विकासन्युज

कोरिया भाषा परीक्षा जेठ २५ र २६ गते, ९२ हजारको आवेदन

काठमाडौं । ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९२ हजार ३७६ आवेदन परेको छ । कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो । यही चैत्र ८ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । ईपएिस शाखाका अनुसार अन्तिम दिन आइतबार रातिसम्म आवेदन दिएका ९३ हजार ३७६ मध्ये उत्पादनतर्फ ६३ हजार ४६७ र कृषि तथा पशुपालनतर्फ २८ हजार ८८९ आवेदन परेका छन् । गत वर्षभन्दा यस वर्ष करीब ११ भन्दा बढी आवेदन परेको छ । कोरियाले यसपाली १० हजार ५० जना नेपाली कामदार कोरिया लैजाने तयारी गरेको छ। परीक्षा जेठ २५ र २६ का लागि तय भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

बारा र पर्सामा हावाहुरीको बितण्डाः कम्तीमा ३० को मृत्यु, ४०० भन्दा बढी घाइते

काठमाडौँ । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी धनजनको ठूलो क्षति भएको छ । हावाहुरीले कम्तीमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा ४०० भन्दा बढी घाइते भएका छन् । घाइतेको वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताल सहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले भने, “बारामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । दुवै जिल्लामा गरी कम्तीमा ३१ जनाको निधन भएको जानकारी आएको छ ।” उनले ४०० भन्दा बढी घाइते भएका र गाउँगाउँबाट विवरण आउन बाँकी रहेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका सबै एम्बुलेन्स उद्धारका लागि गाउँगाउँमा पठाई सुरक्षाकर्मी परिचालन गरिएको छ । यस आपत्कालीन अवस्थामा घाइतेको उपचारमा कुनै कमी नहोस् भनी निर्देशन दिइएको उनले बताए । प्रजिअ भट्टराईले भने, “घाइतेको उपचारमा रगत अभाव नहोस् भनी रेडक्रस परिचालन गरी निःशुल्क उपलब्ध गराउन व्यवस्था गरिएको छ । ” विभिन्न स्थानबाट आएको जानकारीको विवरण दिँदै उनले भने, “गण्डक चोकमा यात्रु सवार गाडीलाई नै विनाशकारी हुरीले पल्टाइदिएको छ । सडकमा गुडिरहेका हलुका सवारी साधन र मोटरसाइकलले अनियन्त्रित भएका थिए । ” बारामा मृत्यु हुनेमा महागढीमाई नगरपालिका–७ का ६५ वर्षीया कोइलीदेवी, सोर्नागाउँपालिका–८ का ३५ वर्षीय तरिफ खान र पहिचान नखुलेका एक भारतीय नागरिक छन् । त्यहाँ मृत्यु हुनेमा प्रायः भारतीय मजदुर रहेका तथा उनीहरूको परिचय खुल्न नसकेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । कलैया उपमहानगरपालिका–१२ स्थित इँट्टा उद्योगका धुवाँ फाल्ने चिम्नी भत्किँदा धेरै मजदुर घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको बाराका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले जानकारी दिए । राति हावासँगै आएको असिनापानीले जिल्लाको पुरैनिया, परशुरामपुर, भरवलिया, पतौरा, मझौलिया, तेलगाई लगायतका स्थानमा धेरै क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । घटनापछि ट्विट गर्नुहुँदै उनले उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् ।

बैंकले निःशुल्क बीमा गराउँदा बीमा कम्पनीलाई सकस, कहिलेसम्म पाइन्छ सित्तैमा बीमा ?

