हिमालयन बैंकको ५५ करोड खाएर फरार विकास कोठारीकाे पाठ : विदेशी भन्दैमा मरिहत्ते नगर्नू
काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने गरी २०५९ सालमा दर्ता भएको एभरेष्ट पोलिमर प्रा.लि.का सञ्चालक विकास कुमार कोठारीले कारखाना सञ्चालनका लागि भन्दै हिमालयन बैंकसँग २०६४ माघमा ६५ करोड लाख ९० लाख ५८ हजार रुपैंया सीमासम्मको ऋण स्वीकृत गराई पैसा निकाले । उद्योग धितोमा राखेर बैंकले दिएकाे ऋण अहिले ढुबेकाे छ । एभरेष्ट पाेलिमरसँग ६४ करोड २३ लाख रुपैंया लिन बाँकी हुँदा ऋणी विकास कुमार काेठारी भरार भए । ऋण नतिरेपछि हिमालयन बैंकले ऋण असुली न्यायाधीकरणमा मुद्दा दायर गरी धितो लिलाम प्रक्रिया सुरु गर्याे । न्यायाधीकरणकाे प्रक्रिया पुरा गरेर धिताे लिलामी गर्न जाँदा कम्पनी लगभग नाम मात्रकाे थियाे । काेठारीले उद्याेगका अधिकांश सामानहरु बेचिसकेकाे ऋणदाता बैंक र न्यायाधीकरणले त्यसपछि मात्रै थाहा पायाे । उद्याेगमा बचेका केही सामानकाे लिलामी गर्दा ९ करोड रुपैया मात्रै असुल भयो । कम्पनीका पार्टपुर्जादेखि सामानहरु भारततिर पठाएका कोठारी आफू भने क्यानडा फरार भए । कम्पनी रजिष्ट्रार कार्यालयमा विसं २०५९ जेठ १९ गते दर्ता रही ६ कराेड ५९ लाख रुपैंया चुक्तापुँजी रहेकाे उक्त कम्पनी सबै प्रकारका प्थालेट, प्लास्टिकका सामान उत्पादन गर्ने उद्देश्यका साथ दर्ता भएकाे कम्पनी हाे । यसले हेटाैंडामा ठूलाे उद्याेग पनि खाेल्याे तर बैंकबाट ऋण स्वीकृत गराएपछि कम्पनीका सम्पत्तिहरु सबै बेच्दै गयाे । फसेकाे ऋण असुलीका लागि हिमालयन बैंक अझै संघर्ष गर्दैछ तर क्यानडा भागेका काेठारीलाई पक्रने कानूनी आधार नपाएर ऋण असुली न्यायाधीकरण बसिरहेको छ । ऋण असुली न्यायाधीकरणका सेस्त्रेदार भेषराज कोइरालाले न्यायाधीकरणले देवानी प्रकृतिकाे मात्रै निर्णयहरु गर्ने भएकाेले पक्राउ पुर्जी जारी गर्ने आदेश न्यायाधीकरणबाट हुन नसक्ने र यसका लागि सामान्य अदालत नै जानुपर्ने भएकाेले त्यसाे हुन नसकिरहेकाे बताए । त्यसमाथि विदेशमा भागेका व्यक्तिलाई नेपाल ल्याउन इन्टरपाेलसँग सहयाेग गर्नुपर्ने भएकाेले त्यसका लागि झनै लामाे प्रक्रिया पूरा गर्नुपर्ने र त्याे अधिकार आफुहरुसँग नभएकाे बताए । हाल कोठारी क्यानडामा उच्च प्राेफाइलमा बसोबास गरिरहेको जानकारी आएकाे सेस्त्रेदार भेषराज कोइरालाकाे भनाई थियाे । ‘आदेशका रुपमा नभई आग्रहका रुपमा न्यायाधीकरणले इन्टरपोलसँग छलफल गर्न प्रहरीलाई पत्राचार त गर्यो तर प्रहरीलाई पनि कानूनी प्रक्रियाविना विदेशमा रहेको व्यक्तिलाई पक्राउ गर्न पहल गर्ने छुट भएन, त्यसैले यो प्रक्रिया रोकियाे’- उनले भने । उता बैंक भने काेठारीसँग ऋण असुली गर्ने प्रक्रिया जारी नै रहेकाे बताउँछ । हिमालयन बैंकका जनसम्पर्क अधिकृत शितल कोइरालाले काेठारीकाे सञ्चालनमा रहेकाे कम्पनीले बैंकसँग ऋण लिएकाे र नतिरेपछि असुलीकाे कानूनी प्रक्रिया अघि बढेकाेमा याे प्रक्रिया अझै जारी रहेको बताए । तर न्यायाधीकरणले अन्तिम फैसला गरेकाे ४ वर्षसम्म पनि उनसँग सम्पर्क समेत गर्न नसकिएकाे न्यायाधीकरण स्राेतले जानकारी दियाे । काेठारीकै नाममा भारतकाे नयाँदिल्लीमा पनि साेही प्रकृतिकाे कम्पनी रहेकाे बताइएकाे छ । काेठारी पनि कहिले क्यानडा र कहिले भारत ओहोरदोहोर