एनएमबि र ओम २ महिनाभित्र मर्ज भइसक्ने, डीडीएअघि ओमका शेयरधनीलाई १२ प्रतिशत बोनस
काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरका लागि एमओयू सम्झौता भएको छ । दुई बैंकहरुले बिहीबार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा एनएमबि बैंकका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार कुसारीले हस्ताक्षर गरेका थिए । यसअघि प्राइम बैंकसँग मर्जर सम्झौता तोडेको ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान निर्देशन दिएको थियो । सोलगत्तै कुरा अघि बढाएको बैंकले छोटो समयमै मर्जरका लागि एमओयू गर्न सफल भएको हो । कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको मर्जरसम्बन्धि नीतिलाई सहयोग गर्न र क्षेत्रीय रुपमा बैंकलाई मजबुत बनाउन ओमसँग मर्जरमा जान चाहेको जानकारी दिए । ‘प्रदेश नं ४ मा हामीलाई बजार विस्तार गर्नु थियो, त्यसका लागि शाखा विस्तार वा सो क्षेत्रका कुनै बैंकसँग मर्ज गर्ने विकल्पमध्ये हामीले प्रदेश ४ मा उत्कृष्ठ रहेको ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा गएका हौं ।’ उनले भने । प्रमुख कार्यकारी अधिकृत केसीले ४/५ वर्षअघि एनएमबि बैंकले ४/५ ओटै वित्तीय संस्थाहरुसँग मर्जर गरेको र यो मर्जर ऐतिहासिक र राम्रो मर्जर भएको भन्दै ओमसँगको मर्जर पनि एकदमै सौहार्दपूर्ण तरिकाले २ महिनाभित्रै टुङ्गिने बताए । उक्त मर्जरपछिको बैंकका १६३ शाखा र १५०० जना कर्मचारी कायम हुनेछन्, भने नयाँ बैंकको नाम एनएमबि बैंक नै रहने केसीले बताए । उनले १ र २ जोडेर ३ बनाउने आफूहरुको लक्ष्य नभई १२ बनाउने लक्ष्य रहेको भन्दै बैंक अब मूल्यमा आधारित बैंकिङ प्रणालीमा जाने बताए । ओम डेभलमेन्ट बैंकका सञ्चालक एवं मर्जर कमिटिमा संयोजक योगेन्द्रलाल प्रधानले दुई बैंकको मर्जरले सुनौला सपनाहरु बुनेको भन्दै एक वर्षपछिको रिपोर्टले त्यसलाई देखाउने बताए । त्यस्तै, एनएमबि बैंकका सञ्चालक तथा मर्जर कमिटीमा संयोजक प्रदीपराज पाण्डेले ओमसँग आफूहरुको कार्यप्रणाली र सोचाई मिल्ने भएकोले एकआपसमा जोडिन लागेको भन्दै भावनात्मक रुपमा एकीकृत भइसकेको बैंक कार्यगत रुपमा केही समयभित्रै एक हुने बताए । ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार कुसारीले यो दुई मर्जर भगवानको देन भएको भन्दै भगवानले लेखेकोले नै यो मर्जर सम्पन्न भएको दाबी गरे । उनले मर्जरपछि ओमका कर्मचारीहरुको सीप र वृत्तिविकासमा एनएमबि बैंकले ध्यान दिने विश्वास व्यक्त गरे । एनएमबि बैंकका अध्यक्ष गोल्यानले प्रदेश १, प्रदेश ५ लगायतमा मर्जरबाटै एनएमबि बैंकले सशक्त हुन सफल भएको भन्दै मर्जरपछि प्रदेश ४ मा पनि एनएमबि सबल हुने बताए । उनले प्रदेश ६ र ७ मा पनि त्यस्ता पार्टनरहरु खोजीरहेको समेत उनले बताए । अध्यक्ष गोल्यानले प्रदेश ४ कृषि क्षेत्रका लागि सम्भावनायुक्त ठाउँ भएको भन्दै यो प्रदेशमा स्याउ लगायतका कृषिजन्य उत्पादनमा लगानी गर्ने योजना रहेको समेत बताए । दुई बैंकहरुबीच भएको एमओयूमा ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १२.७० प्रतिशत बोनस ओमका शेयरधनीहरुलाई दिने र त्यसपछि डीडीए रिपोर्टका आधरमा स्वाप रेसियो निर्धारण हुनेगरी सहमति भएकाे बताइएकाे छ ।
माथिल्लो त्रिशूली थ्री ए को विद्युत राष्ट्रिय प्रणालीमा, स्वीच थिचेर कुलमानले गरे घोषणा
काठमाडौँ । माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दवाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे । आयोजनाबाट परीक्षणको रुपमा विद्युत उत्पादन भइरहेको छ । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ स्थिति सबस्टेसनमा जोडिएको छ । शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ । आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो हप्ताभित्र संचालनमा ल्याउने गरी काम भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युत्को परिमाण घट्ने बताए । ‘लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ’,उनले भने । ‘यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने छ ।’ उनले त्रिशूली ३ ए पूर्ण रुपमा संचालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहने बताए । यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्ने घिसिङले बताए । विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको हो । आयोजनाले नै काठमाडौंको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सिडब्लुई)ले पाएको थियो । १७ जेठ २०७१ (३१ मे २०१४)भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो ।
लगातार ४० घण्टा नृत्य गरी विश्व कृतिमान राख्ने श्रेष्ठ दिदीबहिनीको घोषणा
काठमाडौं । काठमाडौँ चन्द्रगिरिका दिदीबहिनी रुबिसा र एलिसा श्रेष्ठले लगातार ४० घण्टा सँगै नृत्य गरेर विश्व रेकर्ड राख्ने भएका छन् । विहीबार पत्रकार सम्मेलन गरी श्रेष्ठ दिदीबहिनीले यस्तो घोषणा गरेका हुन् । यसअघि अमेरिकाका ब्रेट ग्रिस र जेनिफ ग्रिसले सँगै लगातार ३८ घन्टा ३० मिनेट नृत्य गरेर बनाएको विश्व रेकर्ड श्रेष्ठ दिदी बहिनीले तोड्ने भएका हुन् । जेठ ११ र १२ गते दिदीबहिनीले लगातार नृत्य गर्ने कार्यक्रम संयोजक सन्तोष लामाले बताए । चन्द्रागिरी नगरपालिका वडा नं ६ मा स्थाई बसोबास गर्दै आएकी रुविसाको जन्म २०५६ सालमा भएको थियो भने एलिसाको जन्म २०५८ सालमा भएको हो । हाल रुबिसा क्यापिटल कलेजमा स्नातक प्रथम वर्षमा र एलिसा एभरेष्ट कलेजमा अध्ययनरत रहेको छ । आफ्ना मातापिताको हौसलाले विश्व रेकर्ड कायम गर्न लागेको श्रेष्ठ दिदीबहिनीले पत्रकार सम्मेलनमा बताए ।
लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पूरा, बाँकी सम्पन्न गर्न ६ अर्बको टेण्डर हुँदै
रुपन्देही । गौतम बुद्धको जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि पवित्रतम र आकर्षक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको यस गुरुयोजनाले एक हजार १५५ बिघा क्षेत्रफल जमीन ओगटेको छ । लुम्बिनीको तीन वर्ग माइल जमीनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरिएको छ । तीन वर्ग माइल भू-भागलाई एक-एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको एक वर्ग माइल क्षेत्रलाई लुम्बिनी ग्राम र मध्यभागमा रहेको दोस्रो खण्डको एक वर्ग माइलको भू-खण्डलाई शैक्षिक, सांँस्कृतिक तथा अन्तर्राष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामकरण गरिएको छ । बाँकी एक वर्ग माइलको दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । बुद्धले पहिलो पाइला टेकेको स्थान भएकाले पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । कोषले गुरुयोजनाअनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास हुने दावी गरेको छ । यसका लागि गुरुयोजनाका बाँकी सबै काम एकैचोटि सक्ने गरी करीब ६ अर्बको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरिएको हो । कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार बोलपत्र आह्वान गर्नु पूर्व त्यस्ता संरचनाहरुको योजना, डिजाइन र लागत अनुमान तय गर्न अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट गर्ने प्रकृया शुरु गरिएको छ । केही दिनभित्रै परामर्शदाता छनोट गरी अन्तर्राष्ट्रिय बोलपत्रमार्फत तीन वर्षभित्र गुरुयोजना सक्ने योजना कोषको छ । सबै संरचनाहरुको सुपरीवेक्षणसमेत परामर्शदाताले गर्नेछ । त्यसो हुँदा कोषले गुरुयोजनामा आफ्नो जनशक्ति लगाउनुपर्ने छैन । त्यसको सट्टा गुरुयोजना अन्तर्गत सुन्दरता बढाउने काममा माक्रै जनशत्ति परिचालन गर्ने तयारी कोषले गरेको छ । आगामी तीन वर्षभित्र सुन्दरता समेत थपेर लुम्बिनीलाई संसारकै पवित्र र नमूना आध्यात्मिक पर्यटकीय स्थलको सबैका रुपमा विकास गर्ने लक्ष्यसहित आफूहरुले काम गरिरहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो । उद्यान क्षेत्र लुम्बिनी गुरुयोजनाले शाक्यमुनि गौतम बुद्धले पहिलो पाइला टेकेको स्थान उद्यानलाई प्राथमिकतामा