बाराको अमृतगञ्जमा कृषि विकास बैंकको अनलाईन बैकिङ्ग सेवा
काठमाडौं । बारा जिल्लाको अमृतगञ्जमा कृषि विकास बैंकमा अनलाईन बैकिङ्ग सेवाको शुरुवात भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र सिमरौनगढ नगरपालिकाका मेयर विजयकुमार यादवले संयूक्त रुपमा उद्घाटन गरेका हुन् । कृषि विकास बैंक क्षेत्रिय कार्यालय, विरगञ्जका निर्देशक बाबुकाजी थापाको अध्यक्षता उक्त कार्यक्रम उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराउंदै आएको छ । सो उदघाटन कार्यक्रममा कृषि विकास बैंकका उप महा प्रबन्धक पूर्णप्रसाद आचार्य, शाखा प्रमुख तथा बैंकका हिमलाल पौडेल, कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगञ्जका शा.प्र. रामचन्द्र अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रमको संचालनत क्षेत्रिय कार्यालय विरगञ्जका शा.प. नारायणप्रसाद शर्माले गरेका थिए । उद्घाटन कार्यक्रम समापन भएपछि बैंकमा कार्यरत कर्मचारीहरुको समेत उपस्थितीमा सो क्षेत्रका विभिन्न पेशामा लाग्नु भएका किसान,उद्यमी व्यवसायीहरुसंग उल्लेखित क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि बैंकले पुर्याउने सक्ने विषयमा अनौपचारिक छलफल गरेको हो ।
नेपाल इञ्जिनियरिङ कलेजमा भएको करोडौंको घोटालाबारे छानविन गर्न शिक्षा समितिको निर्देशन
काठमाडौं। संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल इञ्जिनियरिङ कलेज भएको करोडौंको घोटालाबारे छानविन गर्न निर्देशन दिएको छ । २२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत र २०० भन्दा बढी कर्मचारी कार्यरत भक्तपुरको नेपाल इञ्जिनियरिङ कलेजमा २५ वैशाख २०७४ मा तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले निजी कम्पनीका रुपमा दर्ता गरेपछि विवाद सुरु भएको थियो। सबैतर्फबाट प्रयास गर्दा पनि कलेजको समस्या कुनै पनि हालतमा नसुल्झिएको कारणले विद्यार्थीको भविष्य डामाडोल हुनाले कलेजलाई अब गैरनाफामुलुक सामजिक संस्थाको रुपमा चलाऊनु पर्ने र अर्कोतर्फ कलेजमा करोडौ रुपैया हिनामिना भएको देखिएको कारण भ्रष्टाचारबारे छानविन गर्न चार्टर्ड एकाउन्टेन्टको अध्यक्षमा ५ सदस्यीय कार्यदल बनाउन सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले आइतबार पूर्ण समितिमा पेश गरेको प्रतिवेदनमा प्रस्ताव गरेको थियो। शिक्षा समितिको बैठकले दुबै प्रस्ताव पास गरेको छ ।
एनएफआरएसले इन्भेष्टमेन्ट बैंकलाई २.११ अर्ब लाभ, जग्गाकाे मूल्य मात्रै डेढ अर्बले बढ्याे
काठमाडौं । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुसार लेखापरीक्षण गरेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई थप २ अर्ब लाभ भएको छ । उक्त प्रणाली अनुसार जग्गा तथा शेयरको मूल्यको मूल्याङ्कन गर्दा कुल २ अर्ब ११ करोड रुपैंया लाभ हुन गएको हो । त्यसमध्ये जग्गाको मूल्याङ्कनबाट १ अर्ब ५६ करोड र शेयरबाट ५५ करोड लाभ हुन गएको हो । उक्त लेखापरीक्षण प्रणालीअनुसार लेखापरीक्षण गर्दा जग्गाको मूल्य २ अर्ब ७६ करोड कायम भएको थियो जसको पहिलेको मूल्य ५२ करोड ७८ लाख मात्र थियो । त्यस्तै ७० करोड २१ लाख किताबी मूल्य भएको शेयरको बजार मूल्य १ अर्ब ४८ करोड कायम भएको छ । जग्गाको मूल्याङ्कनबाट प्राप्त भएको लाभमा लाग्ने कर कट्टा गर्दा उक्त परिमाणको कुल लाभ प्राप्त भएको बैंकले साधारणसभामा प्रस्तुल तरेको रिपोर्टमा उल्लेख गरेको छ । उक्त लाभ थप हुँदा अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल पुँजी २४ अर्ब ८७ करोड पुगेको बैंकले जनाएको छ । बैंकले सोमबार राष्ट्रिय सभागृहमा साधारणसभा आयोजना गरेको थियो । त्यसमा बैंकले प्रस्ताव गरको १८ प्रतिशत बोनस शेयरसहित ४० प्रतिशत लाभांश समेत पारित गरेको छ ।
कोशी करिडोर प्रसारण लाइनमा समस्या, समाधानका लागि कार्यदल गठन
काठमाडौँ । राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या देखिएकाे छ । उक्त समस्या समाधान गर्न कार्यदल गठन भएकाे छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई पेश गरेका छन् । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत सोही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता गरिसकेको छ । सो करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किटको प्रसारण लाइन निर्माण भइरहेको छ । त्यसको अनुमानित लागत तीन करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो खण्डमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२० मै सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो खण्डको अनुमानित लागत दुई करोड ५३ लाख अमेरिकी डलर छ । तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ । दुई करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२०मा सक्ने लक्ष्य छ । धरान उपमहानगरपालिका–२० मा देखिएको विवाद समाधान समाधानको उपाय खोज्न सो कार्यदल गठन गरिएको हो । सो क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीयस्थललाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने जिकिर धरान उपमहानगरपालिको छ । उक्त वडाले करीब २०० मिटर पश्चिमबाट प्रसारण लाइन लैजान नेपाल विद्युत् प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेकाले आयोजनाको काम अवरुद्ध भएको हो । मुख्यमन्त्री राईले कोशी करिडोर प्रसारण लाइनलाई हेरेर प्रदेश नं १ मा जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउनु पर्ने उल्लेख गर्दै यसको निर्माण जसरी भए पनि समयमै गरिनुपर्नेमा जोड दिने बताएका छन्। प्रभावित बासिन्दालाई दिन सकिने जीविकोपार्जन तथा अन्य लाभका विषयमा छलफल गर्ने तर आयोजनाको निर्माणमा अवरोध नगर्न जनाएका छन् । