सूर्यविनायक नगरपालिकाद्वारा सडक विस्तार, अवैध संरचना भत्काउन शुरु
काठमाडौं । सूर्यविनायक नगरपालिकाले सडक निर्माण कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ । सडक विस्तार कार्यलाई महा अभियानको रूपमा लिई सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ । भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो । नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सदस्य दीपक बिसुङ्खे लगायतको प्रत्यक्ष अनुगमनपछि सडक सिमाङ्कन गर्दै डोजर लगाएर सडकको संरचना हटाउन थालिएको हो । स्थानीय पूर्वाधार लागत साझेदारी कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद् कोषको रु २० लाख र नगरपालिकाको रु ३० लाख गरी कूल रु ५० लाखको लागतमा सडक विस्तार कार्य शुरु भएको नगरप्रमुख थापाले बताएका छन् । वडाअध्यक्ष जोशीले यसअघि नै पटक–पटक घरटहरा भत्काउन सूचना जारी गरे पनि नहटाउनेको नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको छ । अहिले घर नभत्काउने तर मापदण्डभित्र परेको पर्खाल, पेटी र टहरा भने भत्काउने योजना अनुरूप डोजर लगाउन थालिएको हो । नगरपालिकाका इञ्जिनीयर जनक न्यौपानेका अनुसार सडक विस्तारका क्रममा गुणस्तरीयता कायम राख्न दैनिक इञ्जिनीयर सहितको टोलीले अनुगमन एवं निरीक्षण गर्ने बताएका छन् । रासस
जनता बैंकको आयोजनामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । जनता बैंक नेपालको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा मंसिर २७ गते सम्पन्न उक्त शिविरमा विशेष गरी स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै रसुवा जिल्लाको कालिका गाँउपालिकामा मंसिर २६ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । नौकुण्ड स्वास्थ्य शिविरको उद्घाटन रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ का माननीय सांसदहरु प्रभात लामा र प्रेम लामाले संयुक्त रुपमा गरेका थिए । ८ सय ४६ जनाको स्वास्थ्य परिक्षण गरिएको उक्त शिविरमा ५४ जनाको शिविर स्थलमै मोति बिन्दुको शल्यक्रिया गरिएको थियो । बिरामीहरुलाई आवश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । स्त्री रोग सम्बन्धि उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ ।
नेप्से १९ अंकले बढ्यो, सरकारले सकारात्मक नीति लिने लगानीकर्ताकाे अपेक्षा
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको आइतबारको नेप्से परिसूचक १८.८९ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक अघिल्लाे दिनकाे तुलनामा १.६४ प्रतिशतले उकालाे लागेर ११६७.६७ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि सुधार आएको छ । आइतबार कुल १५९ कम्पनीको ४७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंंकको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ५ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन उत्पादनमूलक बाहेक कारोबारमा आएका बाँकी समूह हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १६७ अंकले बढेको छ । त्यस्तै, जीवन बीमा १३३, माइक्रोफाइनान्स ३७, होटल ३०, बैंकिङ् समूह १७ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूह ८.४३ अंकले ओरालो लागेको छ । सेयर बजारप्रति खराे बन्दै आएका अर्थमन्त्री डा युवराज खतिवडा पछिल्लाे समय लचिलाे भएपछि र राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा समिति गठन गरेपछि लगानीकर्ता आशाबादी देखिएका छ ।
चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुने, १४ खर्ब लगानी प्रतिवद्धताको उपलब्धि खोई ?
