विकासन्युज

यूनाईटेड फाइनान्सको २१ लाख साधारण सेयर सूचिकृत

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको २१ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । यस अघि संस्थाको ८० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो । केन्द्रिय कार्यालय दरबारमार्गमा रहेको यस संस्थाको बजार पुँजीकरण एक अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ । उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा नेपाली भाषाको समेत सहज प्रयोग गर्ने गराउने वातावरण बनाउन लागिपरेको छ । सहज रुपमा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटिएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका एटिएममा नेपाली भाषा रहेको भए पनि अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिनमा भने नेपाली भाषा राखिएको छैन । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मेसिनमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको हो । बैंकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटिएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । नेपाली भाषा प्रयोग गरी एटिएम चलाउन सकिने व्यवस्था गरी सो को जानकारी गराउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ अनुसार कारवाही गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ । विज्ञान प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटिएम मेसिन सञ्चालनमा ल्याएका हुन् । बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थाले समेत एटिएम मेसिन सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार देशभर ४० लाख ७१ हजारले नियमित रुपमा एटिएम कार्ड प्रयोग गर्छन । कूल ५९ लाख ६० हजारले एटिएम कार्ड लिएका छन् । सरकारले नयाँ वर्षको शुरुआतसँगै शुरु गरेको ‘खाता खोलौँ’ अभियानले पनि एटिएम कार्ड लिनेको सङ्ख्यामा वृद्धि हुने देखिएको छ ।

निरन्तर बढीरहेको शिवमको मूल्यमा लाग्यो ब्रेक, कारोबार भने सबैभन्दा बढी

काठमाडौं । एक महिनायता निरन्तर उकालो लागिरहेको शिवम सिमेन्टको मूल्यमा सोमबार ब्रेक लागेको छ । सोमबार कम्पनीको सेयर मूल्य ३४ रुपैयाँले घटेर प्रतिकित्ता ५९५ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५.४१ प्रतिशत घटी हो । आइतबार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५ रुपैयाँमा पुगेको थियो । जुन अहिलेसम्मकै अधिकतम मूल्य हो । गत वैशाख ८ गते कम्पनीको सेयर मूल्य न्युनतम मूल्य प्रतिकित्ता ३०५ रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि लगातार जसो पोजेटिभ सर्किट लागेर कम्पनीको सेयर मूल्य उच्च अंकमा पुगेको थियो । आइतबार कम्पनीको सेयर मूल्यमा गिरावट आएपनि सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको २५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको २३ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस साता बढी कारोबार गर्नेमा शिवम् सिमेन्ट र नेपाल बैंक अगाडि रहेका छन् । आइतबार नेपाल बैंकको बढी कारोबार भएको थियो भने सोमबार शिवम् सिमेन्टको बढी सेयर किनेबेच भएको छ । बजारमा कुल १७२ कम्पनीको १ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १२ हजार ९ वटा कारोबारमा ३३ लाख ९८ हजार ६८० कित्ता सेयर किनबेच भएको देखिन्छ । आइतबार कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले एकैदिन ९.९१ प्रतिशत कमाएका छन् । त्यस्तै, मल्टि प्रपोज फाइनान्स कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य क्रमशः ९.७० र ९.२९ प्रतिशतले बढेको छ । समग्रमा सोमबारको नेप्से ९.१३ अंकले घटेर १३०७.७१ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशत घटी हो । सो दिन हाइड्रोपावर र अन्य समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे भएका छन् । हाइड्रोपावर र अन्य समूह क्रमशः १६.५९ र २.७६ अंकले बढेका छन् । पाँचथर पावर र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ७.७७ र ७.२५ प्रतिशतले घटेको छ ।

