चीनकाे सबैभन्दा ठूलाे टेलिकमकाे स्मार्टफाेन नेपाली बजारमा, १८ हजारदेखि ४२ हजारसम्म पर्ने
काठमाडौँ । चीनकाे सबैभन्दा ठूलाे कम्पनीकाे सहब्राण्डकाे रुपमा रहेकाे अनरले नयाँ वर्षमा नयाँ स्मार्टफाेन ल्याएकाे छ । क्राताेस टेक्नाेलाेजीले साे ब्राण्डका स्मार्टफाेनहरुलार्इ नेपाली बजारमा भित्र्याएर बुधबारदेखि बिक्री सुरु गरेकाे छ । टेक्नाेलाेजीले ४ माेडलका स्मार्टफाेनहरु ल्याएकाे छ जसमा अनर सेभेन ए, अनर सेभेन एस, अनर ऐट एक्स र अनर प्ले माेडलहरु छन् । अनर सेभेन ए मूल्य १८ हजार ४९०, अनर सेभेन एसकाे १५ हजार ४९०, अनर ऐट एक्सको ३२ हजार ४९० र अनर प्लको ४२ हजार ४९० रुपैंया ताेकिएकाे छ । यी स्मार्टफाेनहरु प्रयाेगकर्ताहरुलार्इ चलाउन सजिलाे र रचनात्मक रहेकाे दाबी कम्पनीले गरेकाे छ । यसले स्मार्टफाेनकाे दुनियामा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास पनि कम्पनीकाे छ । स्मार्टफाेनकाे लञ्चिङ कार्यक्रममा अनर कम्पनीका रिर्चस मेन्गीले भने ‘यो ब्राण्डको रचना नै डिजिटल दुनियाँको सागहरु सम्बोधन गरियको छ । ’ डिजिटल युगको आवश्यकता, अनरको मूल्य र कार्य दक्षताको अनुपातमा सटिक रुपमा सन्तुलित ब्राण्ड भएको उनले बताए ।
सेञ्चुरी बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
महोत्तरीको बर्दिवासमा गुडविल फाइनान्सको नयाँ शाखा
काठमाडौं । गुडविल फाइनान्सको चौंधौ शाखा महोत्तरी जिल्लाको बर्दिवासमा उद्घाटन गरेका छन्र। बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुदाधरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रदेश नं. २ मा गुडविल फाइनान्सको विस्तारसँगै पाँचथरको फिदिम देखि बाँकेको नेपालगञ्ज साथै प्रदेश नं. ७ को राजधानी धनगढीमा पनि शाखा स्थापनासँगै सेवा प्रदान गर्दै आएको छ ।
सन् २०१८ मा अमेरिकी मनोरञ्जन उद्योग डिस्नेको आम्दानी सात अर्ब डलर
काठमाडौं । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो । बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकमात्र कम्पनी डिस्नेको सन् २०१६ को आम्दानी ७ अर्ब ६० करोड डलर थियो । डिस्ने, पिक्सार, मार्भेल स्टुडियो र लुकास फिल्मलाई मन पराउने विश्वभरका समर्थकलाई धेरै धेरै धन्यवाद,” वाल्ट डिस्ने स्टुडियोका अध्यक्ष अलान होर्नले बताएका थिए । उत्तर अमेरिकामा डिस्नेले झण्डै ३ अर्ब १० करोड डलर आम्दानी गरेको थियो । डिस्नेका केही चलचित्र अहिले विश्वकै उत्कृष्ट १० स्थानभित्र रहेका छन् । “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार”, “इन्क्रेडिबल २” र “स्टार वार्स” समेतका प्रत्येक चलचित्रले संयुक्तराज्य अमेरिका र क्यानाडामा ६० करोड अमेरिकी डलरभन्दा बढी कमाएका छन् । यी चलचित्रले कूल चार अर्ब ६४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । सन् २०१९ मा डिस्नेले अर्को फड्को मार्दैछ । “क्याप्टेन मार्भेल” र “एभेन्जर्सः इन्डगेम” नयाँ स्वरुपमा आउँदैछ भने “फ्रोजेन २” र “स्टार वार्सः इपिसोड नाइन” वर्षको अन्त्यमा बक्स अफिसमा आउनेछ । एनिमेटेड चलचित्रका नयाँ संस्करणका रुपमा “डम्बो”, “अल्लादीन” र “दी लायन किङ” बजारमा आउँदैछन् भने डिस्नेको सहायक कम्पनी पिक्सारको उत्पादनका रुपमा “टोय स्टोरी फोर” पनि यसै वर्ष बक्स अफिसमा आउनेछ । रासस एएफपी
