विद्युत चोरी नियन्त्रण र सेवा सुधार प्राधिकरणको प्राथमिकतामा, १६ वटा सेवा केन्द्रसँग सम्झौता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् चोरी नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ । प्राधिकरणले जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतका १६ वटा वितरण तथा ग्राहक सेवा केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रका प्रमुखसँग शनिबार जनकपुरमा कार्यसम्पादन सम्झौता गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय कार्यालय प्रमुख ओमप्रकाश महतोसँग र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले केन्द्र प्रमुखसँग सम्झौता गरेका हुन् । प्राधिकरणले यस अघि नेपालगंज तथा सुर्खेत क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखसँग सम्झौता गरिसकेको छ । कार्यसम्पादन सम्झौतामा विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ । कार्यक्रममा मन्त्री पुनले सेवा प्रवाह गर्ने शैलीलाई सुधार गरी शुसासनमार्फत आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न कर्मचारीलाई निर्देशन दिए । विद्युत् चोरी नियन्त्रणका लागि हुने आक्रामण नियन्त्रणका लागि गृह प्रशासनलगायतसँग समन्वय गरी सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता जनाउँदै मन्त्री पुनले प्राविधिक र मानवीय कारणबाट हुने चुहावट नियन्त्रण गर्न उच्च मनोवलकासाथ लाग्न निर्देशन दिए । कार्यकारी निर्देशक घिसिङले पारदर्शी, नैतिकवान, व्यवसायिक र कार्यलयमा चेन अफ कमाण्ड कायम गर्दै निर्धक्क र निडर भएर काम गर्न शाखा प्रमुखहरुलाई निर्देशन दिए । चुहावट नियन्त्रणमार्फत आम्दानी बढाउन, प्राधिकरणको पूर्वाधार प्रयोग गरेवापत दूरसंचार सेवा प्रदायक कम्पनीसँग लिनु पर्ने शुल्क असुलीमा कडाई गर्न, खर्च तथा कोटेसनबाट गरिने खरिद नियन्त्रण गर्न, सेवा प्रवाहमा सुधार गर्न, विद्युतीय सुरक्षामा ध्यान दिन घिसिङले निर्देशन दिए । उनले विद्युत आपूर्ति सुधारका लागि प्रणाली सुदृढीकरण र विद्युतीकरणका लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । उपकार्यकारी निर्देशक न्यौपानेले मिटर र विद्युत जडानको माग गर्दै आउने ग्राहकलाई विभिन्न वहानावाजी गर्दे हैरानी नदिन निर्देशन दिए । ५ वर्षभित्रमा सरकारले ५ हजार मेगावाट विद्युत खपत गर्ने सरकारी योजना पूरा गर्ने दायित्व प्राधिकरणको रहेको उल्लेख गर्दै थ्रि फेज लाइन जडानलाई प्रोत्साहन गर्न, आफ्नो शाखा अन्तर्गतका अधुरा काम सक्न निर्देशन दिए । प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशन शान्तिलक्ष्मी शाक्यले सम्पत्तिको सुरक्षा गर्न, पुराना सामग्रीको लिलामी गर्न, कार्यालयका सरसफाइ लगायतका ध्यान दिन निर्देशन दिइन् । कार्यसम्पादन सम्झौता मार्गनिर्देशक निर्देशिका भएकाले ग्राहकलाई दिने सेवामा सुधार र कार्यालयभित्रको कार्यसम्पादनमा चुस्तता आई समग्ररुपम संस्थाको प्रशासनिक तथा वित्तीय अवस्थामा सकारात्मक प्रभाव पर्ने प्राधिकरणको अपेक्षा छ ।