नेपालगञ्जको निर्मार्णाधीन ल्याण्डफिल्ड साइट अन्तिम चरणमा, ७५ प्रतिशत काम सम्पन्न
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका-२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको करीब ७५ प्रतिशत काम सकिएको छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका अनुसार ल्याण्डफिल्ड साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि निर्माणमा करीब एक वर्ष ढिलाइ भएको थियो । आठ महिना अघि मात्र निर्माण कार्यले गति लिएको उक्त आयोजनाका परामर्शदाता प्रकाशराज शिवाकोटीले फोहर जोख्ने उपकरण राख्ने स्थान, गिट्टी भर्ने, विद्युतीकरण लगायत काम बाँकी छ । दुई महिनामा निर्माणकार्य सक्नुपर्ने बताउदैं मुख्य पूर्वाधार निर्माणका काम सकिएको आयोजनाले बताएको छ । हाल फोहर भण्डारण गर्ने चार सेलमा गिट्टी भर्ने काम भइरहेको छ । उपकरण आपूर्ति गर्नुपर्ने काम बाँकी रहेको शिवाकोटीले जानकारी दिएका छन् । निर्माणको जिम्मा पाएको ‘रम्की एण्ड एनएएनसी जेभी काठमाडौँ’ले अबको दुई महिनाभित्र सक्ने गरी काम गरिरहेको छ । विसं २०७३ भदौमा शुरु भएको सो आयोजना २०७४ माघसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । समयमै काम पूरा नहुने भएपछि पुनः पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको छ । ल्याण्डफिल्ड साइट निर्माण पूरा भएपछि एक वर्षसम्म फोहर सङ्कलन गरेर परीक्षणको रूपमा सञ्चालन गरी नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ । नेपालगञ्जमा दैनिक ३५ देखि ३८ टन फोहर जम्मा हुन्छ । ल्याण्डफिल्ड साइटमा दैनिक २४ टन फोहर भण्डारण गर्न सकिनेछ । एशियाली विकास बैङ्कको ८० प्रतिशत ऋण अनुदान, शहरी विकास कोषको १५ प्रतिशत ऋण तथा नेपालगञ्ज उपमहानगरपालिकाको ५ प्रतिशतसहित कूल ३३ करोड ८ लाखको लागतमा निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको हो । ल्याण्डफिल्ड साइट सञ्चालनमा आए यहाँको फोहरमैला व्यवस्थापन गर्न सहज हुने नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनीयर प्रकाश डिसीले बताएका छन् । रासस
४२० रुपैयाँमा ११ लाखको स्वास्थ्य बीमा, मंसिर १ गतेदेखि लागू हुने
काठमाडौं । कर्मचारी संचय कोषले आगामी मंसिर १ गतेदेखि संचयकर्ता स्वास्थ्य बीमा गर्ने भएको छ । संचयकर्तालाई सामान्य बिरामी प्रतिव्यक्ति १ लाख र जटिल प्रकारको रोग लाग्दा प्रतिव्यक्ति १० लाख गरी कुल ११ लाख रुपैयाँको कभर हुने गरी स्वास्थ्य बीमा गराउन लागेको हो । कोषले संचयकर्ताको स्वास्थ्य बीमा गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट गराउने भएको छ । कोषले प्रति संचयकर्ताको ४२० रुपैयाँको दरले बीमा शुल्क बुझाउने भएको छ । ११ लाख रुपैयाँको बीमा कभर हुने गरी ४२० रुपैयाँमा स्वास्थ्य बीमा गर्नु निकै सस्तो भएको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझीले बताए । ४२० रुपैयाँ मध्ये २१० रुपैयाँ पुर्नबीमामा खर्च हुने र बीमा दावी भुक्तानीमा पनि ५०/५० प्रतिशत खर्च बेहोरिने उनले बताए । संचयकोषमा ६ लाखभन्दा बढी संचयकर्ता छन् । सबै संचयकर्ताको प्रिमियम एकमुष्ट रुपमा कोषले राष्ट्रिय बीमा कम्पनीलाई बुझाउने छ । ‘एकमुष्ट प्रिमियम २५ करोड भन्दा बढी आउँछ । मार्केटिङ खर्च, प्रशासनिक खर्च कम हुन्छ । त्यसैको आधारमा हामीले निकै सस्तो शुल्कमा बीमा गर्न लागेका हौँ’ रायमाझीले भने–‘प्रत्येक दुई वर्षमा बीमा शुल्क परिमार्जन गर्ने सहमति भएको छ । पहिलो वर्ष घाटा नहुने निश्चित छ । दोस्रो वर्ष घाटामा गयो भने शुल्क बढाउनु पर्ने हुन्छ ।’ संचयकर्ता बिरामी भएर अस्पताल भर्ना भई उपचार गरेको खण्डमा १ लाख रुपैयाँ र सरकारले जटिल रोग भनि तोकेका ९ प्रकारका रोग लागेमा १० लाख रुपैयाँसम्म बीमा कभर हुने उनले जानकारी दिए । कोषले ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा गरिदिने विषयमा सबै प्रक्रिया पुरा गरेको कोषका प्रशासक तुलसी गौतमले बताए । कोषले आफ्नो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो । यो वर्ष संचयकर्तालाई बाँडेर बचत हुने नाफा रकमबाट बीमा गर्ने र अर्को वर्षदेखि विषेश व्यवस्था गर्ने तयारी कोषको छ । कोषसंग १ अर्ब ६० करोड रुपैयाँको सामाजिक सुरक्षा कोष छ । त्यो कोषले वार्षिक १५ करोड रुपैयाँ कमाउँछ । वार्षिक १० देखि १२ करोड रुपैयाँ व्यवस्थापन गर्न समस्या नरहेको कोषको भनाई छ । संचयकर्ताको स्वास्थ्य बीमा गर्ने विषयमा दुई संस्थाबीच आज सम्झौता हुँदैछ ।
धेरै छाेराछाेरी हुने बुबाअामा धेरै धनी हुने, विवाहित छाेरीले पनि अाम्दानीकाे १०% अामाबुबालार्इ दिनैपर्ने
काठमाडौं । जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गर्न प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाे छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले ऐनमा अन्तर्राष्ट्रिय वा अन्तर सरकारी सङ्घ/संस्था वा प्रचलित कानूनबमोजिम आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । नयाँ व्यवस्था लागू भएसँग धेरै छाेराछाेरी हुने बुबाअामा धनी र सुखी हुने भएका छन् । नयाँ व्यवस्था अनुसार एउटा मात्र छाेरा वा छाेरी हुने बुबाअामाकाे वृद्ध अवस्थामा अाम्दानी कम हुने भएकाे छ । प्रत्येक आर्थिक वर्षको अन्तिममा आफ्नो आम्दानीको १० प्रतिशत आमाबाबुलाई बुझाएको बारे सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने ऐनमा व्यवस्था छ । ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षणका लागि स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न सक्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्तिले ऐनबमोजिम कसुर गरेमा निजलाई अन्य व्यक्तिलाई हुने सजायमा ३० प्रतिशत थप सजाय हुनेछ । पछिल्लो पटक आफ्ना वृद्ध बाबुआमालाई पालनपोषण गर्नुको सट्टा भएको सम्पत्ति छोराछोरीले आफ्ना नाममा गराएर आमाबाबुलाई हेला गर्ने संस्कार बढ्दै गएका कारण पनि ऐन ल्याउनुपरेको सहसचिव राई बताउछन्। बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई मासिक कमाइको १० प्रतिशत बैंक ब्यालेन्स गरिदिनुपर्नेछ । जागिर गर्नेले मात्रै भन्दा पनि मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्नो बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने उद्देश्यले २०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पूर्ण कार्यान्वयन हुनसकेको छैन । धेरै बाबुआमा सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नुपरेको छ । नयाँपुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान, श्रीमती, छोरा/छोरी)को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली ज्येष्ठले नागरिकसम्बन्धी ऐन कार्यान्वयन नभएकाले अब संशोधन भएर कार्यान्वयनमा आउनेमा शङ्का व्यक्त गरे । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात् कूल जनसङ्ख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करीब ८० करोड छन् । यो सङ्ख्या सन् २०५० सम्ममा दुई अर्ब नाघ्ने अनुमान गरिएको छ । देशभर हाल करीब ८० वृद्धाश्रम रहेका छन् । पछिल्लो समयमा संयुक्तभन्दा एकल परिवारको संस्कृति मौलाउँदै गएको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हकदाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्धमा कुनै बहानामा उजुरी गर्न नपाइने माग गर्दै आएका छन् । त्यति मात्र हाेइन, बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ ।
कुमारी बैंकको नाफा १९३ प्रतिशतले वृद्धि
काठमाडौं । कुमारी बैंकको नाफा १९३.३४ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३५ करोड २९ लाख नाफा आर्जन गरेको हो । यो नाफा बैंकले गत आर्थिक बर्षको सोही अवधीमा आर्जन गरेको भन्दा २३ करोड २६ लाख अर्थात १९३.३४ प्रतिशतले बढि हो । गत आवको पहिलो त्रैमासिकमा कुमारीको नाफा जम्मा १२ करोड ३ लाख मात्रै थियो । बैंकले तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेर पाँच अर्ब कर्जा प्रवाह वृद्धि गरेको छ । बैंकले असार मसान्तमा ६९ अर्ब निक्षेप संकलन गरेको थियो भने असोज मसान्तमा ७२ अर्ब पुर्याएको छ । त्यस्तै कर्जा भने ६१ अर्बबाट वृद्धि गरेर ६७ अर्ब पुर्याएको छ । ७ अर्ब १६ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ९५ करोड रुपैंयाँ रहेको छ । ३.३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको खराब कर्जा १.१४ प्रतिशत मात्रै छ । बैंकको आधार ब्याजदर ११.०९ प्रतिशत रहँदा प्रति सेयर आम्दानी १९ रुपैंयाँ ७१ पैसा रहेको छ ।
नेपाल बैंकको नाफा अर्ब नजिक, निक्षेप घट्यो
काठमाडौं । नेपाल बैंकले तीन महिनामै ९७ करोड ९१ लाख नाफा कमाएको छ । बैंकले चालु आवको पहिलो त्रैमासिक अवधीमा सो मात्रामा नाफा आर्जन गरेको हो । यद्यपी गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा पनि बैंकको नाफा ९७ करोड ७१ लख थियो । नेपाल बैंकको निक्षेप भने पछिल्लो तीन महिनामा ६ अर्बले घटेको छ । गत आवको असार मसान्तमा ९९ अर्ब निक्षेप संकलन गरेको बैंकले असोज मसान्त अवधीमा भने जम्मा ९३ अर्ब मात्रै निक्षेप संकलन गर्न सफल भएको छ । कर्जा प्रवाह भने असार मसान्तको तुलनामा १ अर्बले वृद्धि गरेको छ । असार मसान्त अवधीमा ७८ अर्ब कर्जा गरेको बैंकले असोज मसान्तमा ७९ अर्ब पुर्याएको हो । ९ अर्ब ८० करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा १९ अर्ब ६० करोड रुपैंयाँ रहेको छ । नेपाल बैंकको खराब कर्जा २.७८ प्रतिशत छ भने आधार ब्याजदर ७.५२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने ३९.९२ रुपैंयाँ रहेको छ ।
एभरेष्ट बैंकको नाफा घटेर ४९ करोडमा सिमित
