विकासन्युज

माथिल्लो तामाकोशीको प्रगति हेरेपछि कुलमानको निर्देशन-‘निर्धारित मितिभित्र काम सक्नू’

दोलखा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । माथिल्लो तामाकोशी आयोजनाको शनिबार र आइतबार स्थलगत निरीक्षण गरी गर्दै यस्तो निर्देशन दिएका हुन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको गत चैत ९ गतेको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक पनि गरेका छन् । मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए । बैठकमा टेक्स्म्याकोका मुख्य कार्यलयका प्रमुख कार्यलयका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जिसी अग्रवाल लगायत प्रमुख डिजाइन र इरेक्सेन इन्जिनियरहरु, सिभिल ठेकेदार सिनो हाइड्रोका आयोजना प्रमुख, एन्ड्रिज हाइड्रोका साइट प्रतिनिधि र परामर्शदाताका प्रतिनिधिहरुको उपस्थिति थियो । ‘माथिल्लो तामाकोसीको लगानी गरेकाले आयोजनाको निर्माण कहिले सकिन्छ भन्नेमा हरेक नेपालीको चासो छ, त्यसैले व्यवस्थापन र स्वामित्व लिएर कामलाई तिब्रता दिनुहोस्’,घिसिङले निर्देशन दिए । ‘विद्युत गृहको काम सकिएर त्यहाँ रहेका टर्वाइनहरु पानी पर्खिएर बसेका छन्, मुलुकको अर्थतन्त्रलाई ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने राष्ट्रिय गौरबको आयोजनाको आपूmले लिएको जिम्मेबारी छिट्टो पूरा गरी दिनुहोस् ।’ बैठकमा टेक्स्म्याकोका सिइओ अग्रवालले लगायत अन्य ठेकेदार कम्पनीले आ–आफ्नो काम एक अर्कासँग समन्वय गरी निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । ‘हामीलाई अवसर दिनुहोस्, हाम्रो काम निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध छौं’अग्रवाललले भने । के छ प्रगति ? बैठकमा आयोजनाको अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिका बारेमा विस्तृत छलफल तथा समीक्षा गरिएको थियो । त्यस्तै बाँध, इन्टेक र बालुवा थिग्रयाउने पोखरीमा आगामी जेठ महिनाको पहिलो साताभित्रमा पानी भरी परीक्षण गर्नेबारे छलफल भएको थियो । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा वैशाख २२ भित्रमा पेनस्टक पाइप जडान सुरु हुने भएको छ । माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा पेनस्टक पाइन जडान सुरु हुने छ । आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नु पर्ने छ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपहरु जडान भइसकेका छन् । अब ती बेण्ड पाइपहरुभन्दा माथि पाइपहरु जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ । ‘हेडवक्र्सका संरचनाहरुमा आगामी जेठको महिलो साताभित्र पानी भरी संरचना र गेटहरुको परीक्षण सुरु गरिसक्नु पर्छ’,घिसिङले निर्देशन दिंदै भने । ‘मुख्य सुरुङमा कंक्रिट लाइनिङको काम छिट्टो सक्नुहोस् ।’ २०७२ को विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको थियो । आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर, लट २को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ (३१ डिसेम्बर २०१९) भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो । अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संसोधित अनुमान छ । निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ । आयोजनामा कर्मचारी संचय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २÷२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् । कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर छ ।कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०,संचय कोषका संचयकर्ता,कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत सेयर छ ।

सोमबार एक्कासी सुन प्रतितोला ५ सयले बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । गत बिहिबार प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन लामो समयसम्म यथावत मूल्य कार्यम गरेको थियो भने सोमबार एक्कासी ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि लामो समय सम्म सोही मूल्यमा कारोबार भएको थियो भने सोमबार ५९ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छ । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ७३० रुपैयाँमा कारोबार भईरहेको छ ।

