विकासन्युज

सुरुङमार्ग बनाउने कम्पनीको सञ्चालक समिति विघटन, पावर चाईनासँग ज्वाइन्ट भेञ्चर

काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार विकास कम्पनीको सञ्चालक समिति विघटन भएको छ । चैत ९ गते सम्पन्न कम्पनीको बिशेष साधारण सभाले ९ सदस्यीय सञ्चालका समिति गठन गरेर ३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । बिशेष साधारण सभाले गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट, सुभाषचन्द्र ठकुरी र नविल कँडेल सहभागी रहेको तदर्थ समिति गठन गरेको हो । भट्टलाई अध्यक्ष तोकेको बिशेष साधारण सभाले ठूला लगानीकर्ताका तर्फबाट अन्य २ जनालाई तदर्थ समितिमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । ‘९ सदस्यीय सञ्चालक समिति विघटन गरेर ३ सदस्यीय तदर्थ समिति गठन गरेका छौं, ठुला लगानीकर्ताका तर्फबाट २ जना थप गरिनेछ’, तदर्थ समितिका सदस्य सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने । काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गः पावर चाइनाको लगानी स्वीकृति गरेर निर्माण बिशेष साधारण सभाको निर्णयसँगै नेपाल पूर्वाधार विकास कम्पनीबाट संस्थापक अध्यक्ष कुश कुमार जोशी, पूर्व अध्यक्ष लाल कृष्ण केसी, नुगल आनन्द वैद्य, जयराम लामिछाने, सुकुन्तलाल हिराचन र भुवनलाल श्रेष्ठ बाहिरिएका छन् । बिशेष साधारण सभाले पावर चाइना कम्पनीसँग जोइन्ट भेञ्चर कम्पनी स्थापना गरेर सुरुङ मार्ग निर्माणको कामलाई अघि बढाउने निर्णय समेत गरेको छ । त्यसका लागि आगामी असार १४ गते साधारण सभा बोलाउने निर्णय पनि बिशेष साधारण सभाले गरेको छ । यस्ता छन् बिशेष साधारण सभाका अन्य निर्णय नेपाल पूर्वाधार विकास कम्पनीको बिशेष साधारण सभाले कम्पनीको लेखा परिक्षक नियुक्त गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ । त्यस्तै, पावर चाइनासँग ज्वाइन्ट भेञ्चर कम्पनी स्थापनाका लागि सरकारसँग सहमति माग्ने, आन्तरिक र संस्थागत लगानी खोज्ने, जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । निर्माणका लागि आवश्यक समिति र संरचनाहरु निर्माण गर्ने, ट्रयाक ओपन लगायतका निर्माण कार्य गर्न अघि पूर्व तयारीका काम सम्पन्न गर्ने लगायतका निर्णय गरेको ठकुरीले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैंक र एनबीआईबीच वित्तीय साक्षरता सम्बन्धी संझौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले द्रुतगतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । यस सम्झौतापत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाईल एप्का बारे ज्ञान दिलाई ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्ने जनाइएको छ । साथै बैंकले एनबीआई एप् मार्फत समाजका विभिन्न वर्गहरु महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षकशिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।

गृह मन्त्रालयको सहसचिव भन्दै साढे पाँच करोड ठगी गर्ने यादव पक्राउ

काठमाडौँ । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए । परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले बताए । बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए । बोगटीले भने, ‘क्यानाडा लैजाने भन्दै थुप्रै युवासँग रकम असुलेको देखियो । प्रतिव्यक्ति पाँच लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ । सोही जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । पीडितको बयानअनुसार यादवले साँढे पाँच करोड रुपैयाँ ठगी गरेका छन् ।’ प्रहरीका अनुसार सत्येन्द्र यादव उर्फ वीरेन्द्र अधिकारी वीर अस्पतालको सातौँ तहका डार्करुम टेक्निसियन हुन् । १७ लाख ६८ हजार ८ सय एक रुपैयाँ मूल्यबराबरको एक्सरेप्लेट खरिदमा हिनामिना गरेको प्रमाणित भएपछि काठमाडौं जिल्ला अदालतले उनलाई ८१ लाख ८४ हजार ८ सय एक रुपैयाँ जरिवानासहित चार वर्ष कैद सजाय सुनाएको थियो । लगत्तै फरार भएका उनी परिचय बदलेर वीरेन्द्र अधिकारी बनेका थिए । उनले अधिकारीकै आवरणबाट ठगी धन्दा चलाएको प्रहरीको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

