
काठमाडौँ । सार्क उद्योग वाणिज्य संघको ७७ औं बैठक काठमाडौंमा शुरु भएको छ । बैठकको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विहीबार एक समारोहका बीच चन्द्रागिरीमा उद्घाटन गरे । बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा सार्क उवासंघद्वारा आयोजना गरिएको हो ।
बैठकलाई संवोधन गर्दैसभामुख महराले क्षेत्रीय रूपमा आर्थिक समृद्धिका लागि कार्यरत संस्था सार्क उद्योग वाणिज्य संघका गतिविधिले सिंगो दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका उद्देश्यहरू हासिल गर्न सहयोग पुर्याउने विश्वास प्रकट गरे ।
दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै प्रमुख अतिथि महराले संघको बैठक यस दिशामा पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको बताए ।
उक्त कार्यक्रमलाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले दक्षिण एशियामा नेपाल लगानीका लागि प्रमुख आकर्षणको थलो बन्दै गएको बताइन् । हालै सम्पन्न लगानी सम्मेलनबाट सार्क लगायत विश्वमै नेपालमा बन्दै गएको लगानीको वातावरणका विषयमा सन्देश गएको उनले बताइन् ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मझार जोभेदले सार्कलाई समृद्ध क्षेत्र र सुखी जनता अभियानमा अगाडी बढाउनु पर्ने र यसको नेतृत्व सार्क उवासंघ जस्ता संस्थाले लिनुपर्ने सुझाव राख्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरे ।
सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेले सार्क उवासंघको बैठक काठमाडौंमा आयोजना गर्न पाएकोमा खुशी प्रकट गरे । अध्यक्ष रूवान इदरिसिंघेले सहकार्य, केनेक्टीभिटी, स्वतन्त्र आवात जावत यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्ने आधार भएकाले यसका लागि सार्क सदस्य राष्ट्रहरू बीच सामूहिक प्रयासमा जोड दिए । सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले आपसी सहकार्यका क्षेत्रहरू पहिल्याउंदै अगाडि बढ्नु पर्नेमा जोड दिए ।
उपाध्यक्ष ढकालले यस क्षेत्रमा पूर्वाधार निर्माण, उर्जा, प्राविधिक विकास, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य र संयुक्त लगानीको खा“चो औल्याए । सार्क उवासंघका पूर्व अध्यक्ष दासो उगेन दोर्जी र संघका वरिष्ठ उपाध्यक्ष इफ्तिखार अलि मलिकले आपसी संवाद र छलफलका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धिका एजेण्डालाई अगाडि बढाउनु पर्नेमा जोड दिंदै सार्क उवासंघले क्षेत्रीय विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने धारणा राखे ।
कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, सार्क उवासंघका पदाधिकारीहरू, कार्य समिति सदस्यहरू, साधारण सदस्यहरू, नेपाल लगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । संघको बैठक शुक्रबारसम्म चल्नेछ ।