विकासन्युज

महिला सहयात्रा माइक्रोफाइनान्सले ८ % नगद लाभांश वितरण गर्ने

काठमाडौँ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि.को छैठौं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नपा ९, चित्लाङको सभा कक्षमा माघ ५ गते सम्पन्न भयो । सभामा संस्थाका अध्यक्ष भाइराजा तुलाधरले आव २०७४/२०७५ को वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्य क्षेत्र र १२ करोेड १० लाख चुक्ता पूँजी रहेको सो वित्तीय संस्थाले आव २०७४÷०७५ को नाफाबाट शेयर धनीहरुलाई कर सहित ८ % नगद लाभांश वितरण गर्ने गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिबेदन र सोहि अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव २०७५/०७६ को लागि वाह्य लेखा परीक्षकमा रञ्जित एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सम्पन्न साधारण सभाले कम्पनीको नाम संशोधन गरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. नामाकरण गर्ने भएका प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले जानकारी दिइन् ।

५४ औं वार्षिकोत्सव मनाउँदै राष्ट्रिय वाणिज्य बैंक, यसरी साकार पार्दैछ समृद्ध नेपालको सपना

काठमाडौं । वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा सस्तो कर्जा प्रवाह गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५४ औं वार्षिकोत्सव मनाउँदैछ । २०१९ सालमा स्थापना माघ १० गते स्थापना भएको बैंकले एक सातासम्मै विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । सो अवसरमा बैंकले शनिबार प्रभातफेरी आयोजना गरेको छ । शुक्रबार बैंकले आफ्नै केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको थियो । बैंकले खेलकुद, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबारको प्रभातफेरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरु समेत संलग्न भएको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक ‘क’ वर्गका बैंकहरुमध्ये सबैभन्दा कम आधार ब्याजदर भएको बैंक हो । बैंकको आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा ६.३ प्रतिशत आधार ब्याजदर छ । आधार ब्याजदर कम हुँदा बैंकबाट कर्जा लिनेले सस्तो ब्याजदरमै कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६४ अर्ब निक्षेप संकलन गरी १२३ अर्ब कर्जा प्रवाह गरेको छ । कुल २०७ शाखा, १७ एक्स्टेन्सन काउन्टर, ९३ शाखारहित बैंकिङ र १६५ एटिएम सहितको शाखा सञ्जाल छ । सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकले हालै मात्र ३ प्रतिशत भन्दा कमसम्ममा सरकारले प्रदान गर्दै आएको सहुलियत कर्जा दिन सुरु गरेको छ । त्यस्तो कर्जामा ५ प्रतिशत सरकारी सहलियत प्राप्त हुने बैंकले जनाएको छ । सस्तो एवं सहुलियत कर्जा दिनुका साथै सरकारले ल्याएका लोक कल्याणकारी कार्यहरुलाई लागु गराउन बैंकले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसले समृद्ध नेपालको सपनालाई पूरा गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

भक्तपुर नगरपालिकाले गरीब जेहेनदार विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण दिने

भादगाउँ । भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी पाँच लाखसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित गरेको हो । निर्देशिका अनुसार विधायन समितिका संयोजक हरिराम सुवालले नपाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको जानकारी दिए । नगरप्रमुख सुनिल प्रजापतिले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरीब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ ल्याइएको बताए । उनले भने, “ऋण दुरुपयोग हुनेप्रति सचेत हुँदै आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।” निर्देशिका पारित गर्नुअघि नगरसभा सभासद् जीतेन्द्र मुनंकर्मी, हरिरत्न गोर्खाली, गोविन्द दुवाल, सिद्धिराम अवाल, बलराम न्हिसुतु, पुर्णगोपाल राजचल, श्यामसुन्दर मातां, रञ्जना त्वाती र राजेन्द्र माकलगायतले शैक्षिक ऋण दुरुपयोग हुनेप्रति सचेत हुनुपर्ने, ऋण चुक्ता गर्ने समायावधि थप्नुपर्ने, पुस्तौँदेखि नगरमा बसोबास गर्दै आएका स्थायी नगरवासीलाई मात्र ऋण दिनुपर्ने, ऋणको ब्याज लाग्ने समय स्पष्ट हुनुपर्नेलगायतका सुझाव दिएका थिए । त्यसैगरी भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ समेत पारित गरेको छ । अपाङ्गता भएका नगरवासीलाई सहज ढङ्गले परिचयपत्र वितरण गर्ने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको विधायन समितिका सयोजक सुवालले बताए ।

