विकासन्युज

राजधानीका क्यासिनो व्यवस्थापनमा अदालत बाधक, सीमा क्षेत्रमा क्यासिनो हब बनाइने मन्त्रीकाे भनार्इ 

काठमाडौं । राजधानीका क्यासिनोहरूकाे अवस्थामा अदालत बाधक बनेकाे जनाउदै सरकार सीमा क्षेत्रमा क्यासिनो हबको विकास गर्ने तयारीमा जुटेकाे छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरका क्यासिनाे र एयरपाेर्ट व्यवस्थापन जटिल भएकाे बताएका छन् । त्यसकाे विकल्पमा सीमा क्षेत्रमा क्यासिनाे हक बनाइने उनले बताए । राजधानीमा नेपाल स्वतन्त्र होटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३८ औं स्थापना दिवसको उद्घाटन गर्दै उनले भने, ‘यहाँ दूर्भाग्यपूर्ण अवस्था छ । बीच–बीचमा एउटा स्टे अर्डर ल्याएर क्यासिनो चलाइदिएको हुन्छ । दुई ठाउँमा मेरो मन्त्रालयको जटिल अवस्था छ । एयरपोर्टको पसल हटाउने भनियो तर त्यहि स्टे अर्डर लिएर आईदिन्छन्, अर्काे क्यासिनोमा । म अदालतको सम्मान गर्दै भन्न चाहन्छ, यस्ता खालको स्टे अर्डरले क्यासिनो र एयरपोर्टमा सुशासन कायम गर्न अप्ठ्यारो भएको छ । हामी सुशासन चाहन्छौं । गलत तरिकाको स्टे अर्डर आउने काम नहोस् । ’ कानून नभएकाले पनि यो समस्या देखा परेको भन्दै उनले क्यासिनो लगायत पर्यटन क्षेत्रलाई समेट्ने नयाँ संघीय पर्यटन ऐन–२०७५ जारी गर्ने तयारीमा सरकार रहेको बताए । उनले अबको तीन/चार महिनामा संसदले त्यो कानून ल्याउने र पर्यटन क्षेत्रका तमाम समस्या समाधान गर्न सहज हुने उनको विश्वास थियो । ‘२०३५ सालको पर्यटन कानून ८० प्रतिशत संशोधनको खाँचो देखिएपछि अहिले ऐनको मस्यौदा भईरहेको छ । आउँदो संसदबाट पाश गछौं, जसले क्यासिनो होटल लगायत पर्यटन क्षेत्रका सबै क्षेत्र स्वतः कानूनद्धारा व्यवस्थित हुनेछन्, त्यतिबेला स्टे अर्डरको काम हुने छैन ।’ उनले भने । उनले नेपालमा पर्यटनबाट जिडीपीको योगदान १० प्रतिशतसम्म पुर्याउनेबारे आफूहरुले सोचिरहेको पनि बताए । मजदुरको हकहितका लागि कुनै कसर बाँकी नराख्ने भन्दै उनले रोयल्टी नतिर्ने क्यासिनो नविकरण नगरिने बताए । उनले भने, ‘सिमाक्षेत्रका केही महत्वपूर्ण ठाउँमा क्यासिनोको बढी सम्भावना रहेको त्यसलाई क्यासिनो हबकोरुपमा विकास गर्नुपर्दछ । नगरी पर्यटनको योगदान सोचेजस्तो हुँदैन । पुरातन सोचेर हुँदैन । ’ उनले अन्य पर्यटकीय प्रोडक्टको विकास गरिने पनि बताए । कार्यक्रममा होटल संघ नेपाल हानका अध्यक्ष अमरमान शाक्यले मजदुरको दक्षता विकास गरी पर्यटनको विकासमा लाग्न आफूहरु दत्तचित्त रहेको बताएका थिए । त्यस्तै नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँबरले होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका मजदुरको समस्याका सन्दर्भमा पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सहभागी अन्य मजदूरले क्यासिनो तथा मनोरञ्जन क्षेत्रमा सञ्चालकले विभिन्न बहानामा ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । कार्यक्रममा अग्रज ट्रेड युनियनकर्मी र व्यवसायीलाई सम्मान गरिएको थियो । गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने युनियन आबद्ध मजदूरका तीन सन्ततिलाई ‘स्व. माधव न्यौपाने स्मृति छात्रवृत्ति’ समेत प्रदान गरिएको थियो । यसैगरी सर्वोत्कृष्ट ट्रेड यूनियन पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा क्रियाशील आधिकारिक ट्रेड यूनियनलाई प्रदान गरिएको थियो ।

