काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाहिरी चक्रपथमा कलंकको टीका लगाउन आफु तयार नभएको बताएका छन् ।
आफु हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने मन्त्री नभएकाले कलंकको टीका लगाउन तयार नहुने उनले स्पष्ट पारे । ‘म हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने मान्छे होइन, बाहिरी चक्रपथमा हतारको निर्णय गरेर कालो टीका लगाउन तयार छैन’, मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले भने ।

केहि भूमाफियाहरुले बाहिरी चक्रपथलाई घेरा बन्दीमा पारेर असफल परियोजना बनाउन लागेको आरोपपनि उनले लगाए । ‘केहि भुमाफियाहरुले ल्याण्ड पुलिङ मात्रै गराएर आयोजना अलपत्र पारेर मलाई बदनाम गराउने प्रयास गरिरहेका छन, तर म सचेत छु’, मन्त्री राईले भने । उनले अर्थमन्त्रालयबाट सहमति आए लगत्तै ७२ किलोमिटर कै जग्गा रोक्का गर्ने घोषणापनि गरे ।
मन्त्री राईले बाहिरी चक्रपथ आयोजनाको अलाइनमेन्ट भने परिवर्तन हुने पनि स्पष्ट पारे । ‘अर्थबाट सहमति आएकै दिन मन्त्रिपरिषदमा एकै पटक पुरै जग्गा अधिग्रहण गर्ने प्रस्ताव लैजान्छु, जताजता भूमाफियाको जालो छ, त्यहाँ त्यहाँ अलाइनमेन्ट परिवर्तन हुन्छ’, मन्त्री राईले भने ।
उनले बाहिरी चक्रपथ निर्माणका लागि श्रोत सुनिश्चित गर्न अर्थमन्त्रालयलाई अनुरोध गरिएको जानकारी पनि दिए ।