गण्डकी प्रदेशका ८५ मध्ये ३ तहमा बैंक किन पुगेनन् ? ‘पूर्वाधार नभए सरकारलाई भन्नुहोला’

कास्की । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये अझै तीन वटामा बैंक पुग्न सकेको छैन । मनाङको नार्फु तथा गोरखाको गण्डकी र धार्चे गाउँपालिकामा अझैपनि बैंक पुग्न नसकेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रश्न गरे-ती तहमा किन बैंक नपुगेका हुन् । उनले भने–बाटो, इन्टरनेटलगायत पूर्वाधार नभए सरकारलाई भन्नुहोला, तर जहाँ सरकार, त्यहाँ बैंक पुग्नुपर्दछ ।” मुख्यमन्त्री गुरुङले बैंक तथा वित्तीय संस्थालाई कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रहपनि गरे । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आयोजना गरेको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि सम्बन्धमा सरोकारवालासँगको अन्तरर्किया कार्यक्रममा उनले उत्पादनको क्षेत्रमा लगानी गर्दा रोजगारी सृजना भई गरीबी निवारण हुने हुँदा त्यसतर्फ ध्यान दिन सबैमा आग्रह गरे । मुख्यमन्त्री गुरुङले रियल स्टेट (घरजग्गा)मा लगानी गर्दा एक-दुई जना व्यक्तिले मात्र फाइदा लिने र धनी बन्ने भएकाले मुलुकको विकास र समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गर्दै व्यवसाय बढाउन, उत्पादनमा लगानी गर्न र कृषि क्षेत्रको आधुनिकीकरणको कार्यमा उद्योगी, व्यवसायी तथा कृषकले ऋण प्राप्त गर्ने कार्यलाई सरलीकृत गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरे । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले रोजगार तथा स्वरोजगार सृजनाका लागि सरकारले काम गरिरहेकाले बैँक, वित्तीय संस्था तथा निजी क्षेत्रलाई यसमा सहयोग गर्न आग्रह गरे । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रबाट बन्ने पर्यटन पूर्वाधारका लागि बैंकहरुले सस्तो ब्याजदरमा सरलीकृत रुपमा लगानी गर्नुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख बमबहादुर मिश्रले चालू आर्थिक वर्षको चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान मुद्रास्फीति, वैदेशिक व्यापार, चालू खाता एवम् शोधनान्तर स्थिति, सरकारी खर्च तथा राजश्व, सरकारको नगद मौज्दातलगायत आर्थिक तथा वित्तीय स्थितिबारे प्रकाश पारे ।

सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते

सर्लाही । सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार दुई र ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । पूर्वको झापाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९७५४ नं को बस बिग्रेर रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२९ नं को ट्रक पछाडिबाट ठक्कर दिँदा इलाम सुलुबुलुम नगरपालिकाका–२७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीय विनेता राई र ट्रकमा सवार पर्सा वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा नुवाकोट विदुरनगरपालिका– १३ का ३५ वर्षीय दावा तामाङ, बस चालक झापाका अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीया राजेन्द्र खतिवडा र बसका सहचालक उदयपुर कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी गम्भीर घाइते भएका छन् । तामाङको खुट्टा भाँचिएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । खतिवडाको टाउकोमा गम्भीर चोट लागको छ । उनको उपचारका लागि महोत्तरीको बर्दिवास लगिएको छ । त्यसैगरी अधिकारीलाई समान्य चोट लागेकाले उहाँको उपचार सर्लाहीको लालबन्दीमा भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै आज बिहान करीब ९ बजेको समयमा ईश्वरपुर नगरपालिकाबाट त्रिभुवन नगर आउँदै गरेको ना ३ ख १५१२ नम्बरको यात्रुबाहक बसले ब्रहम्पुरी गाउँपालिकामा एक बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–३ भेल्हीका रामबाबु मुखियाको ६ वर्षीय छोरी सोनाली कुमारी मुखियाको मृत्यु भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस

