विकासन्युज

सेयर बजारमा ५ अंकको गिरावट

काठमाडौं । बुधबारको सेयर बजार ५.४२ अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक ०.४६ प्रतिशतले घटेर ११८० अंकमा झरेको छ । बजारमा कुल १५४ कम्पनीको २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(मंगलबार)को बजारमा कुल २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, माइक्रो फाइनान्स र ट्रेडिङ समूह बाहेक कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६८ अंकले ओरालो लागेको छ । माइक्रो फाइनान्स र ट्रेडिङ समूहको सूचक क्रमशः ६.५९ र २.७९ अंकले बढेको छ । बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको बुधबार मात्रै २ करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ रहेको छ । बुधबार कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.४२ प्रतिशत कमाएका छन् । उता अरुण काबेली पावरको सेयर मूल्य सबैभन्दा बढी ४.६६ अंकले घटेको छ ।

राष्ट्रिय बीमा कम्पनीका सीईओको राजिनामा स्वीकृत, पुस २० गतेदेखि लागू हुने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बीर विक्रम रायमाझीको राजिनामा स्वीकृत भएको छ । कम्पनीले सीईओ रायमाझीको राजिनामा पुस २० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । कम्पनीको १७०औँ संचालक समितिको बैठकले सीईओ रायमाझीको राजिनामा स्वीकृत गरेको हो ।

५ महिनामा भित्रियो ५ अर्ब ८० करोडको लगानी, हवाई क्षेत्रमा भूटानी ड्रुकएयरको इन्ट्री

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ५ अर्ब ८५ करोड ४० लाख रुपैँयाको विदेशी लगानी नेपाल भित्रिएको छ । कम्पनी रजिष्टार कार्यालयका अनुसार पछिलो ५ महिनामा २४ वटा विदेशी कम्पनी मार्फत लगानी भित्रिएको हो । नयाँ दर्ता भएका विदेशी कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजीे भूटानको ड्रुकएयर कर्पोरेशनको रहेको छ । सो कर्पोरेशनको चुक्ता पूँजी ५ अर्ब रुपैँया रहेको छ । हवाइजहाज र हेलिकप्टर सञ्चालनका लागि सो कम्पनी दर्ता भएको छ । चालु आर्थिक वर्षको पछिलो ५ महिनामा दर्ता भएको दोस्रो ठूलो विदेशी कम्पनीमा चीन नेशनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन रहेको छ । यो कम्पनीले निर्माण सम्बन्धी काम गर्ने उद्देश्य लिएको छ । कम्पनी रजिष्ट्राको कार्यालयमा दर्ता भएका कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरु निमार्ण सम्बन्धी काम गर्ने उद्देश्य लिएका छन् । कम्पनी रजिष्ट्रार कार्यलयका कम्पनी रजिष्ट्रार भुवनहरि आचार्यका अनुसार विदेशी कम्पनीहरुले नेपालमा लगानीको वातावरण भएकाले ठूला कम्पनीहरु दर्ता गरिरहेको बताए । दर्ता भएका सबै विदेशी कम्पनी प्रदेश नम्बर ३ मा सञ्चालन हुने छन् ।

नेपाल एसबीआई बैंकको सेयर मूल्य घट्यो, आज किन्नेले बोनस नपाउने

काठमाडौं । बुधबार नेपाल एसबीआई बैंकको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको छ । मंगलबार प्रतिकित्ता ४०३ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर बुधबार ३९५ रुपैयाँमा झरेको छ । बैंकले गत वर्षको नाफा वितरणका लागि आजबाट बुक क्लोज गरेको छ । आज सेयर किन्नले गत वर्षको नाफाबाट बैंकले दिन लागेको ५ प्रतिशत बोनस सेयर ५ बोनस पाउने छैनन् । बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता ४०३ रुपैयाँ तोकेको छ ।

यूएईमा गयो १०३ जना नेपालीको ज्यान, ४ को शव अझै आएन

काठमाडौँ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स(युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतक मध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ ।

बुटवल पावरले किन्यो हिमताल हाइड्रोपावरको ६ लाख कित्ता सेयर

काठमाडौं । बुटवल पावर कम्पनीले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता सेयर किनेको छ । बुधबार मात्रै बुटवल पावरले ६०० मेगावाटको अपर मस्र्याङ्गदी २ जलविद्युत आयोजना विकास गर्ने आयोजन कम्पनी हिमतालको सेयर किनेको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार कम्पनीले हिमतालको स्वामित्वमा रहेको १९.४ प्रतिशत सेयर किनेको हो । हिमताल हाइड्रोको स्वामित्वमा रहेको सो मात्राको सेयर गत पुस १६ गते दाखेल खारेज भई बुटवल पावरको नाममा सेयर स्वामित्व कायम भएको नेप्सेले जनाएको छ ।

राणाले सम्हाले २९औँ प्रधानन्यायाधीशको कार्यभार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो । राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो । पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उजको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गर्नुभएका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गरे । न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गरेका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गरे । त्यसक्रममा पुनरावेदन अदालत दीपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाएका थिए । विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका थिए । उनले आजै सर्वोच्च अदालतमा पुगी पदभार ग्रहण गरेका छन् । उनको चार वर्षको कार्यकाल रहनेछ ।

कोटेश्वरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौैं । माछापुच्छ्रे बैंकले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाैं महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ गरेका हुन् । बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ । यस्तै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ । बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु, १०८ वटा एटीएम र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा  प्रदान गरिरहेको छ ।