
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले बैशाख २३, २४ र २५ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय टिकापुर कैलालीमा आबद्ध सदस्यहरु मध्ये ५० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने सर्फ, स्याम्फु तथा अचार बनाउने तालिम प्रदान गरेको हो ।
तालिम कार्यक्रमलाई उद्घाटन गर्दै टिकापुर नपा वडा नं. ४ का अध्यक्ष लालबिर चौधरीले यस्तो किसिमको कार्यक्रमले महिलाहरुलाई उद्यमशील बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख हिराप्रसाद उपाध्यायले तालिम पछि सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रमको समापन समारोहमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंह, सोही वडाका सचिव झनकराज ओझा समेतले सम्बोधन गरेका थिए ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ, स्याम्फु तथा अचार बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ६९६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहन विचार व्यक्त गरे ।