सौराहामा आरम्भको कार्यक्रम समीक्षा, योजना तथा बजेट तर्जुमा र तालिम सम्पन्न

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले जेठ १ र २ गते चितवनको सौराहामा समीक्षा, बजेट तर्जुमा र तालिम कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका २० जना शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको असुली विभाग प्रमुख हरिप्रसाद सापकोटाले जानकारी गराए । उक्त कार्यक्रममा २० वटै शाखाका शाखा प्रबन्धकहरुले २०७५ चैत्र मसान्तसम्मको कार्य प्रगति तथा आव २०७६÷०७७ को योजना पेश गरेका थिए । संस्थाका सुमन दुवाडी, रिपेन्द्र दाहाल, हरिप्रसाद सापकोटा, विश्वराज श्रेष्ठ, युवराज पौडेल शर्मा, पवनकुमार श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । तालिममा सहभागीहरुले ब्यवस्थापन सीपहरु, शाखा प्रमुखहरुको भूमिका तथा जिम्मेवारी, वित्तीय साक्षरता, बचत परिचालन, बचतको महत्व, बचत वृद्धिका उपायहरु, कर्जा सदुपयोगिता यसको महत्व तथा कर्जा सदुपयोगिता निरीक्षण प्रक्रिया, लघुबीमा अवधारणाको महत्व तथा यसबाट ग्रामीण क्षेत्रका सदस्यहरुलाई फाइदा आदि विषयहरुमा सहभागीहरुले जानकारी हासिल गरेका थिए ।

कुलमानका पक्षमा फैसला, ‘ट्रङ्क तथा डेडिकेटेडबाट विद्युत् लिएका उद्योगीले महसुल तिर्नुपर्ने’

काठमाडौँ । ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले तोकेअनुसारको महसुल तिर्नुपर्ने भएको छ । पाटन उच्च अदालतले विद्युत् महसुलका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई सदर गरिदिएको छ । ट्रङ्क लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले बढी शुल्क तिर्न अटेर गर्दै आएका थिए । आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय नरेन्द्रकुमार शिवाकोटी र राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले उद्योगीका पक्षमा यसअघि दिइएको अन्तरिम आदेश खारेज गरी महसुल तिर्नुपर्ने फैसला गरेको हो । उच्च अदालत पाटनले रघुपति जुट मिल, अरिहन्त पोली म्याक्स, अरिहन्त मल्टी फाइबर, एभरेष्ट पेपर मिल र शुभश्री अग्नि सिमेन्ट प्रालिलाई प्राधिकरणकले उल्लेख गरेअनुसारको महसुल तिर्नुपर्ने फैसला गरेको हो । पछिल्ला दिनमा प्राधिकरण र उद्योगीबीच विद्युत् महसुलको विषयमा विवाद रहँदै आएको छ । उद्योगीले प्राधिकरणले गैरकानूनी रुपमा महसुल लिन लागेको बताउँदै आएका छन् भने प्राधिकरणले बढी सुविधा लिने गरी विद्युत् लाइन लिएकाले बढी शुल्क तिर्नुपर्ने बताउँदै आएको छ । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले प्राधिकरणकै पक्षमा फैसला आएको जानकारी आएको बताए । प्राधिरकणका कानून विभागका प्रमुख बेलप्रसाद शर्माले पनि प्राधिकरणले निर्धारण गरेअनुसारको महसुल तिर्न उद्योगी व्यवसायीलाई पाटन उच्च अदालतले आदेश दिएको बताए । प्राधिकरणले यसअघि सबै उद्योगको यर्थाथ विवरण पत्ता लगाउन उद्योगमा प्रयोग भएको ‘टिओडी’ मिटरको अध्ययन भइरहेको बताएको थियो । प्राधिकरणले ६७ उद्योगलाई ट्रङ्क लाइनमार्फत बिजुली उपलब्ध गराएको छ । त्यसमा २३१ वटा डेडिकेटेड लाइन छन् । ट्रङ्क लाइनबाट मात्रै गत असारसम्म रु चार अर्ब ३० करोड बराबरको महसुल उठ्न बाँकी रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ थियो । उनका अनुसार डेडिकेडेट लाइनबाट विद्युत् लिएका उद्योग, व्यवसाय, अस्पताल, खानेपानी जस्ता संस्था वा निकायले नियमित रुपमा विद्युत् महसुल तिर्दै आएका छन् । तर कहिल्यै नकाटिने ट्रङ्क लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायी भने प्राधिकरणले बढी महसुल लिएको भन्दै अदालत गएका थिए । ट्रङ्क लाइन र डेलिकेटेड लाइनमार्फत् प्राधिकरणले व्यवसायीलाई ३१५ मेगावाट बिजुली उपलब्ध गराएको छ । रासस

