विकासन्युज

नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने: विश्व बैंक

काठमाडौं । विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले सन् २०२१ सम्मको आर्थिक वृद्धिदर प्रक्षेपण गर्दै बैंकले सो आवमा नेपालको ६।२ प्रतिशत रहने प्रक्षेपण गरेको हो । सन् २०२० मा भने नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने अनुमान अध्ययनले देखाएको छ । दक्षिण एशियामा यो अवधिमा सबैभन्दा बढी भारतले गर्ने तथ्यांकमा उल्लेख गरिएको छ । भारतको आर्थिक वृद्धिदर सन् २०१९ मा साढे सात प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ। बैंकले उसको प्रतिवेदनमा यी क्षेत्रका देशहरू आन्तरिक बजारमा सिर्जित मागबाट चलिरहेको भन्दै उनीहरुले निर्यात व्यापार वृद्धि गरी व्यापार घाटा घटाउने र चालु खाता नोक्सानी कम गर्नुपर्ने उल्लेख गरेको छ । दक्षिण एशियामा सबैभन्दा कम आर्थिक वृद्धि गर्ने देशको सूचीमा अफगानिस्तान परेको छ । अफगानिस्तानको सन् २०१९ मा साढे दुई प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । यद्यपि अफगानिस्तानले पछिल्ला दुई वर्षमा भने वृद्धिदर सुधार गर्दै लैजाने भएको छ । सन् २०२१ सम्म साढे तीन प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान बैंकको हो। विश्व बैंकले यो उच्च दरको आर्थिक विकास हासिल गर्नका लागि निर्यातलाई प्रवद्र्धन गरेको छ । समग्रमा बैंकले दक्षिण एसियाले सन् २०१९ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने बताएको छ । आगामी सन् २०२० र २०२१ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि यो क्षेत्रमा हासिल हुन विश्व बैंकले उल्लेख गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

गृहको सर्कुलर रोक्न सर्वोच्चको अन्तरिम आदेशः रोकियो ‘वंशजको आधारमा नागरिकता’

काठमाडौं । वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ । वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा सर्कुलर गरेको थियो । गृह मन्त्री रामबहादुर थापाको एकल निर्णय अनुरुप गरिएको उक्त सर्कुलर संविधान र नेपाल नागरिकता ऐनविरुद्ध भएको दाबीसहित वरिष्ठ अधिवक्ता बालृकष्ण नेउपानेले सर्वोच्चमा रिट दिएका थिए। जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा प्रक्रिया अपनाई दिन गृहमन्त्रीको निर्देशन थियो । उक्त रिटमा सुनुवाईपछि सर्वोच्च्का न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय र गृह मन्त्री रामबहादुर थापा बादलका नाममा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । वंशजको आधारमा नागरिता वितरणसम्बन्धमा गृहको सर्कुलर रोक्न अन्तरिम आदेश भए पनि लिखित आदेश भने मंगलबार मात्र आउने सर्वोच्चले जनाएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न पेश गरेका विधेक हाल संघीय संसदमा विचाराधीन रहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिका नाममा

काठमाडौँ । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभिक्रको जग्गा व्यत्तिका नाममा दर्ता भइसकेको फेला पारेको हो । समितिको प्रतिवेदनअनुसार बालुवाटार र वरपरको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको छ । सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएको जग्गाको हिनामिनासम्बन्धी छानबिन समितिले गत माघ २६ मा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । तत्कालीन राजा वीरेन्द्रबाट आफ्ना ‘चाकरीदार’ लाई साढे १२ रोपनी बाँडेको र नक्कली गुठीका नाममा साढे ३ रोपनी अतिक्रमण भएकाले ललिता निवासमा सरकारले अधिग्रहण गरेको जग्गा थप साँघुरिएको प्रतिवेदनमा उल्लेख छ । बबरमहलको १२ रोपनी १२ आनासमेत हिसाब गर्दा कुल अतिक्रमित बहुमूल्य जग्गाको परिमाण १४१ रोपनी पुगेको छ । त्रितालले प्रतिवेदन बुझाउने क्रममा प्रधानमन्त्री केपी ओलीलाई भनेका थिए, ‘भूमाफिया र भ्रष्ट कर्मचारीलाई कारबाही नगर्ने हो प्रधानमन्त्रीज्यू तपाईं यो सरकारी निवासबाटै अन्यत्र सर्न बाध्य हुनुहुनेछ । जहाँ (बालुवाटार निवास) बसेर प्रतिवेदन बुझिरहनुभएको छ, त्यो जग्गा व्यक्तिको नाममा छ ।’ उनले प्रधानमन्त्रीलाई अरू प्रतिवेदनजस्तै यो प्रतिवेदन पनि कार्यान्वयन नगरी नथन्कियोस् भन्ने आग्रहसमेत गरेका थिए । सरकारले जग्गा प्राप्ति ऐन २०१८ बमोजिम २०२१ मंसिर १५ मा निर्णय गरी बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको २९९ रोपनी ९ आना ३ दाम जग्गामध्ये २८४ रोपनी १४ आना ३ दाम जग्गा मुआब्जा दिई अधिग्रहण गरेको हो । ललिता निवास र त्यसले चर्चेको जग्गा कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर जबराका नाममा थियो । ललिता निवासकै अधिग्रहण गरिएको जग्गामा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवास, राष्ट्र बैंक र अतिथि निवास छन्, तिनले चर्चेको जग्गाको क्षेत्रफल १२० रोपनी १ आना ३ पैसा छ । २८४ रोपनी १४ आना ३ दाम जग्गा अधिग्रहण गरिएकामा अतिक्रमणपछि अब १२० रोपनी १ आना ३ पैसा छ । केही जग्गा सडकमा परेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