१६ जना विदेशी पाइलट नियुक्त गर्ने नेपाल वायुसेवाको तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ । अहिले एयर बस उडाइरहेका नेपाली पाइलटको क्षमता हुँदाहुँदै तिनलाई छाडेर विदेशी रोज्दा निगमलाई मासिक करोडौँ व्ययभार थपिन्छ । निगमले वाइड बडी ‘ए ३२०(२००’को लागि दुई जना टिआरई (टाइप रिलेटेड एक्जामिनर र टिआरआई (टाइप रिलेटेड इन्सट्रक्चर) तीन जना नियुक्त गर्न लागेको छ । टिआरईले प्रशिक्षणपछि परीक्षासमेत सञ्चालन गर्न पाउँछन् । टिआरआईले प्रशिक्षण मात्रै दिन पाउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।

रेलमार्गको डीपीआर र मोडालिटीबारे छलफल गर्न नेपाली टोली फेरि चीन जाँदै

काठमाडौँ । प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल छलफलका लागि चीन जाने भएको छ । प्रस्तावित उक्त रेल परियोजनालाई अगाडि बढाउने गरी हुन लागेको चौथो बैठकमा भाग लिन नेपाली टोली चीन जान लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल चीन जाने तयारी भइरहेको जानकारी दिए । मन्त्रालयका सचिव अधिकारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल ‘मार्चको अन्तिम साता या अप्रिल’ पहिलो साता चीन जाने तयारी भइरहेको जानकारी उनले दिए । बैठकको आयोजना चीनको कुन ठाउँमा गरिनेबारे चिनियाँ पक्षबाट अहिलेसम्म कुनै औपचारिक जानकारी प्राप्त भइनसकेको उनले बताए । केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा यसअघि पहिलो र दोस्रो बैठक नेपालमा र तेस्रो बैठक चीनमा सम्पन्न भइसकेको छ । प्रस्तावित उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा मोडालिटीको विषयमा यसपालीको बैठक केन्द्रित हुने जानकारी सचिव अधिकारीले दिए । उक्त रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै तयार भइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