राखेको छ । यो उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीबाट घेरिएको छ । यो पोखरीलाई ‘सर्कुलर लेबी’ भनिएको छ । वरिपरि नीलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना गरिएको छ । गोल पोखरीभित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पुरातात्विक महत्वका भग्नावशेषहरु, प्राचीन लुम्बिनीग्रामका अवशेषहरु मात्र रहने गरी कुनै पनि नयांँ निर्माणका काम गर्न रोक लगाइएको छ । उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्नबाट रोक्न गोलाकार नहरहरु बनाइएको हो । यस पवित्र क्षेत्रलाई विश्व सम्पदा समितिको सन् १९९७ डिसेम्बर १–६ सम्म भएको सभाले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । उद्यानका ४१ प्लटहरुमध्ये तीन वटा मात्र तयार भएका छन् । बाँकी सबै प्लटलाई यसै वर्षदेखि सुन्दर पार्ने योजना छ । पवित्र उद्यान क्षेत्रमा गुरुयोजनाअनुसार निर्माण गर्ने ठूला संरचनाहरु करीव करीब सम्पन्न भएका छन् । उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ । अहिलेको पोखरीलाई दोब्बर बढाएर घाँस तथा झारहरु उम्रिन नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमीनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएको छ । पोखरीका विभिन्न पाँच स्थानमा पानीका रङ्गिन फोहोराहरु बनाउने योजना समेत रहेको उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो । आकर्षक विहार क्षेत्र पवित्र उद्यान क्षेत्रबाट उत्तरतर्फ रहेको अन्तर्राष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी विहार क्षेत्र गरी दुई भागमा विभाजन गरिएको छ । यी दुई क्षेत्रलाई शान्तिदीपबाट शुरु भएको केन्द्रीय नहरले दुई अलग अलग भागमा छुट्याएको छ । यो क्षेत्रमा थेरवादी विहार, महायानी, बज्रयानी विहार, स्तूप तथा ध्यान केन्द्रहरु निर्माण गर्ने लक्ष्यका साथ विभिन्न विहार र गुम्बाका लागि ४३ वटा प्लट छुट्याइएका छन् । त्यसैले यसलाई सानो बौद्ध संसार पनि भनिन्छ । यसभित्र पूर्वी विहार क्षेत्रमा थेरवादी बौद्ध सम्प्रदायका १३ मध्ये नेपाल लगायत ७ मुलुकका आकर्षक विहारहरु निर्माण भइसकेका छन् । पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मध्ये २१ मुलुकले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरु बनाइसकेका छन् । ती मध्ये केही विहारहरु निर्माणाधीन छन् । बाँकी मुलुकहरुले निर्माणको काम थालेका छैनन् । यसरी विहार बनाउने मुलुकहरुमा पूर्वतर्फ श्रीलङ्का, मान्मार, थाइल्याण्ड, कम्बोडिया, क्यानडालगायत छन् भने पश्चिमतर्फ चीन, सिंगापुर, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, भियतनामलगायतका मुलुक छन् । संयुक्त राज्य अमेरिका लगायतका केही मुलुकले विहार बनाउने तयारी गरेको कोषले जनाएको छ । नयाँ लुम्बिनीग्राम लुम्बिनी गुरुयोजनामा बाँडिएका प्रमुख तीन वटा क्षेत्रहरु बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने मात्र हैन भौतिक एवं वातावरणीय रुपमा संरक्षण गर्ने अभिप्रायले समेत तयार गरिएका छन् । योजनाबद्ध रुपमा विकास भइरहेको तीन वर्ग माइलमध्येको उत्तर तर्फको एक वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामकरण गरिएको छ । गृहस्थ जीवनमा आवश्यक पर्ने सबै प्राविधिक परियोजनाहरु समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनी ग्राम भनेर बुहत् गुरुयोजनामा समावेश गरिएको छ । तीर्थयात्री तथा पर्यटकहरुलाई आवश्यक भौतिक सुविधा पुर्याउने संरचनाहरु यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ । नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचनाहरु बनेर सञ्चालनमा आइसकेका छन् । तथापि, थुप्रै महत्वपूर्ण संरचनाहरु बन्न बाँकी छन् । नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचनाहरु बनेर सञ्चालनमा आइसकेका छन् । तथापि, थुप्रै महत्वपूर्ण संरचनाहरु बन्न बाँकी छन् । गुरुयोजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको थियो । एक सय शय्याको सबै सुविधायुक्त विलासी होटल, १५० शय्याको मध्यमस्तरको सुविधायुक्त होटल, २०० शय्याको साधारण आवासगृह र चार वटा क्याम्पिङ निर्माण गर्ने योजना बनाइएको थियो जसमध्ये तीन स्तरका होटलहरु सञ्चालनमा छन् । क्याम्पिङ निर्माणको काम भने बाँकी छ । विकास कोषको खर्च विवरण अनुसार लुम्बिनी गुरुयोजनाभित्र विहार क्षेत्रमा सबैभन्दा बढी रु एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । बार्हवटा विहार नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चीन र जर्मनीका विहार निर्माणका लागि ती मुलुकहरुले रु ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को मुलुक थाइल्याण्डले रु १० करोड २५ लाखको लागतमा विहार बनाएको छ । विहार क्षेत्रमा अझै रु २२ करोड जति लगानी हुने अनुमान छ । गुरुयोजना अनुसार न्यू लुम्बिनी भिलेज क्षेत्रमा रु एक अर्ब २७ लाख ६० हजार लगानी भएको छ । यो क्षेत्रमा निर्माण भएका होक्के होटल र होटल कासाइले रु ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी सङ्ग्रहालय भारत सरकारको रु ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तर्राष्ट्रिय संस्था रेयूकाईले रु ३० करोड ८० लाखको लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यो क्षेत्रमा अझै करीव रु एक अर्बको लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् । उद्यान क्षेत्रमा रु ३८ करोड लगानी लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा रु ३८ करोड ८१ लाख लगानी भएको छ । त्यस्तै, लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा रु २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै रु २४ करोड खर्च भएको थियो । यहाँ गुरुयोजनाअनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, साङ्केतिक पेभेलियन निर्माण, विद्युत व्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि रु दुई अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान रहेको कोषका निमित्त सदस्य सचिव भट्टराईले जानकारी दिनुभयो । लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा यता, बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भव्यरुपमा मनाइने बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक जेठ ४ गते परेको २५६३औँ बुद्धजयन्ती तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष शुभारम्भ कार्यक्रम एकै दिन हुने भएकाले भब्य तयारी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्याउने उद्देश्यले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने घोषणा गरेको हो । भ्रमण वर्षमा मायादेवी प्रसूति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथनलगायतका कार्यक्रम गरिनेछ । ५६३औँ बुद्धजयन्ती तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष शुभारम्भ कार्यक्रम एकै दिन हुने आन्तरिक पर्यटनमा केन्द्रित भएर यसपटकको बुद्धजयन्ती मनाउने तयारी गरिएकाले प्रचार प्रसार र सबै तयारीको काम पूरा भएको विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए । बुद्धजयन्तीको दिन प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष शुभारम्भ गर्ने भएका कारण यसपटकको बुद्धजयन्ती विशेष हुने उनको भनाई छ । बुद्धजयन्ती तथा भ्रमण वर्ष शुभारम्भ समारोहमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न देशका बौद्धमार्गी, भिक्षु भिक्षुणी, संस्कृतिविद्लगायत लुम्बिनी आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले लुम्बिनीमा दुई हजार ६४३ वटा बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।त्यसलगत्तै बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोह शुरु हुनेछ ।
सानिमा बैंकको संचालकमा गायत्री थापा नियुक्त