निजीकरण गरिएका १८ उद्योगमाथि छानविन गर्दै सरकार

काठमाडौं । अर्थ मन्त्रालयले निजीकरण गरिएका १८ वटा उद्योगहरुमाथि छानविन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको पूर्व तयारीमा रहेको मन्त्रालयले बजेट अगावै १८ उद्योगहरुको अवस्थाबारे सुक्ष्म अध्ययन गर्न लागेको हो । सरकारले निजीकरण ऐन २०५० मार्फत सरकारी उद्योग तथा संस्थानहरु निजीकरण आरम्भ गरेको थियो । सो ऐन आएपछि १८ वटा सरकारी उद्योग तथा संस्थानहरु निजीकरण गरिएका थिए भने १५ वटा उद्योग बन्द गरिएका थिए । सञ्चालन गर्ने सम्झौता गरेर निजीकरण गरिएका १८ वटा उद्योग मध्ये हाल १२ वटा मात्रै सञ्चालनमा रहेका छन् । बाँकी ६ वटा बन्द गरिएका छन् । निजीकरणको सम्झौता अनुसार सञ्चालन नगरि बन्द गरिएको हरिसिद्धि इँटाटायल कारखानाको जग्गा समेत प्लटिङ गरेर बेचिसकिएको छ । निजीकरण गरिएका मध्ये भृकुटी कागज कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, काँचो छाला सङ्कलन तथा बिक्री कम्पनी, बालाजु कपडा उद्योग, विराटनगर जुट मिल्स सञ्चालनमा छैनन् । ‘निजीकरण गरिएका उद्योगहरुको अवस्था दयनिय बन्दै गएको छ, यत्तिकै छोड्ने अवस्था छैन्, अब सुक्ष्म अध्ययन गर्छाै’, अर्थ मन्त्रालय श्रोतले भन्यो । अर्थमन्त्री डा.युवराज खतिवडाले नै निजीकरणबारे समिक्षा आवश्यक रहेको बताउँदै आएका छन् । उनले निजीकरणको उपलब्धि खोजिनुपर्ने बताईरहेका थिए । दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकारका अधिकांश नेताहरुले निजीकरणका नाममा सरकारी उद्योगहरु कौडीको भाउमा बेचिएको आरोप लगाउँदै आएका थिए । ‘अर्थमन्त्रीज्यले नै पनि निजीकरण गरिएका उद्योगहरुको अवस्थाबारे विस्तृत अध्ययन आवश्यक रहेको बताउनु भएको छ, निजीकरणको मर्म पुरा भयो की भएन भनेर हेर्छाै’, अर्थ मन्त्रालय स्राेत भन्यो । निजीकरण गरिएका उद्योगहरुको अवस्था नाजुक रहेको महालेखा परिक्षकको प्रतिवेदनले समेत उजागर गरेको थियो । महालेखाको प्रतिवेदनमा लेखिएको छ–‘निजीकरण गर्दा सञ्चालन गरीे रोजगारी तथा उत्पादनमा टेवा पुर्याउने शर्तमा निजीकरण भएका १८ संस्थानमध्ये हाल १२ संस्थामात्र सञ्चालनमा रहेका छन् । भृकुटी कागज कारखाना, हरिसिद्धि इँटाटायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, काँचो छाला सङ्कलन तथा बिक्री कम्पनी, बालाजु कपडा उद्योग, विराटनगर जुट मिल्स सञ्चालनमा नरहेको र हरिसिद्धि इँटाटायल कारखानाको जग्गा जमिनसमेत प्लटिङ गरी बिक्री गरेको अवस्था छ । उद्योगहरु सम्झौता तथा प्रस्तावनाअनुसार सञ्चालन नभएकोमा सम्बन्धित निकाय र मन्त्रालयबाट थप कारबाही भएको देखिएन ।’ सञ्चालित १२ संस्थामध्ये नेपाल बिटुमिन तथा ब्यारेल उद्योग, नेपाल बैंक लिमिटेड, नेपाल चिया विकास निगम, बुटवल पावर कम्पनी, नेपाल दूरसञ्चार कम्पनी मात्रै नाफामा रहेका छन् । चलचित्र विकास कम्पनी पुनः बिक्री भएको छ भने रघुपति जुट मिल्समा जग्गा विवाद रहेको छ । नेपाल रोजिन एण्ड टर्पेन्टाइन लिमिटेड घाटामा सञ्चालनमा भैरहेको छ । महालेखाले निजीकरण ऐन, २०५० आएपछि निजिकरणले गति लिएपनि पछिल्ला वर्षहरुमा यो कार्य प्रभावकारी नभएको, निजीकृत संस्थापनि सञ्चालन गर्ने घोषणा गरे पनि पुनः बन्द गरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । खारेज भई सञ्चालनमा नरहेका संस्थाका लागि मात्रै आर्थिक बर्ष २०७३/७४ मा सरकारले २० करोड ५९ लाख रुपैंयाँ तलब भत्ताका लागि वितरण गरेको छ । महालेखाले अघि भनेको छ- ‘निजीकृत तथा निजीकरण हुन बाँकी रहेका सार्वजनिक संस्थाको पुनः वर्गिकरण गरी सञ्चालन हुने र नहुने, कार्यदक्षता भएका र नभएका छुट्याई एक आपसमा गाभ्ने, खारेजी वा सञ्चालन गर्ने सम्बन्धमा स्पष्ट नीति तय गर्नुपर्दछ ।’