काठमाडौ । नबिल बैकले आफ्ना ग्राहकलाई निःशुल्क बीमा सेवा दिएको जनाएको छ । एउटा बचत खाता सम्बन्धि योजनामा बैंकले भनेको छ–‘निःशुल्क बीमा अब बचत खाताबाटै, बिना कुनै बिल र बीना झन्झन्ट ।’ बैंकको यस योजनामा दुईटा कुरा बढो प्रष्ट रुपमा लेखिएको छ । पहिलो, बीमा निःशुल्क हुन्छ । दोस्रो, बैंकमा भएको कारोबारको बील हुँदैन । उपभोक्ताको नजरमा नबिल बैंकले उत्कृष्ट काम गरेको छ । तर नियम, संस्थागत अभ्यास र संस्कारको दृष्टिले उसको काममा केही प्रश्न उठेका छन् । के बीमा सित्तैमा पाइने सेवा हो ? के बैंकले दिने व्यवसायिक सेवामा बील वा अन्य प्रमाणित कागज हुँदैन ? यस विषयमा हामीले नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसँग कुरा गर्न धेरै प्रयास गर्यौं तर शाहले कुरा गर्न मानेनन् । नबिल बैंकले ग्राहकलाई लोभ्याउन प्रयोग गरेको प्रचारशैली गलत भएको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई बताए । ‘कुनै पनि बैकले बीमा योजनाको प्रचारमा निःशुल्क शब्द प्रयोग गर्नु गलत हो, त्यो भ्रम फैलाउने काम हो’ चापागाईले भने–‘बीमा सेवा निःशुल्क हुनै सक्दैन ।’ अध्यक्ष चापागाईँका अनुसार बीमा समितिले धेरै बीमामा शुल्क तोकेको हुन्छ । त्यसमा कसलाई कति छुट दिन सकिन्छ भनेर पनि स्पष्ट रुपमा लेखेको हुन्छ । त्यसबाट दायावायाँ कसैले पनि गर्न मिल्दैन । साथै, कुनै पनि बीमा कम्पनीले बीमा समितिसँग स्वीकृत नलिई बीमा लेख (इन्स्योरेन्स पोलिसी) बेच्न पाउँदैनन् । अहिलेसम्म कुनै पनि बीमा कम्पनीले यस्तो पोलिसी लिएका छैनन् । बीमा कम्पनीले दिन नसक्ने बीमा सेवा कुनै पनि बैंकले दिन सक्दैन । ‘कुनै पनि बैकले बीमा योजनाको प्रचारमा निःशुल्क शब्द प्रयोग गर्नु गलत हो, त्यो भ्रम फैलाउने काम हो । बीमा सेवा निःशुल्क हुनै सक्दैन ।’ -चिरञ्जीवि चापागाई पछिल्लो समय बैंकहरुले बीमा कम्पनीको संस्थागत अभिकर्ता भएर बीमा सेवा पनि दिईरहेका छन् । बैंकहरु पनि बीमा सेवा प्रदान गर्ने कार्यमा संलग्न भएपछि बीमाको पहुँच पनि बढेको छ । दुई वर्षअघि बीमाको पहुँच १० प्रतिशतभन्दा कम रहेकोमा अहिले १७ प्रतिशतभन्दा माथि पुगेको तथ्याङ्कले देखाउँछ । ‘बैंक र बीमा कम्पनी मिलेर बैंकास्योरेन्सको काम हुनु असाध्यै राम्रो काम हो । तर बैंकहरुले बीमा सेवा निःशुल्क भनेर प्रचार प्रसार गर्दा त्यसले भोलिका दिनमा बीमा कम्पनीहरुलाई व्याकफाएर गर्ने स्थिति आउँछ’ अध्यक्ष चापागाई विकासन्युजसँग भने । बैंकहरुले बीमालाई निःशुल्क भनेर प्रचार प्रसार गरेपछि बीमा कम्पनीहरुलाई बजारीकरण गर्न कठिन भएको सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमले भने । ‘बैंकहरुले घातक रोगको उपाचार समेत निःशुल्क भनेर प्रचारप्रसार गरेपछि बीमा कम्पनीहरुले शुल्क लिएर कसरी बीमा गराउन सकिन्छ ?’ गौतमले गम्भिर प्रश्न उठाए । पछिल्लो समय बैंकमा निक्षेप राख्दा वा बैंकबाट कर्जा लिँदा बीमा सित्तैमा हुन्छ भन्ने सन्देश बजारमा गएको र बीमा कम्पनीहरुले सर्बसाधारणलाई बीमा गर्नुपर्छ भन्दा पनि सित्तैमा गर्ने भए मात्र बीमा गर्छु भन्ने तर्क गर्न थालेका बीमकहरुको भनाई छ । सन नेपाल लाइफ इन्स्योरेन्सकाे याेजनामा बीमा शुल्क प्रष्ट लेखिएकाे छ । बैकहरुको नियमक नेपाल राष्ट्र बैक र बीमा कम्पनीको नियामक बीमा समिति भएकाले दुवै निकायले यो विषयमा गम्भीर भई सुधारको काम गर्नु पर्ने देखिएको समितिका अध्यक्ष चापागाईले बताए । ‘तपाईले उठाउनु भएको विषय गम्भिर छ । बीमा सित्तैमा हुनै सक्दैन । निःशुल्क बीमा भनेर प्रचार प्रसार गर्ने कार्य बन्द गर्नुपर्छ’ चापागाईँले भने–‘बैकहरुले निःशुल्क शब्द राख्नुभन्दा ‘रक्षाकवच’ भन्ने शब्द प्रयोग गर्दा उचित हुन्छ ।’ जहाँ प्रिमियम तिरिदैन, त्यहाँ बीमा नहुने अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको भनाई छ । ‘बैकहरु आफैले प्रिमियम तिर्ने भएकाले निःशुल्क भनिएको होला । तर यसमा निःशुल्क शब्द राख्नुको औचित्य छैन’ खत्रीले भने–बैंकहरुको यस्तो अभ्यासले निर्जीवन बीमाको क्षेत्रमा ठूलो असर नपरे पनि जीवन बीमाको क्षेत्रका लागि नकारात्मक असर पर्न सक्छ । बैंकर्सको फरक मत बैंकले बीमा गर्दा सेवाग्राहीसँग शुल्क नलिए पनि बीमा कम्पनीलाई बीमा शुल्क तिरेर नै बीमा गरिएको हुने बैंकर्सहरुको भनाई छ । एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको भन्छन् –‘बैकले एकै ठाउँबाट ग्राहकलाई बैकिङ र बीमाको सुविधा दिएका छन् । बैंकले ग्राहकसँग बीमा शुल्क भनेर नलिए पनि बीमा कम्पनीलाई शुल्क तिरेको हुन्छ । यसले ग्राहक वर्गलाई दोहोरो सुविधा भएको छ ।’ निःशुल्क बीमा भनेपनि प्रिमियम बैकले नै तिर्ने भएकाले यो योजनालाई ग्राहकलाई दिने सुविधाको रुपमा बुझ्न आवश्यक रहेको उनको भनाई छ । जीवनमा जोखिम हुने भएकाले बैकले आफ्ना प्रडक्ट तयार गर्दा बीमा सेवालाई पनि समावेश गरेको जनाउँदै यस्तो सेवाले बीमा तथा बैक दुवैको व्यापारमा सुधार हुदै जाने, ग्राहकलाई पनि सेवा सुविधा राम्रो हुने उनले बताए । कस्ता छन् बैंकका योजना ? नबिल बैकले आफ्नो प्रचार सामाग्रीमा लेखेको छ–‘निःशुल्क बीमा अब बचत खाताबाटै, बीना कुनै बील र बीना कुनै झन्झट’ बैकले व्यक्तिगत बचत खातामा २५ हजार रुपैयाँ वा बढी जम्मा गर्ने ग्राहकलाई ३ लाख सम्मको बीमा निःशुल्क हुने बताएको छ । १३ वटा प्राण घातक रोगका लागि बैकले यो बीमा सुविधा दिने जनाएको छ । साथै, ७५ हजार रुपैयाँ मृत्यु लाभ बीमा सुविधा हुनेछ । त्यस्तै, माछापूच्छ्रे बैकले ल्याएको स्मार्ट बचत योजनामा खातावालको दुर्घट्नामा परि निधन महिनाभरीको असौत वचतको पाँच गुणा वा बढीमा ५ लाख रुपैयाँको बीमा हुने छ । त्यस्तै, एनएमबी बैक र सनराईज बैंकले बचतकर्ताको १० लाखसम्मको बीमा हुने योजना ल्याएका छन् । सरकारको प्रत्यक्ष निर्देशनमा नेपाल बैंकर्स संघले निक्षेपको अधिकतम व्याजदर सीमा तोकेपछि बैंकहरुले बीमा सेवा निःशुल्क भन्दै ग्राहक आकर्षित गर्ने प्रयास गरिरहेका छन् । तर उनीहरूकाे प्रयासले बीमा व्यवसायीहरूकाे लागि जटिल समस्या निम्त्याउँदैछ ।

