
आफ्नो फार्ममा फलेको सलाद देखाउँदै संगम शेर्पा
काठमाडौं । ताप्लेजुङका संगम शेर्पालाई स्वदेश मै केही गर्नु थियो र त उनले अमेरिकाको भिसा त्यागे । उनलाई विदेश जानु थियो, तर केबल भ्रमण र केही शिप सिक्नको लागि मात्र थियो । ताप्लेजुङमा जन्मिएका ३९ बर्षीय शेर्पा २०५२ सालमा काठमाडौँ आएका हुन् । ठूलो सपना बोकेर काठमाडौँ आएका उनलाई सुरुवाती दिनमा धेरै गाह्रो पर्यो । उनले दुई–तीन रात त परालमा सुतेर बिताए । ताप्लेजुङमा जन्मिएपनि मामाघर चैनपुरमा हुर्किएका उनलाई सानो बेला सबैले लाहुरेको भाञ्जा भनेर बोलाउँथे । सबैले खुब माया गर्थे । सानैमा बुवा गुमाएका उनलाई लाहुरेको भाञ्जा भन्दापनि आफ्नै नामले चिनिनु थियो । यसको लागि उनले आफ्नो नाम नै फेरे र नयाँ नाम राखे संगम शेर्पा । उनै संगमले आजभन्दा ८ वर्ष अघि राजधानीको कपना अर्गानिक फर्म हाउस खोले, शुरुमा फर्म चलाउन गाह्रो भयो, तर अहिले फर्म राम्ररी चलेको छ, पैसापनि राम्रो कमाएका छन्, धेरै कृषकहरुलाई अर्गानिक खेती कसरी गर्ने भनेर सिकाएका पनि छन् । उही संगम शेर्पासँग व्यवसायिक अर्गानिक खेती र कसरी सफल कृषक हुन सकिन्छ भन्ने बारेमा विकासन्यूजका लागि डोमी शेर्पाले गरेको कुराकानी :
अर्गानिक फार्म हाउस नै किन खोल्नु भयो?
मान्छेहरु बर्षा देखि काठमाडौमा बसिरहेका छन् । उनीहरुलाई आफ्नो गाउँको तिर्सना लाग्छ । एकपटक आफ्नो गाउँमा पुग्न पाए, गाउँले खाना खान पाए हुन्थियो भन्ने लाग्छ । तर गाउँ जाँदा धेरै समय लाग्ने अनि खर्चपनि एकदम लाग्ने हुनाले त्यहाँ समयसमयमा गईरहनु असम्भव हुन्छ। त्यस्तो अवस्थामा काठमाडौंको मुटु भन्दा डेढ किलोमिटर भित्र रहेको आर्गानिक फार्म हाउस कपनले तपाईलाई त्यो गाउँको झझल्को मेटाउन सक्छ । त्यही गाउँको तिर्सना मेट्ने ठाउँ होस् भनेर मैले आर्गानिक फार्म हाउस खोलेको हुँ।

आर्गानिक फार्म हाउस, कपन
यहाँ गाई, बाख्रा, कुखुरा पालिएको छ । यहाँ गैरी खेत छ, डाँडा छ, रुख छ, तीन तल्ले घर छ । यहाँ पाक्ने खानाहरु पनि ठ्याक्कै गाउँघरको जस्तै हुन्छ। तपाईंले यहाँ आफ्नो गाउँको यादहरु पूर्ण ताजा गर्नसक्नुहुन्छ।
यस्तो खालको ब्यवसाय गर्दा के कस्ता समस्या आए त ?