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको शुल्क वृद्धि, सर्वसाधारण र अधिकारकर्मी विरोधमा
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ । प्रतिष्ठानले केही दिन अघि स्वास्थ्य सेवामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी सेवा नहुँदै जनतालाई मारमा पार्ने गरी भएको शुल्क वृद्धिको निर्णय फिर्ता गर्न जिल्लास्थित सम्बद्ध निकायले आग्रह गरेका छन् । बिरामी भर्ना शुल्कमा रु २५ बाट रु १०० पुर्याइएको छ भने आकस्मिक बिरामी भर्ना शुल्कमा रु २५ बाट रु २०० पुर्याइएको छ । साथै सुत्केरी महिलाले प्रसूति गराए बापत सुत्केरी खर्च प्राप्त गर्दै आएकोमा उल्टो रु सात हजारदेखि रु १२ हजार लाग्ने भएपछि सर्वसाधारणदेखि अधिकारकर्मी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिले विज्ञप्ति नै जारी गरेर तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क वृद्धि गर्नु गलत भएको बताएको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालले दिँदै आएको सेवा सुविधामा गरेको कटौतीको कुराले सरोकार समितिको ध्यानाकर्षण भएको जनाएको छ । सेवा सुविधाको अवस्थामा शुल्क वृद्धि र पाई आएको सुविधा कटौतीले प्रतिष्ठानप्रति नै नकारात्मक भावना वृद्धि हुने भएकाले शुल्क वृद्धि नगर्न र पाई आएको सेवा सुविधा कायम गराउन जोडदार माग गरिरहेको संयोजक नारायण भुसालले उल्लेख गरेका छन् । प्रतिष्ठानको विषयमा प्रतिनिधिसभा सदस्य सांसद मेटमणि चौधरीले सरकारले स्वास्थ्य सेवालाई भरपर्दो, सर्वसुलभ र निःशुल्क बनाउने घोषणा गरे पनि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खिल्ली उडाएको जनाएका छन् । प्रतिष्ठानको कदमविरुद्ध नेकपा दाङ, राष्ट्रिय जनमोर्चा दाङ र नागरिक समाज दाङले समेत विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् । रासस
लाहुरेकाे भाञ्जा भनेकाे सुन्दा नामै फेरिदिएँ, मामाहरुसँग लाहुर नगएर अर्गानिक कृषक बनेँ : संगम शेर्पा
आफ्नो फार्ममा फलेको सलाद देखाउँदै संगम शेर्पा काठमाडौं । ताप्लेजुङका संगम शेर्पालाई स्वदेश मै केही गर्नु थियो र त उनले अमेरिकाको भिसा त्यागे । उनलाई विदेश जानु थियो, तर केबल भ्रमण र केही शिप सिक्नको लागि मात्र थियो । ताप्लेजुङमा जन्मिएका ३९ बर्षीय शेर्पा २०५२ सालमा काठमाडौँ आएका हुन् । ठूलो सपना बोकेर काठमाडौँ आएका उनलाई सुरुवाती दिनमा धेरै गाह्रो पर्यो । उनले दुई–तीन रात त