काभ्रे-सिन्धुपाल्चोक र धादिङ-गोरखाका सडक निर्माणका अवरोध हटाउने समझदारी
काठमाडौं । भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपी) अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकमा देखा परेका विद्युत, नापी र वनसँग सम्बन्धित समस्याहरु समाधान गर्ने समझदारी भएको छ । एसियाली विकास बैंकको सहयोगमा पुनर्निर्माण भइरहेका पाँचखाल–मेलम्ची ९काभ्रे–सिन्धुपाल्चोक० तथा धादिङ–गोरखा सडकको कार्य अघि बढाउने सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित बैठकमा सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो जिम्मेवारको बाँकी कार्यलाई समन्वय गरी अघि बढाउने बताए । नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक हर राज न्यौपानेले पाँचखाल–मेलम्ची सडकका पोलहरु सार्ने ठेक्का लागिसकेकोले काम अघि बढाउने जानकारी दिनु भयो । उहाँले सडक विभागले पोलहरु सार्ने बिन्दुका बारेमा अग्रीम जानकारी दिए काम शीघ्र अघि बढाउन सहज हुने धारणा व्यक्त गर्दै धादिङ–गोरखाका बाँकी रहेका पोल हटाउन पनि मातहत निकायलाई निर्देशन दिने बताए । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पाँचखाल–मेलम्ची सडकको मालपोत कार्यालयबाट लगत कट्टाको विवरण प्राप्त भएलगत्तै सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाइने जानकारी दिए । वन विभागका उपसचिव नवीन गिरीले राष्ट्रिय योजना आयोगबाट पाँचखाल–मेलम्ची सडक राष्ट्रिय प्राथमिकता प्राप्त सडक हो भन्ने व्यहोराको पत्र पाएपछि रुख कटानको काम अघि बढ्ने जानकारी गराए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अति आवश्यक पुनर्निर्माण कार्यमा सम्बन्धित निकायहरुबीच समन्वय हुन आवश्यक रहेको धारणा व्यक्त गर्दै यी आयोजनाको अवरोध हटाउनका लागि विशेष ध्यान दिन आग्रह गरेका छन् । भूकम्पीय आकस्मिक सहायता आयोजनाअन्तर्गत पाँचखाल–मेलम्ची सडकमा विद्युतका पोलहरु हटाउन तथा नापीबाट सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाउन बाँकी रहेको आयोजना निर्देशनालयले जनाएको छ । त्यसैगरी, धादिङ–गोरखा सडकमा पनि बिजुलका सबैहटाइसकिएका छैनन् भने मुआब्जा वितरण कार्यमा पनि सन्तोषजनक प्रगतिभएको छैन । बैठकमा भूकम्पीय आकस्मिक सहायता आयोजनाका आयोजना निर्देशक सरोजकुमार प्रधान, एडीबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरीलगायतको उपस्थिति थियो ।
हिल्सामा रेल खाेज्दै कर्णालीका मुख्यमन्त्री, चिनियाँ टोली सम्भाव्यता अध्ययनमा
हुम्ला । केरुङ काठमाडौं रेलमार्गपछि नेपाल चीन जोड्ने नयाँ रेलमार्गका लागि सम्भाव्यताको खोजी सुरु भएको छ । