विकासन्युज

कमजोर जलविद्युत् कम्पनीको आइपिओ, लगानीकर्तालाई छैन फाइदा

काठमाडौँ । यही बिहीबारदेखि म्याग्दीमा आयोजनास्थल रहेको घलेम्दी हाइड्रोपावरले साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीले १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री शुरु गरेको छ । सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड पाँच दिएको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । सो कम्पनीको शेयर खरीद गर्नेले चालू आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चार रुपैयाँ ७७ पैसा मात्रै रहेको छ । यस्तै आगामी आवमा सो कम्पनीको शेयर खरिद गर्नेले प्रतिशेयर दुई रुपैयाँ ३२ पैसा मात्रै आम्दानी गर्नेछन् । सो आयोजनाको प्रति मेगावाट लागत २३ करोड छ । कम्पनीले पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यो त एउटा उदाहरण मात्रै हो । चालू आवमा नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनमुति दिएका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । वित्तीय रुपमा कमजोर रहेका कम्पनीको शेयर खरीद गर्दा नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्तालाई भने त्यसले कुनै फाइदा दिँदैन । गत भदौमा कालिका पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर बिक्री गर्यो । सो कम्पनीको शेयर धितोपत्र बजारमा हाल प्रतिकित्ता १०० मा खरीद बिक्री भइरहेको छ । सो कम्पनीको वित्तीय अवस्था हेरेको इक्रा नेपालले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार दिएको थियो । सो कम्पनीको शेयरमा लगानीकर्ता ओइरिए र लगानी गरे तर दोस्रो बजारमा शेयरको अवस्था दुरुहपूर्ण रहेको छ । यस्तै इस्र्टन हाइड्रोपावर कम्पनीले पनि ग्रेड पाँच पाएको छ । सो कम्पनीले पनि निकट भविष्यमा नै साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै केही समय पहिले दोलखा र रामेछापवासीलाई साधारण शेयर बिक्री गरेको हिमालयन ऊर्जा विकास कम्पनीको पनि इक्रा नेपालले रेटिङ गर्यो । सो कम्पनीले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार प्रदान ग¥यो । सो कम्पनीले आयोजना प्रभावितलाई नौ लाख ९० हजार कित्ता साधारण शेयर बिक्री गर्यो । आयोजना प्रभावितले शेयर आवेदनमा उल्लेख्य सहभागिता पनि जनाए । सो कम्पनीलाई धितोपत्र बोर्डले गत असोज २ गते साधारण शेयर बिक्रीको अनुमति दिएको थियो । यस्तै इलाममा आयोजनास्थल रहेको जोशी हाइड्रोपावरले पनि बोर्डबाट साधारण शेयर बिक्रीको अनुमति पायो । स्थानीय आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा उल्लेख्य सहभागिता नपाएको सो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्दा भने राम्रै सहभागिता पायो । कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता साधारण शेयर बिक्री गरेको