दोहोरो गणनाले साेमबारको कारोबार रकममा गढबढी
बजार बन्द भएपछि देखिएको कारोबार रकम काठमाडौं । सोमबारको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को साइटमा समस्या देखिएको छ । साे दिनकाे कारोबार रकममा लाखाैँकाे घटबढ देखिएको छ । बजार बन्द भएको करिब एक घण्टासम्मको साइटमा दिनभर एक अर्ब ३ करोड ७६ लाख ४३ हजार २९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिएको थियो । त्यसपछिको केही बेरमा २ अर्ब ९ करोड २० लाख ७९ हजार ८०६ रुपैयाँ बराबरको सेयर किनबेच भएको देखिएको थियो । बजार बन्द भएको करिब साढे एक घण्टापछि देखिएको कारोबार रकम तर अहिले हेर्दा एक अर्ब ४ करोड ६० लाख ३९ हजार ९०३ रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ । दोहोरो गणनाको समस्या समाधान भएपछिको कारोबार रकम यस विषयमा नेप्सेका प्रबक्ता मुराहरी पराजुली भन्छन्, “दोहारो गणनाले गर्दा साइटमा समस्या आएको थियो । जसको कारणले गर्दा २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिएको थियो । अहिले उक्त समस्या समाधान भइसकेको छ ।” साथै, सोमबारको कुल कारोबार रकम भने १ अर्ब ३ करोड रुपैयाँ नै हो । पछि विभिन्न कम्पनीहरुको समायोजन भएका प्रमोटर सेयरहरुको कारोबार जोड्दा बढेर कुल एक अर्ब ४ करोड रुपैयाँ पुगेको उनले बताए ।
बारामा एचएच बजाजको नयाँ शोरुम
काठमाडौँ । एचएच बजाजले बाराको कलैयामा गुप्ता मोटर्समा पूर्ण सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ शोरुमले बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका ग्राहकहरुलाई सहज बनाउने कम्पनीले जनाएको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको पनि जनाएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने-‘हामी बाराको कलैयामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।”
बीमा संस्थानद्वारा इटहरीमा बीमा अभिकर्ताहरुको लागि आधारभूत तालिम सञ्चालन
काठमाडौँ । इटहरीमा जीवन बीमा अभिकर्ताहरुका लागि आधारभूत तालिम कार्यक्रम सञ्चालन भएको छ । राष्ट्रिय बीमा संस्थानको आयोजनामा बैशाख ८ गतेदेखि ३ दिने कार्यक्रम सञ्चालन भएको हो । व्यवसाय बृद्धि तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यले आयोजित तालिममा ५० जना सहभागी रहेको बीमा संस्थानले जनाएको छ । तालिममा जीवन बीमाको महत्व, प्रकार, सिद्धान्त र इतिहास, राष्ट्रिय बीमा संस्थानका बीमालेखहरु, बीमा अभिकर्ताको आचारसंहिता, फाइदा, सेवासुबिधा तथा बीमा ऐन २०४९ र राष्ट्रिय बीमा ऐनको बारेमा प्रशिक्षण प्रदान गरिएको जनाइएको छ ।
आरोहीको ओहिरोः ४८ करोड बढी रोयल्टी
काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि ९३ समूहबाट ७७८ जना आरोही गएका छन् । सो आरोही समूहबाट हालसम्म ४८ करोड ३० लाख ४४ हजार ८४२ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । यीमध्ये सगरमाथाबाट मात्रै ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि मात्रै ३३ आरोही समूहका ३६२ आरोही छन् । त्यसैगरी ल्होत्सेका नौ आरोही समूहका ७७ आरोही छन् । अमादब्लमका लागि पाँच आरोही समूहका ४९ आरोही र कञ्चनजङ्गा आरोहणका लागि पाँच आरोही समूहका ३२ आरोही गएका छन् । त्यस्तै मकालुका लागि चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्णमा तीन र धौलागिरि हिमाल आरोहणका लागि तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ । सगरमाथामा कुन देशका कति आरोही वसन्त ऋतुको यो याममा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३७५ आरोही छन् । ती आरोहीमध्ये २९९ पुरुष र ७६ महिला छन् । सबैभन्दा बढी भारतबाट ७५, संयुक्त राज्य अमेरिकाबाट ७४ र चीनबाट ६० आरोही सगरमाथा आरोहणमा गएका छन् । त्यस्तै, संयुक्त अधिराज्य बेलायतबाट ४३, नेपालबाट १३, नर्वे र क्यानाडाबाट समान आठ र जापान र लेवनानबाट समान आठ तथा ब्राजिल, नर्वे र अर्जेन्टिनाबाट समान पाँच जना आरोही रहेका छन् । सगरमाथा आरोहणमा जाने महिलातर्फ सबैभन्दा धेरै चीनबाट २० र भारतबाट १८ जना छन् । पुरुषतर्फ अमेरिकाबाट ७०, भारतबाट ५७ र चीनबाट ४० सबैभन्दा धेरै आरोही रहेका छन् । वैशाख महीनाभर जसो आरोही आउने भएकाले यो सङ्ख्या अझै बढ्ने विमागले अनुमान गरेको छ । रोयल्टी बढी उठ्यो अघिल्लो वर्ष (सन् २०१८)को वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ । यो मौसममा आरोही आउने क्रम जारी रहेको हालसम्मको अवधिमै ४८ करोडभन्दा बढी रोयल्टी जम्मा भइसकेको छ । अघिल्लो वर्षको सोही याममा सगरमाथासहितका हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो । सन् २०१८ को यही मौसम (वसन्त ऋतु)मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । मुलुकको पर्यटनमा महत्वपूर्ण आधार पर्वतीय पर्यटन हो । राजश्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । संसारका ओरीहीको उत्कृष्ठ रोजाइमा सगरमाथासहितका हिमाल पर्छन् । त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन् । पर्वतारोहण आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये नेपालमा आठ वटा हिमाल पर्दछन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् । सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले रु ७५ हजार रोयल्टी बुझाउनुपर्छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ । रासस