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि मंगलबार एक विशेष टोली हुम्ला पुगेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली आज बिहान काठमाडौँ हुँदै सिमिकोट हिल्सा पुगेका छन् । नेपालकै उत्तरी नाका मध्य छोटो मार्ग भएकाले उत्तरदेखि दक्षिण दुई देशबीच जोड्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गका रुपमा लिएकाले चिनियाँ सरकारको प्रतिनिधि टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत अन्य मन्त्री हुम्ला पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ । केही महीना अगाडि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन सरकारको निमन्त्रणामा मुख्य गरी सडक, विद्युत्लगायतका विषयलाई लिएर चीन सरकारसँग छलफल गरेका थिए । बहुचर्चित कर्णाली करिडोर खुलालु हुम्लाको हिल्सा सिमिकोट सडकखण्ड लम्बाइ २८१ किलोमिटर रहेको हिल्सा सिमिकोट सडकखण्ड कार्यालयका प्रमुख शशांक मिश्रले बताए।रासस
सेयर बजार १३ अंकले बढ्यो, उन्नति माइक्रो फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । तिहार पछि लगातार ओरालो लागेको बजार मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । साे दिनकाे कारोबार शुरु भए देखिनै सेयर बजार उकालो लागिरहेको थियो । समग्रमा मंगलबारकाे बजार बन्द हुँदा नेप्से परिसूचक १३.९७ अंकले उकालो लागेर १२०७ अंकमा पुगेको छ । बजारमा परिसूचकमा सुधार आएतापनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन । तर सोमबारको तुलनामा मंगलबारको कारोबार रकम ४ करोड रुपैयाँले बढेको छ । मंगलबारको बजारमा कुल १५० कम्पनीको १७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार जम्मा १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबारको जस्तै मंगलबार पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन एक करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको मंगलबारको बजारमा उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एकैदिन कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । ४२ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ताहरु यस संस्थाको सेयरमा आर्कषित भएका हुन् । जस कारण संस्थाको सेयर मूल्य एकैदिन १५७ रुपैयाँले बढेर प्रतिकित्ता १७३२ रुपैयाँ पुगेको छ । सो दिन फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७७ अंकले उकालो लागेको छ । अनलाइन प्रणाली शुरु भएपछि नेप्सेको साइटमा प्रविधिक समस्या देखिइरहेको छ । उक्त प्रणाली शुरु भएको चौथो दिन(आज) पनि साइटमा बेलाबेलामा समस्या देखिएको थियो ।
प्रर्वद्धकले सेयर बेच्न थालेपछि अपि पावरकाे सेयर मूल्यमा भारी गिरावट, वित्तीय अवस्था शंकास्पद
काठमाडौं । प्रवद्र्धकहरुले सेयर बेच्न थालेपछि अपि हाइड्रोपावरको सेयर मूल्यमा भारी गिरावट आएको छ । पुराना लगानीकर्ताले कारोबार भएको ३ दिनमै गुमाए २७ प्रतिशत गुमाएमा छन् । तिहारअघि मंगलबार बजार बन्द हुँदा उक्त कम्पनीको सेयर प्रतिकित्ता १८१ रुपैंयाँमा कारोबार भएको थियो । तिहारपछि बजार खुलेको आइतबार यसको सेयर मूल्य १० प्रतिशत घटेर १६३ रुपैंयामा झरेको थियो । सोमबार खुलेको बजारमा पनि सोही प्रवृत्ति दोहोरिँदा शेयर मूल्य १४७ रुपैंया कायम भयो । मंगलबार मध्यान्नमा अपिको शेयर प्रतिकित्ता १३३ रुपैंयाँसम्ममा कारोबार भएको छ । बजार