थियो । सो कम्पनीको पनि वित्तीय अवस्था खराब रहेको भन्दै ग्रेड पाँच पाएको छ । बोर्डले चालू आवको हालसम्म विभिन्न नौ जलविद्युत् कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा गत मङ्सिर २७ गते साधारण शेयर बिक्रीको अनुमति पाएको युनिभर्सल पावर कम्पनीले ९६ लाख ६१ हजार ६१० कित्ता शेयर बिक्रीको तयारी गरेको छ । यस्तै शिवश्री हाइड्रोपावरले पनि आयोजना प्रभावितलाई पहिलो चरणमा साधारण शेयर बिक्री गर्दैछ । सो कम्पनीले आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्री गर्नेछ । यस्तै हालैमात्र शेयर बिक्रीको अनुमति पाएको पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख बराबरको १९ लाख २५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै यही पुस १७ गते साधारण शेयर बिक्रीको अनुमति पाएका ग्रीनलाइफ हाइड्रोपावरले १८ करोड बराबरको १८ लाख कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै बोर्डमा अनुमतिको प्रतीक्षामा १२ जलविद्युत् कम्पनी रहेका छन् । ती कम्पनीले पनि ढिलो चाँडो साधारण शेयर बिक्रीको अनुमति पाउने छन् । त्यसमा रसुवागढी, साञ्जेन जलविद्युत् कम्पनीबाहेक अरु सबै कम्पनी निजी क्षेत्रले लगानी गरेका हुन् । इक्रा नेपाल र केयर नेपालको रेटिङलाई मान्ने हो भने अनुमति पाएका र अनुमतिको प्रतीक्षामा रहेका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था सन्तोषजनक देखिँदैन । साधारण शेयरमा लगानी गर्नेले नाफा कमाउनसमेत लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ । शेयर विश्लेषक निरव पुडासैनीका अनुसार धितोपत्र बजारमा शेयरको मूल्य बढ्ने अवस्थामा लगानीकर्ताले नाफा पाउन सक्ने अवस्था रहन्छ तर तत्कालका लागि पनि वित्तीय अवस्था खराब रहेका कम्पनीबाट शेयर लगानीकर्ताले भने प्रतिफल पाइहाल्ने अवस्था भने रहँदैन । बजार पूँजीकरण वृद्धि भएको अवस्थामा शेयरलगानीकर्तालाई केही नाफा भने हुनसक्ने टिप्पणी गर्दै उनले जलविद्युत् कम्पनीको हकमा भने प्रसारण लाइन र अन्य भौतिक पूर्वाधार छन् कि छैनन् भन्ने विषयले पनि अर्थ राख्ने बताए । यस्तै, शेयर बजारका अर्का जानकार प्रकाश तिवारी पनि कमजोर वित्तीय अवस्था भएका जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्दा लगानीकर्तालाई तत्काल कुनै फाइदा नहुने बताउँछन् । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेका र चालू आवमा शेयर बिक्री गरेका कम्पनीमध्ये करीब ६६ प्रतिशत हिस्सा जलविद्युत् कम्पनीको नै छ । ती कम्पनीको वित्तीय अवस्था कमजोर त छँदैछ । त्यसमाथि पनि केही आयोजनाले तोकिएअनुसारको विद्युत् उत्पादनसमेत गर्न सकेका छैनन् । आयोजनाको लागतसमेत अस्वभाविक रुपमा बढी रहेको छ । यस्तो अवस्थामा लगानीकर्तालाई सहजरुपमा नाफा कमाउने अवस्था भने कमजोर नै हुने तिवारीको टिप्पणी छ । रासस