परालमा सुतेर बिताए । ताप्लेजुङमा जन्मिएपनि मामाघर चैनपुरमा हुर्किएका उनलाई सानो बेला सबैले लाहुरेको भाञ्जा भनेर बोलाउँथे । सबैले खुब माया गर्थे । सानैमा बुवा गुमाएका उनलाई लाहुरेको भाञ्जा भन्दापनि आफ्नै नामले चिनिनु थियो । यसको लागि उनले आफ्नो नाम नै फेरे र नयाँ नाम राखे संगम शेर्पा । उनै संगमले आजभन्दा ८ वर्ष अघि राजधानीको कपना अर्गानिक फर्म हाउस खोले, शुरुमा फर्म चलाउन गाह्रो भयो, तर अहिले फर्म राम्ररी चलेको छ, पैसापनि राम्रो कमाएका छन्, धेरै कृषकहरुलाई अर्गानिक खेती कसरी गर्ने भनेर सिकाएका पनि छन् । उही संगम शेर्पासँग व्यवसायिक अर्गानिक खेती र कसरी सफल कृषक हुन सकिन्छ भन्ने बारेमा विकासन्यूजका लागि डोमी शेर्पाले गरेको कुराकानी : अर्गानिक फार्म हाउस नै किन खोल्नु भयो? मान्छेहरु बर्षा देखि काठमाडौमा बसिरहेका छन् । उनीहरुलाई आफ्नो गाउँको तिर्सना लाग्छ । एकपटक आफ्नो गाउँमा पुग्न पाए, गाउँले खाना खान पाए हुन्थियो भन्ने लाग्छ । तर गाउँ जाँदा धेरै समय लाग्ने अनि खर्चपनि एकदम लाग्ने हुनाले त्यहाँ समयसमयमा गईरहनु असम्भव हुन्छ। त्यस्तो अवस्थामा काठमाडौंको मुटु भन्दा डेढ किलोमिटर भित्र रहेको आर्गानिक फार्म हाउस कपनले तपाईलाई त्यो गाउँको झझल्को मेटाउन सक्छ । त्यही गाउँको तिर्सना मेट्ने ठाउँ होस् भनेर मैले आर्गानिक फार्म हाउस खोलेको हुँ। आर्गानिक फार्म हाउस, कपन यहाँ गाई, बाख्रा, कुखुरा पालिएको छ । यहाँ गैरी खेत छ, डाँडा छ, रुख छ, तीन तल्ले घर छ । यहाँ पाक्ने खानाहरु पनि ठ्याक्कै गाउँघरको जस्तै हुन्छ। तपाईंले यहाँ आफ्नो गाउँको यादहरु पूर्ण ताजा गर्नसक्नुहुन्छ। यस्तो खालको ब्यवसाय गर्दा के कस्ता समस्या आए त ? शुरुवाती दिनमा यहाँका मान्छेको प्रतिक्रिया सुन्नु हुन्छ भने मैलै यो व्यवसाय छोड्नु पर्ने अवस्था आईसकेको थियो । म आँफै पनि आर्गानिकको पारखी भएको कारणले मैले सोचेको थिएँ कि म जस्तै आर्गानिक पारखीहरु काठमाडौँमा टन्नै होलान् तर म भ्रममा थिए। पहिला मात्र होईन अहिलेपनि मानिसहरु आर्गानिक खाना खानु पर्छ है भनेर सोच्दैनन् । आफ्नो स्वास्थ्य कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई उनीहरु हेलचेक्राई गर्छन् । सुरुमा त दुःखपनि लागेको थियो र जुन सोचले ग्राहक आउँछन् भनेर व्यवसाय सुरु गरेको थिएँ, त्योपनि भएन, आर्गानिक तरकारीको बजार राम्रो होला नि त भनेको त्यो पनि भएन । धेरै गाह्रो भएको थियो, तर त्यो मैले कहिलेपनि यस्तो भएको अरुलाई देखाइन् । किनभने मलाई थाहा थियो कि कुनैपनि ब्यवसायको सुरुवाती दिनमा गाह्रो हुन्छ भनेर। मेरो श्रीमति क्लाइम्बर पनि हो र त्यस समयमा उनी ब्युटीसियन पेशामा संलग्न थिईन् । ती सबै पेसा छोडेर उनलाई यो खेतमा ल्याएर खनाउँदा उनले धेरै पटक आँसु पनि झारेकी थिईन् । उनी हामी किन किन यो गरिरहेका छौँ भन्थिन् । म भने उनलाई यसको