ट्राफिक नियम उल्लङ्घनको राजश्व अनलाइनमा, कारवाहीमा परेकालाई सजिलो

काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिए । उनले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै नमूना राजधानी निर्माण गर्न समयसापेक्ष कानून, प्रविधिको प्रयोग, सडक सञ्जालको व्यवस्थित विस्तार, जनचेतना अभिवृद्धिमा महाशाखाले काम गर्ने बताए । “हामी सबैको चाहना उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्दै नमूना राजधानी निर्माण गर्नु हो, सोहीअनुसार महाशाखाले काम गर्दैजानेछ”, उनले भने । उनले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन भाडाका सवारी साधनमा ‘ड्रेस कोर्ड’, सबै चोकमा ट्राफिक लाइट सञ्चालन, ट्राफिक जानकारी सम्बन्धी मोबाइल एप्स, स्मार्ट पार्किङ, नमूना सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न लागेको जानकारी दिए । ३ लाख ८४ हजारलाई कारवाही महाशाखाले एक वर्षको अवधिमा विभिन्न कसुरमा तीन लाख ८४ हजार २०६ सवारी चालकलाई कारवाही गरेको छ । महाशाखाले मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने २६ हजार ४०९, लेन अनुशासन उलङ्घन गर्ने ३२ हजार २७, अर्कोको नाममा लाइसेन्स लिन जाने १३, हर्नमा १२ हजार २७१, ह्वील लकमा दुई हजार ८७६, बढी भाडा लिने १० हजार ७८७, सिसिटिभीमा पाँच हजार ६०, सर्भिलेन्स सवारी साधन ९९५, मापसेमा २८ चालकलाई निलम्बन गरेको छ । ट्याक्सीमा छुटेको १६१ सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाएको महाशाखाले जनाएको छ । यस्तै, महाशाखाले चैत २१ गतेदेखि शुरु गरेकोे तीन महिने उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत ११ स्थानमा जेब्राक्रसिङ निर्माण, तीन स्थानमा स्टपलाइन निर्माण, दुई हजार ७५ सवारी प्रदूषण जाँच, पाँच स्थानमा करिडोर निर्माण सम्पन्न गरेको छ । महाशाखाले एक वर्षकोे अवधिमा राम्रो काम गर्ने ६१ प्रहरीलाई पुरस्कार प्रदान गरेको छ भने प्रहरी आचरण विपरीत काम गर्ने ५२ प्रहरीलाई कारवाही गरेको छ । रासस

३८ करोड ७३ लाखको हकप्रद आउँदै, दुई संस्थाले पाए बोर्डको अनुमति

काठमाडौं । विभिन्न दुई संस्थाले ३८ करोड ७३ लाख २६ हजार ४०० रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले मल्टिप्रपोज फाइनान्स कम्पनी(वित्तीय संस्था) र जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्थालाई सो मात्राको सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरको ३८ लाख ७३ हजार २६४ कित्ता सेयर जारी गर्ने छन् । यी दुबैले आ-आफ्नो संस्थाको चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गर्न लागेका हुन् । सो मध्ये मल्टिप्रपोजले कूल २ करोड ८८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत सो मात्रा अर्थात २ लाख ८८ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तले चुक्ता पुँजीको शतप्रतिशत अर्थात ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटमार्फत ३५ करोड ८५ हजार २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ ।

जेठ ९ देखी ‘कान्तिपुर हिसान एडुफेयर २०१९’ हुँदै

काठमाडौं। उच्च शिक्षा माध्यमिक विद्यालय शिक्षा संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसनले संयुक्त रुपमा ‘कान्तिपुर हिसान एडुफेयर २०१९’ हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा यही जेठ ९ देखी १२ गते सम्म “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराको साथ संचालन हुन लागेको हो। नेपालमै संचालित शिक्षालयहरुको गुणस्तरिय शिक्षाको बारेमा उचित परामर्श फेयरबाट प्राप्त हुने संचालकहरुले बताएका छन्। फेयरमा विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम संचालन गरेका शैक्षिक संस्था तथा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमांचल र सुदूरपश्चिमांचल विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटि)को सम्बन्धनमा संचालित १ सय ५० बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले बताएको छ। विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक, अभिभावक तथा शिक्षा संग सरोकार राख्नेहरु गरी २ लाख भन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा निःशुल्क प्रवेशको साथै विद्यार्थीहरुलाई विभिन्न शैक्षिक संस्थाहरु मार्फत नि:शुल्क छात्रवृतिको समेत व्यवस्था गरिएको छ ।