काठमाडौं । एभरेष्ट बैंकको नाफा घटेर ४९ करोडमा सिमित भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५३ करोड नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने ४९ करोड मात्रै कमाएको हो ।। एनएफआरएस लेखा प्रणाली अनुसार सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरणमा बैंकले ३ महिनामा ४ अर्ब निक्षेप वृद्धि गरेको छ । गत असार मसान्त अवधीमा १ खर्ब १६ अर्ब निक्षेप संकलन गरेको बैंकले असोज मसन्त अवधीमा १२० अर्ब पुर्याएको हो । ४ अर्ब निक्षेप वृद्धि गर्दा कर्जा भने ९ अर्बले विस्तार गरेको छ । असार मसान्तमा ९४ अर्ब कर्जा प्रवाह गरेको एभरेष्टले असोज मसान्तमा १०३ अर्ब पुर्याएको हो । ८ अर्ब १० करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ८३ करोड रुपैंयाँ रहेको छ । एभरेष्ट बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४६ पैसा रहेको छ । बैंकको स्प्रेड दर ४ दशमलब २३ प्रतिशत रहेको छ भने आधार ब्याजदर ८ दशमलब ८० प्रतिशत रहेको छ ।
उपत्यकामा नयाँ रुट सुरु हुँदै, हेर्नुहोस् अब यो रुटमा मात्रै गुड्नेछ सार्वजनिक यातायात
काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यकामा गुड्ने सार्वजकि सवारीलाई नयाँ रुटमा गुडाउने भएको छ । उपत्यको सवारी जामलाई कम गर्ने उदेश्यले विभागले नयाँ रुट निर्धारण गर्न लागेको हो । २ महिनाभित्रै नयाँ रुट लागू गर्ने विभागले तयारी गरेको छ । विभागले १५ वटा प्राथमिक रुट क्षेत्र निर्धारण गरेको छ । जसअन्तर्गत सबैभन्दा लामो रुट रिङ रोडलाई राखेको छ । चोक सहित र चोक रहित गरि रिङ रोडलाई २ भागमा विभाजन गरिएको छ । दुबै रुटको लम्बाई २७.३ किलोमिटर राखिएको छ । प्राथमिक रुट अनुसार नयाँ बस पार्क गोंगबुबाट सुरु भएर नारायणगोपाल चोक, चाबहिल -गौशाला -एअरपोर्ट- कोटेश्वर -बालकुमारी ग्वार्को -सातदोबाटो -बल्खु -कलंकी -स्वयम्भु हुँदै नयाँ बसपार्क आउँनेछ । यस्तै, प्राथमिक रुट चोक रहित अनुसार बुढानिलकण्ठबाट, चपली- हत्तिगौडा- गोल्फुटार – बाँसबारी- नारायणगोपाल चोक- महाराजगंज- लाजिम्पाट- लैनचौर- दरबारमार्ग- पुरानो बसपार्क- शहीदगेट- त्रिपुरेश्वर- थापाथली- कुपोंडोल- पुल्चोक- जावलाखेल हुँदै लगनखेल पुग्नेछ । यसैगरी विभागले अन्य रुटहरुमा बुढानिलकण्ठदेखि लगनखेल, लगनखेलदेखि बुढानिलकण्ठ, पुरानो बसपार्कदेखि भक्तपुर, भक्तपुरदेखि पुरानो बसपार्क, नागढुङगादेखि मुलपानी, मुलपानीदेखि नागढुङगा, मुलपानीदेखि लगनखेल, लगनखेलदेखि मुलपानी, नयाँ बसपार्कदेखि नयाँ बसपार्क, बालकुमारी पुलदेखि बालकुमारी पुल, लगनखेलदेखि गोदावरी र गोदावरीदेखि लगनखेल रुट छुट्याएको छ । विभागले अहिले प्रारम्भिक अध्ययन मात्र गरिरहेको र व्यवहारिक अध्ययन गर्न बाँकी रहेको विभागका प्राविधिक सल्लाहकार पदम बहादुर शाहिले बताए । यस्तो छ विभागले बनाएको नयाँ रुट
नेपालमै पहिलो पटक बाटोमा छाप्ने पानी सोस्ने व्लक बन्दै, अावश्यकताअनुसार आकार र रंगमा पाइने