किर्तिपुरमा प्रभु बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको कीर्तिपुर नपा वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकको कीर्तिपुर शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकको कीर्तिपुर शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर महर्जनले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे । उक्त कार्यक्रममा प्रभु बैक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक ग्राहकहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छः सांसद त्रिपाठी
काठमाडौं । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन् । उनले भने,‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत अनुदान दिनुपर्छ ।’ सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै त्रिपाठीले यस्तो माग गरेका हुन् । उनले भने,‘चिनी मिलहरु डेढ महिना ढिलो चलेको र अहिले केही मिलहरु बन्द छन् । यसको प्रत्यक्ष असर उखु किसानहरुलाई परेको छ । सर्लाहीमा २ र नवलपरासीमा एउटा मिल बन्द भएको छ । नवलपरासीमा मात्रै झण्डै तीन लाख क्विन्टल उखु खेतमै छ । उता सर्लाहीमा पनि चार लाख क्विन्टल जति उखु खेतमै छ ।’ सरकारको अकर्मण्यताका कारण उखु किसानहरुले खेतमै उखु आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनको आरोप छ । उनले भने,‘चिनी मिल सञ्चालकहरुले डेढ महिना ढिलो मिल सञ्चालन गर्दापनि यो सरकार मुकदर्शक भएर बस्यो, मिल सञ्चालकहरुमाथि कुनै हस्तक्षेप गर्न सकेन् । जसको कारण आज किसानहरु ठूलो मारमा परेका छन् ।’ किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले वृद्धि गर्ने काम हुँदापनि सरकारले केही गर्न नसकेको उनको आक्रोश छ ।उनले भने,‘यस्तो अवस्थामा अब किसानको खेतमा बाँकी रहेको उखु हेरेर ७० प्रतिशत अनुदान सरकारले दिनुपर्छ । र, ढिलो मिल चलाएको कारण मिल सञ्चालकहरुले पनि ३० प्रतिशत अनुदान दिनुपर्छ ।’ उनले नयाँ बजेट बन्ने प्रक्रियामा रहेको सुनाउँदै यो माग बजेट बन्नुपुर्व नै व्यवस्थापन गरिसक्नुपर्नेमा जोड दिए ।
बालकोटमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन
काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि भक्तपुर जिल्लाको सुर्यविनायक नपा वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लाकासांसद महेश बस्नेतले शाखाको उद्घाटन गरेका हुन् । बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि बस्नेतज्यूले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे । उक्त कार्यक्रममा प्रभु बैक लि.का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक ग्राहकहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
निरन्तर बढिरहेको नेप्सेमा लाग्यो ब्रेक, कारोबार रकममा भने वृद्धि कायमै
काठमाडौं । नयाँ वर्ष लागेयता निरन्तर बढीरहेको बजारमा सोमबार भने एक्कासी ब्रेक लागेको छ । करिब दुई सातादेखि दैनिक दोहोरो अंकले उकालो लागेको बजार सोमबार भने ७.२६ अंकले ओरालो लागेको छ । सो दिनको परिसूचक आइतबारको तुलनामा ०.५७ प्रतिशतले घटेर १२५६.९४ अंकमा झरेको छ । आइतबारको बजारमा नेप्से करिब ३२ अंकले उकालो लागेको थियो । निरन्तर बढीरहेको बजार एक्कासी ओरालो लाग्दा बजार करेक्सनतर्फ लागेको भन्ने बुझिन्छ । नेप्से घटेर करेक्सनतर्फ लागेता पनि कारोबार रकममा भने वृद्धि कायमै देखिएको छ । सोमबारको बजारमा पनि कारोबार रकमले एक अर्ब रुपैयाँ नाघेको छ । सो दिन कुल १६८ कम्पनीको एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब एक करोड रुपैयाँ बढी हो । आइतबार कुल एक अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो दिन जस्तै सोमबार पनि बढी कारोबार गर्ने सूचीमा अधिकांश वाणिज्य बैंक परेका छन् । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सिभिल, प्रभु, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, एनएमबि र एभरेष्ट बैंकको ३/३ करोडको हाराहारीको सेयर किनबेच भएको छ । बढी कारोबार गर्ने सूचीमा वाणिज्य बैंक परेता पनि बैंकिङ समूहको उपसूचक ओरालो लागेको लागेको छ । आइतबार ४ प्रतिशतले उकालो लागेको बैंकिङ समूह सोमबार १.१९ प्रतिशतले ओरालो लागेको छ । सोमबार जीवन, निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः १५४, ६४ र २३ अंकले हरिया भएका छन् भने बाँकी कारोबारमा आएका सबैसूचक राताम्मे देखिएका छन् ।