विकासन्युज

मुक्तिनाथ विकास बैंकद्धारा १३ औं वार्षिक उत्सवको अवसरमा सहयोग प्रदान

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिक उत्सवको अवसरमा सिराहाको लाहान शाखाले लाहान बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ । काठमाडौंको ठमेल शाखाले मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । केन्द्रिय कार्यालय काठमाडौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरी मनाएका छ । बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकको प्रदेश नं ५ को प्रादेशिक कार्यालय नेपालगञ्जमा

काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ५ को प्रादेशिक कार्यालय नेपालञ्जमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ५ का उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं ५अन्तर्गत बैंकका ११ वटा शाखाहरु (बढैेयाताल,बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगंज,सानोश्री तथा सिद्धार्थनगर)बाट व्यापार विस्तारका गरेको छ । प्रदेश नं ५ मा रहेका १३ जिल्लामध्ये ७ वटा जिल्लामा बैंकको पहुँच रहेको छ ।यस प्रदेशमा बैंकले करिव ४० हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगञ्जको आदर्श नगरमा, प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमलचौरमा आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ । सिटिजन्स बैंकको हालसम्म ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

व्यस्त खुल्लामञ्च !

काठमाडौं । कुनैबेला राजनितिक शक्ति प्रर्दशन गर्न प्रयोग गरिने खुल्लामञ्च अहिले बसपार्क र केहि भौतिक संरचनाले भरिएको छ । हेर्नुहोस् तस्बिरमा

एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जको फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत रु ३३ करोड ८८ लाख २७ हजारको लागतमा ल्याण्डफिल साइटको निर्माणकार्य शुरु भएको हो । तीन महीनाभित्र यसको निर्माण सकेर सञ्चालनमा ल्याउँने नगरप्रमुख डा धवलशम्शेर राणाले बताएका छन् । नेपालगन्जले कम्तीमा ४० वर्षसम्म फोहरी शहरको नियति भोग्नु पदैन । अङ्ग्रेजी वर्ष २०१८ डिसेम्बरमा निर्माण सम्पन्न भइसक्नुपर्ने ल्याण्डफिल साइट निर्माणको शुरुआती चरणमा जग्गा विवादका कारण ढिलाइ भएको थियो । जग्गा विवादका कारण पटकपटक म्याद थप गरिएकाले निर्माणमा ढिलाइ भए पनि त्यसो नहुने र तीन महीनाभित्र ल्याण्डफिल साइट सञ्चालनमा आउनेछ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ । रासस