पशुपतिमा थरीथरीका चन्दन, घोट्नेलाई सामान्य खर्च दिने

काठमाडौँ । पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री कोठामा यस प्रकारको चन्दन बनाइन्छ । चन्दन घोट्ने हरि बुढाथोकीका अनुसार धुपी, अम्बा, पारिजात, भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिएको छ । पशुपतिनाथका बिसेट अरुण श्रेष्ठका अनुसार यस्ता चन्दन तयार हुने गरेको भए पनि चन्दन घोट्ने व्यक्ति आधिकारिक नियुक्तिका होइनन् र यो चन्दन पशुपतिनाथलाई अर्पण गर्ने गरिएकै छैन । उनले चन्दन माग गर्नेले यस्ता काठ ल्याउने गरेका छन् भन्ने सुनिएको जानकारी दिए । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिए पनि यो चन्दन निजी प्रयोजनका लागि मात्र हुन सक्ने बताए । चन्दन बनाउनेले व्यक्तिको माग अनुसार तयार गर्ने गरेको छ, बिहान आउने भक्तजनले चन्दन मागेमा चिनेजानेका आफन्तलाई सालको पातमा बेरेर दिइने चन्दन यही हो । जानकारका अनुसार दक्षिणाको लालचमा चन्दन घोट्ने यो कार्य चलेको दसकौँ भइसकेको छ । यो अघोषित रूपमा फस्टाउँदै आएको पनि छ । विसेट अरुण श्रेष्ठका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उपहार प्राप्त भएको श्रीखण्ड पशुपतिनाथमा प्रयोग भइरहेको छ । वासुकीमा, पशुपतिमा र भक्तजनको वितरणका लागि क्रमशः एक, एक र १५ किलो श्रीखण्ड मासिक रूपमा प्रयोग भइरहेको श्रेष्ठ बताउँछन् । यस बाहेक पशुपति गुठी गोश्वाराबाट मासिक एक धार्नी र तत्कालीन कौषी तोषाखाना (हाल अर्थ मन्त्रालय निवृत्तिभरण व्यवस्थापन कार्यालय) मा मौज्दात रही पशुपतिनाथलाई प्राप्त भएको मासिक एक धार्नी श्रीखण्ड नियमित रूपमा प्राप्त भइरहेको छ । ‘‘यही चन्दन पशुपतिनाथलाई अर्पण हुन्छ र भक्तजनका लागि पनि प्रदान गरिन्छ,’’ श्रेष्ठ स्पष्ट पार्छन् । पशुपतिमा चन्दनको व्यवस्था भए पनि अन्य काठको चन्दन कुन आवश्यकताले बनाउन परेको हो भन्ने खुल्न नसकेको स्वयं अधिकारीहरूको भनाइ छ । विसेट श्रेष्ठ थप्छन्, ‘‘अन्य काठबाट बनेको चन्दन बिक्री हुन्छ भन्ने सुनिए पनि आधिकारिक रूपमा कोषका कुनै व्यक्ति र निकायको संलग्नता छैन ।’’ गुठी संस्थान, पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख लछुना शर्मा काफ्लेले श्रीखण्ड बाहेकको अन्य काठबाट चन्दन बनिरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताउनुभयो । काफ्लेका अनुसार असली श्रीखण्डबाटै चन्दन तयार भइरहेको छ भन्नेसम्म गोश्वारालाई जानकारी छ । चन्दन घोट्ने हरि बुढाथोकी २०७२ सालको भूकम्पपछि आफूखुसी चन्दन घोट्न मन्दिर परिसर पसेको बताउँछन् । यसअघि अर्कैले चन्दन घोट्थे । पशुपतिनाथका मूल भण्डारी कविन्द्रलाल राजभण्डारीले चन्दन घोट्नेलाई आफूहरूले आफ्नैतर्फबाट सामान्य खर्च दिने गरेको बताए । यस्ता काठका चन्दनले चर्मरोग पनि देखापर्दै आएको आनन्द खेरा फ्रेन्ड एन्ड फेमिली ट्रष्टका डा. पदमराज भारती बताउँछन् । उनले महाशिवरात्रिको शिविरमा चन्दनले छालामा फोका तथा दाद आएका विरामी भेटिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

हेलिकोप्टरको सिट हटाउने निर्णय उल्ट्याउने प्रयास

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन् । गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले उक्त संख्यामा यात्रु बोक्नु पनि दुर्घटनाको कारण हुन सक्ने भन्दै एउटा सिट हटाउने निर्णय गरेको थियो । हेलिकोप्टर सोसाइटीका प्रतिनिधिसहितको बैठकले गरको उक्त निर्णयको व्यवसायीले स्वागत गर्दै सिट हटाएका थिए । निर्णयअनुसार नेपालमा रहेका पाइलटबाहेक ६ सिट भएका एएस ३५० बी३ई (एच १२५) हेलिकोप्टरबाट एउटा सिट घटाएर पाँच बनाइयो । त्यस्ता हेलिकोप्टर हेली एभरेस्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, फिस्टेल, श्री, कैलाश र अल्टिच्युट एयरसँग गरी नौवटा छन् । अहिले आएर हेलिकोप्टर व्यवसायीले सिट यथावत् राख्नुपर्ने भन्न थालेका छन् । चैत ८ गते हेलिकोप्टर व्यवसायीको संगठन हेलिकोप्टर सोसाइटीको बैठकले यात्रु सिट संख्या ६ वटै कायम गराउन उक्त निर्णय उल्टाउने तयारी गरेको छ । ती सिट हटाएपछि व्यवसायमा असर परेको उनीहरुको भनाइ छ । व्यवसायीका अनुसार प्राधिकरणले अजेन्डा नदिई छलफलमा बोलाएर सिट हटाउने निर्णय गरेको थियो । सोही निर्णयमा केही नसोची सहमति जनाएर कार्यान्वयन गर्दा व्यवसायमा असर परेको व्यवसायीको भनाइ छ। छलफलमा सीधै अजेन्डा ल्याउँदा व्यवसायीले पनि सहमति जनाएर कार्यान्वयन गरेका थियौं,’ मनाङ एयरका राजु न्यौपानेले भने, अहिले त्यो निर्णय हितमा देखिएन ।’ उनका अनुसार निर्माता र निर्माता कम्पनी रहेको देश फ्रान्सको प्राधिकरणले समेत ६ यात्रु सिट स्वीकृत गरेको अवस्थामा प्राधिकरणले रोक्नु उचित होइन । उत्पादन कम्पनीले अगाडिको भागमा एक सय ५० किलोभन्दा बढी वजन राख्न नहुने व्यवस्था गरेको छ । त्यसैले सिट कायम गरेर एक सय ५० भन्दा कम वजनका दुई यात्रु राख्दा फरक नपर्ने उनले बताए। ुअगाडिको भागमा एक सय ५० केजीभन्दा बढी वजन राखेमा त्यो कानुनविपरीत भयो, प्राधिकरणले त्यसलाई निगरानी गर्नुपर्‍यो,’ उनले भने, ‘त्यही निगरानी गर्न नसकेर प्राधिकरणले सिट हटाउने निर्णय गरेको हो।’ सिट हटाउँदा हेलिकोप्टर चढ्ने यात्रुलाई महँगो पर्छ । पहिला हेलिकोप्टर चढ्दा ६ जनाले भाग लगाउँथे भने अहिले पाँचजनाले भाग लगाउनुपर्ने बाध्यता रहेको न्यौपानेले बताए । उक्त निर्णयलाई सोही प्रकारका हेलिकोप्टर उडाउने पाइलटले समेत स्वागत गरिसकेका छन् । प्राधिकरणको फ्लाइट सेफ्टी डिर्पाटमेन्टमा विभिन्न कम्पनीका २७ हेलिकोप्टर पाइलटले लिखित रुपमा हस्ताक्षर गरेर बुझाएको पत्रमा सुरक्षाको हिसाबले पनि पाँच सिट कायम हुनुपर्ने आशय छ। न्यौपाने भने दुईजना यात्रु अगाडि राखेर उडाउन नसक्ने पाइलटले मात्रै स्वागत गरेको दाबी गर्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि, थुप्रै प्रश्न अस्पष्ट