नाफिजको पहलमा अग्रज पत्रकार बुढाथोकीलाई ९२ हजार आर्थिक सहयोग

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को पहलमा अग्रज आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ९२ हजार रुपैंयाँ सहयोग प्रदान गरिएको छ । नाफिज कार्यसमितिका सचिवालय सदस्य अजमत अलिको समन्वयमा अग्रज पत्रकार बुढाथोकीलाई कतार च्यारिटीले ९२ हजार ४ सय ४२ रुपैंयाँ सहयोग गरेको हो । केहि समयदेखि उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल अट्षक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनका च्यारिटीले सहयोग प्रदान गरेको हो । बुढानिलकण्ठ नगरपालिका कपन स्थित बुढाथोकीको निवासमा पुगेर च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले सहयोग रकम हस्तान्तरण गरे । नाफिजका अध्यक्ष सिताराम भट्टराई, उपाध्यक्ष इन्द्र बानिया, कार्यसमिति सदस्य मोहम्मद अजमत अलिको उपस्तिथीमा शेखले ३ हजार कतारी रियाल बराबरको ९२ हजार ४४२ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । च्यारिटीले हालसम्म १८ जनालाई उपचारार्थ सहयोग गरिसकेको छ । लामो समयदेखि निष्ठाको पत्रकारिता गर्दै आएको बताउदै बुढाथोकीले च्यारिटीको सहयोगप्रति आभार प्रकट गरे । यस प्रकारको सहयोगले आफुलाई आगामी दिनमा पनि निष्ठाको पत्रकारिता गर्न तर्फ प्रोत्साहन मिलेको उनले बताए । बिगत २३ बर्षदेखि आर्थिक क्षेत्रमा कलम चलाउदै आएका बुढाथोकीलाई नाफिजको तर्फबाट यसअघि १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

