राष्ट्र बैंकले १४३ करोड रूपैयाँ बोलकबोलबाट लगानी गर्ने
काठमाडौ । नेपाल राष्ट्र बैंकले सिलबन्दी बोलपत्रमार्फत बैंक तथा वित्तीय संस्थामा १ अर्ब ४३ करोड १२ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मङ्सिर २ गतेदेखि २०७६ कात्तिक ३० गतेसम्मका लागि मुद्धती निक्षेपमा त्रैमासिकरुपमा व्याज भुक्तानी हुने गरी लगानी गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी पेश गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु एक अर्ब १४ करोड ५० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई रु २१ करोड ४६ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड १६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले यही कात्तिक २० गते मङ्गलबार अपराह्न ३ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको बैंक तथा वित्तिय संस्थाले भाग लिन पाउने शर्त राखिएको छ । यस्तै कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, घर कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलाई कुनै पनि जरिवान भएको हुन नहुने प्रावधान छ । सुधारात्मक कारवाही भएको भए फुकुवा भएको छ महीना पूरा भएको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिएको हुनुपर्ने शर्तसमेत राखिएको छ । रासस
विराटनगर आयो रेल, मंसिर २६ देखि नियमित सञ्चालन हुने
मोरङ । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको छ । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३.३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो । हालसम्म रेल्वेको परीक्षण भइसकेको जोगवनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिए । परीक्षणका क्रममा आइतबार रेलको इञ्जिनको डिब्बा ल्याइएको हो । आगामी मङ्सिर २६ गतेदेखि नियमितरुपमा सञ्चालन गरिने उनले बताए। सो मार्गका चल्ने रेल भने यात्रुवाहक होइन । कच्चा पदार्थ ढुवानी गर्न सहजताका लागि व्यापारी व्यवसायीले प्रयोग गर्नेछन् । बथनाहा–कटहरी १८ किमी दूरीको रेलमार्गमध्ये बथनाहा–बुधनगरको आठ किमी रेलमार्ग निर्माण भएपछि रेलको परीक्षण गरिएको हो । रेल्वे निर्माण कम्पनी इन्कोरका असिस्टेन्ट मेनेजर रणवीर कुमारका अनुसार आगामी पुससम्ममा रेल्वे निर्माणको काम सम्पन्न गर्नुपर्ने सीमा भएपनि नेपालतर्फ भएको जग्गा मुआब्जा विवादका कारण १८ किलोमिटरमै काम नसकिने देखिएको छ । भारतको बथनाहाबाट बुधनगर आइपुगेको रेलको इञ्जिन बोक्ने डब्बामा भरतको रेल विभाग र निर्माण कम्पनी इरकोनका प्रतिनिधि सवार थिए । रेलबाट उत्रिएका इरकोन कम्पनीको सञ्चालक अश्विनी कुमारले सञ्चारकर्मीसँग कुरा गर्दै मङ्सिर २६ गतेदेखि निर्वाधरुपमा सञ्चालन हुने बताए । रेल आउनु दुई घण्टा अगावैदेखि स्थानीय कुरेर बसेका थिए । विराटनगर–१८ का वडाध्यक्ष सञ्जय साहले बुधनगरमा रेल आएपछि सबैलाई फाइदा पुग्ने बताउछन् । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमीनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी भएको थियो । समझदारी अनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याई पु¥याउनुपर्ने भएपनि विराटनगर–जोगवनी रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवादले असर गरेको छ । रासस
धरहरा निर्माणमा सहयोग गर्ने स्थानीय समुदायको प्रतिबद्धता
काठमाडौ । धरहरा निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आइतबार आयोजित कार्यक्रममा सहभागीले धरहरा पुनःनिर्माणका लागि त्यहाँ भएका पूर्वाधार हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक, गोश्वारा हुलाक कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले धरहरा पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । टेलिकमका प्रबन्धक झवीन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा निर्माणमा सहयोग गर्ने बताए । सञ्चयकोषका कायम मुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनःनिर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न तयार रहेको बताइन । प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी बाटोको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा निर्माणको कामलाई अघि बढाइने बताए । कार्यक्रममा प्राधिकरणका कार्यकारी सदस्यद्वय ध्रुवप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, सहसचिव राजुमान मानन्धर, टेलिकमका निमित्त प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेल, विद्युत् प्राधिकरणका थिरकुमार खत्री, खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराई, महानगरीय ट्राफिक वृत्तका रामकुमार खनाल, नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका निर्देशक अनुज दाहाल, हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारी, धरहराको ठेक्का पाएको कम्पनी जिआइइटिसीका प्रतिनिधि रमन महतो, वडा नं २२ का वडाध्यक्ष महर्जनलगायतले धरहरा पुनःनिर्माणमा सहयोगको प्रतिबद्धता जनाए। रासस
चिसो बढ्न थाल्याे , राजधानीकाे तापक्रम ८.६ डिग्रीमा झर्यो
काठमाडौ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ८.६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार चिसो क्रमिकरुपमा बढ्ने क्रममा रहेको छ । तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उनले बताए । लामो समयसम्म पानी नपरेकाले धूलोका कारण वायुमण्डल प्रदूषित भएको मौसमविद् अर्यालले बताए । अझै केही दिन पानी नपर्ने बताइएको छ । उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ । रासस
असनबाट यसरी भित्रिदै छ तिहार(फोटो फिचर)
तिहारले व्यस्त असन बजार । तिहार नजिकिदै गर्दा आफ्नो पसल सजाउदै एक व्यापारी पसलमा ढाका टोपी छान्दै महिला दिदीबहिनीहरुः प्राय भाई टिकामा आफ्ना दाजुभाईलाई दिदीबहिनीले ढाका टोपी उपहार दिने चलन परापुर्व देखि चल्दै आएको छ । चाडपर्वको मौका छोप्दै आफ्नो पढाई खर्च निकाल्न असनको गल्लीमा रंग बेच्दै एक बालक र संगै एक माला व्यापारी माला मिलाउदै । तिहारमा विशेष गरि धनकी देवी लक्ष्मीको पुजा गरिने परम्परा रहेको छ । असनमा बिक्रीका निम्ति सजाएर राखिएका लक्ष्मी भगवानका तस्विर । रंग किन्ने ग्राहक पर्खदै पसल अघि एक बालिका: तिहारमा भाईटिकाका निम्ति सात रंगको प्रयोग गरिन्छ । साथै, अहिले नेपालमा पनि रंगौली बनाएर लक्ष्मी पुजा गर्ने चलन बढेको हुदा रंगको प्रयोग पनि बढेको छ । भाईटिकामा दिदिबहिनीले आफ्ना दाजुभाईको सत्रु नास हुन् / पराजित हुन भन्ने उद्धेश्यले ओखर फुटाएर खुवाउने चलन रहेको हुदा यो फलको पनि बिशेष महत्व रहेको छ । भाईटिकाका लागि मखमली फुलको माला बेच्न पसलमा माला मिलाउदै पसल साउनी भाईको आयु पनि मखामलिफुलाको जस्तै अमर होस् ,भाईको जिवन कहिले नोईलाओस भन्ने विश्वासले यो फुलको माला लगाईदिने प्रचलन छ । सडक किनारमा बेच्न राखिएको रातो माटोः रातो माटोले घर लिपेर सफा गरने र लक्षमी भित्राउने चलन रहेको छ ।
६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला, ४४ हजारले गरे अवलोकन
काठमाडौं । १२औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ । प्रदेश नं ३ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांक भन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ । मेलामा पहिलो दिन ९ हजार ५ सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा १६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार १७ हजार अवलोकनकर्ता पुगेको मेलामा २१ लाख रुपैंयाको कारोबार भएको थियो । चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिए पनि ६२ लाख रुपैंयाभन्दा बढीको कारोबार भएको हो । प्रदर्शनीमा ४५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो । ‘रोपेर फूल गोदावरी सजाआैँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएका छन् । २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्य स्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक गत आर्थिक वर्षको अन्त्य सम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन खोल्यो ७ नयाँ शाखा
