सबै स्थानिय तहमा हस्तकला प्रशिक्षण केन्द्र खोल्न अर्थमन्त्रीको आग्रह
काठमाडौं । बुधबारदेखि १६औँ हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता भृकुटीमण्डपमा शुरू भएको छ । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘नेपाली हस्तकलाको परम्परागत ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्नका लागि सबै स्थानिय तहमा हस्तकाला केन्द्र खोल्न आव्हान गरेका छन् । नेपाली हस्तकलाका सामग्रीले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान दिएको बताए । उनले हस्तकला व्यवसायबाट मुलुकमा रोजगारीको अवसर सृजना गर्न र गरीबी हटाउन सकिने विश्वास पनि व्यक्त गरिन् । हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले भने, ‘नेपाली हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको बताए ।’ हस्तकलाको आन्तरिक बजारमा करिब १० अर्ब रुपैयाँ बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा विदेशमा निर्यात हुने गरेको छ । संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भईरहेको छ ।
‘नाफाको निजीकरण र घाटाको सार्वजनिकीकरण गर्ने प्रवृत्ति सुध्रिए बैंकिङ क्षेत्र नैतिकवान बन्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ क्षेत्रका सरोकारवालाहरुले घाटाजति संस्थालाई पन्छाउने र नाफा आफु राख्ने व्यक्तिगत प्रवृत्तिका कारण यो क्षेत्र नैतिकवान बन्न नसकेको बताएका छन् । नेशनल बैंकिङ इन्सिच्युटले आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा नैतिकता’ विषयको कार्यक्रममा क्षेत्रीले साथीभाइसँग बसेर खाएको खाजाको बिल बैंकलाई तिराउने तर पदीय हैसियतकै कारण प्राप्त भएको घरमा भित्र्याउने प्रवृत्ति बैंकिङ क्षेत्रको मूल समस्याको रुपमा रहेको औल्याएका हुन् ।यस्तो प्रवृत्ति बैंकिङ क्षेत्रका प्रवर्द्धक, बैंकर, कर्मचारी र नियामकमा समेत रहेको टिप्पणी गरे । उता ऋणीहरुमा पनि मसँग धितो छ त्यसैले मैले ऋण पाउनुपर्छ भन्ने भ्रम हट्न नसकेको क्षेत्रीको ठहर छ । ‘बैंकिङ क्षेत्रको सरोकारवालाहरुको हैसियतले उनीहरुको यस्तो भ्रम वित्तीय नैतिकता बाहिरको विषय हुन्छ ।’ नियामक निकायका अधिकारीहरुमा पनि बाहिर हुँदा विरोध गर्ने तर भित्र गएपछि सोही कार्य दोहोर्याउने प्रवृत्ति रहेको उनको टिप्पणी छ । नियामक निकायको पदीय हैसियतमा रहेर व्यवहार गर्दा पाइला पाइलामा सजग रहन क्षेत्रीले राष्ट्र बैंकका अधिकारीहरुलाई आग्रह गरेका छन् । आफूलाई पनि सो हैसियतमा रहँदा पटकपटक त्यस्ता प्रलोभन आउने गरेको बताउँदै उनले सकेसम्म त्यस्ता प्रलोभनहरुलाई टार्ने प्रयास गरेको जिकीर गरे । उता साना तहका कर्मचारीहरुमा भने जागिर जोगाउने प्रवृत्ति रहेको भन्दै कानूनभन्दा