गरिरहन्छन् । तर नेपाली पक्षले केही गर्न सकेकाे छैन । वित्तीय क्षेत्रका जानकारहरुका अनुसार कुनै पनि वित्तीय संस्थाबाट लिएका ऋण चुक्ता नभएसम्म याे असुली गर्ने प्रक्रिया सकिँदैन । तर हिमालयनकाे याे ऋण असुली हुने सम्भावना न्युन छ । काेठारी त एक पात्र मात्र हुन्, यस्ताे प्रवृत्ति व्यापक छ । नेपालले लगानी सम्मेलन गरी विदेशी लगानीकर्तालाई नेपालमा आकर्षित गर्दैगर्दा नेपाली बैंक तथा वित्तीय संस्थाहरु विदेशी लगानीका त्यस्ता आयोजनामा ऋण लगानी गर्न उत्साहित देखिएका छन् । तर विदेशी कम्पनी भएकै आधारमा नि:शर्त गरिने लगानी भने घातक हुनसक्ने पाठ सिक्नुपर्ने न्यायाधीकरणका सेस्त्रेदार काेइराला बताउँछन् ।
यामाहाको महा एक्स्चेन्ज मेला शुरु, नयाँ बाइकमा १ लाखसम्म डिस्काउन्ट
काठमाडौं । यामाहा बाइक तथा स्कुटरको नेपालका लागि आधिकारीक वितरक एमएडब्ल्यूले यामाहा महा एक्स्चेन्ज मेला आयोजना गरेको छ । महा एक्सचेन्ज मेलाको उद्धाटन मिस नेपाल शृङ्खला खतिवडाले गरेकि छिन । आजबाट भृकुटीमन्डपमा शुरु भएको मेला बैशाख १४ गतेसम्म चल्नेछ । कम्पनीले हालै मात्र नेपाली बजारमा ल्याएको एफजेड भी ३ मेलाको आर्कषण रहने छ । कम्पनीले सो बाइकको मूल्य ३ लाख १० हजार तोकेको छ । महा एक्सचेन्ज मेलामा ग्राहकले बाइक तथा स्कुटर खरिद गर्दा १ लाखसम्मको नगद छुटका साथै पुरानो बाइक तथा स्कुटरको बजार मूल्य भन्दा २५ हजार थप मुल्याङ्कन दिने कम्पनीले जानकारी दिएको छ । महा एक्सचेन्ज मेलामा ग्राहकले कुनैपनि कम्पनीका जनुसुकै बाइक तथा स्कुटरसँग यामाहाका कुनैपनि बाइक तथा स्कुटरसँग एक्सचेन्ज गर्न सक्नेछन् । मेलामा बाइक तथा स्कुटर टेष्ट ड्राइभ गरेर आर्कषक गिफ्ट समेत जित्न सकिने कम्पनीले बताएको छ । उक्त मेलामा यामाहाका बाइक तथा स्कुटर उपलब्ध छन् ।
आरम्भ माइक्रोफाइनान्सको वैशाख १८ गते बुक क्लोज, विशेष साधारणसभा बस्दै
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी वैशाख १८ गते बुक क्लोज हुने भएको छ । माइक्रोफाइनान्सले विशेष साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । संस्थाको विशेष साधारणसभा आगामी वैशाख २६ गते दिउँसो एक बजे बनेपास्थित आफ्नो केन्द्रीय कार्यालयमा बस्दै छ । सभामा संस्थाले अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।
पूँजीगत लाभकर तिर्ने समय सकिन एक दिनअघि एनसेलले दायर गर्यो सर्वोच्चमा रिट
काठमाडौँ । एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको पूँजीगत लाभ कर कानूनअनुसार नभएको दाबी गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एनसेलले दायर गरेको रिट निवेदनमा कर निर्धारण नगर्दासम्म एनसेलको व्यापार व्यवसायमा व्यवधान नगर्न परमादेशको माग गरिएको छ । करदाता कार्यालयले ७ दिन भित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिनभित्र तिर्न भनेको थियो । कर तिर्ने दिइएको समय सकिन १ दिन अघि मात्र सोमबार एनसेल अदालत पुगेको हो । करदाता कार्यालयले ६२ अर्ब ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गरेको थियो । एनसेलले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्र कर दिनु पर्ने दाबी गरेको छ ।
‘गोजीमा दाम छैन’सँग ‘सालको पात टपरी’को टक्कर, प्रतिष्पर्धामा अरु कुन कुन ?