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एकैदिन ७ वटा नयाँ शाखाहरुको उद्घाटन गरेको छ । कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर, नेपालगंज, सुर्खेत, दैलेखमा थप शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश न. ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी, कम्पनीको नायब कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, डडेल्धुरा शाखाको अमरगढ़ी नगरपालिकाका मेयर बिशेश्वरप्रसाद ओझा, दैलेख शाखाको जिल्ला समन्वय समितिका कायम मुकायम प्रमुख बालकृष्ण केसी र प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेल, टिकापुर शाखाको टिकापुर महानगरपालिकाका उपमेयर केशरी विष्ट रावल, नेपालगंज शाखाको नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, सुर्खेत शाखाको प्रदेश न.६ का आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला बुढाथोकीले उद्घाटन गरेका थिए ।
मुटूरोग पत्ता लगाउने नयाँ प्रविधी भित्रिदै, घरमै बसेर प्रयोग गर्न सकिने
काठमाडौं। स्वास प्रश्वासमा धिमा गती हुने लक्षण पछि अस्पताल आईपुग्दासम्म विरामीको उपचारको लागि धेरै ढिला भइसकेको हुनसक्छ यसर्थ यस्ता मुटूको रोगीहरुको जीवन सुरक्षणको लागि वारम्बार अस्पताल धाउन नपर्ने गरी घरैबाट उपचारको थालनी गरेर यस्ता रोगको लक्षण पत्ता लगाउने नयाँ प्रविधी बजारमा आउन लागेको छ। बजारमा छिटै आउन लागेको नयाँ प्रविधि भेस्टले विरामीको कपडाको माथि लगाएर फोक्सोमा भएको कृयाकलापलाई परिक्षण गर्ने गर्दछ । जब मुटूले राम्ररी रगत प्रवाह गर्न छोडछ, तब स्वास प्रश्वासको तथा अन्य कारणले फोक्सोमा तरल पदार्थ थुप्रिन थाल्छ । यो प्रकृया विरामीले चालै नपाई एक दुई हप्ता अघिनै शुरु भईसकेको हुन्छ तसर्थ उपचारको लागि हतारिनु भन्दा यो नयाँ प्रविधि फोक्सोमा भेस्ट प्रयोग गरेर ३ मिनेटमै लक्षणहरु थाहा पाउन सकिन्छ । जसको सहयोगमा सुचना प्रवाह गर्ने र औषधी उपचार, खानपिनमा सयमता लगायत सजगता अपनाउन सकिन्छ । हरेक मुटू रोगीले विशेषत पर्यावरणीय दुषितबाट जोगीनु पर्ने कुरामा विशेष जोड दिनपर्छ। भारत सरकारबाट पंजाब रत्नको उपाधीबाट सम्मानित भईसकेका विश्वविख्यात हृदय रोग विशेषज्ञ डा. रजनिश कपुर जटिल हृदय सम्बन्धि कार्यशाला गर्न नेपाल आएका थिए। उनको भनाई अनुसार सबै व्यक्तिहरु हृदयधातका कारण मर्दैनन् प्रायजसो ह्दय रोगका विरामीहरु हृदयले राम्रो संग रगत प्रवाह नगर्ने समस्याका कारण पिडीत छन् । उनले हरेक मनिसले तनाव रहित जीवनशैलि बाँच्नको लागि प्रसस्त फलफूल तथा सागसब्जी खाने, नियमित व्यायाम गर्ने धुम्रपान तथा मद्यपान त्याग्ने प्रसस्त झोलिलो पदार्थ पिउने, पर्याप्त मात्रा सुत्ने र तनाव रहित जीवन जिउनुपर्ने कुराको जोड दिएका छन् । अध्ययन अनुसार प्रत्येक बर्ष नेपालमा ४ मध्ये १ जना मृत्युको कारण हृदय रोग हुने गरेको छ । हृदय रोग जोखिम कारकहरुको बृद्धिले गर्दा २०३० सम्ममा यसले मृत्यु दरको ३५% ओगटने अनुमान गरिएको छ हृदय रोग बृद्ध उमेरका मानिसहरुमा बढि प्रभावित हुन्छन र मधुमेह र मोटोपनाको कारण पनि हृदयरोगको व्यापक बृद्धि भइरहेको छ भनेर डा. कपुरले भन्नु भएको छ । हृदय रोगको मूत्यु दर कम गर्नको लागि आधुनिक उपचार विधिद्वारा मेदान्त अस्पताल सधैनै प्रथम स्थानमा छ र रहिरहने छ भनेर डा.कपुरले भनेका छन्। एफ. एफ. आर. प्रविधिको प्रयोगले अनावश्यक स्टेन्टिङ रोक्दछ । २१ औं सताब्दीको नविनतम प्रविधि जसलाई ओसिटी हो र जसले स्टेन्ट्स हरुको सहि व्यवस्थापन गर्न सहायता गर्छ जसले गर्दा शत प्रतिशत मुटुमा रगतको प्रवाह गरी र उपचारमा ५ गुणासम्म दक्षता ल्याउँछ । वाईपास सर्जरी गरी जोखीमपूर्ण भएका विरामीहरुमा यो ज्यादै उपयोगी छ भनेर उनी भन्छन्। मिनिएचर प्रविधिको हृदय रोगीहरुका लागि एक वरदान हो भनेर डा. कपुर भन्छन् यस प्रविधिमा विरामीको विभिन्न हृदयको चेम्बरहरुमा थुप्रै सेन्सरहरु सटिक रुपमा राखिन्छ जसले मुटुको समन्वय बढाउँछ यी सेन्सरहरुले रगतमा अक्सीजनको मात्रा, शारिरिक गतिविधि, शरिरको तापक्रम, एडे«नलाइन र हार्मोनका स्तरलाई अनुगमन गरेर यसलाई स्वस्थ मुटुको गति सरह चलाउन मद्दत गर्दछ ।