६७ वर्षदेखि ग्राहकको मन जितेर टिकेको छ ‘माइ सप ड्राइक्लिनिङ’: निलम हर्जनी

तत्कालीन राजा त्रिभुवनले नै नेपालमा ड्राईक्लिनिङ ल्याउन सल्लाह दिएपछि २००८ मा स्थापना भएको माई सप ड्राईक्लिनिङ अहिले भक्तपुरको नयाँ ठिमी, राधेराधेमा ४ रोपानी क्षेत्रफलमा संचालन भैरहेको छ । व्यवसाय हो भनेर जानकारी नै नहुँदा बागबजार स्थित सल्यानी राजाको दरवारमा उद्योग र पसलको रुपमा न्युरोडबाट संचालन भएको थियो । राजाको अनुरोधमा रानीको लुगा धुन नेपालमा ल्याइएको ड्राईक्लिनिङ अहिले कसरी चलिरहेको छ ? माई सप ड्राईक्लिनिङका संचालिका निलम हर्जनीसँग विकासन्यूजका लागि राजाराम न्यौपानेले गर्नु भएको कुराकानीः नेपालको पहिलो ड्राईक्लिनिङको रुपमा माई सप ड्राईक्लिनिङ कसरी स्थापना भयो ? मेरो ससुरा गुलाब एस हर्जानी कोलकत्ता स्थित रामलक्ष्मण एण्ड कम्पनी ज्वेलरमा जागिर खान्थे । यही शिलशिलामा नेपालमा आउँदा सो पसलमा बनाएका गहना मेरा ससुराले राज दरबारमा राजा त्रिभुवन हुँदा बिक्री गर्न ल्याउनु हुन्थो । सोही सिल्लसिलामा राजघरानाका कपडाहरु ड्राईक्लिनिङका लागि उहाँसँगै कोलकत्ता पठाइन्थ्यो । नेपालमा पनि ड्राईक्लिनिङ उद्योग खोल्न आवश्यक ठानेर राजा त्रिभुवनले मेरो ससुरालाई लुगाधुने उद्योग स्थापित गर्न लगाउनु भयो । मेरो ससुराको साथीको कोलकत्ता शहरमा एउटा चर्चित ड्राईक्लिनिङ उद्योग भएकोले यस सम्बन्धी सम्पूर्ण काम सिकेर स्वीडेनबाट ड्राईक्लिनिङका मेसिनहरु आयात गरी नेपालमा नै प्रथम ड्राईक्लिनिङको रुपमा २००८ स्थापना गर्नु भएको हो । शुरु शुरुमा कसरी सञ्चालन भएको थियो माई सोप ड्राइक्लिनिक ? मलाई लागछ त्यस बेला राजाको सल्लाहमा नेपालमा आएको माई सप ड्राईक्लिनिङमा राजा महाराजहरुको मात्रै लुगा ड्राईक्लिनिङ गरिन्थो । राजाकै अनुरोधमा नेपालमा आएको ड्राईक्लिनिङ राम्रोसँग नै चलेको थियो । पहिले राम्रो गरेको कारणले नै अहिले बजारमा माई सप ड्राईक्लिनिङको व्यवसाय राम्ररी अघि बढेको छ । माई सप एक ब्रान्ड हो । यसलाई पुरानो र नयाँ पिंढी दुवैले रुचाएका छन् । अहिले माई सपको कति वटा शाखा छन् ? अहिले काठमाडौँ, ललितपुर र भक्तपुरमा गरेर ७ वटा शाखा छ । हाल अनामनगर, न्युरोड, मिड बानेश्वर, कुलेश्वर , कुमारीपाटी, महाराजगंज र नयाँ थिमीमा शाखाहरु संचालनमा छन् । ड्राईक्लिनिङमा पुराना भएका र रङ उठेका कपडाहरुलाई केही गर्न सकिन्छ ? हामीले कपडाको मेट्रियल हेरेर कलर गर्न मिल्ने कपडाहरुलाई ग्राहकको इच्छा अनुसारको कलर गरेर दिने गरेका छौँ । हामीकोमा ग्राहकले चाहे अनुसारको रंग गरी उहाँहरुको चाहानालाई पूरा गरी कपडालाई नयाँ जस्तै बनाउँछौँ । अरु ड्राईक्लिनिङ छाडेर तपाईँहरुकोमा नै ग्राहक किन आउने ? सर्वप्रथम ग्राहकको सन्तुष्टिलाई बिचार गरेर ग्राहकको माग अनुसारको सेवा दिने कारणले गर्दा नै ग्राहकहरुले माई सप नै रोज्नु हुन्छ । हामीले कपडाको दाग पहिचान गरेर मात्रै कपडालाई सफाई गर्ने गरेका छौँ । कुन कपडालाई कुन प्रक्रियामा सफार्इ गर्ने भनेर हेर्नका लागि हामीसँग दक्ष कर्मचारीहरु छन् । स्वयम् यस क्षेत्रमा गहिरो ज्ञान