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो । एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागिअनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ । प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ । प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किए । कतिपय ठाउँमा भाषागत त्रुटिसमेत छन् । सातवटै सेटको प्रश्न नम्बर ९ अस्पष्ट छ । त्यसमा भनिएको छ, ‘आफ्नो भाइका बारेमा तीन वाक्यमा वर्णन गर्नुहोस् ।’ यस्ता प्रश्नले विद्यार्थीलाई झुक्याउने नेपाली विषयका प्रश्न निर्माणविज्ञ देवीराम आचार्यले बताए । ‘३ वाक्यमा वर्णन हुनै सक्दैन,’ उनले भने, ‘३ पूर्णांकको प्रश्नमा विद्यार्थी झुक्किएर एक पेज उत्तर लेख्ने सम्भावना हुन्छ । अरू प्रश्नको उत्तर दिन समय नपुग्दा अनुत्तीर्ण हुन सक्छन् ।’ कर्णाली प्रदेशको प्रश्नपत्रको ५ नम्बरमा रेखांकित शब्दहरूको पदवर्ग छुट्याउन भनिएको छ । रातो कागजमा प्रश्न छापिएकाले रेखांकित गरिएका शब्द चिन्न मुस्किल पर्छ । प्रश्नपत्र छपाइ गर्न रातो कागज उपयुक्त नहुने विज्ञहरूको भनाइ छ। प्रश्नपत्रमा विद्यार्थीलाई ठाउँठाउँमा निर्देशन दिइएको छ । प्रश्न १७ मा ‘तलका कुनै एक प्रश्नको लामो उत्तर दिनुहोस्’ भनिएको छ । लगत्तै ‘क’ प्रश्न संकेत गरेर ‘कविताको तलको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्’ भनिएको छ । फेरि ‘अ’ प्रश्न संकेत गरेर ‘क’ प्रश्नसँगै सम्बन्धित अर्को प्रश्न सोधिएको छ । ‘गज्याङगुजुङ पाराले प्रश्नमाथि प्रश्न थुपारिएको छ,’ आचार्यले भने, ‘कुनै एउटा मात्र प्रश्नको उत्तर दिनुपर्ने ठाउँमा धेरै प्रश्न थुपार्दा विद्यार्थी कन्फ्युज हुन्छन् ।’ एउटै प्रश्नको जवाफ लेख्न विद्यार्थीलाई दोहोरो निर्देशन दिइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।