काठमाडौं । सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन गर्ने भएको छ । राजस्व सचिव शिशिर ढुङ्गानाको बिदाई कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा जानकारी गराएका हुन् । यसअघि सरकारले २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन गरेकाे थियाे । उक्त सम्मेलनमा करिब रु १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धता आएकाे थियाे तर प्रतिवद्धता अनुसार लगानी आएकाे छैन । सरकार परिवर्तन, फलाेअपकाे कमी, नीतिगत सुधारकाे कमीका कारण विदेशीले नेपालमा लगानी गर्न चाहेर पनि कार्यान्वयन तहमा नआएकाे बताइएकाे छ । सरकारी खर्चमा यस्ता सम्मेलन गर्ने तर उपलब्धिबारे लेखाजाेखा नै नगर्ने सरकारी शैलीकाे आलाेचना भइरहेकाे छ । दुइ वर्षअघि भएकाे सम्मेलनमा सबैभन्दा बढी प्रतिवद्धता चिनियाँहरूले गरेका थिए । उनीहरुले रु ८ खर्ब ३० अर्बको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । चिनियाँ लगानीकाे प्रवाह बढे पनि प्रतिवद्धता अनुसार लगानी आएकाे छैन । त्यसैगरी बङ्गलादेशबाट सहभागी भएका लगानीकर्ताले रु २ खर्बभन्दा बढी नेपालमा लगानी गर्ने विश्वास दिलाएका थिए । भारतका लगानीकर्ताले ३१ अर्ब ७० करोडको लगानी गर्ने विश्वास दिलाएका थिए । जापान र बेलायतबाट सहभागी लगानीकर्ताले रु एक/एक खर्बको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झन्डै २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियो । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो ।
तनहुँ जिल्लामा २५ करोड बराबरकाे सुन्तला उत्पादन
काठमाडौं । तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको बताएका छन् । अघिल्लो वर्ष छ हजार ५२६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ९३८ मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । तनहुँमा यस वर्ष एक हजार २८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । राइपुर, वैदी, छिपछिपे, तनहुँसुर, बेनीकोट, बन्दीपुर, घाँसीकुवा, नाम्सीकोट, भानुमतिलगायत सुन्तला खेतीको पकेट क्षेत्रका रूपमा रहेका छन्र । तनहुँको म्याग्दे गाउँपालिका–२ का विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला बेचेर रु ५५ लाख आर्जन गरेका छन् । सोही ठाउँका शुकनारायण श्रेष्ठले पनि यस वर्ष रु ३१ लाखको सुन्तला बिक्री गरेका छन् । भीमाद नगरपालिका–९ का अध्यक्ष इमानसिंह थापाले भानुमतिबाट यस वर्ष रु दुई करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको जानकारी दिएका छन् । व्यास नगरपालिका–११ तनहुँसुरमा रु ५० देखि ६० लाखसम्मको सुन्तला उत्पादन हुने अनुमान गरिएको कृषि शाखाका प्राविधिक विश्वराज वाग्लेले बताएका छन् । उनका अनुसार व्यास नगरपालिका–१३ वेनीकोटबाट समेत रु एक करोड ५० लाखको सुन्तला उत्पादन हुने लक्ष्य रहेको जानकारी दिएका छन् । देवघाट गाउँपालिकामा भने यस वर्ष सुन्तला उत्पादनमा कमी आउने अनुमान गरिएको छ । गाउँपालिकाका कृषि शाखाका प्राविधिक आनन्दराज घिमिरेले असिना र खडेरीको कारण सुन्तला उत्पादन कमी हुनसक्ने बताएका छन् । रासस
१३ प्रतिशत लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, कहिले हुँदै छ बुक क्लोज ?