संचालकसँग नै हुनु पर्ने एकदमै जरुरी छ । नेपालमा नै एक मात्र आधुनिक मेसिन प्रयोगमा ल्याएका छौँ । कपडाको गुणस्तर र प्रकृति फरक फरक हुन्छ । त्यहि अनुसार काम गर्ने गरेका छौं । नक्कली कपडा माथिको डेकोरेशनलाई विचार पुर्याएर काम गर्नु पर्ने भएका कारण जोकोहिलाई काम गर्न धेरै नै गाह्रो हुने गरेको छ । साथै प्रत्येक कपडालाई गहिराईमा जाँच गरेर सावधानी पूर्वक काम गर्ने स्थिति आएको छ । यहाँ काम गर्ने व्यक्तिहरु धेरै अनुभवी पनि छन् । लामो समयसम्म ग्राहकलाई सन्तुष्टी गर्नु नै हाम्रो सफलता हो । प्रत्येक विभागमा एक योग्य पर्यवेक्षक राखेर अनुगमन गरी रहने गरेका छौं । माई सपले कस्ता लुगालाई कसरी ड्राईक्लिनिङ गर्छ ? कोट, साडी, ज्याकेट, कार्पेट, ब्लाङ्केट, डल लगायतका सबै प्रकारका कपडाहरुको ड्राईक्लिनिङ गरिन्छ । अरुले भन्दा अत्याधुनिक मेसिन प्रयोग गरेर सस्तोमा ड्राईक्लिनिङ गर्छौँ । विशेष केमिकलको प्रयोग गरिने भएकोले ड्राईक्लिनिङ गर्दा कपडाहरु राम्रो हुन्छन् । ग्राहकको मागलाई मध्यनजार गरेर हामीले वबहान ९ बजे देखि बेलुका ७ बजेसम्म ग्राहकलाई सेवा दिने गरेका छौँ । ड्राईक्लिनिङ गर्दा कपडाको गुणस्तर ह्रास हुने संभावना कत्तिको रहन्छ ? कपडा ड्राईक्लिनिङ गर्ने क्रममा गुणस्तरमा कुनै कमी आउँदैन । हामी गुणस्तरमा निकै सजगपनि छौँ । समयमा नै ड्राईक्लिनिङ नगर्दा कपडामा दागहरु पक्का भएर आउँछन र त्यो दागहरुलाई हटाउन गाह्रो हुन्छ । त्यसैले समयमा नै लुगाको सफाई गरेमा लुगाको आयु बढ्छ । समयमा नै कपडालाई ड्राईक्लिनिङ गर्दा कपडालाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ । विशेष गरेर तेलको दागहरुलाई चाँडो नै सफा गर्नु पर्ने हुन्छ । कपडाहरु ग्राहकबाट लिदा नै राम्रोसँग चेक गरेर लिने गरेका छौँ । यति गर्दा गर्दै पनि कपडामा समस्या आएको खडमा ग्राहकसँगको सहकार्यमा सेवा दिने गरेका छौँ । ड्राईक्लिनिङको बजार कस्तो छ ? भविष्यमा कस्तो हुने देख्नु भएको छ ? व्यस्त सहरी जीवन शैलीका कारणले र कपडाको महत्व बुझेको कारणले गर्दा ड्राईक्लिनिङ बजार राम्रो छ । विश्वसनीयता तथा सिर्जनशीलतालाई निरन्तर कायम राख्ने गरेका छौँ । मानिस दिनप्रतिनिन बिजी हुँदै गहिरहेका र प्रविधिको प्रयोग गरेर सफाई गर्नु पर्ने कपडाको माग बढ्दै गएकाले पनि भविष्यमा ड्राईक्लिनिङको बजार राम्रो छ । ड्राईक्लिनिङको ग्राहक को हुन् ? जो व्यक्तिहरुले कपडाको महत्व बुझेका छन्, तिनीहरु नै हाम्रा ग्राहक हुन् । समय आफैँ महत्वपूर्ण बन्दै गरिरहेको छ । मानिस बिहानदेखी बेलुकासम्म बिजी हुनाले यसको महत्व बुझेरपनि मानिसहरुले ड्राईक्लिनिङको सेवा लिइरहेका छन् । ड्राईक्लिनिङ र लौन्ड्री बीचमा केही फरक छ कि ? ड्राईक्लिनिङ भनेको विषेश सल्भेन्टहरुमा धुईन्छ र लौन्ड्री भनेको होलसेलमा पानीमा धुनु हो । लौन्ड्रीमा लुगा धुन केहि सस्तो पर्छ । लुगा सफा गर्नका लागि पेट्रोलियम पदार्थ प्रयोग हुने भएकाले ड्राईक्लिनिङमा धोएको लुगा नयाँ बराबर नै हुन्छ । यसमा लुगा धुने प्रकृया समेत अलि छिटो हुने गर्छ । सबै कपडा ड्राईक्लिनिङ धुन मिल्छ ।