शुरुवाती दिनमा यहाँका मान्छेको प्रतिक्रिया सुन्नु हुन्छ भने मैलै यो व्यवसाय छोड्नु पर्ने अवस्था आईसकेको थियो । म आँफै पनि आर्गानिकको पारखी भएको कारणले मैले सोचेको थिएँ कि म जस्तै आर्गानिक पारखीहरु काठमाडौँमा टन्नै होलान् तर म भ्रममा थिए। पहिला मात्र होईन अहिलेपनि मानिसहरु आर्गानिक खाना खानु पर्छ है भनेर सोच्दैनन् । आफ्नो स्वास्थ्य कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई उनीहरु हेलचेक्राई गर्छन् । सुरुमा त दुःखपनि लागेको थियो र जुन सोचले ग्राहक आउँछन् भनेर व्यवसाय सुरु गरेको थिएँ, त्योपनि भएन, आर्गानिक तरकारीको बजार राम्रो होला नि त भनेको त्यो पनि भएन । धेरै गाह्रो भएको थियो, तर त्यो मैले कहिलेपनि यस्तो भएको अरुलाई देखाइन् । किनभने मलाई थाहा थियो कि कुनैपनि ब्यवसायको सुरुवाती दिनमा गाह्रो हुन्छ भनेर।
मेरो श्रीमति क्लाइम्बर पनि हो र त्यस समयमा उनी ब्युटीसियन पेशामा संलग्न थिईन् । ती सबै पेसा छोडेर उनलाई यो खेतमा ल्याएर खनाउँदा उनले धेरै पटक आँसु पनि झारेकी थिईन् । उनी हामी किन किन यो गरिरहेका छौँ भन्थिन् । म भने उनलाई यसको भबिस्यको बारेमा भनिरहन्थे।
तपाईंको फार्ममा अरु के–के पाईन्छ ?
मेरो यहाँ २० वटा बाख्रा, ४०० वटा कुखरा, थोरै संख्यामा गाई–भैंसी छन् । यहाँ मानिसहरु आफ्नो रोजाईमा आफैँ के खान मन लाग्यो छानेर बनाएर खान सक्छन् । यहाँ हामीले बिभिना प्रकारको सलादह्र पनि उब्जाएका छौ। सलादको कुरा गर्नु पर्दा नेपालीहरु खानपानमा बढी चिल्लो, पिरो, अमिलो खाने, सालाद नखाने र सलाद बजारमा पनि नपाईने कारणले ग्यास्ट्रिक हुने गर्छ । अहिले रेस्टुरेन्टमा सलाद भन्ने हो भने दुई टुक्रा गाजर, दुई टुक्रा मुला, दुई टुक्रा काक्रा दिन्छ, तर खास भन्नु पर्दा त्यो सालाद होईन । सलाद भनेको हरियो साग सब्जी मिसिएर बनेको परिकार हो । हामीले सलाद दिनमा कमसेकम १०० ग्रामको दरले खाने हो भने तपाईंलाई ग्यास्ट्रिक हुने सम्भावना न्युन भएर जान्छ ।

आर्गनिक फार्मका पाहुनाहरुसँग संगम शेर्पा
मैले सलाद कै ब्यापार गर्छु भनेर यस फार्मको बिकास गरेको हुँ । तर, नेपालीको खानपानमा सलाद नभएर फेरी मैले वाध्य भएर अरु तरकारीहरु गरिरहेको छु । जस्तो मुला, गाजर, चुकन्दर रहेको छ । हामी हाम्रो यहाँको उत्पादन नक्सालको भाटभटेनीमा बेच्छौँ । र अन्य २–४ वटा आर्गानिक स्टोरले पनि हाम्रो सामान लिईरहनु भएको छ ।
के यहाँ तपाईँको फर्ममा वास बस्ने ब्यवस्था पनि छ ?
यहाँ १५०० मा एकदिने आर्गानिक घरबास योजना रहेको छ । यहाँ बस्न आउनेलाई हामी मज्जाले आर्गानिक खाना खुवाउँछौ । बिहान मज्जाले लोकल अण्डा, फापरको पिठो लगायतको आर्गानिक ब्रेकफास्ट गराएर बिदा गर्छौँ ।
यो व्यवसाय कति लागतमा शुरु गर्नु भयो ? कती जना कर्मचारी राख्नु भएको छ ?