भबिस्यको बारेमा भनिरहन्थे। तपाईंको फार्ममा अरु के–के पाईन्छ ? मेरो यहाँ २० वटा बाख्रा, ४०० वटा कुखरा, थोरै संख्यामा गाई–भैंसी छन् । यहाँ मानिसहरु आफ्नो रोजाईमा आफैँ के खान मन लाग्यो छानेर बनाएर खान सक्छन् । यहाँ हामीले बिभिना प्रकारको सलादह्र पनि उब्जाएका छौ। सलादको कुरा गर्नु पर्दा नेपालीहरु खानपानमा बढी चिल्लो, पिरो, अमिलो खाने, सालाद नखाने र सलाद बजारमा पनि नपाईने कारणले ग्यास्ट्रिक हुने गर्छ । अहिले रेस्टुरेन्टमा सलाद भन्ने हो भने दुई टुक्रा गाजर, दुई टुक्रा मुला, दुई टुक्रा काक्रा दिन्छ, तर खास भन्नु पर्दा त्यो सालाद होईन । सलाद भनेको हरियो साग सब्जी मिसिएर बनेको परिकार हो । हामीले सलाद दिनमा कमसेकम १०० ग्रामको दरले खाने हो भने तपाईंलाई ग्यास्ट्रिक हुने सम्भावना न्युन भएर जान्छ । आर्गनिक फार्मका पाहुनाहरुसँग संगम शेर्पा मैले सलाद कै ब्यापार गर्छु भनेर यस फार्मको बिकास गरेको हुँ । तर, नेपालीको खानपानमा सलाद नभएर फेरी मैले वाध्य भएर अरु तरकारीहरु गरिरहेको छु । जस्तो मुला, गाजर, चुकन्दर रहेको छ । हामी हाम्रो यहाँको उत्पादन नक्सालको भाटभटेनीमा बेच्छौँ । र अन्य २–४ वटा आर्गानिक स्टोरले पनि हाम्रो सामान लिईरहनु भएको छ । के यहाँ तपाईँको फर्ममा वास बस्ने ब्यवस्था पनि छ ? यहाँ १५०० मा एकदिने आर्गानिक घरबास योजना रहेको छ । यहाँ बस्न आउनेलाई हामी मज्जाले आर्गानिक खाना खुवाउँछौ । बिहान मज्जाले लोकल अण्डा, फापरको पिठो लगायतको आर्गानिक ब्रेकफास्ट गराएर बिदा गर्छौँ । यो व्यवसाय कति लागतमा शुरु गर्नु भयो ? कती जना कर्मचारी राख्नु भएको छ ? आर्गनिक फार्म हाउसमा काम गर्दै विदेशी स्वयंमसेवक मैले घर बनाउँछु भनेर जम्मा गरेको पैसा ३० लाखले यो ब्यवसाय सुरु गरेको हुँ, अब त करोड नै पुगिसक्यो होला । तर खासमा मेरो अवधारणा नै पारिवारिक ब्यवसाय गर्ने हो । मेरो आमा, श्रीमती यही ब्यवसायमा संलग्न हुनुहुन्छ । मेरो आमा खेतमा बेस्सरी काम गर्नु हुन्छ । खासमा चाहीँ आमाको लागि भनेर मैले यो फार्म खोलेको हुँ । मेरो श्रीमती चाहीँ फार्म हेरचाह, प्रमोसन र खानपान ब्यवस्था गरिरहनु भएको छ । कर्मचारी भन्न पर्दा एक जना जेटीए, रेस्टुरेन्टको पाटो हेर्न ३ जना स्टाफ र फार्म हेर्नलाई ५ जना स्टाफ यहाँ कार्यरत छन् । यसरी हेर्दा १२–१३ जनालाई रोजगारी दिएको छु । यसबाहेकसमय समयमा बिभिन्न देशका स्वयम्सेवक कृषि सम्बन्धी कुरा सिक्न आउँछन् र २ हप्ता-१ महिना काम गरेर जान्छन् । उनीहरुलाई खान र बस्नको ब्यवस्था हुन्छ र बाँकी राती सुत्ने बेला उनीहरुले मलाई ३०० रुपैँया दिनु पर्ने हुन्छ । उनीहरु दिनभर बारीमा काम गर्छन् र राती यही सुत्छन् । भर्खरै मात्र यहाँ दुई क्यानेडियन नागरिक काम सिक्न आउनु भएको छ । नेपालमा किसानको अवस्था कस्तो छ ? विदेशतिर म किसान हो भन्दा अरुले वाह ! भन्छन् । तर, नेपालमा