गणपतिको शेयर आवेदन आजदेखि, १५०० कित्तासम्म आवेदन दिन सकिने, कति भर्ने ?

काठमाडौं । गणपति माइक्रोफाइनान्सको आईपीओ सोमबारदेखि खुल्दैछ । जम्म ३ लाख ३५ हजार कित्तामध्ये कर्मचारी र म्युचुअल फण्डको आरक्षण कटाएर बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता शेयरका लागि सोमबार बैंकिङ समयदेखि आवेदन खुला हुनेछ । उक्त कम्पनीको आईपीओ बिहीबार बन्द हुनेछ । न्यूनतम १० देखि १५०० कित्तासम्म आवेदन गर्न सकिने उक्त शेयर ३१ हजार ३०७ जनालाई १०/१० कित्ताका दरले वितरण हुनेछ । आवेदकको संख्या ३१ हजारभन्दा कम भए मात्रै आवेदकलाई २० कित्ता शेयर पर्ने सम्भावना रहन्छ । तर त्यो असम्भवप्रायः रहेकोले आवेदकले न्यूनतम १० कित्तामात्रै आवेदन गर्नु उपयुक्त हुन्छ । उक्त आवेदन डिम्याट खातासँग लिंक भएका जुनसुकै बैंक खाता भएको बैंकका शाखाहरुबाट भर्न सकिन्छ वा मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानमा रहेर पनि भर्न सकिन्छ ।