उपत्यकाबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियानको २९७ औँ हप्तामा ललितपुरतिरको गुसिङ्गालमुनिको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा प्रदेशसभा सदस्यद्वय दीपेन्द्र श्रेष्ठ र धर्मराज रेग्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ३० संस्थाका ४०० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । डेढ वर्षअघि गुसिङ्गाल क्षेत्रबाट हटाइएका सुकुम्बासी फेरि नदी किनारमा आइ बसेकाले नदीमा फोहर बढेको पाइएको उनले जानकारी दिए । गुह्येश्वरीमाथिको नदी सफाइको २५८औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–६ र ८ को सीमास्थित माकालबारी क्षेत्र अघिको नदी किनारमा सफाइ गरियो । दुवै वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थपन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ । सो अवसरमा नगरपालिका–६ का अध्यक्ष रमेश अर्याल, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गाना, मानवअधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । रुद्रमती सफाइ अभियानको २५२ हप्तामा रातोपुल–रुद्रमतीमार्ग– कालोपुलसम्मको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्यद्वय शर्मिला महतोसहित २०० जना अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी रोहित गिरीले जानकारी दिए । सफाइ अभियानका अवसरमा वडाध्यक्ष कार्कीले घर आँगनको सफाइ नगरे अर्को हप्ता वडा कार्यालयले कारवाही गर्ने जानकारी दिए । विष्णुमती सफाइ अभियानको २२४औँ हप्तामा तारकेश्वर नगरपालिका–७ र टोखा नगरपालिका वडा नं ३ को दियालो पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई सुनाए । सफाइसँगै सो क्षेत्रमा प्लास्टिक जलाउँदा स्वास्थ्यका लागि नकारात्मक असर गर्ने भनी जनचेनामूलक अभियान पनि सञ्चालन गरिएको थियो । वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९९औँ हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो । तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०७औँ हप्ताको सफाइ गरियो । सयभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए । मनोहरा नदी सफाइको ९७औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दङ्गालले बताए । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहालसहित १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । चक्रपथ सफाइ अभियानको ९३औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट बसुन्धरा चोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । चक्रपथ सफाइ अभियानकै संयोजकत्वमा आजदेखि ललितपुरको लगनखेल बसपार्क क्षेत्रमा पनि सफाइ शुरु भएको छ । युवा अभियानकर्मी केपी खनालको नेतृत्वमा शुरु भएको सफाइमा आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । आलोकनगर सफाइको ९३औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सो अवसरमा जनचेतनामूलक अभियान समेत चलाइएको थियो । चक्रपथ बाफल खण्ड सफाइको ७५औँ हप्तामा सीतापाइलाचोकबाट स्वयम्भू बुद्धपार्कसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ३०० जनाभन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइमा हेभी इक्विपमेन्ट डिभिजनको सहयोगमा ब्रुमर लगाई सडकको धुलो टिपिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको उपत्यकाका नदी एवं चक्रपथलगायत विभिन्न स्थानको सफाइले देशव्यापी स्वरुप ग्रहण गरेपनि सोचेजति सफा हुन नसकेको गुनासो छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउन समेत सरकारले पहल गर्न सकेको छैन । माघ २६ गते वाग्मती सफाइ महाअभियान शुरु भएको ३००औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भएको छ । विशेष कार्यक्रमका लागि शहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनामा बैठक गरी तयारीका काम अघि बढाइएको जनाइएको छ । सङ्घीय मामिला मन्त्रालयले उपत्यकाका सबै नगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रम आयोजना गर्ने छ । रासस