आर्गनिक फार्म हाउसमा काम गर्दै विदेशी स्वयंमसेवक
मैले घर बनाउँछु भनेर जम्मा गरेको पैसा ३० लाखले यो ब्यवसाय सुरु गरेको हुँ, अब त करोड नै पुगिसक्यो होला । तर खासमा मेरो अवधारणा नै पारिवारिक ब्यवसाय गर्ने हो । मेरो आमा, श्रीमती यही ब्यवसायमा संलग्न हुनुहुन्छ । मेरो आमा खेतमा बेस्सरी काम गर्नु हुन्छ । खासमा चाहीँ आमाको लागि भनेर मैले यो फार्म खोलेको हुँ । मेरो श्रीमती चाहीँ फार्म हेरचाह, प्रमोसन र खानपान ब्यवस्था गरिरहनु भएको छ ।
कर्मचारी भन्न पर्दा एक जना जेटीए, रेस्टुरेन्टको पाटो हेर्न ३ जना स्टाफ र फार्म हेर्नलाई ५ जना स्टाफ यहाँ कार्यरत छन् । यसरी हेर्दा १२–१३ जनालाई रोजगारी दिएको छु । यसबाहेकसमय समयमा बिभिन्न देशका स्वयम्सेवक कृषि सम्बन्धी कुरा सिक्न आउँछन् र २ हप्ता-१ महिना काम गरेर जान्छन् । उनीहरुलाई खान र बस्नको ब्यवस्था हुन्छ र बाँकी राती सुत्ने बेला उनीहरुले मलाई ३०० रुपैँया दिनु पर्ने हुन्छ । उनीहरु दिनभर बारीमा काम गर्छन् र राती यही सुत्छन् । भर्खरै मात्र यहाँ दुई क्यानेडियन नागरिक काम सिक्न आउनु भएको छ ।
नेपालमा किसानको अवस्था कस्तो छ ?
विदेशतिर म किसान हो भन्दा अरुले वाह ! भन्छन् । तर, नेपालमा तपाईं हामी सबैलाई थाहा छ किसानलाई कुन नजरले हेरिन्छ । खानाको लागि अन्न उब्जाई दिने किसान जहिलेपनि पहिलो दर्जाको नागरिकमा गनिनु पर्छ।
नेपालमा ६७ प्रतिशत मानिस कृषि पेसामा आवद्ध छन् । उनीहरुलाई कुनै दिन बिदा हुँदैन, ८ घण्टा काम गर्ने समय हो भन्ने हुँदैन । उनीहरु हरेक दिन काम गर्छन् । बिहान उठेदेखी रात नपरेसम्म उनीहरु यति मेहनत गर्छन् र पनि एक आङ राम्रो लाउन पाएको छैनन्, एक पेट मिठो खान पाएका छैनन् । अझैपनि परम्परागत तरिकाले खेती गरिंदै आएको छ । दुःखसुख गरेर उब्जनी गर्यो, तर बजारमा सही मूल्य छैन । त्यसैले समग्रमा सामान्य किसानको अवस्था नेपालमा दु:ख लाग्दो नै छ।
यही कारणले पनि म किसानहरुलाई मेरो फार्ममा खेती कसरी गर्नेबारे टिप्सहरु दिन्छु र मानिसहरु यहाँ आएर मज्जाले हेर्छन्, सिक्छन् अनि आफ्नो कृषि खेतीमा लागु गर्छन् ।
किसानहरुले आफ्नो जीवनस्तर बढाउन के गर्नुपर्ला ?

लोप हुँदै गएका शब्द!!
सर्वप्रथम त किसानहरुले गुजाराको लागि खेती गर्न छोडी दिनु पर्यो । अब गुजाराको लागि होइन सही तरिकाले आधुनिक र व्यवसायिक तरिकाले खेती गर्नु पर्छ । जथाभावी बिषादी प्रयोग गरेर रातारात धनी हुन्छु भन्ने सपनापनि देख्नु छोड्नु पर्यो । आखिर बिषादी हालेको सागसब्जी आफैँले पनि त खानुपर्छ । अनि आफैँ स्वस्थ रहेनौँ भने पैसा कमाउनको अर्थ नै के रह्यो र ?