बाहिर गएर ‘सिनियर’को आज्ञा मान्ने प्रवृत्ति त्याग्न सुझाव दिए । नेशनल बैंकिङ इन्सिच्युडको हलमा आयोजित उक्त ‘टक प्रोग्राम’मा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले समेत वित्तीय क्षेत्रमा गर्न हुुने र गर्न नहुने कामको बारेका चर्चा गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले वित्तीय क्षेत्र अन्य क्षेत्रभन्दा ज्यादै प्रभावकारी भएको भन्दै राष्ट्रबैंक त्यसमा थप सुधार ल्याउन प्रयत्नशील रहेको बताएका थिए । कागज कम गर्ने पद्दति बैंकिङ क्षेत्रले अँगाल्नुपर्ने भन्दै त्यसो गर्दा वन फँडानी रोक्न सहयोग पुग्ने बताए । ‘यो विषय पनि बदलिँदो परिस्थितिमा वित्तीय नैतिकताको विषय हुन्छ ।’ उनले भने
तीन कम्पनीकाे सेयर मूल्य ३० देखि ४५ प्रतिशत घट्याे, नेप्सेकाे डाटामा गम्भिर त्रुटी
काठमाडौं । बुधबारको कारोबारमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्जकाे वेवसाइट अनुसार कम्पनीका लगानीकर्ताले एकैदिन ४५.३३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३४.७३ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य २९.७२ प्रतिशतले घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य एक दिनमा १० प्रतिशतभन्दा बढीले बढ्न अथवा घट्न सक्दैन । तर बुधबार तीन कम्पनीकाे सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले घटेकाे नेप्सेकाे टप लुजरमा देखिएकाे छ । यस्ताे कसरी भयाे ? विकासन्युजकाे प्रश्नले नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदकाे ध्यानाकर्षण भयाे । उनले भने यस्ताे त नहुनु पर्ने, म अार्इटी डिपार्टमेन्टमा कुरा गर्छु । नेप्सेकाे वेवसाइटमा एभरेष्ट इन्स्याेरेन्सकाे सेयर मूल्य मंगलबार १०५० हाे । बुधबार १०५० बाटै काराेबार शुरू भएकाे थियाे । अधिकतम मूल्य १०५० छ भने न्यूनतम मूल्य ५७४ रूपैयाँ छ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे प्रमाेटर सेयरकाे मूल्य पनि यसरी नै घटेकाे देखिएकाे छ । मंगलबार ७५७ रूपैयाँमा काराेबार भर्इ बन्द भएकाे यस कम्पनीकाे सेयर बुधबार ५३२ रूपैयाँ सम्म झरेकाे नेप्सेले जनाएकाे छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा अनलाइन कारोबार प्रणाली शुरु भएदेखि नै समस्यै समस्या देखिएको छ । उक्त प्रणाली शुरु भएको एक साता बित्दा पनि नेप्सेको साइटमा सुधार आउन सकेको छैन । सेयर बजारमा हुने काराेबारकाे लाइभ र अाधिकारिक जानकारी दिने नेप्सेकाे वेबसाइटमा यस्ताे वल्न्डर पटक पटक हुने गरेकाे छ । तर जिम्मेवार निकायले यसलार्इ गम्भिता पूर्वक नलिदाँ लगानीकर्ताले ठूलाे नाेक्सान बेहाेर्ने जाेखिम हुनेछ ।
डाईबेटिजका बिरामीले खानामा ध्यान दिनुपर्ने कुराहरु के हुन् त ?