साताको शेयर बजारः एक अर्ब ६६ करोडको कारोबार, बजार ओरालो लाग्ने क्रममा

काठमाडौँ । धितोपत्र बजारमा यो साता एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ । साताको पहिलो दिन एक हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् यही पुस १९ गतेसम्म २६ बिन्दुले घटेर एक हजार १७८ दशमलव शून्य एक बिन्दुमा झरेको छ । यस साता कूल १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता शेयर खरिद बिक्री भएका छन् । आइतबार कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरिद बिक्री भए । यस्तै सोमबार १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ओरालो लागेको बजार मङ्गलबार पनि थामिएन । सो दिन १५६ कम्पनीको छ लाख ८९ हजार ७२० कित्ता शेयर २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरिद बिक्री भएको थियो । बुधबारपनि बजारको अवस्था उस्तै रह्यो । उक्त दिन पाँच दशमलव ४२ बिन्दुले घटेर बजार एक हजार १८० दशमलव ४३ बिन्दुमा झर्यो । सो दिन १५४ कम्पनीको सात लाख ५१ हजार ४११ कित्ता शेयर २५ करोड ७६ लाख सात हजार १६६ मूल्यमा खरिद बिक्री भएको थियो । साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झर्यो । कूल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरिद बिक्री भएको थियो । समग्रमा यस साता बजार ओरालो लाग्ने क्रममा नै रह्यो । शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता धितोपत्र बजारमा यस साता शेयर कारोवारका आधारमा बैंक तथा वित्तीय संस्थाको नै बाहुल्यता रहेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको यस साताको कारोवार विवरणमा बैंक तथा वित्तीय संस्था नै अग्रस्थानमा रहेको पाइएको हो । बढी शेयर कारोवार भएका उत्कृष्ट दश संस्थामध्ये पहिलो स्थानमा नेपाल बैंक लिमिटेड रहेको छ । सो बैंकको ३०२ कित्ता शेयर कारोवार भयो । यस्तै दोस्रोमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक रहेको छ । सो बैंकको २४७ कित्ता शेयर कारोवार भए । तेस्रोमा जनता बैंक रहेको छ । उक्त बैंकको १५४ कित्ता शेयर कारोवार भयो । प्रभु बैंकको १४२, एनएमबी बैंकको १४०, मेघा बैंकको १२९, ग्लोबल आइएमइ बैंकको १०२ कित्ता शेयर कारोवार भयो । यस्तै अपि पावर कम्पनी ९७, नेशनल लाइफ इन्स्योरेन्स ९३ र नेपाल लाइफ इन्स्यारेन्सको ९० कित्ता शेयर कारोवार भए । यस्तै बजार पूँजीकरणमा यस साता नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रह्यो । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंक, नवील बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआइ बैंक र एनएमबी बैंक विगतमा जस्तै बजार पूँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीका रुपमा रहे । स्टकका अनुसार यस साता चौतारी लघुवित्त वित्तीय संस्थाको मात्रै शेयर सूचीकरण भयो । सो संस्थाको १८ लाख ६० हजार कित्ता साधारण शेयर सूचीकृत भयो ।

कालीमाटीपछिको ठूलो तरकारी बजार भक्तपुरमा, श्यामसुन्दरले किन लगानी गरे ६ करोड ५० लाख ?

भक्तपुर । काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल छ करोड ५० लाख लगानीमा शुरु हुन लागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङ समेतको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमाले अथक मेहनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले १० मा किनेर एक किलोमिटर पर गठ्ठाघरमा ३० मा बिक्री गरेको देखेपछि बिचौलियाको दलाली अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माण गर्न आफू जुटेको नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य एवं युवानेता श्यामसुन्दर बस्नेतले बताए । मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जान सक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी बस्नेतले १३० सटर र १५० स्टल गरेर २८० तरकारी पसल रहने गरी तरकारी बजार निर्माण गरेका हुन् । आगामी माघे सङ्क्रान्तिलाई लक्षित गरेर यही पुस २५ गतेदेखि सस्तोमा तरुल बिक्री शुरु गर्ने र माघ १ गतेदेखि सबै तरकारी पाउने गरी सञ्चालन गरिनेछ भने पसल राख्न ७० प्रतिशत सटर स्टल बुकिङ भइसकेको छ । “कृषकलाई बजार खोज्न नपर्ने र उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी उपलब्ध गराउने लक्ष्य छ”, बस्नेतले भने, “म राजनीतिक मात्रै होइन, सामाजिक मान्छे पनि हुँ, कृषकले मरिमरि गरेको मेहनत र दुःखको मूल्य नतिर्ने र बिना लगानी ३०० प्रतिशतसम्म नाफा खाने बिचौलियाको अन्त्य गर्ने लक्ष्यले मैले बजार सञ्चालनमा ल्याएको हुँ ।” “कालीमाटी र बल्खुलगायतका अन्य तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी सङ्कलन गर्ने गरी व्यवस्था गरिएको छ”, उनले भने । भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन गर्न चारवटै नगरपालिकाको प्रत्येक वडामा एक तरकारी सङ्कलन केन्द्र खोलिने उल्लेख गर्दै सञ्चालक बस्नेतले तत्कालका लागि १८ स्थानमा सङ्कलन केन्द्र खोलिने बताए । बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, पिठा, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने उनको भनाइ छ । बजारको सुरक्षा व्यवस्था पनि चुस्त बनाउन तरकारी बजार प्रवेश गर्न दुई मुख्यद्वारमा र बजारभित्र २४सैँ घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ भने बजारभित्र १८ सिसी क्यामरा जडान गरिएको छ । विसं २०५२ देखि विद्यार्थी राजनीति शुरु गरेर तत्कालीन एमाले भक्तपुरको प्रचार विभाग प्रमुख हुँदै हाल नेकपाको जिल्ला कमिटी सदस्यको रूपमा राजनीतिमा उनी विगत १८ वर्षदेखि कृषि पेशामा समेत संलग्न रहँदै आएका छन् । तरकारी बजार र सङ्कलन केन्द्रबाट प्रत्यक्षरुपमा १०० जनाभन्दा बढीलाई युवा विद्यार्थीलाई रोजगारी प्राप्त हुने तथा प्रत्येक पसलमा गरी करीब ८०० ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाउने सञ्चालक बस्नेतले बताए । रासस

बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग

काठमाडौँ । नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् । यही पुस २२ गते राजधानीमा आयोजना हुने निकासी दिवसका सन्दर्भमा परिषद्ले पत्रकार सम्मेलन गरी सात प्रतिशत व्याज तिर्ने गरी लिइएको व्याज १५ प्रतिशत पुगेकाले बैंकको व्याज घटाउन सरकारबाटै प्रयास हुनुपर्नेमा जोड दिएको छ । परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यातकर्ताले धेरै समस्या झेल्नुपरेको दुखेसो गर्दै चर्को व्याजदरले निकासीजन्य उद्योग थला परेका बताए । उनले औद्योगिक व्यवसाय ऐन, बोनस ऐन, मदिरा ऐन र उपभोक्ता ऐन निजी क्षेत्रमैत्री नभएको मर्का सुनाउँदै तिनको संशोधन अपरिहार्य भएको बताए । परिषद्ले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा आगामी आइतबार राजधानीमा हुने विशेष छलफलमा निकासी प्रवद्र्धनका निम्ति सरकारले उपलब्ध गराएका सहुलियत, करका प्रावधान, सामाजिक सुरक्षा कोष, भन्सारका जटिलता र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रवद्र्धनात्मक मेलाबारे विचारविमर्श हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

लघुवित्त संस्थालाई राष्ट्र बैंकको यस्तो आयो निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई कार्यक्षेत्र विस्तारका सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । बैंकले न्यूनतम चुक्ता पूँजी पूरा गरेको, नियमित रुपले वार्षिक साधारणसभा सम्पन्न गरेको, पछिल्लो तीन वर्षदेखि सञ्चित नोक्सानीमा नरहेको र आवश्यक पूँजीकोष पर्याप्त रहेका संस्थाले कार्यक्षेत्र विस्तार गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनानुसार कर्जाको वर्गीकरण गरी सोका लागि पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम राखेको, निष्कृय कर्जा पाँच प्रतिशत ननाघेको, प्रादेशिकस्तरमा कारोबार सञ्चालन गरेको पाँच वर्ष पूरा भएको र कार्यरत रहेको प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक शाखा कार्यालय स्थापना गरी कारोवार गरेको, कुनै कारवाही भएको भए कारवाही फुकुवा भएको तीन वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्ता संस्था गाभिनका लागि विद्यमान संस्थापन र सञ्चालकको विवरण, संस्थाको आगामी पाँच वर्षको वित्तीय अवस्था, व्यावसायिक रणनीति, प्राविधिक तथा व्यवस्थापन पक्ष र बजार संवेदनशीलता विशलेषणसहितको व्यावसायिक कार्ययोजना पेश गर्नुपर्नेछ । वित्तीय कारोवार सञ्चालनका लागि व्यावसायिक कार्यालय, शाखा कार्यालय, विद्यमान कार्यक्षेत्रदेखि अन्य स्थानमा सञ्चालन गर्ने भएका सो कार्यालयको भौतिक पूर्वाधार, सूचना प्रविधि, बीमा तथा सुरक्षा व्यवस्था, घरभाडा करारनामा, प्रमुख कार्यकारी अधिकृतलगायत मुख्य कर्मचारीको योग्यतासम्बन्धी कागजात पनि पेश गर्नु पर्नेछ । यस्तै त्यस्ता संस्था गाभिने भए बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने व्यवस्था गरिएको छ । प्रादेशिक स्तरमा लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई वा प्राप्ति गरी राष्ट्रियस्तरमा परिणत हुन चाहेमा गाभिएर बन्ने संस्थाको चुक्ता पूँजी तथा पूँजीकोष राष्ट्र बैंकले तोकअनुसार हुने व्यवस्था गरिएको छ । यस्तै तोकेको अवधिभित्र तोकेबमोजिमको पूँजी नपु¥याएको, विगत पाँच वर्षदेखि लगातार नोक्सानमा रहेको, केन्द्रीय बैंकको निर्देशन पटकपटक उल्लङ्घन गरेको, जोखिम व्योहोर्ने कोष कायम गर्न नसकेको संस्थालाई भने तत्काल गाभिन निर्देशन दिन सकिने व्यवस्था गरिएको छ ।