काठमाडौं । सानिमा बैंकको संचालक पदमा संस्थापक सेयरधनी गायत्री थापा नियुक्त भएकी छिन् । बैंकको जेठ २ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने गरी थापालाई नियुक्त गरेको हो । यसअघि बैंकको उक्त पदमा शाम्वा लामा कार्यरत थिए । उनले जेठ ३ गतेदेखि लागू हुने गरी राजिनामा दिएपछिको रिक्त पदमा संचालक थापालाई नियुक्त गरिएको बैंकका कम्पनी सचिव रुद्रप्रसाद बन्जाराले बताएका छन् । नवनियुक्त थापाले जेठ ३ गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छिन् ।
कछुवाको तालमा फोहोर व्यवस्थापन, निजी संस्थाले सरकारसँग मागे नीतिगत स्पष्टता
काठमाडौं। निजी फोहोर व्यवस्थापन संस्थाले आफ्नो कामको लागि नीतिगत स्पष्टता मागेका छन् । वातवरण विभाग टेकुद्वारा राखिएको काठमाडौं फोहोर व्यवस्थापन कार्यक्रममा उनिहरुले यस्तो माग राखेका हुन् । कार्यक्रममा संस्थाका अध्यक्ष धन प्रसाद आचार्यले नितिगत स्पस्टता र स्थानतरण केन्द्र नतोकिएको कारण फोहोर मैला व्यवस्थापनमा समस्या आएको बताए । फोहोर मैला व्यवस्थापना ऐन-२०६८ ले स्थाननतरण तोक्ने जिम्मा स्थानिय निकायको हुने भनेता पनि अहिले सम्म स्थानिय निकायले काहीँ पनि स्थान नतोकेको बताए। उनले आफुहरुलाई काम गर्न सक्ने वातवरण सिर्जना गरिदिन आग्रह गरे । कार्यक्रममा अभियानता अन्जु शाह सिंहले सरकारले निजी व्यवस्थान संस्थालाई सरकारको तर्फबाट कुनै पनि प्रकारको सहयोग नपाएको गुनासो पोखिन् । फोहोर व्यवस्थापनमा सरकारको सहयोग नहुँदा कछुवाको तालमा काम भईरहेको उनले बताईन् । उनले भर्खरै डम्पिङ साईटको रुपमा बनाईएको बन्चरो डाडाँ २० बर्षमा भरिसक्ने त्यसैले अझै ठुलो फराकिलो स्थान खोज्नु सुझाव दिईन् । २०५० साल देखी फोहोर व्यवस्थापनमा लागेको निजी क्षेत्र फोहोर व्यवस्थापन संस्थाले हाल २५०० भन्दा बढी व्यक्तीलाई रोजगार प्रदान गर्दै आईरहेको छ। कार्यक्रममा गृह मन्त्रालय सह-सचिव विपन्न व्यवस्थापन महाशाखा प्रमुख केदार न्यौपानेको उपस्थिती थियो।
शिवम् सिमेन्टका लगानीकर्ताले एक महिनामै कमाए ८७ प्रतिशत बढी, सेयर मूल्य हालसम्मकै उच्च
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका लगानीकर्ताले एक महिनाको अवधि मै ८७.५४ प्रतिशत बढी कमाएका छन् । जसले गत वैशाख देखि बिहीबार(आज) सम्म प्रतिकित्ता २६७ रूपैयाँ कमाएर पछिल्लाे समय मालामाल भएका छन् । गत वैशाख ४ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँ रहेको थियो । जुन अहिले सम्मकै न्युनतम मूल्य थियो । त्यसपछिको दैनिक कारोबारमा सामान्य उकालो लागेको कम्पनीको सेयर मूल्य पछिल्लो समय निरन्तर जसो पोजेटिभ सर्किट लागेको थियो । गत सोमबार प्रतिकित्ता ४९७ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेर प्रतिकित्ता ५४६ रुपैयाँमा पुगेको थियो । तर बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर प्रतिकित्ता ५२० रुपैयाँमा झरेको छ । तर बिहीबारको कारोबारमा कम्पनीको सेयर मूल्य वृद्धिले निरन्तरता पाई पोजेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ रहेको छ । जुन हालसम्मकै अधिकतम मूल्य हो । कम्पनीको सेयर मूल्यसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । पछिल्ला दिनमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, बिहीबार कूल १७३ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये शिवमकै सबैभन्दा बढी सेयर कारोबार भएको छ । सो दिन कम्पनीको कूल १३ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । चालु आवको ९ महिनाको वित्तीय विवरणले लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । सो अवधिमा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ बढीको नाफा कमाएको छ । साथै, उक्त विवरण अनुसार कम्पनीको वित्तीय अवस्था समग्रमा राम्रो भएकाले सेयरधनीहरु कम्पनीको सेयरमा आकर्षित भएका कम्पनीको सेयर कारोबार र सेयर मूल्य वृद्धिले संकेत गरेको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक २.२९ अंकले घटेर १३१८.७१ अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशत घटी हो । बिहीबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकममा पनि गिरावट देखिएको छ । सो दिन जम्मा ९४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३९ करोड रुपैयाँ घटी हो । बुधबार एक अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