किसानले आफ्नो जीवनस्तर कसरी बढाउने बारेमा कुरा गर्दा हरेक किसानको जस्तो भएपनि घर त हुन्छ, त्यस घरमा एउटा बस्नको लागि सफा ठाउँ बनाउनु पर्छ र मान्छेहरु आउँदा झ्याप्प बस्ने खाने ब्यवस्था गर्नु पर्छ । कसैले बास बस्ने चाहना ब्यक्त गरे त्यहीँ एक छाक मिठो खानको ब्यवस्था गरिदिन सक्ने हुनुपर्छ । यसो गर्दा बर्ष भरी धान खेती कहिले फल्छ र खाउँला भन्नु भन्दपनि आज १० वोटा अण्डा बिके पनि पैसा आयो, एउटा भाले बिके पनि पैसा आयो । अब किसानहरु यस्तो स्मार्ट हुनुपर्छ कि उसले केही पैसा कमाओस्, अनि मात्र बल्ल उसको जीवनस्तर माथि उठन सक्छ ।
मेरै कुरा गरौँ यहाँ विद्यार्थीहरु भ्रमणको लागि आउँछन, प्रति विद्यार्थी म १०० रुपैँया लिन्छु । दिनमा ५०-१०० को हाराहारीमा विद्यार्थीहरु आउँदा दिनको १० हजार कमाईन्छ । किसानले अब यो तरिकाले ब्यवसाय गर्नुपर्यो ।
कृषि क्षेत्रमा तपाईंको योगदान के कस्तो रहेको छ र आगामी दिनमा के गर्ने योजना रहेको छ ?
मैले एउटा अवधारणा तयार पारेको छु । त्यो अवधारणालाई चाँही प्राङ्गारिक कृषि अवधारणा भनिन्छ । यस भन्दा अगाडि म टानको कार्यसमितिमा हुँदा मैले त्यस अवधारणालाई उठाएको थिएँ । नेपाल सरकारले ठ्याक्कै मेरो त्यो अवधारणालाई राखेर २०७४/७५ को कार्यक्रममा कृषि पर्यटन बिकास कार्यविधि बनाएको छ । त्यस अनुरुप यो बर्षपनि ५ अर्ब बराबरको कृषि पर्यटन बजेट बिनियोजन भएको छ । गर्वको कुरा म ताप्लेजुङको कुनामा जन्मेर आएको शेर्पाको छोराको अवधारणा राष्ट्रिय स्तरमा पर्नु ठूलो कुरा हो र यही अवधारणालाई विश्व सामु परिचित गराएर विश्वको ध्यान केन्द्रित गर्ने सोचमा छु ।

अमेरिकी भिसा यसरी सजिएको छ है!!!
किसानहरुलाई कसरी सहयोग पुयार्उँदै हुनु हुन्छ ?
मैले यो पेसा अंगाल्नुको मुख्य कारण गरीब, अशिक्षित किसानहरुलाई क्यान्सर रोगको सिकार हुनबाट जोगाउनु पनि हो । एकदम धेरै फल्छ अनी पैसा कमाईन्छ अनी धनी भईहालिन्छ भनेर जुन ती गरीब मानिसहरुले विषादी प्रयोग गरेर खेती गर्छन् । नेपालमा यही खेत छ, त्यही सुत्ने ठाउँ हुन्छ । अनी दिउँसो भरी बिषादी हाल्यो अनी राती घरमा सुतेका त्यहीँ विषादी सासले तान्यो, अनी रोगी भयो । यही कुरालाई ध्यानमा राखेर मैले यो फार्म खोलेको हुँ र हामी यहाँ किसानहरुलाई कसरी खेती गर्ने भन्ने बिषयमा तालिम दिन्छौँ । किसानहरु आउँछन् सिकेर जान्छन् ।
आउँदो जेनेरेसनलाई तपाईं के सल्लाह दिन चाहानुहुन्छ ?
मैले अब आउने पुस्तालाई के सल्लाह दिन चाहन्छु भने कृपया आफ्नो कमाइमा रमाउनुहोस्, १८ बर्ष पछी जे भएपनि आफूले गर्नसक्ने साना ठूला जस्तो काम भएपनि काम गर्नुहोस्, आफ्नो नामले चिनिनुहोस् । फलानोको छोरा–छोरी, नाती–नातिनी, भान्जा–भान्जीको ट्याग आफ्नो सिरबाट हटाउनुहोस् ।