विकासन्युज

चिसो बढेसँगै हुम्लाका निजी तथा सामुदायिक विद्यालय बन्द

काठमाडौं । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्ला लगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताएका छन् । आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुआत गरिने मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले बताए । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत रहेका छन् । रासस

बिहे गर्न जोडी पाउनु भएन ? अब यसो गर्नुस्

काठमाडौँ । के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । www.myswayambar.com नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको शुभारम्भ गरेपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन भर्ने, आफूलाई चित्त बुझ्ने योग्यता भएका वरबधुको खोजी गर्न सक्ने भएको हो । नेपालीमा ‘मेरो स्वयम्बर’ नाम दिइएको सो अनलाइन पोर्टलको मुख्य उद्देश्य सनातन नेपालीको बैद्धिक परम्परा जगेर्ना गर्नुका साथै धार्मिक अनुष्ठानलाई सहज, सरल तथा सुखमय दाम्पत्य जीवन बनाउने तथा ज्योतिषी, वास्तु परामर्श दिने रहेको ‘गुरु मञ्जरी’ नामक संस्थाले जनाएको छ । सो अनलाइन पोर्टल नेपालका संयोजक मुकुन्द शर्माले सम्बन्धित देशको प्रचलित कानूनअनुसार वैवाहिक कानूनभित्र रहेर स्वतन्त्रता र गोपनीयतालाई उच्च सम्मान गर्दै विवाह गराउन मान्यताप्राप्त योग्य व्यक्तिबाट वरबधू खोजिदिने जानकारी दिए । त्यस अनलाइनको शुभारम्भ गर्दै राष्ट्रियसभाका सदस्य कोमल ओलीले नेपालको कला, संस्कृति तथा धर्मले नै मुलुकलाई पहिचान गरिरहेकाले यसलाई युवावर्गमा लानुपर्नेमा जोड दिए । उनले आफू कम्युनिष्ट पार्टीमा लागेको भए पनि हिन्दू धर्म, संस्कारमा अडिग रहेको बताउँदै हिन्दू धर्ममा गरिने यज्ञ तथा कर्मकाण्डले नै हिन्दू धर्मलाई जोगाइराखेको प्रष्ट पारिन । वरबधू खोजीमा रहेका व्यक्तिले उक्त वेबसाइटमा गएर आफूले खोजेको योग्यता पुगेको व्यक्तिको सूचना ग्रहण गर्ने, आफ्नो निवेदन दर्ता गर्ने र आफूले दिनुपर्ने सूचना दिएपछि पोर्टलका कर्मचारीले सुहाउँदो वरबधूको खोजी गरी निवेदकलाई सूचना दिइने जनाएको छ ।

मध्यरातको निष्कर्षः रबिन्द्र अधिकारीसहित दर्जनलाई कारवाही सिफारिस, गर्लान त राजीनामा ?

काठमाडौं । नेपाल बायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा ३ अर्ब ८० करोड घोटाला भएको निष्कर्षसहित संसदिय उप समितिले पर्यटन मन्त्री रबिन्द्र अधिकारीसहित एक दर्जनलाई कारवाही सिफारिस गरेको छ । मंगलबार आधा रातसम्म चलेको उप समिति बैठकले जहाज खरिद प्रकरणमा ३ अर्ब ८० करोड रुपैंयाँ घोटाला भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा पर्यटन मन्त्री रबिन्द्र अधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने उल्लेख गरिएको उप समितिका एक सदस्यले जानकारी दिए । ‘महालेखाले भुक्तानी नदिनु भन्दा भन्दै अधिकारीले १६ अर्ब भुक्तानी गर्न दिएका छन्, संसदिय समितिमा पनि गलत सूचना दिएकाले उनलाई पनि कारवाही सिफारिस गरेका हौं’, श्रोतले भन्यो । मन्त्री अधिकारी सहित पूर्वमन्त्रीहरु जिवन बहादुर शाही, जितेन्द्र नारायण देवलाई पनि कारवाही गर्न भनिएको छ । अधिकारीका पालमा १६ अर्ब भुक्तानी भएको थियो भने देवका पालामा ८ अर्ब र शाहीका पालामा एक अर्ब रकम भुक्तानी गरिएको थियो । तत्कालिन पर्यटन सचिव कृष्ण देवकोटा, शंकर प्रसाद अधिकारी, महेश्वर न्यौपानेलाई पनि कारवाहीको सिफारिस गरिएको छ । बायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य अभियुक्त करार गर्दै उप समितिले तत्काल बर्खास्त गरि कारवाही अघि बढाउन भनेको छ ।

प्रभु बैंकमा खाता हुनेले सेयर कारोबार गर्न ब्रोकरकोमा जानै नपर्ने

काठमाडौं । प्रभु बैंकले मंगलबारदेखि ‘प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता’ सञ्चालनमा ल्याएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले पुस १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि उक्त खाता संचालनमा ल्याएको हो । उक्त कारोबारको लागि नेप्सेले प्रभु बैंकलाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ । अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गरी सेयर खरिद बिक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा सेयर दलाल(ब्रोकर) तथा बैंकसम्म पुग्नु नपर्ने बैंकले जनाएको छ । बैंकले संचालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसीबसी सजिलै स्वचालित अनलाईन सेयर कारोबार गर्न तथा सेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । प्रभु बैंकले सञ्चालनमा ल्याएको बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ई बैंकिङ सेवा उपलब्ध हुने कम्पनीले जनाइको छ । यस खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन सेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई सेयर कारोबार गर्न सजिलो हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

सांग्रिला डेभलपमेन्ट बैंक रोल्पाको सुलीचौरमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो नयाँ शाखा रोल्पाको सुलीचौरमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन बैंकका संचालक अच्युतप्रसाद प्रसाई तथा सुनील स्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीले संयुक्त रुपमा गरेका छन् । बैंकले देशभर शाखा संजार विस्तार गरी सबैमा बैंकिङ् सुविधाको पहुँच पुर्याउने लक्ष्य सहित उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । हालसम्म बैंकले सातवटै प्रदेशमा गरि शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत सम्पूर्ण बैंकिङ् सेवा दिँदै आइरहेको छ ।

माछापुच्छ्रे बैंकका ग्राहकलाई मेडिसिटि अस्पतालमा ७ प्रतिशतसम्म छुट

काठमाडौं । अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालको उपचार सेवामा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो मात्राको छुट पाउने सम्बन्धि मंगलबार माछापुच्छ्रे बैंक र मेडिसिटि अस्पतालबीच एकआपसमा सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

टेलिकमको प्रबन्ध निर्देशकका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को प्रवन्ध निर्देशकका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । मन्त्रालयले ९ जनाको व्यवसायिक योजना र अन्तरवार्ताबाट उत्कृष्ट ३ जना छनोट गरी मन्त्रिपरिषद पठाउने तयारी गरेको हो । छनोट समितीले सोमबार ५ जना र मंगलबार ४ जनाको अन्तरवार्ता लिएको हो । प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा. बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यय र संगिता पहाडी (आचार्य) गरी ११ जनाले निवेदन दिएका छन् । मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी छिन् । मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको थियो । अहिले समितिले प्रतिस्पर्धीको अध्ययन गरिरहेको छ । आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ । समितिलाई प्राप्त अधिकार अनुसार प्रक्रिया सुरु भएको २१ दिन भित्रमा ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनु पर्नेछ । गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि सो पद रिक्त रहको छ । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कूल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि नेपाल दूर सञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) प्रमुख कार्यकारी नहुँदा दैनिक प्रशासनिक कार्यमा समेत असर परेको स्रोतको दाबी छ ।

जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बीमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।