काठमाडौं । नेपाली सांगीतिक बजारमा दिनदिनै जसो नयाँ नयाँ म्युजिक भिडियो आइरहेका छन् । पुराना र नयाँ दुबै खाले गायक/गायिकाका म्युजिक भिडियो बजारमा आएका छन् । गीत संगीत बजारमा चल्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले समेत म्युजिक भिडियोको संख्या बढ्दो क्रममा रहेको हो । यसरी बन्ने म्युजिक भिडियो कुनैले बजार तताउँछन् भने कत्ति त केही समय मै हराएर जान्छन् । कुन म्युजिक भिडियो कति चल्यो भनेर मूल्याङ्कन गर्न त्यो भिडियो यूट्यूबमा कति जनाले हेरे भन्ने मूल्याङ्कन गर्ने गरिन्छ । सर्वाधिक हेरियो ‘गोजीमा दाम छैन’ २०७५ सालमा युट्यबमा सर्वाधिक हेरिएको नेपाली उत्कृष्ट म्युजिक भिडियोमा ‘गोजीमा दाम छैन’ परेको छ । यो भिडियो २०७५ साल भदौ ४ गते(२० अगस्ट २०१८) मा युट्युब सार्वजनिक भएको थियो । नेपाली फिल्म ‘चंगा चेट’ मा समावेश यो म्युजिक भिडियोको भ्यूअर्स ४ करोड २१ लाख रहेको छ । राजनराज शिवाकोटीको संगीतमा शिवाकोटी र मेलिना राई तथा ग्रेश्मा शिवाकोटीको स्वरमा सो गीत सार्वजनिक भएको थियो । म्युजिक भिडियोमा भने प्रियका, आयुशमान, परमिता, राजनराज शिवाकोटीलाई देख्न सकिन्छ । युवा पुस्ताको मन आकर्षित गर्ने गरी म्युजिक भिडियो बनेको छ । यो गीत र म्युजिक भिडियोले पनि चलचित्र ‘चंगा चेट’लाई व्यवसायिक रुपमा सफल बनाएको छ । चलचित्र प्रेम कथामा आधारित छ । त्यस्तै गोजीमा दाम छैन बोलको गीतको भिडियो अति सुन्दर वातावरणमा निर्माण भएको देख्न सकिन्छ । ४ करोड बढीले हेरे ‘सालको पात टपरी’ २०१८ सेप्टेम्बर १७ अर्थात २०७५ असोज १ गते सार्वजनिक भएको ‘सालको पात टपरी’ गीत लोकप्रिय म्युजिक भिडियो बन्न सफल भएको छ । वर्ष भरि यूट्यूकबमा हेरिएका मध्ये सालको पात दोस्रो स्थानमा पर्न सफल भएको छ । कुलेन्द्र विक र विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी’ गीतले नेपाली लोकगीतको राम्रो बजार जमाउन सकेको छ । सालको पात टपरी बोलको गीतले लोकगीत प्रतिको क्रेजलाई झनै बढाएको छ । ‘सालको पात टपरी’ गीतको रचना नवराज पन्तले गरेका हुन भने संगीत वसन्त थापाको हो । शिव विकद्वारा म्युजिक भिडियोमा भने मनिष्का पोख्ररेल, कुलेन्द्र विक, वसन्त थापाको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले उक्त भिडियोलाई क्यामरामा कैद गरेका हुन् भने निशान शर्माले सम्पादन गरेका हुन् । यो म्युजिक भिडियो ४ करोड भन्दा बढीले हेरेका छन् । नेपालको गाउँले परिवेशलाई टपक्क टिपेर सो लोकगीतमा सुन्दर दृश्यको साथमा भिडियो तयार पारिएको छ । ‘पिरिम नलाउने’ तेश्रो ‘पिरिम नलाउने’ बोलको गीत २०७५ सालको उत्कृष्ट मध्येको तेश्रो स्थानमा पर्न सफल भएको छ । गीतका शव्द र भिडियोमा अभियन मार्फत मायाप्रेम झल्काउन खोजिएको