विकासन्युज

गाडीमा नक्कली परिचयपत्र देखाए ५ सय रुपैया जरिवाना

काठमाडौं। सार्वजनिक यातायातमा नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने भएको छ। काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५’ ले यो नियम उल्लेख गरिएको छ। विधेयकमा चालक र यात्रुहरुले पालना गर्नुपर्ने नियम जसमा सह-चालकले यात्रुलाई गर्नुपर्ने व्यवहार, गाडीमा जथाभावी फोहोर गर्न नपाईने जस्ता नियम रहेको काठमाडौं नगरपालिकाको प्रवक्त ईश्वोरमान डंगोलले बताए।

बाराका हावाहुरी पीडितलाई राप्रपा (राष्ट्रवादी)को सहयोग

काठमाडौ । केही समय अगाडी बारा जिल्लामा आएको हावाहुरीमा क्षती पुगेका परिवारलाई राप्रपा(राष्ट्रवादी)ले सहयोग गरेको छ । बाराको पुरैनिया तथा भरवलियाका पिडीत परिवारलाई राष्ट्रवादीका सह-महामन्त्री प्रदीपविक्रम राणाले राहात प्रदान गरेका हुन् । पीडित परिवारलाई सहयोग गर्न राप्रपा नेपालका सदस्य जनताको घर, दैलोमा पुगेका थिए । गत शुक्रबार बिहान नेता राणाले पानी, विस्कुट, चाउचाउ देखी बालबालीकालाई आवश्यक पर्ने किताब, कपी लगायतका सामाग्री समेत वितरण गरेका थिए ।  नेता राणाले भने –‘आपत विपतको बेलामा भाईचाराको आवश्यक हुन्छ, त्यसैले हामी तराई पुगेका हौँ ।’

महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो बीमा सम्बन्धी जनचेतना कार्यक्रम

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण अभियान अन्तर्गत चैत्र २३ गते गुल्मीको तम्घासमा बृहत जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अधिकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने उक्त कार्यक्रममा स्वागत मन्तव्य र महालक्ष्मीलाईफको बारेमा क्षेत्रिय प्रमुख अर्जुन गिरीले विस्तृत रूपमा प्रकाश पारेका थिए । कार्यक्रममा नेकपाका नेता हिरा एसी, नेपाली काङग्रेसका महेन्द्र भण्डारी, रेसुंगा नपाका अखिलेश्वर पाण्डे, उद्योग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पाण्डे, नागरिक समाजका अगुवा पदमा प्रसाद पाण्डे जील्ला युवा समितिका अध्यक्ष राजेन्द्र बिक्रम कुवँर, पत्रकार महासंघका तोपलाल अर्याल र लोक दोहरी प्रतिष्ठानका वैकुण्ठ महतले महालक्ष्मी लाईफको उत्तरोत्तर प्रगति र छिट्टै खोलिने शाखा कार्यलयको सफलताको लागि शुभकामना व्यक्त गरे । ट्रेनर सुभाष केसीले अभिकर्ता उत्प्रेरणा बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नयाँ नियुक्त अभिकर्ता र बीमा पोलिसी खरीद गर्ने बिमितहरूलाई सम्मान गरिएको थियो ।

त्रिभुवन विमानस्थल मर्मत शुरु भएपछि २० प्रतिशत उडान कटौति, माउन्टेन फ्लाइट मन्थलीबाट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत कार्य शुरु भएपछि हवाई कम्पनीहरुको २० प्रतिशत उडान कटौति गरेका छन् । तीन महिनासम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनुमति नपाउने भएपछि हेलिकप्टर कम्पनीहरुले वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन् । ३ हेलिकप्टर कम्पनीले माउन्टेन फ्लाइटको लागि रामेछापको मन्थली विमानस्थलबाट उडान भरिरहेका छन् । कम्पनीहरुले दैनिक २५ देखी ३० वटा उडान भरिरहेको विमानस्थल प्रमुख अमित चौरासियले बताए । उनका अनुसार सीता, तारा र समिट एयरले उडान भरिरहेका छन् । हेलिकप्टर सञ्चालनको लागि आयल निगमले मन्थली मै इन्धनको व्यवस्था गरेको छ । दैनिक २ हजार किलोलिटर इन्धन पनि माग नहुने विमानस्थलमा हाल दैनिक ८ हजार किलोलिटर इन्धन बिक्री भैरहेको छ । मन्थली विमानस्थलका लागि निगमले १२ हजार किलोलिटर क्षमताको २ वटा ट्याङकर व्यवस्था गरेको निगमका नायब कार्यकारी निर्देशक शुसिल भट्टराईले जानकारी दिए । हवाई इन्धनको बोक्नका लागि २ नयाँ ट्याङकरको व्यवस्था गरेका छौं, कम्तिमा दैनिक एक ट्याङकरले ढुवानी गरिरहेको छ, निर्देशक भट्टराईले भने–‘इन्धन अभावमा कुनैपनि व्यवसाय रोकिनु हुँदैन ।’ यात्रु नभएपछि काठमाडौं-मन्थली उडान प्रभावित नागरिक उड्ययन प्राधिकरणका अनुसार यात्रु नभएपछि काठमाडौं मन्थली उडान नियमित हुन सकेको छैन । सीता एयरले हप्ताको १ दिन बिहिबार उडान गर्दै आएको थियो । यात्रु अभावकै कारण नियमित उडान गर्न नसकेको विमानस्थल प्रमुख चौरासियले बताए । सीता एयरको मन्थली उडान स्थगित गर्ने या नगर्ने विषयमा थप छलफल भैरहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए ।