अमेरिकासँग ‘सीमित’ व्यापार सम्झौता गर्ने इयूको योजना, जर्मनीलाई राहत

ब्रसेल्स, बेल्जियम । यूरोपेली यूनियन (इयू)ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको छ । इयूको यो योजना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको व्यापार युद्धलाई जोगाउने प्रयास भएको विश्लेषकहरूले बताएका छन् । स्टील र आल्युमिनियमको आयातमा घोषणा गरेको कर वृद्धिपछि गरिएको ट्रान्सएटलान्टिक सम्झौतालाई जोगाउने पहलका रूपमा पनि बताइएको छ । उक्त प्रयासलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा यूरोपेली कार आयातमा करवृद्धि गर्नबाट जोगाउने पहलका रूपलमा पनि बताइएको छ । यसले अमेरिकामा कारको अत्याधिक निर्यात गर्ने यूरोपेली मुलुकहरू खास गरी जर्मनीलाई राहत हुने बताइएको छ । इयू व्यापार आयुक्त सेसिलिया मालस्ट्रोमले सञ्चारकर्मीसँग भने, “यो परम्परागत व्यापार सम्झौता होइन । यो सीमित तर महत्वपूर्ण प्रस्ताव हो जुन औद्योगिक सामानमा लगाइने करबारे मात्र हो ।” तर, अमेरिकाले गत हप्ता वार्ताको एजेन्डामा कृषि उत्पादनलाई पनि सम्लग्न गर्ने योजना सार्वजनिक गरेपछि प्रक्रिया एउटा चट्टानी शुरूवातका रूपमा देखिएको छ । अमेरिकी प्रस्तावले यूरोपेलीहरूलाई अघि बढ्न समस्या हुने अनुमान गरिएको थियो । मालस्ट्रोमले भने, “वार्ता कृषि करलाई घटाउने प्रस्तावका लागि नभएको जनाउँदै उक्त क्षेत्रलाई अहिले सम्झौताको बिषयभन्दा बाहिर राखेका छौँ ।” अमेरिकाले प्रस्तुत गरेको १७ पेज लामो प्रस्तावमा इयूले अस्वीकार गर्ने बताइएका अन्य माग तथा कर वृद्धिसमेत रहेका छन् । यूरोपद्वारा वैदेशिक विनिमय दरलाई तोडमोड गर्न रोक्नुपर्ने अमेरिकी प्रस्ताव छ । बेलायतको बहिर्गमन प्रक्रियाबारे वार्ता अनिर्णित नै रहेका समय इयूले अमेरिकासँगको वार्तालाई अघि बढाउन लागेको हो । रासस/एएफपी

आन्तरिक राजश्व कार्यालयले उठायो ६ महिनामा तीन अर्ब

विराटनगर । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा कूल तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा गत वर्ष दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । कार्यालयका अनुसार तीन अर्ब चार करोड ६४ लाख ५८ हजार राजश्व असुल गर्ने लक्ष्यमा १३ करोड ४८ लाख ७३ हजार राजश्व बढी अर्थात् लक्ष्यमा १२९.०३ प्रतिशत प्रगति हासिल भएको प्रमुख गौतमको भनाइ छ । सङ्कलित राजश्वमा आयकर रु ९२ करोड ८३ लाख १२ हजार, बहाल कर पाँच करोड २१ लाख ८५ हजार, ब्याज कर तीन करोड ९५ लाख २३ हजार, मूल्यअभिवृद्धि कर ६० करोड १० लाख १४ हजार, अन्तःशुल्क एक अर्ब ५२ करोड ११ लाख ८५ हजार, स्वास्थ्य सेवा दुई करोड ८२ लाख छ हजार र शिक्षा सेवा शुल्क एक करोड नौ लाख छ हजार रहेको छ ।