काठमाडौं। डाईबेटिज अर्थात मधुमेहलाई सामान्य भाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै डाईबेटिज हो । डाईबेटिज भएको खण्डमा खानामा बिशेष ध्यान दिनुपर्ने हुन्छ तर तपाईं डाईबेटिज रोगबाट पीडित हुनुहुन्छ भन्दैमा तपाईंले सबै खानेकुरा त्याग्नुपर्छ भन्ने छैन, तपाईं अझै पनि धेरै प्रकारको खानाहरु खान सक्नुहुन्छ। आफुलाई कुन डाईबेटिज भएको छ त्यसलाई ध्यानमा राखेर तपाईंले आफ्नो खानाको चार्ट के खाने र नखाने भनेर बनाउनुभयो भने त्यसले अझै धेरै सहयोग गर्नसक्छ। हरेक बिरामीहरुको स्वास्थ्यमा खानेकुराले महत्वोपूर्ण भूमिका खेलिरहेको हुन्छ। तपाईंले के खानुहुन्छ त्यसले तपाईको स्वास्थ्य निर्धारणा गर्छ त्यसैले डाईबेटिजका बिरामीहरुले पनि यसबाट बच्न खानामा बिशेष ध्यान दिनपर्छ। खानालाई मात्रै सन्तुलनमा राख्न सक्यो भने तपाईंको आधा रोग निको हुन जान्छ। डाईबेटिजको बिरामीले स्वस्थ खानाको पालन गर्नको लागी पहिले कसरी विभिन्न खाद्य पदार्थहरुले रगतमा भएको सुगरलाई प्रभावित गर्दछ भन्ने बुझनुपर्छ। रोटी, पास्ता, दूध, मिठाईमा बढी मात्रामा कार्बोहाइड्रेट,पाईन्छ जुन अरु खानाहरु भन्दा रगतमा चाँडो ग्लुकोजमा परिणत हुन्छन्, जसले रक्तचापको मात्रा बढाउँछ, सम्भवतः हाइपरर्गीमिया हुने सम्भावना बढाउँछ। प्रोटीन र फ्याटले ब्लडसुगरलाई सीधा प्रभाव पार्दैन तर पनि यि दुवैलाई ठिक्क मात्रामा प्रयोग गरे क्यालोरी र शरीरको वजनलाई सन्तुलन राख्न सकिन्छ। न्यास्नल ईन्स्टिच्युट अफ डाईबेटिज एन डाईजेस्टिभ एन किड्नी डिजिज (एनआईडीडीके) को अनुसार, तपाईंको आहारामा तपाईंलाई कति प्रतिशत कार्बोहाइड्रेटको आवश्यक पर्छ भन्ने गणना गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो आहाराको २०-३० प्रतिसत कार्बोहाइड्रेट प्रयोग गर्नुभयो भने पनि त्यो तपाईंको लागि पर्याप्त हुनेछ। यदि तपाइँ शाकाहारी हुनुहुन्छ वा शाकाहारी आहारा पालन गर्दै हुनुहुन्छ भने, पर्याप्त मात्रामा प्रोटीनको सही सन्तुलन हुन गार्हो हुनसक्छ, तर तपाईं यसलाई ठीक गर्न बीन्स, बदाम र तोफु जस्ता खानाहरू खान सक्नुहुन्छ। बदाम खादाँ अली ध्यान पुर्याउनु होला किनभने ति खानेकुराहरुमा फ्याट र क्यालोरी उच्च रुपमा हुन्छन्। यसबाहेक, प्रशोधन गरिएको वा प्याकेज गरिएका खानाहरू डाईबेटिजका बिरामीले सीमित गर्नुपर्दछ किनभने यसरी तयार भएका खानाहरुमा थप सुगर र कार्बोहाइड्रेटहरू थपिन्छन्। यी खानाहारुमा सोडियमको मात्रा उच्च हुन्छ र यसैले तपाईंको रक्तचाप बढ्न सक्छ र हृदयघात वा स्ट्रोकको जोखिम निम्ताउन सक्छ। डाईबेटिजको बिरामीले रक्तचापलाई ध्यानमा राख्न एकदमै जरुरी छ। उपयुक्त खानेकुरा – सिस्नु पनि यो रोगका लागि लाभदायक हुन्छ । बेला बेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने, वा तरकारीको रुपमा प्रयोग गर्नाले पनि डाईबेटिज नियन्त्रण गर्न सकिन्छ । – कालो चिया दिनमा २/३ कम खाँदा राम्रो हुन्छ । चियामा फाइटोकेमिकल्स पाइन्छ । यसले पनि शरीरबाट डाईबेटिजको मात्रा कम गर्न सघाउ पुर्याउँछ । – स्याउले पनि डाईबेटिजलाई नियन्त्रण गर्न सघाउ पुर्याउँछ। – मेथीलाई खानामा फुराएर खाने – अण्डा – टोफु – बदाम, ओखर – छाला निकालिएको कुखुराको मासु – गेडागुडी – माछा त्यसमा पनि कम फ्याट भएका माछा अनप्युक्त खानेकुरा – डाईबेटिजका बिरामीले गुलियो, कोक, फ्यान्टा लगायतका सोडा, जुस, घ्यु, चिल्लो, तारेको खानेकुरा, फे्रन्च फ्राईज, बर्गर, पिज्जा लगायतका आधुनिक खानेकुरा सकेसम्म नखाँदा राम्रो हुन्छ । – खान हुन्छ भन्दैमा बुझ्दै नबुझी मेथीलाई रातभर भिजाएर सिधै खानु एकदम गलत हो । यसमा निश्चित केमिकल्स हुने हुदाँ सिधै मेथीको सेवनले किड्नी तथा लिभरलाई असर गर्ने सम्भावना हुन्छ।
मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो, निक्षेप बढेर ६६ अर्ब ११ करोड पुग्यो
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको नाफा ३९४ प्रतिशतले वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ । अघिल्लो वर्षकाे सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ । बैंकले तीन महिनामा निक्षेप बढाएर ६६ अर्ब ११ करोड रुपैँया पुर्याएको छ । अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोड रुपैयाँ अर्थात ६६ प्रतिशत वृद्धि भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ । मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडबीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो । मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको कम्पनीले जनाएको छ ।
एनएमबी बैंक लगायत अन्य दुई कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको कुल एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै एनएमबी बैंक, सेन्ट्रल फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सूचिकृत मध्ये एनएमबी बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर र सेन्ट्रल फाइनान्सको हकप्रद सेयर नेप्सेमा थपिएका छन् । एनएमबी बैंकको एक करोड १४ लाख ४ हजार ९३५ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार ७८५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । उता सेन्ट्रल फाइनान्सको भने २ लाख १६ हजार ५०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।
म्याग्दीमा विपद् व्यवस्थापन केन्द्र स्थापना, जैविक प्रकोपलाई व्यवस्थित गर्ने
म्याग्दी । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्र स्थापना भएको छ । प्राकृति तथा जैविक प्रकोपलाई व्यवस्थापन गरि सहज बनाउन म्याग्दीले विपद् केन्द्रको स्थापना गरिएको छ। पहिरो, बाढी, आगलागी, कटान, दुर्घटनाको अवस्थामा सूचना सङ्कलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्न केन्द्रबाट सहज हुने प्रजिअ लीलाधर अधिकारीले बताएका छन्। केन्द्रमा सूचना प्रविधिका सामग्री उपलब्ध छ । प्रजिअ अधिकारीका अनुसार केन्द्रमा जनपद र सशस्त्र प्रहरी तथा प्रशासनबाट चौबिसै घण्टा एक/एक जना जनशक्ति खटिएका छन् । पहाडी भूगोल रहेको म्याग्दी पहिरो र नदी कटानका हिसाबले जोखिमयुक्त रहेको जनाएका छन् ।
बुधबार तीन कम्पनीको सेयर मूल्य समायोजन, हेरौं क-कसको ?
काठमाडौं । बुधबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद र कन्काई विकास बैंकको बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद पछि मूल्य समायोजन गरेको हो । समायोजन पश्चात एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९५८.१२ रुपैयाँ रहेको थियो । त्यस्तै, नेप्सेले माहुली सामुदायिक लघुवित्तको पनि ५० प्रतिशत हकप्रद सेयर पश्चात सेयर मूल्य समायोजन गराएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १ हजार ५५५ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता १ हजार १४५ रुपैयाँ रहेको थियो । त्यसैगरी, कन्काई विकास बैंकको ३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको । समायोजन पछिको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४.२७ रुपैयाँ रहेको छ ।