बजेट छलफलका लागि सातै प्रदेश धाउँदै अर्थ समिति; ‘भन्सारमा गएर केही हुँदैन’

काठमाडौं । सरकारले जेठ १५ गते ल्याउने आर्थिक वर्ष २०७५/७६ को बजेटबारे सुझाव संकलन गर्न अर्थ समिति सातै प्रदेशमा जाने भएको छ । समितिअन्तर्गत रहेका २५ सदस्यमध्येबाट १२/१२ जनाको दुईओटा समिति बनाउने र देशभरका मुख्य भन्सार कार्यालय, प्रदेश सरकार र प्रदेशको संसदका सम्बन्धित समितिहरुसँग छलफल गर्ने उद्देश्यले यस्तो गर्न लागिएको समितिका सभापति कृष्ण दाहालले जानकारी दिए । एउटा समितिले प्रदेश १, प्रदेश २ र प्रदेश ३ र अर्को सकितिले गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा छलफल गर्नेगरी तयारी गरेको हो । यस्तो छलफलले सरकारलाई बजेटका सम्बन्धमा उपयुक्त सुझाव दिने र सरकारलाई संसदप्रति र संसदलाई जनताप्रति उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास गरेको सभापति दाहालले बताए । पहिलो टोलीले हेटौंडा, वीरगञ्ज, जनकपुर, विराटनगर, मेची भन्सार लगायतका स्थानहरुमा एक हप्ते अन्तरक्रिया गर्ने बताइएको छ । त्यस्तै दोस्रो टोलीले पोखरा, बुटवल भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी लगाउतका स्थानमा ८ दिने भ्रमण र अन्तरक्रिया गर्ने कार्यक्रम समितिले तय गरेको हो । ‘भन्सार चहारेर केही हुँदैन’ पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थ समितिले बजेट छलफलको नाममा भन्सार कार्यालय वा संघीय तह अन्तर्गतका अर्यालयमा धाएर केही उपलब्धी नहुने भन्दै छलफललाई विगतको निरन्तरताकै रुपमा भन्दा पनि उपलब्धिमूलक रुपमा लैजानुपर्ने बताएका छन् । सभापति दाहालको प्रस्तावमा सुझाव प्रस्तुत गर्दै उनले भन्सार कार्यालयमा गयो भने कर्मचारीले आसिकोडा लागु भएको, ठिजिटल सिस्टभ भएको जस्ता शब्दजालमा फसाइदिने भन्दै प्रदेश तह, स्थानीय तहका समस्याहरुबारे अन्तरक्रिया गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश र स्थानीय तहका निजी क्षेत्रहरुसँग समेत छलफल गर्न सके राम्रो नतिजा आउनसक्ने समेत बताए । ‘गाउँगाउँमा स्थानीय तहले भेरै कर लिएको गुनासो आइरहेको छ, साँचै गाउँपालिकाले शेरै शुल्क उठाएका हुन् कि कर नै तिर्ने बानी नपरकाहरुले त्यसै त्यस्तो भनेका हुन् भन्ने बुझ्नुपर्छ । गाउँगाउँमा जाऔं, समस्या बुझौं, भन्सारमा जानु पर्दैन, संघीय सरकारलाई विश्वास नगरेरै हामी गाउँगाउँमा जानुपरेको हो ।’ पाण्डेले भने ।

बाराका हावाहुरी प्रभावितलाई सनराइज बैंकको सहयोग

काठमाडौँ । सनराइज बैंकले १७ चैत्रमा आएको विनाशकारी हुरीका कारण बारामा प्रभावित हर्दिया र पर्शुराम गाउँका २०० पीडित परिवारहरुलाई सहयोग गरेको छ । दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु जस्तै भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको हो । हावहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको छ ।

ओपोको एफसिरिज अन्तर्गत एफ११ प्रो आउँदै, यस्तो हुनेछ विशेषता

काठमाडौं । ओपोको लोकप्रिय एफसिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुने भएको छ । एफसिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फङ्सनका साथै नयाँ फोनमा एफनाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरुपनि उपलब्ध गरिने छ । सार्वजनिक हुने तयारीमा रहेको एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् । यसले उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । परम्परागत मोबाइलसंग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने जनाइएको छ ।

काठमाडौँमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न

काठमाडौँ । काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन८८३को टेष्टराइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए । त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयरपार्ट्सको वारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो । आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन्२०१८को नाडा अटोशो मार्फत नेपालमा पहिलोपटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्वस्तरीय सोरुम रहेको छ।