वैदेशिक रोजगारीमा लुटका दर्जन श्रृंखला र सुधार

बलबहादुर तापाङ्ग काठमाडौं । वैदेशिक रोजगार व्यवसायी बल बहादुर तामाङ तुलनात्मक रुपमा असलहरुमा गनिन्थे । तर उनलाई १९ करोड ५७ लाख दावी तथा जरिवानासहित राजश्व अनुसन्धान विभागले मुद्धा दायर गर्यो । यहि एउटा मात्रै उदाहरण नै पर्याप्त हुन्छ की वैदेशिक रोजगार व्यवसाय भित्र कति अनियमितता र लुट छ भन्ने कुरा । असल भनिएकाहरु भित्रभित्रै यति मक्किसकेका रहेछन् भने बदनाम भनिएकाहरु कस्ता होलान् ? अन्दाज लगाउन सकिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट भन्छन–‘नेपाली समाजको सबै भन्दा डर लाग्दो अनियमितता भैरहेको क्षेत्र यहि हो, यसमा सुधार गर्न नसके भावी पुस्ताले धिक्कार्नेछ ।’ दैनिक एक हजार भन्दा धेरै नेपाली युवा विदेशिन्छन् । तीमध्ये अधिकांश खाडीको राफतापमा आफ्नो पसिना बगाउँछन् । फर्कदा जोश सकिन्छ, जाँगर सकिन्छ, त्यस्तै परे अंगभंग हुन्छन्, दैनिक ३ जना भन्दा बढीको त लास मात्रै फर्कन्छ । बलिया पाखुरा र जोश बोकेर विदेशिएकाहरु स्वदेश फर्कँदाको मनोदशा नै छुट्टै भैसकेको हुन्छ । विदेश जाने सोँच बनाउँदादेखि विदेशबाट स्वदेश फर्कँदासम्म उनीहरु माथी दर्जन पटक लुटको श्रृंखला मच्चाइन्छ । यसरी सुरु हुन्छ लुटको धन्दा गाउँमा नागरिकता बनाउँदाबाटै सुरु हुन्छ लुटको धन्दा । कसैलाई चाँडै बनाउनुपर्ने बाध्यता त कसैलाई उमेरै उमेर बढाएरै पनि नागरिकता बनाएर परदेशिनै पर्ने बाध्यता हुन्छ । त्यही उनीहरु पहिलो पटक लुटिन्छन् । त्यसपछि पासपोर्ट बनाउँदा दलाल र कर्मचारीले दोश्रो पटक ठग्छन् । मेनपावरसम्म पुग्दा पुनः अर्काे दलालको जालोमा फस्न बाध्य पारिन्छन् । मेन पावरसँगै अभिमुखीकरण, स्वास्थ्य परिक्षण, पुलिस रिपोर्ट हुँदै म्यादी बीमा गराउँदासम्म उनीहरुमाथी ठगीको क्रम जारी रहन्छ । श्रम स्वीकृतिको कागजागतमा फेरी लुटिन्छन् । राम्रो तलब र सुबिधा सहितको फाइल श्रम विभागबाट स्वीकृत गराएर ल्याइन्छ तर हातमा भने थोरै तलब र सुबिधाको पत्र थमाइन्छ । श्रम कार्यालयबाट ल्याईएको फाइल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरै डस्टबिनमा फालिन्छ । फ्रि भिसा र फ्रि टिकेटका नाममा १० हजारको बिल थमाएर एक लाख भन्दा बढी असुलिन्छ । सुधार कसरी ? मन्त्री बिष्टका लागि वैदेशिक रोजगार व्यवसायलाई सुधार गर्ने एउटै छडी भनेको नीतिगत सुधार नै हो । उनी वैदेशिक रोजगार व्यवसायीसँग औपचारिक सम्वाद गर्न समेत तयार छैनन् । भन्छन–बदमासहरुसँग छलफल आवश्यक छैन्, उनीहरु कारवाहीको भागीदार छन्, तिनको लुट रोक्नु नै अहिलेका लागि मुल काम हो ।’ बिष्टले आफु मन्त्री बने लगत्तै केहि नीतिगत सुधार पनि गरिसकेका छन् । मलेसियाको वैदेशिक रोजगारीमा रहेको लुटलाई रोकेका उनी अब कतार तर्फ केन्द्रित भएका छन् । जापानमा इपिएस मोडलमा नेपाली कामदार पठाउने अभियानमा उनले आंशिक सफलता पाईसकेका छन् । ‘नेपालमा पैसा कमाउन विदेश जानै पर्ने पर्छ भन्ने सामाजिक मनोविज्ञान स्थापित भएको छ, तर हामी अधिकांश अदक्ष जनशक्ति पठाईरहेका छौं, अब अर्ध दक्ष र अदक्ष कामगार पठाउनु पर्छ’, बिष्टले भने । हाल अभिमुखीकरणका नाममा प्रमाणपत्रको व्यापार भैरहेको आरोप पनि उनले लगाए । स्वास्थ्य परिक्षण, भिसा प्रोसेसिङ र अभिमुखीकरणका नाममा प्रमाणपत्र र कागजका खोस्टा बेच्ने काम भैरहेको उनको निष्कर्ष छ । बिष्टले मन्त्रालय सम्हालेपछि मात्रै ताहाचल श्रम कार्यालय प्रमुखका रुपमा तेश्रो व्यक्तिलाई खटाईसकेका छन् । पहिले पठाएका कार्यालय प्रमुखहरुले सोचे अनुसार काम गर्न नसकेपछि उनले लगातार नेतृत्व बदलेका हुन् । उनले आगामी पाँच बर्षभित्र रोजगारीका लागि विदेश जानै पर्ने बाध्यताको अन्त्य गरिने जिकिर पनि गर्दै आएका छन् । ‘पाँच बर्षभित्र बाध्यताको वैदेशिक रोजगारीको अन्त्य हुनेछ, स्वेच्छाले जाने कुरा संसारभर हुन्छ र नेपालमा पनि त्यो निरन्तर रहन्छ’, बिष्टले भने । मन्त्री बिष्टले घरेलु कामदारका रुपमा गलत बाटोबाट विदेश गएर बिदा मनाउन नेपाल आएका कामदारहरुलाई कागजात हेरेर पुनः श्रम स्वीकृति दिनुपर्ने धारणा पनि सार्वजनिक रुपमा राख्दै आएका छन् । ‘भिसा छ, काम गर्ने अनुमति पनि पाएको छ, सेवा सुबिधा पनि राम्रै छ भने घरेलु कामदारलाई पुनः जान दिनुपर्छ’, मन्त्री बिष्टले भने । विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्नु राज्यको दायित्व हो भन्ने तथ्यलाई उनी पनि स्वीकार गर्छन् । तर गलत बाटोबाट विदेश जाने प्रक्रियालाई निरुत्साहित पार्न कर्मचारी संयन्त्र कठोर बन्नुपर्ने उनको ठम्याई छ । ‘संसारका जुनसुकै देशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्नु सरकारको दायित्व हो, गलत बाटोबाट विदेशिने क्रमलाई रोक्नुपर्छ’, मन्त्री बिष्टले भने । केपी ओली नेतृत्वको २ तिहाई जनमत प्राप्त बामपन्थी सरकारमा बिष्टले केहि सुधारका काम गरिरहेका छन् । आम नेपालीको अनिवार्य हिस्सा बनिसकेको वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने मात्रै होइन उनले सामाजिक सुरक्षा कोषलाई समेत कार्यान्वयन समेत अघि बढाईसकेका छन् ।  

