विकासन्युज

नेशनल माइक्रोफाइनान्सले ३७ जनालाई दियो व्यवसायिक तरकारी खेती तालिम

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वितीय संस्था लिमिटेड शाखा कार्यालय सपहिद्वारा समुहमा आवद्ध सदस्यहरुलाई २ दिने सिपमुलक व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ । संस्थाका शाखा प्रमुख प्रदीपकुमार चौधरीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि कोल्वी नगरपालीका वडा नं १ का वडाध्यक्ष बिरेन्द्रप्रसाद चौधरीले उद्घाटन गरे । नेशनल माइक्रो फाइनान्स शाखा कार्यालय सपहीमा आवद्ध कोल्वी नपा र गढिमाई गापाका विभिन्न वडाका महिला सदस्यहरु जम्मा ३७ जनालाई २ दिनसम्म व्यवसायिक तरकारी खेती गर्न चाहिने अधारभुत सिप प्रदान गरिएको थियो ।

सूर्यविनायकमा सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौं । सिद्धार्थ बैंकले भक्तपुरको सूर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले देशभर १५४ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६६ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

म्यागाटो बेल्जियमको कम बिजुली लागतमा बढी उत्पादन दिने प्रविधि अब नेपालमा

काठमाडौं। म्यागाटो ईन्डिया प्रा.लि.ले कम बिजुली लागतमा बढी उत्पादन दिने प्रविधि नेपालमा भित्राएको छ। म्यागाटोले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा विस्तार गरेको हो। विश्वका १५० राष्ट्रमा आफ्नो विभिन्न उत्पादनहरु बिक्रि वितरण गर्दै आईरहेको कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरु बिक्रि वितरण गर्दै आइरहेको छ। कम्पनीबाट उत्पादित प्रविधिहरुले कम बिजुली लागतमा बढि उत्पादन गर्नसक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्ट उद्योगहरुको उत्पादक तत्व बढाउने उद्देश्यका साथ कम्पनीले एक कार्यक्रम माझ प्राविधिक गोष्ठी गरी नेपालका लागि आफ्ना उत्पादनहरुको सेवा विस्तार गरेको हो। कार्यक्रममा नेपालका विभिन्न सिमेन्ट उद्योगका संचालकहरु, खरिद शाखा प्रमुख, वित्तिय प्रमुख तथा फ्याक्ट्रि प्रमुखहरुको उपस्थित रहेको थियो भने म्यागाटोका तर्फबाट कन्ट्रि म्यानेजर(साउथ एसिया) दिपक भोजवानी, विजनेश म्यानेजर बबी स्मीत, प्राविधिक प्रमुख गौतम तनेजा तथा बेल्जियमबाट आएका प्रमुख प्राविधिक बन्नार्ड मुलड र बिक्रि प्रमुख आदित्य सिंहा लगाएतका उपस्थिति रहेको थियो । म्यागाटो इन्डिया प्रा.लि.ले आफ्नो उत्पादनको बिक्रि वितरण गर्न नेपालका लागि आधिकारीक बिक्रेताका रुपमा अरभिन्द इम्पोरियम प्रा.लि.लाई नियुक्त गरेको छ ।  

भाटभटेनीको सेयर बेचेर सबै नेपालीलाई व्यापारमा जोड्ने योजना, ५० हजार जनाले रोजगारी पाउने