७९ लाख कित्ता सेयर लिलामीमा अाउने भएपछि एनसीसी बैंककाे सेयर मूल्यमा उच्च गिरावट

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे ७९ लाख कित्ता सेयर लिलामीमा अाउने भएपछि सेयर मूल्य घटेकाे छ । बिहीबार यस बैंककाे सेयर मूल्य प्रतिकित्ता २०३ रूपैयाँसम्म झरेकाे छ । बुधबार २०९ रूपैयाँमा काराेबार बन्द भएकाे यस बैंककाे सेयर बिहीबार २०४ रूपैयाँमा झरेर बन्द भयाे । यस बैंकले केही महिनाअघि जारी गरेकाे हकप्रद सेयर मध्ये ७९ लाख कित्ता सेयर बिक्री भएकाे छैन । बैंकले उक्त सेयर सार्वजनिक रूपमा बढाबढ मूल्यमा बेच्ने पर्नेछ । ७९ लाख कित्ता मध्ये प्रवर्द्धक सेयर मात्र ६५ लाख कित्ता छ । एनबी समूहले ३५ लाख कित्ता सेयर किन्न नसकेपछि र निर्मल प्रधानले १० लाख कित्ता सेयर नकिनेपछि ठूलाे मात्रामा प्रवर्द्धक सेयर बिक्री नभएकाे बैंकले जनाएकाे छ । त्यस्तै, एपेक्स डेभलपमेन्ट बैंकबाट एसीसीमा मर्ज भएका प्रवर्द्धक सेयरधनी मध्ये धेरैले हकप्रद सेयरमा पैसा नहालेकाे बतार्इकाे छ । साधारण सेयरतर्फ पनि १४ लाख भन्दा बढी कित्ता बिक्री भएकाे छैन । सेयर बजारमा मन्दी अाएकाे बेलामा ७९ लाख कित्ता लिलामीमा अाउँदा सेयर मूल्य अझै घट्ने विश्लेषण गरिएकाे छ । गत असारमा बैंककाे सेयर मूल्य १७१ रूपैयाँसम्म झरेकाे थियाे । सेयर बजारमा गिरावट अाएकाे अवस्थामा प्रिमियम अाम्दानी कम हुने विश्लेषणका अाधारमा बैंकले नबिकेकाे सेयर लिलामीमा राख्न ढिलार्इ गरेकाे छ । तर उक्त सेयर बिक्री गरेपछि मात्र प्रस्तावित बाेनस जाेडेर पुँजी ८ अर्ब पुग्ने भएकाेले छिटाेभन्दा छिटाे सेयर लिलामीमा राख्नु पर्ने बैंककाे वाध्यता छ । नबिकेकाे सेयर लिलामी नगरी बैंकले हकप्रद सेयर भर्नेकाे सेयर नेप्सेमा सूचिकरण गरिसकेकाे छ । सूचिकरणपछि बैंककाे चुक्ता पुँजी ६ अर्ब २२ कराेड रूपैयाँ भएकाे छ । नेप्सेले भने बैंककाे चुक्ता पुँजी ७ अर्ब १ कराेड भएकाे भनि गलत विवरण वेवसाइटमा राखेकाे छ । गत वर्षकाे नाफाबाट करिव ५० कराेड र मर्जसँगै जम्मा भएकाे ९९ कराेड प्रिमियम वितरण गरेर चुक्ता पुँजी ८ अर्ब पुर्याउने बैंककाे याेजना छ । बैंकले गत दुर्इ अार्थिक वर्षकाे साधारणसभा गर्न सकेकाे छैन ।