कार्यकारी निर्देशक घिसिङले समेत ऊर्जा मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेका छन् । वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण गरिएको छ । हरेक क्षेत्रीय कार्यालय र त्यस मातहतका बितरण केन्द्रलाई चुहावट नियन्त्रण,औसत महसुल संकलनको अवधि घटाउने विषयलाईमुख्य लक्ष्य(टार्गेट) निर्धारण गरिएको छ । कार्य सम्पादनको हरेक चार÷चार महिनामा मूल्याङकन गरिने प्राधिकरणले जनाएको छ । हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसैगरि, टार्गेट हासिल गर्नेले पाएको नम्बर बढुवामा जोड्ने, विदेशमा आयोजना तालिम, सेमिनारमा जान प्राथमिकता दिने लगायतका गैर नगद प्रोत्साहन समेत पाउने छन् । तर, ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा सोही अनुसार नम्बर दिने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ । प्राधिकरणले प्रमुखहरुलाई बितरण टान्सफर्मर, मिटर, केवल, पोल लगायतका उपकरण समयमै उपलब्ध गराउने र कानुनी परिधिभित्र रहेर स्वतन्त्रपूर्वक काम गर्न दिने प्रतिबद्धता जनाएको छ । सम्झौताको अनुगमन र मूल्याङकनका लागि प्रभावकारी प्रणाली बनाइने प्राधिकरणले बताएको छ । विद्युतीय सुरक्षा, आफ्नो कार्यालय अन्तर्गत ग्रामिण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति लगायतका विषयलाई सम्झौतामामा समेटिएको छ । गत असारसम्म प्राधिकरणको प्रणालीमा औसत २०।४५ प्रतिशत विद्युत चुहावट छ । प्राधिकरणले धेरै विद्युत चुहावट भएकालाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ । यस्तो लक्ष्य औसतमा ४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । जनकपुर क्षेत्रीय कार्यलयअन्तर्गत गत असारसम्मको विद्युत चुहावट चुहावट ३१.३० प्रतिशत छ । चालु आर्थिक वर्षको कात्तिकसम्म विद्युच चुहावट २८.७५ प्रतिशत छ । चालु आवमा विद्युत चुहावटलाई घटाएर औसतमा २२.१९ प्रतिशत कायम गर्ने लक्ष्य निर्धारण गरिएको छ । लक्ष्यलाई पूरा गर्ने गरी विद्युत चोरी नियन्त्रण अभियान, प्रणाली सुदृढीकरण गर्ने, वक्यौता असुलीमा कडाइ गर्ने, हरेक वितरण केन्द्रलाई लक्ष्य दिइएर काम भइरहेको क्षेत्रीय कार्यालय प्रमुख ओमप्रकाश महतोले बताए ।
फागुन तेस्रो साता राजधानीमा घरेलु उद्योग महोत्सव हुँदै, ७ करोड बढीको कारोबार हुने
काठमाडौं । “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ आगामी फागुन तेस्रो साता राजधानीमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा फागुन २३ देखि २७ गतेसम्म घरेलु उद्योग महोत्सव-२०७५ आयोजना गर्न लागेको हो । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रीत हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । ‘हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसका कारणले युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।’ अध्यक्ष सिंहले भने- ‘परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या रहेको छ । यस्तै पक्षलाई सम्वोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडी देखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ ।’ विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष “नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५” को नाममा आयोजना हुँदैछ । उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन् । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय– व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, लघु, घरेलु तथा साना उद्योग विकास कोष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय-राष्ट्रपति महिला उत्थान कार्यक्रम रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैह«सरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहनेछन् ।
