कर्णाली प्रदेशको दुई विधेयक पारित
काठमाडौं। कर्णाली प्रदेशसभाको ४१औँ बैठकले दुई वटा विधेयक पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संशोधनसहित पारितका लागि पेश गर्नुभएको ‘कर्णाली प्रदेशसभाको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ र ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभाको बैठकले आज सर्वसहमत पारित गरेको हो । कानूनमन्त्री भण्डारीले पेश गर्नुभएको विधेयकमा प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले मुख्यमन्त्रीसहित मन्त्री, प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधामा धेरै अन्तर नगर्न अनुरोध गरेका छन्। मन्त्रिपरिषद्को निर्णयबाट गरिने खर्च अपारदर्शी हुने भन्दै उहाँले कानून बनाएर खर्च गर्न सरकारलाई सुझाउनुभयो । प्रदेशसभा बैठकबाट वर्षे अधिवेशन आजदेखि अन्त्य भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका छन्। रासस
अनलाइन ट्रेडिङ भोलिदेखि, अर्थमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले भोलि (मंगलबार) देखि दोस्रो बजारको शेयर खरिदबिक्री प्रक्रिया अनलाइन प्रक्रियामार्फत् गर्न सकिने प्रणाली (अनलाइन ट्रेडिङ)को सुरुवात गर्दैछ । भोलि बजार खुल्ने समयमा अर्थमन्त्री युवराज खतिवडाले उक्त कारोबार प्रणालीको उद्घाटन गर्ने नेप्सेले जनाएको छ । त्यसका लागि नेप्सेले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १०:३० बजे कार्यक्रमको आयोजना गरेको छ ।
चार हजार मिटर उचाईमा सेनाको क्याम्प स्थापना
काठमाडौं। उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो । जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ । क्याम्प रहेको स्थान समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको छ । सेनाको क्याम्प राख्न एक हजार २१७ रोपनी जग्गाको व्यवस्थापन गरी भवनलगायतका पूर्वाधार निर्माण गरिएको छ । क्याम्पमार्फत सुरक्षा गतिविधिसँगै उच्च भूगोलको सैनिक तालीम सञ्चालन र विपद् व्यवस्थापनसम्बन्धी गतिविधि हुने जनाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले आवश्यक जग्गा र पूर्वाधारको व्यवस्थापन गरेपछि क्याम्प राखिएको बताउनुभयो । क्याम्प स्थापना भएपछि उपल्लो मुस्ताङमा सुरक्षाको पहुँच बढ्ने र विपद् व्यवस्थापनमा सहयोग पुग्ने प्रजिअ क्षेत्रीको भनाइ छ । सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरेनीयम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको सन्देश प्रवाह हुने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए। रासस
तीन दिने भ्रमणका लागि इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा
काठमाडौं। इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन्। प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुँन्। आफ्नो तीन दिने भ्रमणका क्रममा सो टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले जानकारी दिए। नेपालमा स्थिर सरकार गठन भएसँगै विकासको गति सहज भएको भन्दै आर्थिकस्तर बलियो बनाउन सकिने टोलीले विश्वास व्यक्त गरेको थियो । पूर्वप्रधानमन्त्री तम्राटको टोलीले नेपालमा पर्यटन र कृषिको क्षेत्रमा उल्लेख्य फड्को मार्न सक्ने सम्भावना रहेको ठहर गरेको छ । भ्रमण दलका सदस्य तथा अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृत बेन स्मिथले भने, “नेपालको विकासका लागि पर्यटन र कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।” यसैबीच टोलीले पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्द ज्योति माविको स्थलगत अवलोकन भ्रमण गर्नुको साथै आर्थिक सहयोगसमेत गरेको छ । उक्त विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सहयोग दुई हजार पाँच सय अमेरिकी डलर टोलीले सहयोग गरेको हो । कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं सङ्घीय सभासद् खगराज अधिकारीले यस क्षेत्रमा भएको लेन सम्राटसहितको टोलीको भ्रमणले समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। रासस