छ । आशिष सचिनको रचना रहेको सो गीतमा सचिनलाई मेलिना राईले आवाजमा साथ दिएकी छिन् । अभिनयमा भने आशिष सचिन र वर्षा राउतलाई देख्न सकिन्छ । युवा पुस्ताको भावनालाई क्यास गर्न सफल ‘पिरिम नलाउने’ गीत २०७५ साल असोज २० गते (९ अक्टोवर २०१८) सार्वजनिक गरिएको थियो । हाल ३ करोड ७० लाख भ्युअर्स रहेका छन् । ‘फुल होइन’ का भ्यूअर्स २ करोड ६४ लाख त्यस्तै ‘रोज’ फिल्ममा समावेश गीत ‘फुल होइन’ उत्कृष्ट चौथो गीत बन्न पुगेको छ । २०७५ साल भित्रमा सार्वजनिक भएको म्युजिक भिडियोमा उक्त गीतको भिडियो टप फोरमा पर्न सफल भएको हो । २०७५ साल साउन २१ गते सोमबार उक्त म्युजिक भिडियो सार्वजनिक भएको थियो । जसमा अभिनयमा प्रदीप खड्का र मिरुना मगरलाई देखिएको छ । नेपाल आइडल सिजन वानमा तेश्रो स्थान प्राप्त प्रताप दास र प्रभिसा अधिकारीको स्वर सो म्युजिक भिडियो हाल सम्म २ करोड ६४ लाख भ्यु गरेका छन् । पाँच नम्बरमा ‘वन कि चरी’ २०७५ साल असोज २८ गते सार्वजनिक भएको ‘प्रसाद’ फिल्ममा समावेश ‘वन कि चरी’ को भिडियो यूट्यूब भ्युअर्सका आधारमा उत्कृष्ट पाँचौँ नम्बरमा पर्न सफल भएको छ । गीतमा रुपक डोटेल र अन्जु पन्तको स्वर रहेको छ भने गीतको लय वि. पाण्डेको हो । सुवास भुषालको संगीत रहेको सो गीतको म्युजिक भिडियामा रहेको नायक निश्चल बस्नेत, विपिन कार्की, प्रविसाको अभिनय देख्न सकिन्छ । सो भिडियोको भ्युअर्स संख्या हाल १ करोड ८३ लाख पुगेको छ । यी हुन् अरु उत्कृष्ट म्युजिक भिडियो त्यस्तै अन्य म्युजिक भिडियोमा २०१९ जनवरी २५ (२०७५ साल असोज ११ गते) सार्वजनिक भएको ‘भिजिट भिषामा’ उत्कृष्ट स्थानमा पर्न सफल भएको छ । रिलिज भएको सो गीतको ३ महिनामा उत्कृष्ट गीत भित्र परेको गीतलाई ‘दाल भात तरकारी’ चलचित्रको समावेश छ । युट्युबमा राखिएको छोटो समयमा नै १ करोड ६४ लाखले सो म्युजिक भिडियो हेरेका छन् । सो गीतको लय हरिबंश आचार्य, संगीत शम्भुजित बास्कोटाको रहेको छ भने निशान भट्टराई एवम् अन्जु पन्तको स्वरमा सजिएको छ । त्यसैगरी यूट्यूबको भ्युअर्स आधारमा ‘(किन कर्के)२ नजर लाउनु यसरी’ म्युजिक भिडियो उत्कृष्ट सातौं स्थानमा पर्न सफल भएको छ । सञ्जिव पराजुली र टीका प्रसार्इँको स्वरमा रहेको सो म्युजिक भिडियो उत्कृष्ट भित्र पर्न सफल भएको हो । आशिष अविरलको संगीत रहेको गीतको भिडियोमा राहुल शाह र एलिसा शर्माले अभिनय गरेका छन् । सन् विस २०७५ साल माघ १६ सालमा सार्वजनिक भएको सो भिडियो हाल सम्म १ करोड १५ लाखले हेरिसकेका छन् । अर्काे उत्कृष्ट म्युजिक भिडियोमा शिव हमालको ‘लालुमै’ रहेको छ । विष्णु माझी र सन्दीप न्यौपानेको शब्द रहेको सो गीतमा संगीत तथा शब्द हमाल कै रहेको छ । संगीत समायोजन आशिष अविरलको हो । सन् २०१९ फेबअरी १३ मा युट्युबमा