अनलाइन प्रणाली शुरु भएपछि सेयर बजार बढ्यो, नेप्से दोहोरो अंकले उकालो
काठमाडौं । नेप्सेले पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएपछि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सञ्चालनमा आएकै दिन नेप्से परिसूचक १०.८५ अंकले उकालो लागेर ११३१.७० अंकमा पुगेको छ । उक्त प्रणाली शुरु भएको करिब एक महिनापछि नेप्सेले पूर्ण सञ्चालनमा ल्याएको हो । यसअघि ब्रोकरले मात्र प्रयोग गरेको अनलाइन प्रणाली अब लगानीकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । त्यसकालागि लगानीकर्तालाई युजर नेम र पासवर्ड लिनु पर्ने हुन्छ । आइतबार कुल १५५ कम्पनीको २२ करोड ३७ लाख रुपैयाँ कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैंकको २ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ रहेको छ । सो दिन दुई समूह बाहेक कारोबारमा आएका सबै समूहको सूचक हरिया भएका छन् । निर्जीवन बीमा समूह ३९.८९ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् र विकास बैंक समूह क्रमशः १३ र १२ अंकले घटेका छन् । फाइनान्स र उत्पादनमूलक समूह क्रमशः १०.०३ र ०.२४ अंकले ओरालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेको छ ।
स्वास्थ्य सेवामा सामाजिक अभियान चलाउने उदेश्य सहित मेडिकल सोसाईटी
काठमाडौं । चिकित्सकहरुको साझा संस्थाको रुपमा २०७४ सालमा स्थापना गरिएको युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको बिधिवत रुपमा उद्धाटन गरिएको छ । शनिबार स्वास्थय तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले संस्थाको उद्धाटन गरे । युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा रहेको संस्थाले उद्धाट पूर्व पनि बिभिन्न सामाजिक काम गरिसकेको छ । प्रत्येक चिकित्सकले कम्तीमा महिनाको एक दिन केही समय समाजको लागि छुट्याएर बिरामी तथा स्वास्थय सम्बन्धी जनचेतना मूलक कार्यक्रममा सहभागिता हुनुपर्ने लगायतको उदेश्य सहित स्थापना गरिएको हो । कार्यक्रम पश्चात बोल्दै स्वास्थ्यमन्त्री यादवले संस्थाको उदेश्य अनुरुप कार्य गर्न शुभकामना दिदै सरकार स्वास्थ्य क्षेत्रको सुधारको लागि बिशेष योजना सार्वजनीक गर्न लागेको जानकारी दिए । उनेले जनसंख्या बढेको बढै तर सरकारी सेवामा चिकित्सकहरुको दरबन्दी बढाउन नसकेकोलेले गा्रमीण स्तरसम्मम स्वास्थ्य सेवाको पहुच पुग्न नसेकेको बताए । उनले चिकित्सकहरु पनि शहरमुखी बन्ननाले समस्या झन बढेको बताउँदै यसको लागि सरकारले ग्रामिण क्षेत्रमा कार्यरत चिकित्सको लागि बिशेष योजना ल्याउन लागेको जानकारी दिए । मन्त्री यादवले युवा चिकित्सकहरुले खोलेको यस संस्थामा सरकारले सहयोग गर्ने बताउँदै स्वास्थय सम्बन्धी जनचेतनामुक कार्यक्रम गर्न आग्रह गरे । उनले रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनकै लागि कार्यक्रम संञ्चालन गर्न यस्था संस्थाहरुको भूमिका महत्वपूर्णृ रहेने बताए । कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले स्वास्थय क्षेत्रमा देखिने खालको काम गर्न मन्त्री यादवलाई सुझाव दिए । उनले भनेल जुन मन्त्री आए पनि स्वास्थय क्षेत्रमा यो गछु त्यो गछु भन्ने तर गर्ने चाही केही हैन भन्दै आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण परिर्वतन गर्न सुझाब दिए । उनले आज उद्धाट भएको संस्थाको बिकासमा आफनो साथ र समर्थन