मंसिर २८ देखि नेपाल मेडिकल एक्स्पो हुँदै, स्वास्थ्य क्षेत्रमा योगदान पुग्ने
काठमाडौं । आगामी मंसिर २८ गतेदेखि भृकुटिमण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०१८ आयोजना हुँदैछ । नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको हो । आयोजक एस.डि.प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालका अनुसार उक्त एक्स्पो पुस १ गतेसम्म हुने छ । यो एक्स्पो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्ल्याटफर्म हो । नेपाल मेडिकल एसोसिएशन, एसोसिएशन अफ इन्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएशन, नेपाल एसोसिएशन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाईटेक इन्डष्ट्री एसोसिएशन स्पेक्ट्यारिसको सहयोगमा यो एक्सपो हुन लागेको हो । यस अन्तर्राष्ट्रिय एक्स्पोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिसप्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, फ्यासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब,एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुनेछ । यसको उद्घाटन नेपालका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गर्नेछन् । यो प्रदर्शनीमा २०० भन्दा बढि कम्पनीहरु र ५०० भन्दा बढि ब्राण्डहरुको उपस्थिती हुने आयोजकले बताएका छन् । यसमा १० मुलुकका अफिसरहरु, डाक्टरहरु, नीति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् । नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुतगति दिन यस एक्स्पोले सहयोग पुर्याउने छ । यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्स्पोले दिनेछ । आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द्र, फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपुर्तीसंग सम्बन्धित पनि रहनेछन् । एक्सपोका साथसाथै दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस.डि. प्रोमोले जानकारी दिएको छ । पहिलो सम्मेलन १४ डिसेम्बरमा हुनेछ, जसमा यस उद्योगसँग सम्बन्धित विज्ञहरुले स्वास्थ्य क्षेत्र तथा ल्याब प्रविधिमा भएका विकासका बारेमा छलफल गर्नेछन् । यस सम्मेलनमा सम्बन्धित सरकारी, मेडिकल शिक्षा, संघ संस्थाहरु तथा आयोजकहरुसंग आबद्घ व्यक्तिहरुले स्वास्थ्य क्षेत्रमा दिगो विकासका उपायहरुमाथि छलफल गर्नेछन् । यसैगरी डिसेम्बर १५ मा “अस्पताल व्यवस्थापन”शाीर्षकमा अर्को सम्मेलन गरिनेछ जसमा अस्पताल व्यवस्थापन सम्बन्धि विभिन्न विषयमा प्रयोगात्मक उपायहरुको छलफल तथा उदाहरण दिइनेछ । यो दोस्रो सम्मेलनमा ४०० भन्दा बढि डाक्टरहरुको उपस्थिती रहनेछ । यस इभेन्टले नेपालको स्वास्थ्य तथा ल्याब प्रविधिमा टेवा पुर्याउनेछ । साथै, नेपालका स्वास्थ्य क्षेत्रका कम्पनीहरुलाई विकासशील दिशातर्फ उन्मुख गर्ने र नयाँ सोच तथा अनुसन्धानका फाइदाहरुतर्फ अग्रसर गर्नेछ ।
इन्जिनियर्सहरुको ३२ औं निर्वाचन: सातै प्रदेश कब्जा गर्ने पीनको दाबी
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएशनको ३२ औं निर्वाचन नजिकिदैं जादा प्रोगेसिभ इन्जिनियरिङ एशोसियशन नेपाल पीनले तयारी पुरा गरेको बताएको छ । पीनले ३२ बुँदे घोषणापत्र जारी गर्दै सातै प्रदेशमा जित हासिल गर्ने दाबी गरेको हो । घोषणापत्रमा पीनले १५० मेघावटको जलविद्युत आयोजना बनाउनेदेखि लिएर ४७ हजार इन्जिनियरहरुलाई सदस्य बनाउने उल्लेख गरिएको छ । घोषणापत्र जारी गर्दै पीनका अध्यक्ष सम्भु बहादुर श्रेष्ठले सबै इन्जिनियरहरुको हकहितका लागि काम गर्ने बताए । उनले देशभरी नै चुनावी माहोल आफ्नै पक्षमा रहेको बताउँदै सातै प्रदेशमा जित हासिल गर्ने दाबी गरे । एसोसिएशनको ३२ औं कार्यकारिणी समिती निर्वाचन मंसिर २८ गते सातै प्रदेशमा हुँदैछ ।
नेपालको संविधानमा समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग
काठमाडौँ। नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन्। युवालय नामक संस्थाले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी विषयमा सञ्चारमाध्यमसँग आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले समलिङ्गी व्यक्तिले कानूनको अभावमा विवाहजस्तो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गरेका छन्। कार्यक्रममा नीलहिरा समाजका कार्यक्रम अधिकृत अनुज पिटरले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए। आफू स्वयं पुरुष समलिङ्गी भए पनि कानूनको अभावमा मन परेको पुरुषसँग कानूनीरूपमा विवाह गर्न नपाएको उहाँको गुनासो थियो । युवालयका अध्यक्ष सबिन सिंहले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी प्रस्तुति दिँदै समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन सञ्चारमाध्यम, नागरिक समाजलगायतले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए। संस्थाका युवा अभियानकर्मी कविता बस्नेतले यौन शिक्षाका सम्बन्धमा शैक्षिक पाठ्यक्रमसँगै घरपरिवारमा समेत सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। कार्यक्रममा सहभागीहरूले वैवाहिक समानता, बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका सम्बन्धमा जिज्ञासा र सुझाव राख्नुभएको थियो । विश्वमा हालसम्म ३० मुलुकले समलिङ्गी विवाहसम्बन्धी कानून पारित गरिसकेको समाजले जनाएको छ । रासस