आएको सो गीतको म्युजिक भिडियो २ महिनामा नै उत्कृष्ट म्युजिक भिडियो भित्र परेको थियो । सृष्टि खड्का र सन्दीप न्यौपानेले अभिनय गरेको सो भिडियो युट्युब मार्फत १ करोड १२ लाख जनाले हेरिसकेका छन् । यी म्युजिक भिडियोहरु २०७५ सालमा दर्शकको रुचि एवम् राम्रो प्रस्तुतीको कारणले उत्कृष्ट स्थानमा रहन सफल भएका हुन् । समग्रमा नेपालीको मौलिकता झल्कने म्युजिक भिडियो नै उत्कृष्ट भित्र पर्न सफल भएका छन् । कस्ता गीतसंगीत र म्युजिक भिडियो चल्छन् त ? गायक कुलेन्द्र विक भन्छन् ‘राम्रो ख्यालको गीत तथा म्युजिक भिडियो निर्माण गर्ने निर्माता र कलाकारलाई यस क्षेत्रमा जीन्दगी बिताउँन गाह्रो छैन् ।” हाल युवा मध्यवर्गहरुको रुचि तथा समय परिस्थिति अनुसारका गीत लोकप्रिय हुँदै आएका छन्, यस क्षेत्रमा नयाँ प्याटनको गीत निर्माण गर्नु भन्दा निर्माण भएका लय एवं प्याटन फलो गर्नेको जमात बढेको छ-गायक विकले भने । त्यस्तै अर्का गायक शिव हमालका अनुसार राम्रो प्रस्तुती बजारमा ल्याउँदा आम मानिसले रुचाएको पाईन्छ, आम मानिसलाई मध्यनजर गरेर संगीत एवम् भिडियो बजारमा ल्याउँदा आर्थिक स्तर सवल नै रहने बताए । लामो समयदेखि निर्देशकका रुपमा काम गर्दै आएका फिल्म निर्माता संघका अध्यक्षका आकाश अधिकारी भन्छन्–“संगीतको प्रतिस्पर्धा चल्दै गर्दा समय र परिस्थिति अनुसार राम्रो सिर्जनाले बजार तताएको छ, भने केहि फ्लप भएको छन् । युवावर्ग एवम् बजारको मागलाई ध्यान दिएर संगीत उत्पादन गर्नु पर्छ” उनले भने ।
नेपाल सेवा लघुवित्तको सीईओमा उद्धवचन्द्र श्रेष्ठ
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उद्धवचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । वैशाख ८ गते बसेको संस्थाको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । साथै, श्रेष्ठले वैशाख ९ गतेदेखि आफ्नो पदभार ग्रहण गरेका कम्पनी सचिव राकेश श्रेष्ठले बताएका छन् ।
सिन्धु बिकास बैंकबाट जिआइसी नेपालको बीमा सेवा पाइने
काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिन्धु बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच आईतबारका सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।
एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार एभरेष्ट इन्स्योरेन्स कम्पनीको र नाडेप लघुवित्त वित्तीय संस्थाको क्रमशः हकप्रद र बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२२.५० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८३७.६६ रुपैयाँ तोकिएको छ । त्यस्तै, नाडेप लघुवित्तको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ५३२.१७ रुपैयाँ रहेको छ । संस्थाको आधार मूल्य प्रतिकित्ता ४७२.६४ रुपैयाँ तोकिएको छ ।