सदैव रहने प्रतिबद्धता जनाए। उद्धाटन समारोहमा प्रजातान्त्रीक चिकित्सक संघका अध्यक्ष डा. लक्ष्मी राज पाठक, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदार नरसिङ केसी, डा. सरद बर्मा, राष्ट्रिय युवा परिपदका उपसचिव देवी प्रसाद अधिकारी, बरिष्ठ अधिवत्ता दिनेश त्रिपाठी लगायतकाले संस्थाले आफ्नो उदेश्य अनुरुप कार्य गर्न शुभकामना दिदै आफनो साथ रहने प्रतिबद्धता जनाए । ‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ सस्था स्थापना गरिएको अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए । उनले २०७४ सालमा स्थापना भएको युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपाल प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन उदेश्य रहेको बताए। रासस
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने, सेयर मूल्य घट्यो
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखेको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३७ करोड ५० लाख रुपैयाँ पुग्ने छ । बोनस सहित सो मात्राको लाभांश घोषणा गरेपछि आइतबार संस्थाको सेयर मूल्य घटेको छ । प्रतिकित्ता १७०० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य आइतबार घटेर प्रतिकित्ता १६४० रुपैयाँमा झरेको छ ।
पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता बनाउन आवश्यक
काठमाडौं। पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिताको आवश्यकता रहेको औँल्याइएको छ । नेपाल पत्रकार महासङ्घ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा यहाँ शनिबार आयोजित ‘पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग र संहिता निर्माण’ विषयक अन्तक्र्रियामा सामाजिक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने हुँदा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिता बनाउनुपर्नेमा जोड दिइएको छ। सो अवसरमा महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासङ्घका सचिव तथा सामाजिक सञ्जाल सञ्चालन संहिता निर्माण कार्यदलका संयोजक प्रकाश थापाले बिशेषगरी महासङ्घका सदस्यलाई लक्षित गरेर सामाजिक सञ्जाल सञ्चालन संहिता बनाउन लागिएको जानकारी दिए। नेपाल पत्रकार महासङ्घ डिजिटल मिडिया समितिका संयोजक एवं केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेपालको समग्र पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन पनि संहिता आवश्यक रहेको बताए। सेन्टर फर मिडिया रिसर्च सेन्टरका कार्यकारी निर्देशक उज्ज्वल आचार्यले संहिता निर्माण गर्दा पत्रकारको व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई ध्यान दिनुपर्नेमा जोड दिए। अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले पत्रकारले सामाजिक सञ्जालमा आफ्ना गतिविधि राख्नुभन्दा अगाडि सोच्नुपर्ने बताए। महासंघका केन्द्रिय सदस्य जन्मदेव जैशीले पत्रकारका लागि सामाजिक सञ्जाल संहिता निर्माण गर्नेक्रममा विचारलाई सामाजिक सञ्जालमा राख्न पाउने अधिकारको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। रासस
नेपाली पानी दक्षिण कोरियामा प्रतिलिटर ६१ हजार, एक वर्षमा ३० लाखकाे पानी निर्यात