बन्द हुँदा प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार यस कम्पनीको १ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । प्रमोटरको सेयर पब्लिक सेयरमा परिवर्तन भएको र प्रवद्र्धकहरुले सेयर बेच्न थालेका कारण मूल्य घटेको कम्पनीका एक सञ्चालकले बताए । जलविद्युत कम्पनीको प्रमोटर सेयर तीन वर्षपछि स्वतः साधारण सेयरमा परिणत हुने र किनबेच पनि साधारण सेयर सरह हुने कानुनी व्यवस्था छ । पछिल्ला दिनमा मात्र होइन, यस कम्पनीको सेयर मूल्य विगत एक वर्षदेखि निरञ्तर घटिरहेको छ । यस कम्पनीका लगानीकर्ताले एक वर्षमा ७५ प्रतिशत सम्पत्ति गुमाएका छन् । एक वर्षअघि प्रतिकित्ता ५१३ रुपैयाँमा कारोबार भएको यस कम्पनीको सेयर अहिले १३३ रुपैयाँमा झरेको छ । गत चैतयता यस कम्पनीले वित्तीय विवरण पनि सार्वजनिक गरेको छैन । वित्तीय विवरण पनि सार्वजनिक नहुनु र सेयर मूल्यमा उच्च गिरावट आउनुले कम्पनीको वित्तीय अवस्था विग्रेको आशंका गरिएको छ । यस कम्पनी माथि संस्थागत सुशासन कमजोर रहेको गुनासो लगानीकर्ताको छ ।
चितवन घुम्न जाँदै हुनुहुन्छ ? बुझेर जानुस् कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ?(फाेटाेफिचर सहित)
चितवन। चितवनको घुम्ने मौसम अहिले सबैभन्दा उपयुक्त हो । बिशेषत: यहाँको सौराहा, नवलपरासी लगायत आसपास क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न जाने गर्दछन् । पर्यटकीय सिजनलाई आधार मानेर चितवनमा के कस्ता रिसोर्टहरु छन् । र, कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ? भनेर जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो । कुन रिसोर्टमा कति खर्च लाग्छ ? १. पश्चिम् चितवनको जगतपुरमा रहेको मचान प्याराडाईज भ्यु सुविधा सम्पन्न रिसोर्ट हो । २० वटा डिलक्स रुम रहेको रिसोर्टमा एक रातको ८० डलर खर्च गर्नुपर्ने हुन्छ । विगतदेखि नै संचालनमा रहेको मचानका संचालक प्रकाश श्रेष्ठ हुन् । ८० सिट क्षमताको सभाहल समेत रिसोर्टमा चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको छ । जहाँ जंगल सफारीको समेत सुविधा रहेको छ । २. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै रहेको आइल्यान्ड रिसोर्टमा सुईट डिलक्स १२ वटा रुम र स्ट्यान्र्डड १६ वटा गरी २८ रुमहरु रहेका छन् । एकरातको १२५ डलर खर्च गर्नुपर्ने उक्त रिसोर्टमा पनि जंगल सफारी, वर्ड वाच लगायतको सुविधा रहेको छ । ३. चितवनको मोहन खोला नजिक रहेको उक्त रिसोर्ट पनि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमै रहेको छ । रिसोर्टको एक सुइट, ३२ डिलक्स रुमहरु रहेका छन् । रिसोर्टमा पनि जंगल सफारी, बोटिङ तथा वर्ड वाचिङको सुविधा रहेको छ । रिसोर्टको एकरातको १२५ डलर खर्च गर्नुपर्ने हुन्छ । ४. सौराहामा रहेको रोयल पार्क होटल पनि सुविधा सम्पन्न होटल हो । ३४ वटा रुम रहेको होटलमा २ रात दिनको प्याकेज ८० डलर मात्रै रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेको उक्त होटलमा जाने पर्यटकको लागि