को बन्ला १ खर्ब १५ अर्बको टेलिकम हाक्ने प्रबन्ध निर्देशक ? छनोट प्रक्रिया शुरु
काठमाडौं । सरकारले नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया सुरु गरेकाे छ। सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेपछि नेपालकाे सबैभन्दा ठुलाे टेलिकम कम्पनीकाे रुपमा रहेकाे नेपाल टेलिकममा नयाँ नेतृत्वबारे चर्चा सुरु भएकाे हाे । गत साउन २९ गतेकाे मन्त्रिपरिषद् बैठकले तत्कालिन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकममा कार्यकारी प्रमुखकाे पद रिक्त थियाे । भण्डारीले अाफ्नाे बर्खास्तीकाे निर्णय गैरकानूनी भएकाे भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम अादेश नदिएपछि सरकारलार्इ नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटाे खुलेकाे थियाे । मन्त्रिपरिषदको बिहीबार सार्वजनिक गरेकाे निर्णयानुसार अब सञ्चार मन्त्रालयको सचिवको नेतृत्वमा ३ सदस्यीय समिति गठन गर्नेछ । उक्त समिति एक हप्ताभित्रै बनिसक्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । उक्त समितिले प्रबन्ध निर्देशकमा खुल्ला प्रतिस्पर्धाका लागि आव्हान गर्नेछ । प्रबन्ध निर्देशकका अाकांक्षीहरुमध्ये छनाैट समितिले उत्कृष्ट ती जनाकाे नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने व्यवस्था छ । प्रवक्ता अधिकारीका अनुसार गठित समितिले काम सुरु गरेको २१ दिनभित्र आवेदकहरुबाट छानेर ३ जनाकाे नाम मन्त्रिपरिषदमा पेश गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलार्इ मन्त्रीपरिषदले प्रबन्ध निर्देशककाे रुपमा नियुक्त गर्नेछ । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याकं अनुसार हाल टेलिकमका १ कराेड ९५ लाख प्रयोगकर्ता छन् जुन कुल प्रयाेगकर्ताकाे ४० प्रतिशत हाे । कुल १५ अर्ब चुक्ता पुँजी भएकाे उक्त कम्पनीमा जनताकाे समेत लगानी छ । टेलिकमकाे बजार पुँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हाे । टेलिकममा हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशककाे भूमिका निर्वाह गरिरहेका छन् । लामाे समयदेखि टेलिकममा प्रमुख कार्यकारी नहुँदा कम्पनीकाे दैनिक प्रशासनिक कार्यमा समेत असर परेकाे टेलिकम स्राेतकाे दाबी छ ।
समितिहरु कम्पनी मोडेलमा नआए पुस १ देखि बस चलाउन नपाउने
काठमाडौं । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो । कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महीना लामो समयमा एक हजार ५०० कम्पनीका करीब छ हजार सवारी मात्र दर्ता भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिए । पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिने विभागले जनाएको छ । यसअघि सङ्घसंस्था ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको छ । सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गरेपछि यातायात एकाधिकार सिण्डिकेट हट्ने विश्वास गरिएको छ ।
बैंक अफ काठमाण्डू ‘आइएमई पे’ वालेटमा आवद्ध, रकम जम्मा गर्न सजिलो हुने
काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै, बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाडौँ बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आर्थिक पत्रकार संघसँग सहकार्य गर्ने गभर्नरको प्रतिवद्धता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नाफिजको नव निर्वाचित कार्य समितिसँगको भेटमा गभर्नर डा. नेपालले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले राष्ट्र बैंकका गतिबिधी तथा कार्यक्रमहरुबारे नागरिकमा सत्यतथ्य उजागर गर्न नाफिजको महत्वपूर्ण भूमिका रहने पनि बताएका थिए । गभर्नर डा. नेपालले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आफु सधैँ सहयोगी रहँदै आएको समेत स्पष्ट पारेका थिए । ‘देश नयाँ चरणमा प्रवेश गरेको छ, आर्थिक समृद्धि साझा एजेण्डा बनेको छ, राष्ट्र बैंकका कामबारे नागरिकमा सूचना प्रकाशित गर्ने तपाईहरुको भूमिका सराहनिय छ’, गभर्नर नेपालले भने । नाफिजको नव निर्वाचित कार्य समितिले गभर्नर डा. नेपाललाई ज्ञापन पत्र बुझाएको थियो । गभर्नरलाई भेट्न नाफिज अध्यक्ष सिताराम भट्टराईसहितको टोली बालुवाटार पुगेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी
काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ। गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका उनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। उनलाई सरुवा गरिएको निर्णय अझै सार्वजनिक भने गरिएको छैन। अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए। स्वास्थ्य मन्त्रालयमा हाल निमित्त सचिवको जिम्मेवारी १२ औं तहका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुलेरले सम्हालिरहेका छन्। सरकारको यो निर्णयसँगै स्वास्थ्यमा पुन प्रशासन समूहका सचिवले नेतृत्व सम्हाल्नेछन्। स्वास्थ्यमा डाक्टर सचिव रहने व्यवस्था छ। सरकारले गत असोज २८ मा डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसको विरोधमा सचिव चौधरीले सरकारविरुद्ध मुद्दा दायर गरेकी थिइन्। सर्वोच्चले उनको सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। सरकारले उक्त आदेशको खारेजीको माग गर्दै अदालतमा निवेदन दर्ता गराएको छ। अदालतले यो विषयमा छलफल गर्न सचिव चौधरीलाई अदालतमा बोलाएको छ।