प्लाष्टिकमुक्त अभियान राराबाट शुरु हुँदै, हिमालदेखि तरार्इसम्म लागु गर्ने लक्ष्य

काठमाडौं । प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द अभियान सुरु हुने भएको छ । मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ राराबाट शुरु गरिने भएको छ । अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गर्ने जनाएको छ । स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा उक्त अभियान हुने भएको छ । उक्त कार्यक्रममा ५०० मिटरको दूरीमा १५ वटा डस्टबिन राखेर स्थानीय तल्लोमिलीदेखि रारासम्म करीब सात किलोमिटरमा सरसफाइ गरी फोहर व्यवस्थापन गरिने जानकारी दिएका छन् । कार्यक्रमअन्तर्गत यही मङ्सिर १७ गते जनप्रतिनिधि, स्थानीयवासीसँग विज्ञको अन्तक्र्रिया राखिएको छ । प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले प्लाष्टिकजन्य वस्तुले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा देशका विभिन्न हिमाली जिल्लादेखि नै पहाड र तराई क्षेत्रमा उक्त अभियान शुरु गर्न लागिएको बताएका छन् । सन् २०२० मा २० लाख पर्यटक स्वदेशमा ल्याउन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटकस्थल सफा गरी उनीहरुलाई आकर्षित गर्न सकिने जनाएका छन् । रासस

२४ अर्बको वाइडबडी खरिदमा एक्लिए कंसाकार, अख्तियारदेखि संसदीय समितिद्वारा छानविन जारी

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३०–२०० सिरिजको २ वटा विमान खरिदको विषयले चर्को रुप लिएको छ । विमान खरिद प्रक्रियामा अनियमितताको र विमान खरिदपछि निगम ऋणमा डुबेको आरोप लागेपछि यसको चर्चा अझै चुलिदै गएको छ । २७४ सिट क्षमताको विमान खरिदमा कानूनी प्रक्रिया पुरा नगरेको प्रतिवेदन सार्वजनिक भएपछि यो विषयले ठूलो रुप लिएको हो । विमान खरिद प्रक्रियाका एक्ला साक्षी बनेका निगमका महानिर्देशक सुगतरत्न कंशाकार अहिले खरिद प्रक्रियामा अनियमितता नभएको भन्दै बुझाउनमा व्यस्त छन् । खरिद प्रक्रियामा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानको मुखमा महानिर्देशक कंशाकार एक्लिदै गएका छन् । लेखा समितिको मंसिर ९ गते बसेको बैठकमा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका अध्यक्ष मदन खरेल र महानिर्देशक कंसकारलाई बोलाइएको थियो । बैठकमा सचिव देवकोटाले वाइबडी खरिद प्रक्रियामा