व्यापार घाटा २४ प्रतिशतले वृद्धि, आयात बढ्दा ८ महिनामा ८ खर्ब ८७ अर्ब घाटा
काठमाडौँ । उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौ रुपैयाँको व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा करीब २४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ । पछिल्लो समय मुलुकमा विभिन्न वस्तु तथा सेवाको आयात बढ्दै गएको तथा सोही अनुपातमा स्वदेशी उत्पादन निर्यात हुन नसकेका कारण व्यापार घाटा चुलिएको हो । नेपालमा विदेशी वस्तु तथा सेवा मुख्यगरी भारत, चीन तथा तेस्रो मुलुकबाट आयात हुने गर्दछ । निकासी व्यापारमा पनि आयातित मुलुकका अतिरिक्त बङ्गलादेश, बेलायत, संयुत्तराज्य अमेरिका, जर्मनी, टर्की, प्रान्स, इटाली, जापान, क्यानाडा, अष्ट्रेलिया, डेनमार्कलगायत देशमा नेपाली उत्पादन आपूर्ति हुने गरेको छ । कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६ प्रतिशत र ९४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा देशको कूल निकासी १५ दशमलव ३ प्रतिशतले वृद्धि भई रु ६१ अर्ब २२ करोड तथा कूल पैठारी २२ दशमलव ९ प्रतिशतले वृद्धि भई रु ९ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ । गत आर्थिक वर्षको पहिलो आठ महिनामा निकासी पैठारी व्यापारको अनुपात एक दशमलव १५ प्रतिशत रहेकामा चालू आवको सोहि अवधिमा यसको अनुपात एक दशमलव १६ प्रतिशत पुगेको छ । चालू आवको प्रथम आठ महिनामा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पोलिष्टर तथा अन्य धागो, फलामजन्य उत्पादन, ऊनी गलैँचा, तयारी पोशाक, जुट तथा त्यसबाट बनेका सामग्री, पश्मिना, चिया, जीआइ पाइप, जुस, अलैँची, जडीबुटीलगायत रहेका छन् । यसैगरी चालू आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा करीब ३६ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब ६० करोड पुगेको छ । सवारी साधनका अतिरिक्त भौतिक पूर्वाधारको निर्माण तथा विकास परियोजनामा पेट्रोलियम पदार्थको प्रयोग बढेका कारण यसको आयातसमेत बढेको केन्द्रले जनाएको छ । स्टिल तथा तिनका उत्पादनको आयातमा ३३ दशमलव ७ प्रतिशतले वृद्धि भई रु एक खर्ब १२ अर्ब ४० करोड, यातायातका साधन र तीनका मेशिनरी पार्टपूर्जामा १४ दशमलव २ प्रतिशतले वृद्धि भई रु ६४ अर्ब एक करोड, इलेक्ट्रिक तथा इलेक्ट्रिोनिक्स सामग्रीमा ३९ दशमलव १ प्रतिशतले वृद्धि भई ३६ अर्ब ७१ करोड पुगेको छ । सुनको आयातमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ४३ करोड पुगेको छ । त्यस्तै औषधिको आयातमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई रु २० अर्ब ९६ करोड पुगेको छ । अधिकांश आयातित वस्तु औद्योगिक उत्पादन, मालवस्तु ढुवानी, तथा सार्वजनिक यातायातमा खर्च भइरहेको सन्दर्भमा यस वस्तुको आयातले पनि समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान गरेको अर्थविद् राधेश्याम मालाकारले बताए । व्यापार घाटा न्यूनीकरण गर्न वाणिज्य तथा औद्योगिक नीतिलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने, उत्पादन बढाउनका लागि आवश्यक व्यवस्थालाई नीतिमा समावेश गरी कार्यान्वयन गर्नुपर्ने देखिएको छ । करीब ५० लाख युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिन बाध्य भएका कारण स्वदेशमा अधिकांश खेतबारी बाँझो छन् । जसले गर्दा स्वदेशमा उत्पादन हुन सक्ने कृषिजन्यउपज आयात भएको र विप्रेषणबाट आउने रकमको धेरै हिस्सा उपभोग क्षेत्रमा खर्च भएको छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा उत्पादन भएका वस्तु तथा सामग्रीको लागत महङ्गो भई आयातित सामग्री सस्तो पर्ने हुँदा पनि व्यापार घाटा हुन गएको अर्थविद् मालाकारको दाबी छ । रासस