आशलाग्दा दुई जलविद्युतकाे आईपीओ बैशाख ६ गतेदेखि; सस्तो लागत, तत्कालै सूचीकरण

काठमाडौं । राम्रो प्रतिफल र शेयरमूल्यको आशा गरिएका दुई जलविद्युत् कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बैशाख ६ गतेदेखि खुला हुने भएको छ । केही दिनअघि मात्रै जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समेटिएको साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको आईपीओ खुल्न लागेको हो । सान्जेन जलविद्युत्को ४९ लाख ८२ हजार २५० कित्ता तथा रसुवागढीको ९३ लाख ३९ हजार ४६७ कित्ता समेत गरी १ करोड ४३ लाख २१ हजार ७१७ कित्ता शेयर निष्कासनका लागि मंगलबार आह्वानपत्र प्रकाशन गरिएको छ । उल्लेखित दुवै कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी र नेपाल विद्युत् प्राधिकरणको बहुसंख्यक लगानी छ । हाल रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत १४ करोड ५७ लाख रुपैंया प्रतिमेगावाट छ भने यसले आगामी फागुनदेखि व्यवसायिक विद्युत् उत्पादन गर्ने जनाइएको छ । त्यस्तै, सान्जेन जलविद्युत् कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताकाको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यी आयोगनाहरु आगामी पुस मध्यसम्म सञ्चालनमा आउने प्रक्षेपण गरिएको छ । यी आयोजनाहरुसँग नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् खरिद सम्झौता अनुसार उनीहरुले न्यूनतम ४.८० रुपैंयादेखि १०.६४ रुपैंया प्रतियुनिट रमक प्राप्त गर्नेछन् । सुरुको अवस्थामा भने वर्षायाममा प्रतिमेगावाट ४.८० रुपैंया र हिउँदमा ८.४० रुपैंया पीपीए दर तोकिएको छ । उक्त आयोजनाहरुका लागि न्यूनतम प्रतिकित्ता ५० कित्ता र अधिकतम ५००० कित्ता शेयरका लागि आवेदन दिन सकिन्छ । जनताको जलविद्युत् आयोजना अन्तर्गत समेटिए पनि यी कम्पनीहरुको भौतिक प्रगति ५० प्रतिशत नाघिसकेको कारणले यसको भने प्रतिकित्ता १०० रुपैंयाका दरले नै भुक्तानी गर्नुपर्ने छ । आयोजनाको छिटोमा माघ १० गते र ढिलोमा जेठ ५ गते बन्द हुनेछ । सान्जेन जलविद्युत्को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल र एनएमबि क्यापिटललाई तोकिएको छ । त्यस्तै, रसुवागढीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह निष्कासन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल छन् । सस्तो लागत, तत्कालै सूचीकरण यी कम्पनीहरुको शेयरकोे विशेषता भनेकै अन्य आयोजनाहरु भन्दा सस्तो र जनताको जलविद्युत् आयोजना अन्तर्गतकै अरु कम्पनीहरुको भन्दा छिटो सूचीकरण हुने हो । हालसालै जारी भएका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा सस्तो र राम्रो आयोजनामध्यकै सस्तो आयोजनाको रुपमा यी दुई कम्पनीहरुलाई लिइन्छ । द्रुत गतिमा काम भइरहेको र समयमै आयोजना निर्माण हुने अपेक्षा गरिएका कारण यी दुवै आयोजनाहरुको लागत प्रतिमेगावाट १५ करोड भन्दा कम नै पर्ने अपेक्षा गरिएको छ । जबकी ९८ प्रतिशत भौतिक प्रगति सकिएको माथिल्लो तामाकोशी आयोजनाको लागत प्रतिमेगावाट १५ करोड माथि पुग्ने निश्चित भइसकेको छ । निजी क्षेत्रका आयोजनाहरुको प्रतिमेगावाट लागत तुलनात्मक रुपमा यी आयोजना भन्दा बढी छ । आँखुखोला जलविद्युत् आयोजनाको लागत त २९ करोड रुपैंया माथि थियो । जनताको जलविद्युत् आयोजनामा समेटिएका अन्य कम्पनीहरुले कल इन एड्भान्स बापत १० प्रतिशत रकम संकलन गर्ने भए पनि ती आयोजनाहरुको शेयर प्राग्त गर्न बर्षौसम्म कुर्नुपर्ने अवस्था रहन्छ । ५० प्रतिशत भौतिक प्रगतिबिना आईपीओ जारी गर्न नपाउने कारणले शेयर पाउन ढिला हुने अवस्थामा जनताको जलविद्युत् अन्तर्गत नै समेटिएका यी दुई कम्पनीहरुको शेयर भने तत्कालै सूचीकरण हुन्छ ।