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनलाई कोसी नदी पार गराउन नदीभित्र ४० मिटर खनेर ७ वटा टावर खडा गर्नुपर्ने जोखिमयुक्त काम भए पनि नदीभित्र टाबर खडा गर्न पनि विरोध भइरहेको भनाइ थियो । उपमहानगरपालिकाले भनेजस्तै प्रसारण लाइनको मार्ग परिवर्तन गर्न प्राविधिक रुपमा नमिल्ने कार्यकारी निर्देशक घिसिङले बताएका छन् । प्रभावितलाई दिन सकिने सामाजिक सुरक्षाका विषयमा छलफल गर्न तयार छौँ तर मार्ग परिवर्तन गर्ने प्राविधिक विषयमा प्रवेश नगर्न आग्रह गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङसम्म पुग्ने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोर निर्माणमा लागेको हो । रासस
नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे १२ अर्ब नाघ्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको ३२औँ साधारणसभाले कम्पनीको २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने भएको छ । १८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो वर्ष पनि सोही परिमाणमा लाभांश दिएको थियो तर अघिल्लो वर्ष बोनस सेयरको हिस्सा १५ रुपैंया मात्र थियो भने बाँकी २५ प्रतिशत नगद लाभांश दिइएको थियो । त्यसैगरी बैंकको जगेडा तथा कोषको रकम पनि बढेर ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने सेयरधनीकोष रकम २४ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यस बैंकको सेयरधनीकोष निजी क्षेत्रका बैंकहरुमध्ये उच्च रहेको छ । आ.व. २०७४–७५ मा ४ अर्ब ९५ करोड रुपैयाँको सञ्चालन मुनाफा कमाएको छ । त्यसैगरी खुद नाफा ३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी १४.४४ प्रतिशतले बढेर १२० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ । आइतबार बैंकको सेयर मूल्यमा समान्य वृद्धि भएको छ । बिहीबार प्रतिकित्ता ५४७ रुपैयाँ रहेको बैंकको सेयर आइतबारको बजारमा बढेर प्रतिकित्ता ५५५ रुपैयाँसम्म कारोबार भएको छ ।
८ प्रतिशत बोनसपछि कालिका लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनसपछिको सेयरको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ९१२.०४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९४.०२ रुपैयाँ रहेको थियो ।
स्वास्थ्य बीमा प्रभावकारी केन्द्रबिन्दु बन्दै बागलुङ, करिब ३८ हजारबढी आवद्ध
काठमाडौं । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य बीमामा बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुवात गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आवद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या रहेको छ ।सो बीमामा हालसम्म आठ हजार २०४ परिवार आबद्ध भएर प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ । सो कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालमा आउने बिरामी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताएका छन् । अस्पतालमा स्वस्थ्य बीमा गराएका बिरामी दैनिक २०० को हाराहारीमा आउने गरेका भनाई रहेको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा रु ५० हजारसम्म उपचार खर्च निःशुल्क पाउने नीति छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था रहेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बीमाका लागि जिल्लाका ७२ जना दर्ता सहयोगीले घरघरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ । रासस
दार्चुलामा माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
काठमाडौं । माछापुच्छ्रे बैंकले दार्चुलास्थित अपि हिमाल र व्याँस शाखा कार्यालय सञ्चालमा ल्याएको छ ।बैंकले दार्चुलाको अपि हिमाल गाँउपालिकास्थित अपि हिमाल शाखा कार्यालय र व्याँस गाँउपालिकास्थित व्याँस शाखा कार्यालयको औपचारिक रुपमा सुरुवात गरेको छ । अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपि हिमाल गाँउपालिका र व्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक भएको छ । नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुविधा उपलब्ध गराएको छ । हाल ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४४ स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