तपाईं हामी सबैलाई थाहा छ किसानलाई कुन नजरले हेरिन्छ । खानाको लागि अन्न उब्जाई दिने किसान जहिलेपनि पहिलो दर्जाको नागरिकमा गनिनु पर्छ। नेपालमा ६७ प्रतिशत मानिस कृषि पेसामा आवद्ध छन् । उनीहरुलाई कुनै दिन बिदा हुँदैन, ८ घण्टा काम गर्ने समय हो भन्ने हुँदैन । उनीहरु हरेक दिन काम गर्छन् । बिहान उठेदेखी रात नपरेसम्म उनीहरु यति मेहनत गर्छन् र पनि एक आङ राम्रो लाउन पाएको छैनन्, एक पेट मिठो खान पाएका छैनन् । अझैपनि परम्परागत तरिकाले खेती गरिंदै आएको छ । दुःखसुख गरेर उब्जनी गर्यो, तर बजारमा सही मूल्य छैन । त्यसैले समग्रमा सामान्य किसानको अवस्था नेपालमा दु:ख लाग्दो नै छ। यही कारणले पनि म किसानहरुलाई मेरो फार्ममा खेती कसरी गर्नेबारे टिप्सहरु दिन्छु र मानिसहरु यहाँ आएर मज्जाले हेर्छन्, सिक्छन् अनि आफ्नो कृषि खेतीमा लागु गर्छन् । किसानहरुले आफ्नो जीवनस्तर बढाउन के गर्नुपर्ला ? लोप हुँदै गएका शब्द!! सर्वप्रथम त किसानहरुले गुजाराको लागि खेती गर्न छोडी दिनु पर्यो । अब गुजाराको लागि होइन सही तरिकाले आधुनिक र व्यवसायिक तरिकाले खेती गर्नु पर्छ । जथाभावी बिषादी प्रयोग गरेर रातारात धनी हुन्छु भन्ने सपनापनि देख्नु छोड्नु पर्यो । आखिर बिषादी हालेको सागसब्जी आफैँले पनि त खानुपर्छ । अनि आफैँ स्वस्थ रहेनौँ भने पैसा कमाउनको अर्थ नै के रह्यो र ? किसानले आफ्नो जीवनस्तर कसरी बढाउने बारेमा कुरा गर्दा हरेक किसानको जस्तो भएपनि घर त हुन्छ, त्यस घरमा एउटा बस्नको लागि सफा ठाउँ बनाउनु पर्छ र मान्छेहरु आउँदा झ्याप्प बस्ने खाने ब्यवस्था गर्नु पर्छ । कसैले बास बस्ने चाहना ब्यक्त गरे त्यहीँ एक छाक मिठो खानको ब्यवस्था गरिदिन सक्ने हुनुपर्छ । यसो गर्दा बर्ष भरी धान खेती कहिले फल्छ र खाउँला भन्नु भन्दपनि आज १० वोटा अण्डा बिके पनि पैसा आयो, एउटा भाले बिके पनि पैसा आयो । अब किसानहरु यस्तो स्मार्ट हुनुपर्छ कि उसले केही पैसा कमाओस्, अनि मात्र बल्ल उसको जीवनस्तर माथि उठन सक्छ । मेरै कुरा गरौँ यहाँ विद्यार्थीहरु भ्रमणको लागि आउँछन, प्रति विद्यार्थी म १०० रुपैँया लिन्छु । दिनमा ५०-१०० को हाराहारीमा विद्यार्थीहरु आउँदा दिनको १० हजार कमाईन्छ । किसानले अब यो तरिकाले ब्यवसाय गर्नुपर्यो । कृषि क्षेत्रमा तपाईंको योगदान के कस्तो रहेको छ र आगामी दिनमा के गर्ने योजना रहेको छ ? मैले एउटा अवधारणा तयार पारेको छु । त्यो अवधारणालाई चाँही प्राङ्गारिक कृषि अवधारणा भनिन्छ । यस भन्दा अगाडि म टानको कार्यसमितिमा हुँदा मैले त्यस अवधारणालाई उठाएको थिएँ । नेपाल सरकारले ठ्याक्कै मेरो त्यो अवधारणालाई राखेर २०७४/७५ को कार्यक्रममा कृषि पर्यटन बिकास कार्यविधि बनाएको छ । त्यस अनुरुप यो बर्षपनि ५ अर्ब बराबरको कृषि पर्यटन बजेट बिनियोजन भएको छ । गर्वको कुरा म ताप्लेजुङको कुनामा जन्मेर आएको शेर्पाको छोराको अवधारणा