काग तिहारको अवसरमा रत्नपार्कमा काग सम्मेलन
काठमाडौं। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा करीब ३०० सङ्ख्यामा काग बोलाएर १५ औँ काग सम्मेलन गरेका छन्। दुलालले विगत १४ वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् । “मैले संविधान नबन्दा काग बोलाएर नयाँ बानेश्वरस्थित संसद् भवन र अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गरेको छु, भारतले नेपालमा नाकाबन्दी गर्दा मैले भारतीय राजदूतावासको ढोका अगाडि काग बोलाएर विरोध गरेको छु”, दुलालले भने। दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए। यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । रासस
वोमी माइक्रोफाइनान्सको २५ प्रतिशत लाभांश पारित
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रस्तावित २५ प्रतिशत लाभांश पारित गरेको छ । माइक्रोफाइनान्सको कार्तिक १७ शुक्रबार सम्पन्न सातौंैं वार्षिक साधारण सभाले संस्थाको चुक्ता पूँजी रु १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतले हुन आउने कर सहितको नगद लाभांश रकम रु २ करोड ५२ लाख ७२ हजार स्वीकृत गरेको छ । उक्त साधारण सभाले संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा कारोबार गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने तथा सोही अनुरुप प्रबन्ध पत्र एवं नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । त्यस्तै, उक्त सभामा संस्थाले उपयुक्त लघुवित्त संस्था पहिचान गरी प्राप्ती गर्ने वा मर्ज गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४० स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । सभामा शाखा कार्यालयहरु मध्ये कार्य सम्पादन मुल्याङ्कनमा अधिकतम अंक ल्याउने उत्कृष्ट दुइ वटा शाखा कार्यालयहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियाे ।
हेलिकप्टरबाट निजगढ विमानस्थल हेर्दै माधव नेपाल र रबिन्द्र अधिकारी, विकल्प नखोज्ने अठोट
काठमाडौं । निर्माणाधिन निजगढ अन्तराष्ट्रिय विमानस्थलको सांसदहरुले हेलिकप्टरबाट अवलोकन गर्ने भएका छन् । विमानस्थल निर्माणबारे देखिएका अवरोधबारे अध्ययन गर्न गठित पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको उप समितिले हेलिकप्टरबाट अवलोकन गर्न लागेको हो । उप समितिका पाँच जना सदस्यहरुलाई लिएर पूर्व प्रधानमन्त्री नेपालले र पर्यटन मन्त्री रबिन्द्र अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम र प्राबिधिक सम्मिलित १८ जनाको टोलीले हेलिकप्टरबाट अवलोकन गर्न लागेको हो । संसदिय टोलीले निजगढ विमानस्थलका लागि तोकिएको क्षेत्रको वन, वातावरण, वन्य जन्तु, मानव बस्ती, नदि कटान लगायतका बारेमा अवलोकन गर्नेछ । अन्तराष्ट्रिय सम्बन्ध समितिले माधव नेपालको नेतृत्वमा उप समिति गठन गरेर निजगढ विमानस्थल निर्माणमा देखिएका समस्याबारे विस्तृत अध्ययन गरिरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन राम्रो नभएको भन्दै वातावरण विदहरुले निजगढ विमानस्थलको विकल्प खोज्न दबाव दिईरहेका