मन्त्रालयले चासो दिइरहेको बताए तर खरिद प्रक्रियाको बोल्न चाहेनन् । निगमका कार्यकारी निर्देशक खरेलले आफू अध्यक्ष बनेको केहि महिना मात्र भएको बताए । उनले वाइडबडी विमानलाई राम्ररी सञ्चालन गर्न नसक्दा निगममा आर्थिक संकट आइपरेको बताए । वाइडबडीलाई जापान, चीन लगायत देशमा १७ घण्टासम्म सञ्चालन गर्ने बताउँदै खरिद प्रक्रियामा आफू संग्लग्न नरहेको बताए । उनले प्रक्रियाको बारेमा कंशाकारले नै प्रष्ट पार्ने बताए । कंशाकार बैठकमा बोलिरहँदा उनलाई समितिका सदस्यहरुले निकै चर्को श्वरमा प्रश्न गरेका थिए । तर कंशाकार नरम भाषामा पटक पटक हजुरको हजुरको भन्दै नरम शब्द प्रयोग गरी उत्तर दिइरहका थिए । उनले वाइडबडी खरिद प्रक्रियामा खरिद ऐनको कमा र पूर्णविराम समेत नबिगारेको बताए । आफ्नो कुसल साहसले गर्दा नै विमान ल्याउन सफल भएको दाबी गरे । आफ्नो विषयमा सर्वोच्च अदालतले नै बोलिसकेकोले धेरै प्रष्टाउन आवश्यक नभएको बताए । विमान खरिदको विषयमा पन्छिदै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारीले आफू मन्त्री हुनुभन्दा पहिले नै खरिद प्रक्रिया अघि बढिसकेको बताए । उनले खरिद प्रक्रियामा भ्रष्टाचार भएको पुष्टी भएमा मन्त्रालयले कडा कारबाही गर्ने बताए । उनले खरिद प्रक्रियाको नाममा निगमलाई बदनाम गर्नु नहुने तर्फ पनि सचेत गराए । वायुसेवा निगम कमाई खाने संस्था भएकोले सधै घाटा खाएर निगम सञ्चालन गर्न नसक्ने बताए । निगमलाई कम्पनी मोडेलमा सञ्चालन गर्न फाइल अघि बढेको र केहि हप्तामै निर्णय भैसक्ने अधिकारीले जानकारी दिए । यस हिसाबमा कंशकार विमान खरिदमा एक्लै भिडिरहेका छन् । वाइबडी खरिद प्रक्रियामा प्रक्रिया पुरा गरे नगरेको बारे सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले अनविज्ञता प्रकट गरे । रेग्मीले ऐन अनुसार नयाँ जहाज किन्न सिधैं कम्पनीसँग सम्पर्क गर्नु पर्नेमा १ हजार घण्टा मापदण्ड राखी नयाँ जहाज खरिद गरिएको बताए । बोलपत्रमा कम्पनीको नाम उल्लेख गरिनु पनि ऐन विपरित भएको विचार राखे । अब कार्यलयले समितिको निर्देशन अनुसार १ हप्ताभित्र अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ । याे पनि हेर्नुहाेस् यसरी भयो वाइड बडीमा गडबडीः महालेखा परिक्षक टंकमणि शर्मा लेखा समितिमा कंसाकारको बयानः वाइड बडीमा कमा र फुलस्टप पनि बिगारेका छैनौं