काठमाडौं । सिद्धार्थ बैंकले लिमिटेडले आगामी पुस २३ गते वार्षिक साधारणसभा डाकेको छ । उक्त सभाले बैंकको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ८.१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ नाघ्ने छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस ९ गते एक दिन बुक क्लोज गर्दै छ ।
१० प्रतिशत बोनसपछि विजया लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । विजया लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । १० प्रतिशत बोनस सेयर पछि आज(आइतबार) मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३१.८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६९२.९१ रुपैयाँ रहेको थियो । आइतबार प्रतिकित्ता ६३१ रुपैयाँबाट कारोबार शुरु गरेको संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सो दिन बैंकको सेयर प्रतिकित्ता ६९५ रुपैयाँसम्म कारोबार भएको छ ।
परिचित पर्यटकीय स्थल बन्दै शङ्खरापुर, होमस्टे संचालनको तयारी
काठमाडौं । श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढ्न थालेको छ । काठमाडौँको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा रहेको साँखुसम्म मोटरबाटोको स्तरोन्नति भएमा अन्तर्राष्ट्रिय पर्यटक बढाउन सहज हुने देखिएको छ । शङ्खरापुर होटेल एशोसिएशनका अध्यक्ष सुमन थापाका अनुसार हालसम्म सो क्षेत्रमा होटल व्यवसायका लागि रु एक अर्ब ६५ करोडको लगानी भइसकेको छ । यहाँका ३८ होटलमा गरी पाँच सय कोठाको क्षमता छ । चाँडै केही पाँच तारे होटल बन्ने तयारीमा छ । स्थानीय घरवास (होमस्टे) सञ्चालनका लागि पनि तयारी भइरहेको छ । शालिनदी, साँखु, मणिचूड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्रका कारण यहाँ वर्षेनी धार्मिक पर्यटक वृद्धि हुँदैछन् । ती क्षेत्रलाई थप विकास गर्दै प्राकृतिक पहाडी वन जङ्गल, मणिचुड, झुले देउराली, जहरसिंह पौवा र थाना भञ्ज्याङलाई पर्यटकीय र धार्मिक क्षेत्रका रूपमा विकसित गर्न शङ्खरापुर नगरपालिकाले बजेट विनियोजन गरेपछि थप पर्यटकीय विकास हुने सम्भावना देखिएको छ । विसं २०६८ को जनगणनानुसार २५ हजार ३३८ जनसङ्ख्या रहेको र ६० दशमलव २१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको तीन हजार तीन सय वर्ष अगाडि बनेको शङ्ख आकारको यो शहर मौलिक पाँच ढोकाका कारणले पनि परिचित छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लासँग जोडिएको शङ्खरापुर नगरपालिकाको वनभोजस्थल जहरसिंह पौवामा नगरपालिकाले हिमाल र सूर्योदय अवलोकनका लागि हालै बनाएकोस्तम्भका कारण पनि यहाँ चहलपहल बढेको छ । थाना भञ्ज्याङ्गमा केबुलकार सञ्चालनको पनि पहल भएको छ । नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले विनाशकारी भूकम्पमा थिलथिलो भएका सम्पदा र भवनको पुनःनिर्माण गर्दै पर्यटनलाई पहिलो प्राथमिकता दिएर नगरवासीलाई समृद्धिका लागि लागेका छन् । ०७२ सालको भूकम्पमा यस नगरपालिकामा १०८ को मृत्यु भएको थियो भने छ हजार घर ध्वस्त भएका उक्त ठाँउमा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदानमा नगरपालिकाका तर्फबाट थप रु एक लाख दिने नीति लिइएको जानकारी दिएका छन् । नगरपालिकाले चीनको ल्हासा नगरपालिका र अन्तर्राष्ट्रिय बौद्ध पर्यटन केन्द्रको सहयोगमा चाँपाबोट र चिहानडाँडामा स्रङचङगम्पो र भृकुटीको पार्क बनाउन पनि बजेट विनियोजन गरेको छ । नगर क्षेत्रभित्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय पर्यटनको सम्भाव्यता उजागर गर्न नगरस्तरीय एकीकृत पर्यटकीय गुरुयोजना तयार गरिने प्रमुख श्रेष्ठको भनाई रहेको छ । देउरालीस्थित शङ्खरापुर प्याराग्लाइडिङ प्रालिका सञ्चालक कुशल थापाले नियमित सञ्चालनका हिसाबले प्रदेश नं– ३ कै पहिलो प्याराग्लाइडिङ आफूले सञ्चालन गरेको र गतवर्ष तीन सय पर्यटकले मनोरञ्जन लिएको बताएका छन् । रासस