विकासन्युज

ग्लोबल आइएमई बैंकको १३७ औं शाखा सिन्धुलीको माडी बजारमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३७ पुगेको छ । सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तरिकाले सबै प्रकारका बैंकिङ्ग सेवाहरु प्रदान बैंकले जनाएको छ । बैंकले १३७ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, १०वटा एक्सटेन्सन काउण्टर तथा १३१शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

‘भाटभटेनी रेमिट’बाट पठाइएको रेमिट्यान्स जनता बैंकबाट भुक्तानी पाइने

काठमाडौँ । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरेका छन् । भाटभटेनी मनि ट्रान्स्फर प्रालि भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो । सम्झौता बमोजिम ‘भाटभटेनी रेमिट’ मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशैभरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।

तिनाउ विकास बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं । सोमबार तिनाउ विकास बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । विकास बैंकको सो दिन कूल ६ लाख ८ हजार ३२१ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।

माग पूरा भएपछि पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत

काठमाडौं । पुनर्निर्माण कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इञ्जिनियर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिए । काममा नगइ व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारवाही गर्ने भएको छ । प्राविधिकहरुका माग सम्बोधन भैसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भइ काममा लाग्नेछन् । यदि आगामी दिनमा काममा नगई व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरुलाई राष्ट्रिय पुर्निर्माण प्राविधिकरणले विभागीय कार्वाही गर्न सक्नेछ– निर्णयमा उल्लेख गरिएको छ । नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताए । प्राविधिक अविनाश अमरले मागहरु पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारीहरुलाई धन्यवाद दिए । प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोमबारको बजारमा तीव्र उतारचढाव, निर्जीवन बीमा समूह १०२ अंकले ओरालो

काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार शुरु भएको केहिबेरमै घटेर १२९९.११ अंकमा झरेको बजार १२ बजे उकालो लागेर १३१८ अंकमा पुगेको थियो । त्यसपछि पुन सामान्य अंकले घटेको बजार करिब सवा दुई बजेपछि सामान्य अंकले उकालो लागेर १३१४ अंकमा पुगेको थियो । अन्ततः सोमबारको बजार ४.२१ अंकले घटेर १३१० अंकमा अडेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतले घटी हो । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट देखिएको छ । आइतबार एक अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ करोड रुपैयाँ घटी हो । सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार त्रिपल डिजिटले उकालो लागेको निर्जीवन बीमा समूह सोमबार त्रिपल डिजिटले नै ओरालो लागेको छ । सोमबारको उक्त समूहको सूचक १०२ अंकले घटेको छ । तर बीमा समूहको सूचक भने १३० अंकले उकालो लागेको छ ।

टिभीएस ३१० सिसिको अपाचे आरआर बाइकको टेस्ट राइड, मूल्य ७.७९ लाख

काठमाडौं । नेपालका लागि टिभीएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले अपाचे आरआर ३१० सिसिको सोमबार अपाचेको टेस्ट राइड आयोजना गरेको छ ।कम्पनीले आरआरको मूल्य ७ लाख ७९ हजार ९ सय तोकेको छ । बाइकमा ६ स्पीड गियरबक्सयुक्त छ । टेस्ट राइड कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले टिभिएसले आफ्नो उत्पादनको ३६ वर्ष अनुभव पछि यो रेसिङ मेसिन उत्पादन भएको बताए । उनले ग्राहकको माग अनुसार आरआर बाइक नेपालमा भित्रिएको पनि बताए । सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवा प्रदान गर्ने तथा जस्तोसुकै समस्याको समाधानमा संवेदनशील ढङ्गका साथ अघि बढी रहेको उनले बताए । टिभिएस सर्भिस सेन्टर ५/५ किलोमिटरमा राखिने पनि बताए । SONY DSC

कैलालीको अत्तरीयामा आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले बैशाख १४, १५ र १६ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय अत्तरीया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ७० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने सर्फ, स्याम्पु तथा अचार बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख गणेशप्रसाद भट्टले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा सर्फ, स्याम्पु तथा अचार बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ५०६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

खानेपानी मन्त्रीको निर्देशनमा झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स पठाइयो

काठमाडौं । दूषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ । झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण चेक जाँच गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ । स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर चेक जाँच गरिन्छ । केही दिन देखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एकको मृत्यु भएको छ भने करिब २ सय मानिसहरु बिरामी परेका छन् । त्यहाँको खानेपानीमा कोलिफर्म भएको बताईएको छ । दूषित पानीका कारण सिंगो गाउँकै जनजीवन प्रभावित भएको छ । ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने लगायतका समस्याले दजाकोटमा महामारी फैलिएको छ । त्यस क्षेत्रको पानीको मुहानमा धेरै कोलिफर्म भेटिएकाले झाडा पखालाको प्रकोप बढेको विज्ञहरुको भनाई छ । पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले बताए ।