पुल निर्माणमा स्विस सरकार सहयोग गर्ने, ३ नम्बर प्रदेश सरकारसँग संझौता
काठमाडौँ । पुल निर्माणका लागि स्विस सरकारले ३ नम्बर प्रदेश सरकारलाई सहयोग गर्ने भएको छ । प्रदेश सरकारबाट निर्माण हुने स्थानीय सडकमा मोटर जाने पुल निर्माणका लागि चाहिने आवश्यक प्राविधिक सहयोग गर्न प्रदेशको भौतिक मन्त्रालय र लोकल ब्रिज रोड प्रोग्राम (एलआरबीपी) को टोलीबीच संझौतामा हस्ताक्षर भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भौतिक पूर्वाधार बिकास मन्त्रालयका सचिव कौशलकिशोर झा र एलआरबीपीका टोली नेता बेह्नम दलीलीबीच सम्झौता पत्र आदान प्रदान गरिएको छ । नेपाल सरकार र स्विस सरकारबीच नेपाल सरकारलाई विभिन्न सहयोग गर्ने सम्झौता भएअनुरुप स्विस सरकारले प्रदेशलाई पनि सहयोग गर्न लागेको हो । पुल निर्माण गर्न शुरु देखि सम्पन्न हुने समयसम्मको प्राविधिक खर्च पनि स्विस सरकारले नै व्यहोर्ने टोलीका उपनेता शकिल मानन्धरले जानकारी दिए । पुलको डिजाईन, सर्भे, रिपोर्ट तयार, जाँच तथा अनुगमन सबै एलआरबीपिले नै गर्ने उनले बताए ।
नेपाल एसबिआइमा सञ्चालक परिवर्तन, संचय कोषको प्रतिनिधित्व गौतमले गर्ने
काठमाडौँ । नेपाल एसबिआइ बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । सो बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट दीपक रौनियारको स्थानमा अर्जुनकुमार गौतमलाई मनोनित गरी पठाएको जनाइएको छ । साथै, बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गौतमलाई सञ्चालकका रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।
सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन
काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । पुस २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी श्रेष्ठ सहित निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चय कोष सञ्चालक समिति सदस्य निर्वाचित भएको थियो । साथै, पुस २९ गते ज्येष्ठ सञ्चालक राजेन्द्रप्रसाद पोखरेलको संयोजकत्वमा बसेको बैठकले राजेन्द्रकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव पुष्कर जिसीले जनाएका छन् ।
आरएसडीसी लघुवित्तमा चार जना सञ्चालक निर्वाचित, दाहाल अध्यक्षमा चयन
काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका पुस २९ गते सम्पन्न पाँचौ साधारण सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक शेयरधनी(समूह-क) को तर्फबाट प्रतिनिधित्व गर्ने ग्रामीण स्वावलम्बन विकास केन्द्रको तर्फबाट राजेन्द्रप्रसाद दाहाल, बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट चन्द्रराज शर्मा र व्यक्तिगत लगानीकर्ताका तर्फबाट विष्णुप्रसाद पौड्याल र हरिप्रसाद भट्टराईलाई निर्वाचित गरेको कम्पनी सचिव दामोदर जोशीले जनाएका छन् । यसैबीच, पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले राजेन्द्रप्रसाद दाहाललाई अध्यक्षमा चयन गरेको छ ।
बझाङको खप्तडछान्ना गाँउपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुरुवात भएको छ । यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बझाङको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्कबहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको उद्घाटन गरेका छन् । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार एवं निरन्तर सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जानकारी दिएको छ ।
अपर तामाकोशीको शेयर कारोबार रोकियो, १४००० कित्ता कारोबार रद्द हुने
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार रोकिएको छ । अाइतबारदेखि मात्र सुरु भएकाे उक्त कम्पनीकाे शेयर काराेबार प्राविधिक कारणले नेप्सेले राेकेकाे हाे । सिस्टममा भएकाे प्राविधिक समस्याको फाइदा उठाउँदै ५० प्रतिशतसम्म मूल्य बढेर कारोबार गरिएपछि नेप्सेले उक्त शेयरको कारोबार आजको लागि रोकिदिएको बताइएकाे छ । आज उच्च मूल्यमा १४ हजार ३ सय ९५ कित्ता कारोबार भइसकेको छ । ती सबै कारोबार रद्द हुने र भोलि हिजोकै क्लोजिङ मूल्यअनुसार कारोबार हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । उनले अाेपन रेञ्ज दिँदाकाे सिस्टम अनुसार नै काराेबार भएकाेले त्यस्ताे समस्या देखिएकाे भन्दै अन्य काराेबारहरु भने नियमित हुने बताए ।
अमेरिकी आग्रहमा हुवावेको सेवा बहिष्कारबारे यूरोपमा के आयो प्रतिक्रिया ?