ग्रीनलाइफ हाइड्रोले १८ लाख कित्ता आइपीओ बिक्री गर्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा खानीखोला एक जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । सो आयोजनाको क्षमता ४० मेगावाट रहेको छ तर हाल सो आयोजनाले २५ मेगावाट क्षमताको आयोजना मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

आरएमडीसीद्धारा मोरङ्गमा तीन दिने शाखा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । आरएमडीसी शाखा कार्यालय, इटहरीको आयोजनामा मोरङ्गमा ३ दिने शाखा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । पुस १८ गतदेखि शुरु भएको तालिम शुक्रबार मोरङ्गको गोकर्ण रिसोर्ट सुन्दरहरैचामा सम्पन्न भएको छ । उक्त तालिममा आरएमडीसीका साझेदार २८ वटा साझेदार संस्थाहरुको ३६ जना शाखा प्रबन्धकहरुले भाग लिएका थिए। तालिमको उद्घाटन तालिमका संयोजक गोविन्दप्रसाद पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पारेका थिए । साथै, यस तालिमले ज्ञान अभिवृद्धी गरी शाखाप्रभावकारी ब्यवस्थापन गर्न महत्वपुर्ण भुमिका खेल्न सक्ने उनले बताए । उक्त तालिममा जीबन विकाश समाजका डेपुटी चिफ एक्स्क्युटिभ अफिसर संजयकुमार मण्डल, इन्टरनल अडिट डिपार्टमेन्ट हेड रोहित भण्डारी र ट्रेनिङ डिर्पाटमेन्ट हेड सुदिपकुमार मण्डलले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । प्रशिक्षकहरुले शाखा व्यवस्थापनको अवधारणा, व्यवस्थापकको काम कर्तब्य, भुमिका तथा दायित्वबारे चर्चा गर्दै लघुवित्तको सिद्धान्त, महत्व, भाखा नाघेको ऋण, असुलीका विभिन्न उपाय तथा हालको अवस्था बारेमा प्रष्ट पार्नुको साथै लघुवित्त संस्थालाई आत्मानिर्भरता र दिगोपना बनाई राख्न अवश्यक पर्ने विभिन्न सुचकहरुको बारेमा छलफल गरिएको थियो । साथै तालिममा लघुवित्त संचालनमा हाल देखिएका समस्या, समाधानका उपाय, सदस्यहरुको अनुगमनतथा सुपरिबेक्षण, ग्राहक सदस्यको ब्यवस्थापन, सुरक्षण तथा विकास लगायतकर्जा ब्यवस्थापन, विश्लेषण र सदुपयोगिता बारे विश्लेषणत्मक अन्तर्क्रिया भएको थियो ।

दाङ्गको जँग्रहवामा एनआईसी एशियाको थप शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले थप शाखा दाङ्गको जँग्रहवामा विस्तार गरेको छ । बैंकले युकेएड सक्षम एक्सेस टु फाईनान्सकोे सहकार्यमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन जँग्रहवाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका छन् । हाल बैंकले २७० शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । सक्षम युकेएडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।