काठमाडौँ । नेपाली पानी काेरियामा प्रतिलिटर ६१ हजार रुपैंयासम्ममा निर्यात हुने गरेकाे पाइएकाे छ । व्यापार तथा निकासी केन्द्रकाे तथ्याङ्क अनुसार अार्थिक वर्षमा आर्थिक वर्ष २०७४/७५ मा दक्षिण काेरियामा २० लिटर पानी निर्यात गर्दा कुल १२ लाख ३३ हजार १५६ रुपैंया अार्जन गरेकाे देखाइएकाे छ । याे भनेकाे प्रतिलिटर ६१ हजार ६ सय ५७ रुपैंया हुन अाउँछ । त्यस्तै, चीनमा ४५६ लिटर मिनरल वाटर प्रतिलिटर ११ हजार ४ सय रुपैंयाको निर्यात भएको छ । त्यस्तै अमेरिकामा १२० लिटर मिलिरलवाटर १२ हजार ३९० रुपैंया, फ्रान्समा २ सय लिटर मिलिरलवाटर २ लाख ५१ हजार २ सय रुपैंया र अन्य विभिन्न देशमा ६ सय २३ लिटर मिलिरलवाटर १२ लाख ५७ हजार २९९ रुपैंयामा निर्यात भएको देखाइएकाे छ । यसरी गत अार्थिक वर्षमा कुल १ हजार ६ सय ४६ लिटर पानी निर्यात गरी कुल ३० लाख १६ हजार ९९८ रुपैंया अार्जन गरिएकाे छ । निर्यात भएकाे पानी खनिजयुक्त र स्वादहीन, रंगहीर र गन्धहीन हुने तथा यसले किड्नी तथा मृगाैला जस्ता शरिरका महत्वपूर्ण अंगहरुकाे सफार्इकाे लागि प्रयाेग हुने बताइएकाे छ । नेपाल पनि विश्वमा जलस्रोतका धनी देशहरूमध्ये एक हो । जहाँ झरना, ताल, खोलानाला, पोखरी जस्ता पानीका स्रोत प्रशस्त मात्रमा छन् । त्यसाे त नेपालमा पानी निर्यात भन्दा बढी अायात नै हुन्छ । साेही आर्थिक वर्षमा नेपालमा विभिन्न देशबाट ७७ हजार २२७ लिटर मिनरल वाटर ३ करोड ३६ लाख ३५ हजार १४८ रुपैंयामा अायात हुँदा नेपालबाट ३० लाख १६ हजार ९९८ रुपैंया मात्रैको पानी निर्यात भएको हाे ।
सानिमा लाइफले ल्यायो युनिक लाइफ इन्स्योरेन्स याेजना, प्रतिहजार ७० रूपैयाँ बोनस ग्यारेन्टी
काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको निश्चिततासहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको छ । इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा घोषणा गरेको उक्त योजनामा इन्स्योरेन्सले नोक्सानको अवस्थामा समेत प्रतिहजार बीमाङ्कमा रु ७० बोनस प्रदान गर्ने घोषणा गरेको हो । ‘सानिमा जीवनश्री’ नाम दिइएको उक्त योजनाकाे अवधि १० वर्ष, १५ वर्ष, २० वर्ष र २५ वर्ष तोकिएको छ । उक्त योजनाको बीमालेख खरिद गर्दा १० बर्षको बीमालेखका लागि ६ वर्ष मात्र भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, १५ वर्षको बीमालेखका लागि १० वर्ष, २० बर्षे बीमालेखका लागि १५ वर्ष र २५ वर्षे बीमालेखका लागि १८ वर्षमात्र प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको सानिमा लाइफले जनाएको छ । तर बीमितले बोनस भने बीमा अवधि बराबरकै प्राप्त गर्नेछन् । नयाँ बीमा योजना घोषणा समारोहमा इन्स्योरेन्सका अध्यक्ष कुमारप्रसाद कोइरालाले सानिमा ग्रुप र सानिमा लाइफ इन्स्योरेन्सप्रति जनताको शुभेक्षा र अपेक्षा रहेको भन्दै ती अपेक्षाहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएका छन् । वि.सं. २०६४ सालमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी गैर आवासीय नेपालीहरुद्धारा प्रवद्धित संस्था हो । २०७४ साल कात्तिकमा बीमा समितिबाट कारोबार सञ्चालन इजाजत प्राप्त गरेपछि इन्स्योरेन्सले सोही वर्षको मंसिर २२ गतेदेखि कारोबार सञ्चालन शुरु गरेको थियो । इन्स्योरेन्सले २०७५ मंसिर २२ गतेसम्म कुल ७ हजार ३ सय ३२ मार्फत् २७० करोड बीमाङ्क बराबरको बीमालेख बिक्री गरी १९ करोड रुपैंया प्रिमियम संकलन गरेको छ । सानिमाले हालसम्म ८ ओटा बीमा योजनाहरु जारी गरेको छ भने देशभरमा कुल २५ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब र चुक्ता पुँजी १ अर्ब ४० करोड रूपैयाँ रहेकाे छ ।