पेरिस, फ्रान्स । हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् । केही मुलुकका सरकारले हुवावेले जासूसी गरेको आशङ्कालाई खण्डन गरेका छन् भने केहीले प्रतिबन्धको समर्थन गरेका छन् । कम्पनीका लागि पछिल्लो चुनौतिका रूपमा रहेको उक्त बिषयमा पोल्याण्डमा कार्यरत एक जना कर्मचारीले चीनका लागि जासूसी गरेको आरोप लगाइएपछि उनलाई कम्पनीले पदबाट बर्खास्त गरेको थियो । “उहाँमाथि लगाइएको आरोपको कम्पनीसँग कुनै सम्बन्ध नरहेको,” हुवावेले एएफपीलाई फ्याक्समार्फत उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ । हुवावेको संस्थापककी छोरीलाई यस पहिले नै अमेरिकी अनुरोधमा क्यानाडाबाट पक्राउ गरिएको थियो । अमेरिकाले हुवावेमाथि सुरक्षा चासो देखाउँदै उसलाई अन्तराष्ट्रिय रूपमा कालो सूचीमा राख्ने प्रयास गरेको छ । विश्लेषकहरूले बताए, “यसबारे कतिपय एसियाली तथा प्रशान्त क्षेत्रका मुलुकहरूले वासिङ्टनको हुवावेमाथि प्रतिबन्ध लगाउने आह्वानप्रति समर्थन जनाएका छन् । तर यूरोपमा भने यसको प्रभाव सुक्ष्मभेदी देखिएको छ किनकि हुवावेको फाइभ–जी सेवा क्षमताहरू साह्रै नै आकर्षक छन् । तिनीहरू स्वीडेनको एरिक्सन, फिनल्याण्डको नोकिया र दक्षिण कोरियाको सामसुङकाभन्दा निकै अघि छन् ।” पाँचौ पुस्ताको (फाइभ–जी) प्रबिधिले ताररहित सञ्चार गतिमा गुणात्मक फड्को मार्न सक्षम बनेको छ र यो स्वचालित कारलगायतका इन्टरर्नेटजन्य विकासका लागि महत्वपूर्ण मानिएको छ । त्यसैले यूरोपले जतिसक्दो छिटो उक्त प्रबिधिलाई बिस्तार गर्न चाहन्छ । “प्रबिधिको सञ्चालकहरूले विकल्पहरूको खोजी गरिरहेका छन् र हुवावेको सेवालाई थप नवीन र सम्भवतः फाइभ–जी का लागि उत्तम विकल्प मानेका छन्,” फिच सोलुसनका विश्लेषक डेक्सटर थिलियनले भने । अमेरिकासहित जापान र अष्टे«लियाले फाइभ–जी इन्टरनेट सञ्जाल विस्तारमा नै रोक लगाएका छन् । तर पोर्चुगल, नर्वे, बेलायत, स्पेन, जर्मनी, पोल्याण्डलगायतका देशहरूमा यसका सेवा रूचाइएको छ । यूरोपमा हुवावेको बजार बढ्ने सम्भावना व्यापक छ भने मध्यपूर्व र अफ्रिकामा २७ प्रतिशत बजार हुवावेको रहेको छ । रासस/एएफपी
सिभिल लघुवित्त वित्तीय संस्थाकाे ४ प्रतिशत बोनस शेयर पारित
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको साधारण सभाले बोनश शेयर तथा नगद लाभांश पारित गरेको छ । काठमाडौंमा सम्पन्न सस्थाको सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४ प्रतिशतले बोनश शेयर जारी गर्ने र ३.८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी रु. ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारितसँगै आर्थिक वर्ष ०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ । सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाको २०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहेको कर्जा रकम रु. ६७ करोड १४ लाख छ । हाल संस्थाले ३५ वटा शाखा कार्यालयहरु मार्फत २३ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।