काठमाडौं । नेपालमै पहिलो पटक मानिस हिडने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ । गोर्खा इको प्यानल अन्तगर्तको गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रा.लि.ले भक्तपुरमै पहिलो पटक यस्तो व्लकको उत्पादन थाल्न लागेको हो । हाल पेटी तथा खुला कम्पाउण्डहरुमा प्रयोग भइराखेका व्लकहरुले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर उत्पादन गर्न लागिएको यो व्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्दछ । उत्पादन हुन लागेको यो व्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइनेछ । यसो हुँंदा काठमाडौं उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिंङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ ।काठमाडौंका सडकहरुमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँंदा उपत्यकामा वर्षेनी पानीको सतह गहिरिदै गएको छ । काठमाडौं उपत्यकामा वढदो सहरीकरणसँंगै त्यहाँं प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन । आकाशे पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरुमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिंगको पानी धेरै गहिराइमा पुगेको हो । यदि यो पानी सोस्ने व्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निस्कने विज्ञहरु बताउँंछन् । गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर राजन दुवालले दुई महिनाभित्र उत्पादन थाल्ने योजना रहेको सुनाए । यसका लागि चीनबाट अध्याधुनिक मेशिन हिडिसकेको पनि उनले जनाए । नेपालमा पानी सोस्ने व्लक उत्पादन हुन लागेको यो पहिलो कम्पनी भएको उनको दावी छ । ईन्जिनियर दुवालले भने, ‘चीनको विभिन्न सहरहरुमा घुमेर यसको प्रयोग भएका ठाउँंहरुको अध्ययनपश्चात त्यहाँंका विशेषज्ञहरुसँंग छलफल गरी नेपालको माटो सुहाउदो यो प्रविधि नेपालमा भित्राउन लागेका हौ ।’ व्लकमा विशेष प्रकारको केमिकल मिसाई गुणस्तरलाई मध्यनजर गरी पानी सोस्नसक्ने गरी उत्पादन गरिने जनाइएको छ । यसको माथि मानिस हिड्न तथा हलुका सवारीसाधन गुडाउँंदा पनि फुटनेलगायतका समस्या नहुने जनाइएको छ । व्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भारबहन गर्न सक्ने मोटाई र स्ट्रेन्थ (बलियोपन) हुने कम्पनीले जनाएको छ । आफनो कम्पनीमा रहेको रिसर्च एण्ड डेभलपमेन्ट इकाईले यसको गुणस्तरलाई कायम राख्न भविष्यमा भरसक प्रयत्न गर्दै जाने पनि कम्पनीले जनाएको छ । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ कम्पनीले उत्पादन गर्न लागेको यो व्लक उत्पादनमा कुनै पनि प्रदूषणयुक्त उर्जा प्रयोग नहुने जनाइएको छ । व्लक स्वदेशमै उपलव्ध वालुवा, सिमेन्ट, गिटी र विशेष प्रकारको केमिकल मिसाई बनाइने जनाइएको छ । यसको उत्पादन आवश्यकता अनुसार फरकफरक आकार र रंगहरुमा पाइने जनाइएको छ । व्लक आवश्यकता अनुसार ६० एमएमदेखि एक सय एमएमसम्ममा पाइने कम्पनीले जनाएको छ । यसको प्रयोग सामान्य डकर्मीले पनि गर्न सकिने जनाइएको छ । यो छाप्न विशेष प्राविधिक चाहिँंदैन । प्रत्येक वर्ष एउटाएउटा नयाँं उत्पादन सुरु गर्ने योजना अनुसार यस वर्ष यस्तो व्लक उत्पादन गर्न लागेको गोर्खा इको प्यानलका प्रमख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले जनाए । उनका अनुसार पहिलो पटक सन् २०१५ मा नेपालमै पहिलो पटक गोर्खा इको प्यानल सुरु भएको थियो । योजना अनुसार सन् २०१६ मा प्रिकाष्ट, सन् २०१७ मा विण्डोरको उत्पादन सुरु गरेको थियो । यस अनुसार सन् २०१८ मा व्लकको उत्पादन सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।