म्याग्दीको तातोपानीमा ‘बाथ टब’ निर्माण

गलेश्वर। प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट व्यक्ति कुण्डमा नुहाउन आउने क्रम बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो । यही क्रममा कुण्ड बाहिर रहेका तातोपानीका धाराहरु नजिक ‘मिनी कुण्ड’ र मुख्य कुण्डभित्र विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी ‘बाथ टब’ को निर्माणकार्य अन्तिम चरणमा पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए। अध्यक्ष शाक्यका अनुसार नयाँ निर्माण गरिएका कुण्ड (पोखरी)हरुलाई रिजर्भ गरेर समेत नुहाउन सकिने व्यवस्था गरिएको छ । नयाँ कुण्डमा एक पटकमा २५ जनासम्मले नुहाउन सक्नेछन् । परिवार र साथीभाइसँग आउने व्यक्तिले कुण्ड रिजर्भ गरेर नुहाउन सक्ने उनको भनाइ रहेको छ । बाथ टबमा प्रतिघण्टा प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ ।

कलङ्कीमा बस बिसौनी व्यवस्थित गर्न माग

काठमाडौँ । कलङ्की भएर काठमाडौँ भित्रिने लामो दूरीका सवारी साधनको बस बिसौनी सोही आसपास क्षेत्रमा व्यवस्थित गर्न माग गरिएको छ । विगतमा कलङ्की, मकालु तथा त्यस आसपास क्षेत्रमा रोकिँदै आएका सवारी साधन अहिले कलङ्की क्षेत्रको सडक स्तरोन्नति तथा विस्तार पछि सीतापाइलामा पुर्याइएको छ । बस बिसौनीलाई टाढा पुर्याउँदा सोही क्षेत्रमा ओर्लनुपर्ने यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने र करीब १५० स्थानीय होटल तथा अतिथि गृह बन्द हुने अवस्थामा पुगेका छन् । सीतापाइला क्षेत्रमा बस बिसैनी बनाउँदा काठमाडौँ उपत्यका बाहिरबाट आउने अतिथिलाई खान, बस्नका लागि आवश्यक पूर्वाधारको अभाव देखिएको छ । कलङ्की होटल एण्ड गेष्ट हाउस एशोसिएशनले जनप्रतिनिधि तथा सरोकार पक्षसँग छलफल गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय जनतालाई लाभान्वित हुने कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । सो क्षेत्रमा विभिन्न तह र वर्गलाई समेट्ने अतिथि गृहको पूर्वाधार तयार भइसकेकाले पाहुनाका लागि उपयुक्त वासस्थान मानिन्छ । कलङ्कीबाट बिहान चाँडै गाडी छुट्ने हुँदा टाढाका यात्रु आएर वास बस्ने गरेका छन् । सबै दृष्टिकोणले ग्राहकको लागि उक्त क्षेत्र सुविधायुक्त भएका कारण बस बिसौनी टाढा राख्न नहुने एशोसिएशनका अध्यक्ष मोहिणिप्रसाद आचार्यले विचार व्यक्त गरे । नागढढुङ्गा–कलङ्की सडक खण्ड विस्तारको काम फागुनमा पनि नसकिने पक्कापक्की भएको छ । मुआब्जा विवाद रहेकाले सो क्षेत्रका घरलाई नचलाई सडक विस्तारको काम टुंग्याउने गरी मन्त्रिपरिषदले निर्णय गरेपछि यसको निर्माणमा ढिलाई देखिएको हो । कलङ्की थानकोट, नागढुङ्गा नाका हुँदै उपत्यका बाहिरिने तथा भित्र प्रवेश गर्ने सवारीको चापले गर्दा कलङ्कीमा अत्यधिक सवारी जाम हुने गरेको छ । त्यसैगरी चक्रपथ परिक्रमा गर्ने स्थानीय सवारीको चापले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त भएको ट्राफिक अधिकृत विमल थापाले जानकारी दिए । उनले सरोकार पक्षको माग र यात्रुको सहजतालाई ध्यान दिएर बस बिसौनी हेरफेर गर्न सकिने बताए । स्थानीय खसी बजारदेखि बाफलसम्म ८४० मिटर क्षेत्रफलमा निर्माण गरिएको अन्डरपासले सो क्षेत्रमा जाम कम हुने अपेक्षा लिइएको छ ।

भोजपुर-काठमाडौँ सातै दिन उडान हुने, फाप्लु-विराटनगर उडान भने यात्रु अभावमा रद्द

भोजपुर । भोजपुर-काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर-काठमाडौँ उडान हुँदै आएको थियो । नयाँ कार्यतालिका अनुसार शनिवारबाट उडान शुरु भएको कार्यालयले जनाएको छ । त्यस्तै करीब एक महिनाबाट बन्द रहेको भोजपुर-विराटनगर उडान पनि शनिबारदेखि नै शुरु भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ । फाप्लु-विराटनगर उडान रद्द यता, नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ । गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि सो उडान तालिका राखिएको थियो । विमानले उडान भर्न तयार भए पनि यात्रु नपाएको भन्दै तालिका रद्द गरेको निगमको फाप्लुका इन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार वायुसेवा निगमले यही पुस २४ गतेदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो । अब यात्रु भए पनि उडान नहुने इन्चार्ज श्रेष्ठले बताए । सोलुखुम्बुका नागरिक भने सल्लेरी विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्ग हुँदै जाने गरेका छन् ।