छन् । उनीहरुले हात्ति हिड्ने बाटो, भिमसालको पुरानो रुख रहेको लगायतका कारण देखाएर निजगढ विमानस्थलको बिरोध गरिरहेका छन् । पूर्व प्रधानमन्त्री नेपालले भने निजगढ विमानस्थलको विकल्प खोज्न नसकिने स्पष्ट पारिसकेका छन् । उनै नेपाल नेतृत्वको उप समितिले दिएको प्रतिवेदनका आधारमा निजगढ विमानस्थलको भविष्य निर्धारण हुनेछ । पर्यटन मन्त्री रबिन्द्र अधिकारी र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पनि निजगढको विकल्प खोज्न नसकिने स्पष्ट पारिसकेका छन् ।
बेसहारा बालबालिकाको अभिभावक बन्दै पोखराको रेन्बो बालगृह
काठमाडौं। समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर जिम्मेवार अभिभावक बनेको छ । आमाबुबा गुमाएका बेसहारा समाजका बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै बालगृह जिम्मेवार अभिभावक बनेको हो । स्याङ्जा जिल्लामा कष्टकर जीवन यापन गर्न बाध्य एकै परिवारका तीन जना बालबालिकाबाट २०६२ सालबाट शुरु गरिएको सो बालगृहले हाल समाजका ७७ जना बालबालिकालाई प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्दै आएको बालगृहका सञ्चालक गोमा ढकालले बताए। उनका अनुसार पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा सञ्चालित बालगृहमा ४० बालबालिका आवासीय रुपमा रहेको र ३७ जनालाई परिवारसँगै राखेर पठनपाठनमा सहयोग गर्दै आएको छ । संस्था सञ्चालनको पहिलो अवस्थामा निकै कठिनाइ आएको भए पनि पछिल्लो समय सबै क्षेत्रको उल्लेख्य सहयोगले असहाय बालबालिकाको क्षेत्रमा लाग्न आफूलाई थप प्रेरणा मिलेको उनले बताए। समाजका असहाय बालबालिकालाई एउटै छानामुनि आधारभूत शिक्षा, स्वास्थ्यलगायतका विभिन्न आवश्यकतासहित मातृत्व स्नेह प्रदान गरेको सो बालगृह पछिल्लो समय सबैका लागि अनुकरणीय एवं समाजप्रति उत्तरदायी बनेको हो । आफूले जन्माएका सन्तानको समेत ध्यान पु¥याउन नसकेको हाम्रो समाजमा विभिन्न क्षेत्र, वर्ग र संस्कारबाट आएका ७५ जना बालबालिकाको अभिभावक बन्न पाउँदा आफूलाई गर्व लागेको सञ्चालक ढकालको धारणा छ । बालगृहमा हाल कास्की, तनहुँ, गोरखा, सोलुखुम्वु, सिन्धुुपाल्चोक, कालीकोट, दाङलगायत विभिन्न जिल्लाका बालबालिका आबद्ध रहेको बालगृह सञ्चालनमा स्वदेशी तथा विदेशी दाताको आर्थिक सहयोगबाट निरन्तरता पाएको सञ्चालक ढकालले जानकारी दिए। बालगृह सञ्चालक समितिका अध्यक्ष राजेन्द्र थापाका अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा पालनपोषणमा वार्षिक रु ९० लाखभन्दा बढी खर्च हुने गरेको छ । उनका अनुसार जर्मनको भिपी फाउण्डेशनलगायत अष्ट्रेलिया, अमेरिका, फ्रान्स, इटालीलगायतका विभिन्न देशका व्यक्तिको बालगृहलाई सहयोग रहँदै आएको छ । संस्थामा जम्मा कूल रकमको पाँच प्रतिशत रकम सङ्कलन गरेर पोखरा २४ स्थित पामेमा बालगृहले खरीद गरेको लगभग छ रोपनी जग्गामा रेन्बो कृषि फर्म सञ्चालन गर्ने योजना रहेको बालगृह सञ्चालक समितिका सचिव इन्दिरा लामिछानेले जानकारी दिए। “बागगृहमा आबद्ध बालबालिकालाई कृषि व्यवसायमा आकर्षण गरी स्वरोजगार सिर्जना गर्ने संस्थाको लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो । उक्त जग्गामा हाल धान रोप्नुको साथै ताजा तरकारीसमेत उत्पादन गर्दै आएको उहाँले राससलाई जानकारी दिए। समाजका बेसहारा बालबालिकाको अभिभाकत्व ग्रहण गरेर राज्यको जिम्मेवारीभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व पूरा गर्दै जनस्तरबाट सञ्चालित संस्थाको निरन्तरताको लागि मूल्याङ्कनको आधारमा सरकारीस्तरबाट समेत उचित सहयोग हुनु अपरिहार्य भएको छ । रासस