पनि जंगल सफारी, वर्ड वाच तथा बोटिङको व्यवस्था रहेको छ । ५. मचान वाइल्डलाईफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज नजिकै पर्दछ । ३६ वटा स्ट्यान्डर्ड रुम रहेको रिसोर्टमा एकरातको १ सय १० डलर खर्च गर्नुपर्ने हुन्छ । वर्ड वाच, जंगल सफारी, वर्ड वाच लगायतको सुविधा पर्यटकलाई दिने गरेका छन् । ६. चितवनको सफारी नारायणी होटल सुविधा सम्पन्न होटल हो । जसका ३४ वटा रुमहरु रहेका छन् । भने १ सय ४० डलर प्रतिरात खर्च गर्नुपर्ने हुन्छ । होटलले पनि जंगल सफारी, वर्ड वाच र नारयाणीमा बोटिङबाट पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएको छ । ७. चितवन जंगल लजका ३६ वटा सुविधासम्पन्न रुमहरु रहेका छन् । जम्मा प्रतिरात ६५ डलर खर्च गरे पुग्ने उक्त लजले पर्यटकलाई जंगल सफारी, वर्ड वाच तथा बोटिङको सुविधा दिदैं आएको छ । ८. चितवन प्याराडाईज रिसोर्टका १२ वटा डिलक्स र १२ वटा स्ट्यान्र्डड रुमहरु रहेका छन् । प्रतिरात २५ डलरमै रुम पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङ तथा बोटिङको सुविधा दिने गर्दछ । ९. चितवनमा रहेको एडभेन्चर रिसोर्टका ८ वटा डवल रुम र १२ वटा सुविधासम्पन्न सिंगल रुमहरु रहेका छन् । प्रतिरात २५ डलर खर्चमै बस्न पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङको सुविधा पर्यटकलाई दिदै आएको छ । १०. रिभर साइड स्प्रिङ रिसोर्ट चितवनको कुरीनटारमा रहेको छ । त्रिशुली किनारमा रहेको उक्त रिसोर्टमा २२ वटा स्ट्यान्ड्रड रुमहरु रहेका छन् । जम्मा ४० डलर प्रतिरात लाग्ने उक्त रिसोर्टमा त्रिशुलीमा र्याफ्टिङको मज्जा पर्यटकले लिन पाउँने छन् ।
लाभांश घोषणा सँगै उन्नति माइक्रो फाइनान्सको सेयर मूल्य बढ्यो, बेच्नेको भन्दा किन्नेको चाप
काठमाडौं । मंगलबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । संस्थाले ४२.६३ प्रतिशत लाभांश दिने भएपछि माइक्रोफाइनान्सकाे सेयर मूल्य एक्कासी उकालो लागेको हो । संस्थाले आफ्ना सेयरधनीलाई ४०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बोनस घोषणा सँगै बजारमा संस्थाको सेयर बेच्नेको भन्दा किन्नेको चाप देखिएको छ । यस अवधिसम्म संस्थाको ४६२९ कित्ता सेयर किन्ने लगानीकर्ताको घुईचो देखिएको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको १२२औँ बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । ४०.५० प्रतिशत बोनस पश्चात ७ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । संस्थाले लाभांश सार्वजनिक गरेपछि संस्थाको सेयर मूल्य उकालो लागेको छ । सोमबार प्रतिकित्ता १५७५ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य मंगलबार करिब साढे एक घण्टामै प्रतिकित्ता ३१ रुपैयाँले बढेर प्रतिकित्ता १६०६ रुपैयाँ पुगेको छ ।
२३ दिनसम्म कर्णालीको एक्लो यात्रा गरेकी चेलीको कथा : भेँडाकाे बथान देख्दा बाँच्ने अाशा पलायाे