काठमाडौं । ‘भाटभटेनी सुपरमार्केटमा दैनिक एक लाख भन्दा बढी मान्छे पुग्छन् । कम्पनीले दैनिक ४० हजार बिल जारी गर्छ। अचेल दैनिक पुग नपुग ५ करोड रुपैयाँ बराबरको व्यापार हुन थालेको छ’ भाटभटेनी सुपरमार्केट प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले थपे-‘आर्थिक वर्ष २०७४/७५ मा १५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । चालु आर्थिक वर्षमा १८ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य छ । हरेक साल २५ प्रतिशतले व्यापार वृद्धि भईरहेको छ ।’ शुक्रबार बिहान पूजापाठ गरी भाटभटेनीको १६औं आउटलेट सातदोबाटोमा खोलेपछि आगान्तुकहरुबाट बधाई थाप्न गेटमा बसेका गुरुङले विकासन्यूजसँगको कुराकानीमा महत्वपूर्ण बिजनेस तथ्यहरु खुलस्त पारे । ‘राजश्व योगदानका आधारमा नेपालको टप थ्री कम्पनी बनाउने लक्ष्य लिएको छु । ५० हजार भाई-बहिनीलाई रोजगारी दिने लक्ष्य राखेको छु । यसमा ९० प्रतिशत महिलाहरु राख्ने मेरो चाहना छ । आगामी १५ वर्ष अर्थात २०९० सालसम्म हामी हाम्रो लक्ष्यमा पुग्नेछौं’ गुरुङले जोशिलो कुरा गरे । ४५ हजार स्क्वायरफिट क्षेत्रफल भएको भाटभटेनीको सातदोबाटो स्टोर निर्माण गर्न करिब ५५ करोड लगानी लागेकाे उनले बताए । यसमा १७५ जनाले रोजगारी पाएका छन् । गुरुङका अनुसार योे स्टोर ठूलाे होइन । ‘भाटभटेनीका १६ मध्ये यो सबैभन्दा सानो स्टोर हो । अरु सबै स्टोर १ लाख स्क्वायरफिट भन्दा ठूला छन्’ गुरुङले प्रष्ट्याए । ३ वर्षभित्र साधारण सेयर निष्काशन जति ठूलो व्यापार त्यति ठूलो तनाव । भाटभटेनी भित्र धन मात्र पक्कै छैन । ऋण पनि छ । भाटभटेनीले बैंकबाट कर्जा कति लिएको छ ? व्याज खर्च कति छ ? हामीले प्रश्न गर्यौ । तर उनले गुमाउरो जवाफ दिए, समाचारको हेडलाइन बन्ने गरी । ‘३ वर्षपछि हामी पब्लिक कम्पनीमा जान्छौं । सर्वसाधारणका लागि सेयर निष्काशन गर्छौ । त्यस पश्चात सबै आर्थिक गतिविधि त्रैमासिक रुपमा सार्वजनिक गरौँला’, गुरुङले भने-‘त्यसपछि हामीले आयकर समेत देखाउने छौं ।’ हाल पनि भाटभटेनीले करमा एक अर्ब भन्दा बढी योगदान गरेको उनले चर्चा गरे । ‘आयकारमा केही तिरेका छौं, टिडीएस, भ्याट लगायत शीर्षकमा धेरै कर तिरेका हुन्छौं’ उनले करको अंक नभनी शीर्षक मात्र भने । किन पब्लिक कम्पनी ? ‘मैले जति राम्रो गर्न सके, मेरा सक्सेसर (हुर्काउदै गरेको नेतृत्व)ले त्यति नै राम्रो गर्न सक्छन् भन्ने हुँदैन । यो व्यवसाय गर्न म जति खटे आगामी दिनमा अरु पनि त्यति नै खट्छन् भन्ने छैन’ उनले थपे-‘यो संस्था हजारौं वर्षसम्म रहोस् भन्ने मेरो चाहना हो । हजारौँ वर्ष संस्था चलाउन एक्लै सम्भव नहुने मलाई महसुुश भएको छ । पश्चिम मुलुकमा एउटै संस्था १५ सय वर्षदेखि चल्दै आएका उदाहरण समेत छन् । संस्थालाई दीर्घकालिन रुपमा अगाडी बढाऔं भन्ने सोचसहित पब्लिक कम्पनी बनाउने सोच बनाएको छु ।’ अर्थशास्त्र अध्ययन गरेका गुरुङले आयको वितरणको लागि पनि पब्लिक कम्पनी हुनुपर्नेमा जोड दिए । ‘अब सबै नेपाली व्यापारी बन्नुपर्छ । सर्बसाधारणको समेत सेयर लगानी भएपछि भाटभटेनीको व्यापारमा धेरै नेपाली संलग्न हुनेछन्’ उनले भने । भाटभटेनीको पुँजी संरचना र सर्वसाधारणका लागि निष्काशन गरिने सेयर पुँजीबारे अहिले निश्चित नभएको बताए । हालसम्म भाटभटेनीमा उनको एकल सेयर लगानी छ । ३ वर्ष भित्रमा २५ वटा स्टोर बनाउने योजना उनले सुनाए । सुनसरीमा ३ लाख स्क्वायर फिटमा नयाँ स्टोर हुनेछ । यस्तै, धनगढी, सुर्खेत, जनकपूर, वीरगंज र विर्तामोडमा गरेर हामीले २५ वटा स्टोर पुर्याउने योजना बनाउका छाैं । नेपाली हिस्सा बढ्दै सुरुवाती चरणमा भाटभटेनीमा ९० प्रतिशत सामान विदेशबाट आयात गरेका हुन्थे । १० प्रतिशत मात्र नेपाली उत्पादन हुने गरेकाे थियाे । अहिले भाटभटेनीमा नेपाली बस्तुले ३० प्रतिशत र विदेशी बस्तुले ७० प्रतिशत हिस्सा लिएको गुरुङले जानकारी दिए । ‘नेपाली वस्तुलाई बढी स्थान दिने चाहाना छ । हाम्रो पहिलो चाहाना नै नेपाली ग्राहकको लागि नै हो । नेपाली धनी नभई हाम्रो स्टोर धनी हुन सक्दैन । नेपाली धनी हुनको लागि भाटभटेनीमा पनि नेपाली बस्तु बिक्री हुनुपर्छ भन्ने लाग्छ’ गुरुङले भने । हाल भाटभटेनीमा दाल, चामल, गेडागुडी, फलफुल, बेकरी, विस्कुट, चाउचाउ, चकलेट लगायत स्थानीय उत्पादन हुन्छन् । ३५ वर्षको उपलब्धि उनले ३५ वर्षअघि नेपाल बैंकको स्थायी जागिर छोडेर ग्रोसरी व्यवसाय शुरु गरेका थिए । भाटभटेनीमा हालसम्म २० अर्ब रुपैयाँ भन्दा बढी लगानी भईसकेको उनले बताए । यहाँ हाल करिब ६ हजार ५ सय जनाले रोजगारी पाएका छन् । बस्तु उत्पादक तथा आपूर्तिकर्ताको लागि पनि भाटभटेनी सुपरमार्केट महत्वपूर्ण बजार हो । भाटभटेनीमा २५ सय भन्दा बढी बस्तु आपूर्तिकर्ता छन् । त्यसमा करिब ४५० नेपाली सप्लायर्स रहेका छन् । खोटाङ् जिल्लाको सामान्य किसान परिवारमा जन्मे हुर्केका मीनबहादुर गुरुङ नेपालको व्यवसायिक क्षेत्रमा पायोनियर नै बनेका छन् । भाटभटेनी सुपरमार्केट शुरुवातसँगै यसलाई उचाईमा पुर्याउने कार्यमा उनले जुन सफलता हासिल गरेका छन् त्यो सबै क्षेत्रका व्यवसायीहरुको लागि प्रेरणादायी नै रहेको छ । अरु क्षेत्रमा पनि लगानी विस्तार सुपरमार्केट बाहेक गुरुङले काठमाडौं स्टील उद्योगमा ठूलो लगानी गरेका छन् । चन्द्रागिरी केबलकारमा २५ प्रतिशत सेयर लगानी गरेका छन् । अजोड इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, विभिन्न बैंक र जलविद्युत कम्पनीमा उनले ठूलो लगानी गरेका छन् । चन्द्रागिरी केबलकार, जलविद्युत कम्पनीहरुमा आईएमई ग्रुपसँग साझेदारी गरेका मीनबहादुर गुरुङले रियल स्टेट बिजनेशमा कालु गुरुङसँग साझेदारी गरेका छन् । निन्द्रा बाहेकको समय व्यापारमा ‘सफलता चुम्न मिहेनत गर्नैपर्छ । म दैनिक १६ घण्टा काम गर्छु । म निदाएको बेला भन्दा अन्य बेला काम नै गरिरहेको हुन्छु’ श्रीमती सावित्री गुरूङसँगै उभिएर उनले भने-‘मैले दाल, चामल, कपडा बेच्छु । वकिलले बोली बेच्छन् । त्यस्तै तपाईहरु समाचार बेच्नु हुन्छ । कुनै पनि पेशामा लाग्दा आफ्नो धर्मभित्र, कर्मभित्र ईमान्दार हुनुपर्छ, सफलता पाइन्छ’ उनले भने । ‘संसार धेरै माथि पुगिसकेको छ । अमेरिका, चीनले आफ्नो आर्थिक पाटो मजबुद बनाएका छन् । उनीहरु धनी भएकाले विश्वमञ्चमा उनीहरुको फूर्ती धेरै देखिन्छ । नेपाली पनि धनी हुने हो भने हाम्रो पनि फूर्ती अर्कै हुनेछ । सबैले आर्थिक हैसियत मजबुत बनाउन आवश्यक छ भन्ने लाग्छ’ उनले अरुलाई प्रेरित गर्न खोजे ।

कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । आइतबार कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको कूल २ लाख ५३ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । यसअघि संस्थाको जम्मा सूचिकृत सेयर भने ५० लाख ५९ हजार ९०४ कित्ता रहेको छ । साथै, बजार पूँजीकरण ९१ करोड ७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आइतबार संस्थाको सेयर मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ ।

अब मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य !

काठमाडौं। उपत्यका ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका मोटारसाईकल पछाडि बस्नेहरुले पनि अब फेरी अनिवार्य हेल्मेट लाउनुपर्ने व्यवस्था ल्याउन तयारी गरेको छ। आईतबार पत्रकार सम्मेलन गर्दै मोटरसाईकल दुर्घटना बढेको कारण फेरी यस्तो व्यवस्था गर्न लागेको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले बताए। यसको लागि ट्राफिक प्रहरी कार्यालयले सरकारसँग सिफारिस गरिसकेको उनले जानकारी दिए। यस्तै आर्थिक वर्ष २०७५/७६को बैशाख मसान्तसम्ममा ३ लाख ८४ हजार २ सय ६ चालकलाई विभिन्न कसुरमा कारबाहीमा परेका छन्। सो अवधिमा २५ करोड ३७ लाख ११ हजार रुपैयाँ राजश्व संकलन भएको पन्तले बताए।      

धनुषाको महेन्द्रनगरमा कृषि विकास बैंकको शाखा बिस्तार

काठमाडौँ । धनुषा जिल्ला शिरेश्वर नगरपालिकाको सखुवा महेन्द्रनगरमा कृषि विकास बैंक लि.को शाखा कार्यालय बिस्तार भएको छ । जेठ ३ गतेका दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका विशिष्ठ कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधाको बारेमा जानकारी गराए । उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा महेन्द्रनगर वासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, प्रकाश पारे । कार्यक्रममा कृषि विकास बैंक लि.का कामु विभागीय प्रमुख बासु अधिकारी, क्षेत्रीय कार्यालय जनकपुरका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

एक अर्ब माथिको सेयर कारोबार हुँदा सबैभन्दा बढी नेपाल बैंकको, शिवमकाे मूल्य ६२९ पुग्यो

काठमाडौं । साताको पहिलो दिन कूल एक अर्ब ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता सेयर सो मूल्यमा किनबेच भएका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन २२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३३६ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ७० लाख रुपैयाँ बढीको सेयर बिक्री भएको छ । पछिल्लो कारोबारमा जस्तै आइतबार पनि यस कम्पनीको सेयर मूल्यमा पोजेपटभ सर्किट ब्रेक लागेको छ । बिहीबारको तुलनामा आइतबार कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६२९ रुपैयाँ पुगेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता १११ रुपैयाँ पुगेको छ । समग्रमा आइतबारको नेप्से परिसूचक १.८७ प्रतिशतले घटेर १३१६.८४ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा विभिन्न ५ कम्पनीका लगानीकर्ताले ५ र ६ प्रतिशतको हाराहारीमा गुमाएका छन् । विशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, आईएमई जनरल इन्स्योरेन्स, नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सेयर मूल्य र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य सो मात्राले घटेको हो । सो दिन उत्पादमूलक समूह १०० अंकले बढेर २७६२ अंकमा पुगेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स, हाइड्रो, अन्य र म्युचअल फण्ड समूह सामान्य अंकले बढेका हुन् भने बाँकी समूह राताम्मे भएका छन् ।