ग्रिनलाइफ हाइड्रो पावरको शेयर बाँडफाँड, आवेदन दिनेले मागेजति पाए

काठमाडौँ । ग्रिनलाइफ हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाको लागि निष्काशन गरेको साधारण शेयरको आइतबार बाँडफाँड गरिएको छ । बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आयोजना प्रभावित दोलखा जिल्लाका वासिन्दाको लागि शेयर निष्काशन गरिएकोमा माग भन्दा कम आवदेन परेकाले माग बमोजिम सबैले शेयर पाएका छन् । आयोजना प्रभावित क्षेत्रका १२१६ जना स्थानीय वासिन्दाले भरेको आवेदन अनुसार नै १ लाख ३ हजार ६ सय कित्ता शेयर बाँडफाँड गरिएको बीओके क्यापिटलले जनाएको छ । आइतबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौँ प्लाजामा कम्पनी रजिष्ट्रारको कार्यालय, निष्काशन कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टम प्रालिका प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड गरिएको हो ।

सडक विभागमा केशव शर्मा, हटाईए श्रेष्ठ

काठमाडौं । सडक विभागको महानिर्देशक केशब कुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई हटाएर शर्मालाई विभागको नेतृत्व सुम्पिएका हुन् । उनले आइतबारै नियुक्तिको पत्र बुझेका छन् । ‘आजै मात्र पत्र बुँझे, भोलीबाट कार्यालय सम्हाल्छु’, शर्माले भने । महानिर्देशक नियुक्त भएका शर्मा यस अघि सडक विभागकै वैदेशिक समन्वय महाशाखामा कार्यरत थिए । शर्माले आफ्नो नेतृत्वमा सडकहरुको तिब्र निर्माण र गुणस्तरियता अभिवृद्धि गर्ने प्रतिववद्धता व्यक्त गरे ।

सर्किट ब्रेकमा नयाँ व्यवस्था, चैत १९ गतेदेखि कार्यान्वयन हुने

काठमाडौँ । शेयर बजारमा कुनै पनि कम्पनीको शेयर मूल्य चार प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने भएको छ । स्टकले सर्किट ब्रेकको प्रणालीमा नयाँ व्यवस्था गरी यही चैत १९ गते मङ्गलबारदेखि कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकको नयाँ व्यवस्थाअनुसार कारोवार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने भएको छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोवार स्थगित गर्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको छ । स्टकका अनुसार स्वचालित अनलाइन कारोवार प्रणाली कार्यान्वयनमा आएपछि तीन हजार ५५७ लगानीकर्ता समावेश भएका छन् । दैनिक अनलाइन कारोवारमा सक्रिय लगानीकर्ताको सङ्ख्या ५९६ रहेको छ । स्टकले अनलाइन कारोवारका लागि धितोपत्र दलाल व्यवसायीको कार्यालयमा गएर युजरनेम र पासवर्ड लिनसमेत आग्रह गरेको छ । अनलाइन कारोवार प्रणालीलाई थप व्यवस्थित बनाउन ‘नेशनल क्लियरिङ हाउस लिमिटेड’को प्रणालीमा आवद्ध गराई त्यसका सदस्य अन्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइनमा नै रकमको हस्तान्तरणको व्यवस्था मिलाइएको छ ।

सोमबार एघार अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौँ । नियमित रुपमा ट्रेजरी बिल र रिपो बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइताबार एक सूचना प्रकाशित गरी रु ११ अर्ब ६१ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु एक अर्ब बराबरको ट्रेजरी ९१ दिने अवधि, रु तीन अर्बको १८२ दिनका लागि तथा रु चार अर्ब ३६ करोड बराबरको ट्रेजरी बिक्री गर्न लागिएको हो । बैंकले यस अघि चैत ११ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।