राष्ट्रिय स्तरमा पर्नु ठूलो कुरा हो र यही अवधारणालाई विश्व सामु परिचित गराएर विश्वको ध्यान केन्द्रित गर्ने सोचमा छु । अमेरिकी भिसा यसरी सजिएको छ है!!! किसानहरुलाई कसरी सहयोग पुयार्उँदै हुनु हुन्छ ? मैले यो पेसा अंगाल्नुको मुख्य कारण गरीब, अशिक्षित किसानहरुलाई क्यान्सर रोगको सिकार हुनबाट जोगाउनु पनि हो । एकदम धेरै फल्छ अनी पैसा कमाईन्छ अनी धनी भईहालिन्छ भनेर जुन ती गरीब मानिसहरुले विषादी प्रयोग गरेर खेती गर्छन् । नेपालमा यही खेत छ, त्यही सुत्ने ठाउँ हुन्छ । अनी दिउँसो भरी बिषादी हाल्यो अनी राती घरमा सुतेका त्यहीँ विषादी सासले तान्यो, अनी रोगी भयो । यही कुरालाई ध्यानमा राखेर मैले यो फार्म खोलेको हुँ र हामी यहाँ किसानहरुलाई कसरी खेती गर्ने भन्ने बिषयमा तालिम दिन्छौँ । किसानहरु आउँछन् सिकेर जान्छन् । आउँदो जेनेरेसनलाई तपाईं के सल्लाह दिन चाहानुहुन्छ ? मैले अब आउने पुस्तालाई के सल्लाह दिन चाहन्छु भने कृपया आफ्नो कमाइमा रमाउनुहोस्, १८ बर्ष पछी जे भएपनि आफूले गर्नसक्ने साना ठूला जस्तो काम भएपनि काम गर्नुहोस्, आफ्नो नामले चिनिनुहोस् । फलानोको छोरा–छोरी, नाती–नातिनी, भान्जा–भान्जीको ट्याग आफ्नो सिरबाट हटाउनुहोस् ।
एनआईसी एशियाको थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा दार्चुलामा
काठमाडौं । एनआईसी एशिया बैंकले यु के एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त जिल्लाको महाकाली नगरपालिका, वडा नं.७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा २१ औं र २२ औं शाखा रहित बैंकिङ्ग सेवा पुस १७ र १८ गतेबाट संचालनमा ल्याएको हो । बैंकले महाकाली नगरपालिका, वडा नं.७ धापमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरेको हो । यसैगरि महाकाली नगरपालिका,वडा नं.९ दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन महाकाली नगरपालिका, वडा नं.९ का वडा अध्यक्ष हरसिंह डाँगाले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा कृष्ण सिंह चौैसिरलाई नियुक्त गरिएको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १४६ अर्ब बनाउन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
सिटिजन्स बैंकको प्रदेश नं ४ काे प्रादेशिक कार्यालय पोखरामा
काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमल चौरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ४ का उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएमकार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । नेपाल राज्यको संरचना : संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । त्यस्तै प्रदेश नं ४ मा रहेका ११ जिल्ला मध्यै ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव १७ हजार ग्राहक वर्गलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।