१८५ नगरपालिकामा नयाँ शहर बन्दै, नेपाल-चीन नाकामा अत्याधुनिक शहर

काठमाडौं । देशभरका १८५ ओटा नगरपालिकामा नयाँ शहर बन्ने भएको छ । त्यसका लागि अध्ययनको काम भइरहेको शहरी विकासमन्त्री मोहम्मल इस्तियाक राईले जानकारी दिए । विकास समितिको आजको बैठकमा मन्त्री राईले त्यस्ता शहरहरुले हिमालदेखि तराईसम्मलाई समेट्ने भन्दै हिमालका लुक्ला, स्याप्रुबेंसी, जोमसोम, सिमिकोट र मार्तडीमा समेत अत्याधुनिक शहर बन्ने जानकारी दिए । मन्त्री राईले नेपाल-चीन जोड्ने प्रमुख नाकाहरुमा समेत त्यस्तो शहर बनाउने प्रक्रिया अघि बढेको समितिको बैठकमा जानकारी दिए । मन्त्री राईले जनता आवास कार्यक्रमको नाममा ठगी भएको आफूले पनि जानकारी पाएको भन्दै त्यसमा अनुसन्धान गरी त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्ने बताए ।

शैक्षिक रुपान्तरणका लागि टिच फर नेपालको आहवान, आवेदनको म्याद २४ मंसिरसम्म

काठमाडौं।शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गर्दै सुरु भएको ‘टिच फर नेपाल’ अभियानले आगामि सत्रको लागि नेपाली युवाहरूलाई आवेदन भर्न आह्वान गरेको छ। आवेदनको म्याद २४ मंसिरसम्म रहेको छ। टिच फर नेपालले सामाजिक रुपान्तरणको लागि डट्ने ल्याकत भएका अब्बल नेपाली युवालाई आफ्नो अभियानमा सामेल हुन अपिल गरेको छ। यस अभियान अन्तर्गत हरेक प्रज्ञार्थीले २ वर्षसम्म प्रतिबद्ध भएर नेपालका विभिन्न सार्वजनिक विद्यालयहरूमा काम गर्नुपर्ने हुन्छ। “टिच फर नेपाल अभियान प्रज्ञार्थीहरूको लागि आफ्नो र विद्यार्थीहरूको नेतृत्व विकासको यात्रा हो”, टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले बताए। उनले २ वर्षको अनुभवबाट प्रज्ञार्थीहरूले सीमित स्रोत र साधन प्रयोग गरेर प्रगति उन्मुख सोच भएका युवाजमातसँग सहकार्य गर्ने सुनौलो अवसर भएको बताए। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट बी.ई. गरेका टिच फर नेपालका पुर्व प्रज्ञार्थी होम बहादुर थापाले टिच फर नेपालको अनुभवले समाजलाई नजिकबाट हेर्न पाएको बताए। उनले भने, “४२ दिनको आवासीय तालिममा हामीले विभिन्न समाजिक र शैक्षिक जानकारी पायौँ। धेरै कुरालाई विभिन्न कोणबाट हेर्न सिक्यौँ।” तालिमको अन्त्यसम्म एक अर्काप्रतिको बुझाइ, प्रेम र सम्मान बढेको उनले बताए।

सदरमुकाम नै बसपार्क विहिन, टर्मिनल भवनसहित १० करोडकाे लागतमा निर्माण हुँदै

काठमाडौं । सुनसरीको सदरमुकाम इनरुवामा सुविधा सम्पन्न बसपार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । १० करोडको लागतमा निर्माण हुने उक्त बसपार्कका लागि १ बिघा जग्गा इनरुवा नगरपालिकाले उपलब्ध गराएको हो । विकास निर्माणका दृष्टिकोणले पछि परेको उक्त सदरमुकामा हाल सम्म बसपार्क नभएको जनाउँदै व्यवस्थापकीय सहयोगमा निर्माणाधिन बसपार्क चाँडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताएका छन् । सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइअन्तर्गत तराईका जिल्ला सदरमुकाम क्षेत्रमा विभिन्न विकास निर्माणका काम गर्ने सरकारको नीतिअनुसार स्मार्ट सिटी कार्यक्रममा सो बसपार्क परेको छ । उक्त लागतमा एक टर्मिनल भवनसहित यात्रु प्रतीक्षालय, मर्मत क्षेत्र, गाडी बिक्री गन्त्वयमा पुग्न नसक्ने अवस्थामा यात्रुलाई बास बस्न मिल्ने रेष्टुराँ, सुरक्षाका लागि सिसी टिभी क्यामरा, सौर्य बत्ती जडान गरिएको सङ्घीय शहरी विकास अयोजना कार्यान्वयन एकाइ विराटनगरका सव इञ्जिनीयर राजकुमार मिश्रले जानकारी दिएका छन् । निर्माण कम्पनी कालिका कन्ट्क्सनका इञ्जिनीयर प्रेम लामाले सम्झौता समयअघि नै निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएका छन् । बसपार्कमा पूर्व तथा पश्चिम दुवैतर्फबाट प्रवेश गर्ने तथा बाहिर निस्कने व्यवस्थासहितको एक किलोमिटर सडकसमेत बनाइएको छ । रासस

डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ७७ करोड नाघ्ने

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव संस्थाको हालै सम्पन्न २३४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ७० करोड ३१ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको पुँजी ७७ करोड रुपैयाँ नाघ्ने छ । साे मात्राकाे लाभांश घाेषणा पछि संस्थाकाे सेयर मूल्य अाेरालाे लागेकाे छ । बुधबार प्रतिकित्ता ६२१ रूपैयाँमा काराेबार भएकाे संस्थाकाे सेयर मूल्य घटेर प्रतिकित्ता ६०४ रूपैयाँमा झरेकाे छ ।