एभरेष्ट बैंकको नाफा २ अर्ब नाघ्यो, वित्तीय सूचकहरुको वृद्धि सन्तुलित

काठमाडौं । ९ महिनामा एभरेष्ट बैंकले २ अर्ब नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकले उक्त अवधिमा २ अर्ब १ करोड ९१ लाख रुपैंया खुद मुनाफा कमाएको हो । पुस मसान्तसम्म १ अर्ब १५ करोड रुपैंया नाफामा सीमित बैंकले माघदेखि चैतमा मात्रै बैंकले ८६ करोड रुपैंया कमाएको थियो । बैंकले उक्त अवधिमा सबै सूचकहरुमा सन्तुलित वृद्धि हासिल गरेको छ । पुस मसान्तमा भएको १२४ अर्बको निक्षेप आकारलाई एभरेष्टले करिब २ अर्बले बढाउँदा बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाहेकको निक्षेप नै सो मात्रामा कायम गरेको छ । ऋणी र अन्तरबैंक सापटी समेत गरी कर्जाको आकार पनि करिब ३ अर्बले बढेको छ । बैंकले अघिल्लो त्रैमासमा कायम रहेको ७ अर्ब ५८ करोड रिजर्भको आकारलाई ८ अर्ब २३ करोड रुपैंया पुर्याएको हो । जसमध्ये २ अर्ब अवितरित नाफाको रुपमा रहेको छ । बैंकले बमाएको नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी ३६.८१ रुपैंया हुन आउँछ । अघिल्लो त्रैमासको नाफाका आधारमा यो दर ३५.६३ रुपैंया थियो । बैंकको पुँजी पर्याप्तता अनुपात पुस मसान्तको तुलनामा बढेको छ । १२.५७ प्रतिशतबाट १३.३८ प्रतिशत पुगेको यो अनुपातले बैंकको व्यवसाय विस्तारको सम्भावना बढेको देखाउँछ । उल्लेखित निक्षेप, कर्जा र पुँजीका आधारमा बैंकको सीसीडी अनुपात ७६.६९ प्रतिशत छ । अघिल्लो त्रैमासमा ८.२२ प्रतिशत रहेको आधार ब्याजदर ८.०१ मा झारेको बैंकले कस्ट अफ फण्डलाई ६.०७ मा झारेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.१८ प्रतिशत, स्प्रेडदर ४.६९ प्रतिशत छ ।

सरकार कठोर बन्दै, अटेरी कर्मचारीलाई बर्खास्त गरिने

काठमाडौं । समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ । मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘आफूलाई अन्याय भएको भन्दै गुनासो पोख्ने कर्मचारीमध्ये करिब २ हजार कर्मचारीको मात्र गुनासो सुनुवाइ हुने स्थिति छ। बाँकी कर्मचारीप्रति सरकार कठोर बन्ने छ ।’ त्यस्ता कर्मचारीलाई ऐनअनुसार २१ दिन भित्र हाजिर हुन नगए कारबाही गरिने तयारी भएको ती कर्मचारी बताउँछन् । कर्मचारी समायोजन ऐन २०७५ मा समायोजन भएका कर्मचारी बाटोको म्यादबाहेक २१ दिनभित्र हाजिरी गर्नु पर्ने व्यवस्था गरिएको छ । समायोजन गरिएका कर्मचारीमध्ये करिब एकचौथाइ कर्मचारी अटेरी देखिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

चर्चित सिइओको प्रतिष्पर्धामा अनिल शाह, चन्द्र ढकाल र उपेन्द्र महतो

काठमाडौं । चर्चित सिइओ(प्रमुख कार्यकारी अधिकृत)को प्रतिष्पर्धामा अनिल शाहदेखि चन्द्र ढकाल र उपेन्द्र महतो सामेल भएका छन् । नेपाल सिइओ समिट एण्ड अवार्डस् २०१९ का अवसरमा शाह, ढकाल, महतो र प्रदिप कुमार श्रेष्ठ तथा पवन गोल्यानमध्ये एक जनालाई चर्चित सिइओको उपाधी प्रदान गरिनेछ । त्यसका लागि यी चार जनामध्ये सबै भन्दा धेरै भोट पाउनेले उपाधी  प्राप्त गर्नेछ । नविल बैंकका सिईओ अनिल शाह, आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, गैर आवासिय नेपाली संघ(एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतो, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ र गोल्यान समुहका अध्यक्ष पवन गोल्यानमध्येबाट एक जनाले चर्चित सिइआको उपाधी पाउनेछन् । आगामी शुक्रबार राजधानीको सोल्टी होटलमा चर्चित सिइओको उपाधी प्रदान गरिनेछ । चर्चित सिइआको दौडमा रहेकाहरु मध्ये ढकाल, महतो र गोल्यान भने सिइओ नभएर कम्पनीको अध्यक्षको भूमिकामा रहेका छन् ।