काठमाडौं । सडकले छुन नसकेको सुदूर कर्णालीको सबैभन्दा ठूलो जिल्ला डोल्पा । एउटै गल्तीले जीवन समाप्त हुनसक्ने पहाडी गोरेटोहरु र छ महिना लेक बस्नुपर्ने अनि अर्को छ महिना बेँसी झर्नुपर्ने विषम हावापानी । त्यही दुर्गमता र विषमताबीचको एक्लो यात्रा । यो कल्पनाले मात्रै पनि जोकोहीको आङ सिरिङ्ग हुन्छ । त्यसमाथि त्यस्तो एक्लो यात्रामा एउटी महिला । मानव श्रृष्टिमै सुकोमल देह र हृदय भएका महिलाका लागि यस्तो यात्रा झन् भयावह विषय हुनसक्छ । तर संसारमा यस्ता अभियानहरु छन्, जसले यस्तै कहालीलाग्दा कल्पनाहरुलाई साकार बनाइरहेका छन् । त्यस्तै मिसनकी एउटी सफल अनि सहासिक पात्र हुन् प्रास्ना डंगोल, जसलाई मैले करिब १ वर्षअघि एउटा भिडियोमार्फत् चिन्ने मौका पाएँ । मैले त्यसबेला उनलाई मात्र चिनिँन, उनीसँगै उनको अभियानलाई चिन्ने मौका पाएँ । उनीसँगकाे भेटले मलार्इ महिलाकाे शक्ति चिन्ने माैका मिल्याे । सोलो वुमन ट्राभलिङ च्यालेन्ज अभियान । जहाँ ‘सोलो’ शब्दले ‘एक्लै गरिने यात्रा’लाई जनाउँछ । अर्थात् त्यस्तो अभियान जहाँ एउटी नारी एक्लै एउटा साहसिक यात्रामा निस्कन्छिन् । यो यस्तो कार्यक्रम हो जसले फेसबुक भोटिङमार्फत् छानिएका १० महिलाहरुलाई एक्लो लामो यात्रामा पठाउँछ र त्यसमा लाग्ने सम्पूर्ण खर्च व्यहोरिदिन्छ । यो अभियानमा बाली, फिजी, नेपाल, श्रीलंका, थाइल्याण्ड, घाना, जाम्बिया, कोलम्बिया, अर्जेन्टिना, पेरु लगायतका देशहरुमा यो अभियान सञ्चालित छ । २००७ देखि यता यो अभियानमा ८० हजार भन्दा बढी स्वयम्सेवकहरु छन् । सो अभियानले प्रत्येक वर्ष १० जना महिलालाई एक्लो भ्रमणमा पठाउँछ । त्यहीे अभियानकी एउटी नेपाली चेली जसले त्यस्तै साहसिक यात्राको सफल प्रयोग गरिन् उनले । प्रास्नाले २३ दिनसम्म डोल्पा जिल्लाको त्यस्तै विषम एक्लो यात्रा गरेकी थिइन् । नेपाली ट्राभलर्स नामको फेसबुक पेजमा राखिएको उनको साहसिक यात्राको उक्त भिडियो हेरेसँगै भेट्ने तीव्र इच्छा भए पनि ८ महिनापछि मात्र उनीसँग प्रत्यक्ष संवादको मौका मिल्यो । काठमाडौंको नेवार परिवारमा जन्मिएकी उनी ‘फिल्म मेकिङ’को विद्यार्थी रहिछन् । ‘फिल्म मेकिङ’ विषयमै बेलायतमा ४ वर्ष लामो अध्ययन गरी स्नातक तह उर्तीण गरेपछि ४ महिनाको लागि नेपाल फकिएकी उनलाई फेरि बेलायत फर्कन मन नै लागेन । चलचित्र निर्माणसम्बन्धी अध्ययनमा स्नातकोत्तर गर्न फेरि बेलायत फर्किने सोचलाई त्यागेर उनी नेपालमै बस्ने निधो लिइन् । उनी भन्छिन्– ‘डिग्रीमात्र सबै कुरा होइन, सीप र अनुभव आवश्यक छ भन्ने लाग्यो, त्यसैले म नेपालमै बसेँ ।’ काठमाडौंको सीमितताबाट माथि उठेर सूदूरकर्णालीको यात्रा गर्ने आँट गर्नुको पछाडी ग्रामीण नेपाली परिवेशलाई चिन्ने तीव्र इच्छा रहेको उनले सुनाइन् । त्यतिमात्र होइन तिब्बती संस्कृतिबाट प्रभावित उनी नेपाल चीन सीमा नजिक प्रचलनमा रहेको तिब्बती परिवेशलाई राम्रोसँग नियाल्न चाहन्थिन् । यसले उनको अध्ययनको क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास थियो । यात्राका लागि सुरुमा बुवाआमाले सहमति नजनाए पनि भोटिङमा भाग लिएर अन्तिम १० मा पर्दै गर्दासम्म उनका बुबाआमा