निगमको जापान उडान सुनिश्चित, जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापान उडान सुनिश्चित भएको छ । जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले जनाएको छ । जापान उडानका लागि सम्पूर्ण कागजात आज जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई बुझाइएकाले उडान सुनिश्चित भएको निगमका एक उच्च अधिकारीले जानकारी दिए । श्रोतका अनुसार काठमाडौँ–जापान उडानका लागि नेपाली समयअनुसार बिहान २ः४० बजे पाएको छ भने जापानबाट १३ः५५ (जापानको समयअनुसार) बजेको उडान पाएको छ । यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो । निगमले जेक्याबबाट उडान अनुमति पाएको ३० देखि ४५ दिनभित्र आन्तरिक तयारी गर्नुपर्ने हुन्छ । वाइड बडी ए–३३० जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा साताकोे सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना बनाएको छ । ओसाकापछि नारिता अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि निगमले कागजी प्रक्रिया अघि बढाइसकेको छ । नारिताका लागि पनि साताकोे तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने योजना बनाइएको छ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको रहेको छ भने ओसाका–काठमाडौँ उडान समयावधि साढे सात घण्टाको हुनेछ । निगमले जापान उडानका लागि देशीय निर्देशक ‘कन्ट्री म्यानेजर’, फ्युलिङ, क्यटरिङ, कार्यालय, टिकट काउन्टर, ग्राउण्ड ह्याण्डलिङ, सेक्युरिटीलगायत आवश्यक व्यवस्था गरिसकेको जनाएको छ । रासस

धरानमा बस दुर्घटन हुँदा चालक सहित चारको मृत्यु

धरान । धरान–१३ जिरोप्वाइन्ट नजिकमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ । ब्रेकफेल भएर पाँच सय मिटर अगाडिदेखि अनियन्त्रित हुँदै आएको ना६ख २७१३ नंको यात्रुबाहक बस जिरोप्वाइन्ट नजिकैको विजुली पोलमा ठोक्किएर दुर्घटना हुँदा चालक छत्रबहादुर गुरुङको च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । धरान उपमहानगरपालिका ८ का चालक गुरुङ लामो समयदेखि पहाडी रुटमा बस चलाउदै आएको थियो । गुरुङले बसको ब्रेक फेल भएको थाहा पाएपछि क्षति कम गराउन खोजेको प्रहरीको भनाइ छ । यसैगरी दुर्घटनामा धनकुटा चौबिसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र उनको ८ वर्षीया छोरी डेनी मगरको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । ‘ड्राइभरले सके सम्म क्षति कम गराउन खोजेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले भने ‘चालकको घटनास्थलमा नै मृत्यु भयो ।’ जिरो प्वाइन्टबाट दक्षिणतर्फ बाक्लो बस्ती छ । गाडी बजार प्रवेश गरेको भए अझ बढी क्षति हुने सम्भावना थियो । दुर्घटनामा घाइते हुनेको सङ्ख्या ३९ पुगेको छ । उनीहरुकोे उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । रासस

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउने, नेपाली व्यवसायीसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डल नेपाल आउने भएको छ । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरु सम्मिलित सो प्रतिनिधिमण्डलले यही बैशाख ५ गते विहिवारका दिन काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलको दरबार हलमा नेपाली व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आयोजकको तर्फबाट उक्त अन्तरक्रियामा भाग लिन इच्छुक नेपाली व्यापारी तथा खरीदकर्ताहरुलाई आव्हान गरिएको छ । यो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबाट नेपाली व्यवसायीहरुका लागि ताइवानी उत्पादक तथा आपुर्तिकर्ताहरुसँग आफ्नो व्यापार विस्तार गर्ने राम्रो अवसर हुन सक्ने आयोजकको विश्वास छ । उक्त प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेशिन, खाद्य पदार्थ तथा जुस, स्टील पाता तथा कोइला, एलईडी बत्ती तथा संख्यात्मक डिस्प्ले, सीसीटीभि क्यामेरा तथा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका बिषयमा छलफल गर्न सकिने कुरा आयोजकका तर्फबाट नेपालका लागी सम्पर्क व्यक्ति दर्शन न्यौपानेले जानकारी दिए ।

एनबीआई र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौँ । नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनबीआई) र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि आइतबार सम्झौता भएको छ । उक्त सम्झौतामा नेशनल बैंकिङ ईन्स्टिच्यूटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका छन् । यस सम्झौता पत्र अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाईल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै, बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।