौं । कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ । नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग गरेको छ । महासङ्घले जारी गरेको विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको जनाएको छ । रासस
सिटी सेन्टरमा ʽदशैं तथा तिहार उत्सवʼ, ५० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ । सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरू मध्येमा पर्ने सिटी सेण्टरले महान् चाड दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ । विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो सेण्टरले यसपटक पनि त्यसैको निरन्तरता स्वरुप दशैं मेला आयोजना गरेको बताएको छ । सिटी सेण्टरले मेलाको अवसरमा २ महिनासम्म साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने र उक्त कार्यक्रममा सहभागी ग्राहकहरूले विभिन्न उपहार पनि जित्न सक्नेछन् । मेला अवधिभर यस मलमा आउने सबै ग्राहकहरू ʽइण्टर द मल एण्ड वीनʼ योजनामा सहभागी हुन पाउनेछन् । यस योजनामा सहभागी भएकामध्येबाट लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गरिने र ती विजेतालाई आकर्षक ग्राण्ड प्राइज दिइनेछ । मेलामा युवापुस्ताका लोकप्रिय गायक स्वप्नसुमनको दमदार प्रस्तुति प्रत्यक्ष हेर्न पाइने, हरेक दिन विभिन्न ब्याण्डको प्रस्तुति रहने, हास्य कलाकारहरूले ʽस्ट्याण्ड अप कमेडीʼ पनि प्रस्तुत गर्नेछन् । प्रत्येक फ्लोरमा फोटो बुथ पनि राखिनेछ । यस मलमा सामान किन्ने ग्राहकहरू ३ बजे र ६ बजे गरिने लक्की ड्रमा सहभागी हुन पाउनेछन् र यसका विजेताहरूले १ घण्टाको पार्किङ फ्रि तथा ड्रिङ्सहरू जित्न सक्नेछन् । मलले बालबालिकाहरूलाई निːशुल्क खेल्ने ठाउँको पनि व्यवस्था गरेको छ । बच्चा लिएर आउने दम्पतीले आफ्ना बच्चाहरुलाई खेल्ने ठाउँमा छोडेर सामान किनमेलको मज्जा लिन पाउनेछन् । सो अवसरमा बच्चाहरूले आकर्षक डोर प्राइजका साथै निːशुल्क ट्रयाम्पोलाइन र बाउन्सिङ क्यास्टलको मज्जा लिन सक्नेछन् र मलमा रहेका पसलहरूले दशैं र तिहारको अवसरमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेका छन् ।
मौरी पालेर ५ लाख कमाउछन् तुलसीप्रसाद देवकोटा
काठमाडौं । गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आउनु भएको हो । स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थाल्नुभएको करीब नौ वर्ष भइसकेको छ । देवकोटा माउण्टेन हनी उत्पादन तथा प्रशोधन केन्द्र खोलेर अहिले स्थानीय सेरेना जातको मौरी पाल्दै आएका छन् । उत्पादन भएको मह अहिले मानाको रु ८०० का दरले बिक्री हुने गरेको देवकोटाको भनाइ छ । मौसमअनुसार मौरीले मह उत्पादन गर्ने बताउँदै देवकोटाले मङ्सिर चैत लगायतको समयमा एक घार मौरीले चार पाथीसम्म मह उत्पादन गर्ने गरेको बताउछन् । देवकोटाका अनुसार मङ्सिर र चैत महिनामा सबैभन्दा धेरै मह उत्पादन हुने गर्दछ । मह उत्पादनसँगै उहाँले घार पनि बिक्री गर्दै आएका छन् । ‘‘पहिलोको तुलनामा अहिले महभन्दा मौरीसहितको घार बिक्रीबाट बढी आम्दानी हुने गरेको छ,’’ देवकोटाले भन्नुभयो । आजभोलि एक घारको रु १० हजारसम्ममा बिक्री हुने गरेको छ । गएको वर्ष मात्र करीब ४५ घार मौरी बिक्री गरेको उनले जानकारी दिए । पहिला मह मात्र उत्पादन गर्ने उद्देश्यले मौरीपालन केन्द्र खोलेको भए पनि महको बजारसँगै मौरीसहितको घारको बजार पनि बढ्न थालेपछि घार बिक्री गर्न थालेको कृषक देवकोटा बताउँछन्। मौरीपालन व्यवसायका लागि फूल फुल्ने जातका तरकारी बाली तथा फलफूल खेती पनि आवश्यक पर्ने भएकाले समय अनुसारका विभिन्न खेतीबालीसमेत गर्दै आएको कृषक देवकोटाको भनाइ छ । ‘‘मौरीपालनका लागि चरन क्षेत्र आवश्यक पर्ने भएकाले मौसमअनुसार घर वरिपरि तोरी खेती पनि गर्दै आएको छु,’’ देवकोटाले भने,“चिलाउने, टाँकी, कटुसलगायतका बोटबिरुवाका फूल मौरीले मन पराउने हुँदा त्यस्ता खालका बोटबिरुवा समेत हुर्काउँदै गरेको छु । बढी फूल फूल्ने मौसममा राम्रो ध्यान दिन सके एक घार मौरीबाट तीनदेखि छ घारसम्म बनाउन सकिने उहाँले बताउनुभयो । उहाँले मौरीलाई खानेकुराको अभाव भएमा वा घारमा केही वस्तुले दुःख दिएमा एक घारको मौरीले अर्को घारको मौरीलाई दुःख दिने भएकाले विशेष ध्यान दिनुपर्ने बताए । मौरीपालनका लागि जिल्ला कृषि विकास कार्यालय गोरखाबाट रु दुई लाख अनुदान प्राप्त भएको देवकोटाले बताए । रासस
यसरी फसे विद्युत चोरी गर्ने हेलम्बु गाउँपालिकाका ३ जना
काठमाडौं । हेलम्बु गाउँपालिका–३ पाल्चोकमा विद्युत् प्राधिकरणको कर्मचारीलाई दुव्र्यवहार गर्ने तीन जनाले आइन्दा यस्तो नगर्ने प्रतिबद्धता गरेका छन् । केही दिनअघि मिटर जाँच गर्न जाँदा कर्मचारी अमृत ढकाललाई स्थानीय गोपाल तोलाङ, कृष्ण तामाङ, रामबहादुर नेपालीले दुव्र्यबहार गरेका थिए । हिजो वडाध्यक्ष, प्रहरी प्रशासन, पीडित र भद्र भलादमीको उपस्थितिमा विद्युत् चुवावट गर्नेलाई जरिवानासहित सम्झाइबुझाइ पठाइएको मेलम्ची हेलम्बु वितरण केन्द्रका प्रमुख बलराम नेपालले जानकारी दिए । आगामी दिनमा वडामा विद्युत् चुवावट कम गर्न सहयोग गर्ने कर्मचारीलाई सहजरुपमा काम गर्न वातावरण मिलाउने, कर्मचारीबाट गल्ती भए कार्यालयमा जानकारी गराउने सहमति गरिएको नेपालले जानकारी दिए। विद्युत् चुवावट गर्ने गोपाल तोलाङ्ेबाट २८ हजार, कृष्ण तामाङबाट ६२ हजार र रामबहादुर नेपालीबाट रु ११ हजार जरिवाना असुल उपर गरिएको छ ।