उनको यात्राप्रति उत्साहित भइसकेका थिए । यात्राका सुरुका दिनहरुमा उनलाई निकै कठिन भयो । यस्तो यात्रामा निस्कनुनै दुर्भाग्य रहेछ भन्ने उनको सोचहरु यात्राका उत्तरार्द्धमा भने साहस र शक्तिमा रुपान्तरित भए । उनी भन्छिन् डोल्पा त्यस्तो ठाउँ हो जहाँ आफ्नो बाटो आफैें खोज्नुपर्छ । यात्राका क्रममा आफू हराएको अनुभव गर्दै कतिपटक उनी आफैंसँग रोइन्, बिलौना गरिन् । क्षितिजको डाँडामा देखिएका भेडाका बथानहरुले त्यतिबेला उनमा साहस भरिदियो । डोल्पाको डाँडामा भेडा गोठाल्नी ‘बजु’सँग अँगालो हालेर रुँदा आफूमा सञ्चा नेपालीपन भटेकी थिइन् उनले, साहसिक नारीभित्र लुकेको शलील हृदय सायद त्यही थियो । धेरै दिनअघि पकाएर झोलामा राखेका चिसा रोटी र पाउरोटीहरुमा जीवनका स्वादहरु भेटिएको थियो त्योबेला । मोत्से गुम्बामा मेला भर्न आएकाहरुसँग रोटी र अचारहरु बाँडेर खाएको र गुम्बामा ध्वजा बाँधेर फकिएको सम्झना उनको मस्तिष्कमा अझै ताजै छ । त्यही गुम्बाले दिएको उनमा आफैंमाथि विश्वास गर्ने आत्मबल थियो । हिमालका खोँचहरुमा मुस्काइरहेका बालसुलभ हाँसोहरुले उनलाई पाइला पाइलामा जीवनको परिभाषा दिइरहेको थियो । डोल्पाका स्थानीयहरुले पिएको जाँडका बटुकाहरुमा उनले जीवनको रस भेटेकी थिइन् । यात्राको अन्तिम समय जब तीन हप्तापछि आकाशतिर फर्किन्, रातमा आकाशका ताराहरुले उनलाई सफल यात्राको सफलताको बधाई दिइरहेजस्तो लाग्यो । जोकोहीसँग सजिलै नखुल्ने स्वभावको उनले यात्राको क्रममा भुगोल, प्रकृति, समाज र मानव समाज जुन साक्षात्कार गर्ने मौका पाइन्, त्यो नै थियो जीवनको प्रतिबिम्ब । सोलो ट्राभलिङको त्यही यात्राबाट अनुभव सँगालेकी उनले भनिन्,- ‘जो कोहीले जीवनमा घुम्नुपर्छ, पटक पटक घुम्नुपर्छ, अझ सम्भव छ भने एक्लै घुम्नुपर्छ, प्रकृति, संस्कृति र जनजीवनको गहिराईमा पुग्नको लागि ।’
देव गुरुङले बाँडे पूर्वाधार विकासको ४ करोड
काठमाडौं । नेपाल कम्प्युनिष्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गरेका छन् । उनले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गरका हुन् । गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा रु २ करोड ६३ लाख, खेलमैदान निर्माणमा रु २९ लाख, भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी र विद्यालय कम्पाउण्ड, आमा समूह भवन निर्माणमा रु एक करोड चार लाख तथा स्थानीय प्रशासनिक खर्चमा रु चार लाख विनियोजन गरिएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । सांसद गुरुङको संयोजकत्वमा बसेको परामर्श समितिको बैठकको सुझावका आधारमा निर्देशक समितिको बैठकले बजेट बाँडफाँट गरेको हो । जिल्ला समन्वय समितिमा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपाकिलाकाका प्रमुखको सहभागिता रहेको थियो । सोही सुझावलाई आधार मान्दै बसेको निर्देशक समितिले बजेट बाँडफाँटको टुङ्गो लगाएको हो । निर्देशक समितिमा निर्वाचित सांसद संयोजक र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्रावधान छ ।रासस