सूचना महामार्ग निर्माण शुरु, प्रधानमन्त्रीले गरे शिलान्यास
काठमाडौँ । दूरदराजका जनतालाई सूचनाको पहुँचमा पुर्याउने उद्देश्यका साथ सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु गरेको छ । शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले आजदेखि ‘अप्टिकल फाइबर’ बिछ्याउने काम अगाडि बढाएको हो । धादिङको गल्छी, धनकुटाको हिले र सिन्धुलीको खुर्कोटबाट एकैसाथ फाइबर बिछ्याउने कार्य शुरु गरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म फाइबर बिछ्याउने कार्यक्रम रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३५ जिल्ला सदरमुकामसम्म उक्त फाइबर पुग्नेछ । शुरुआती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । उक्त सूचना महामार्गको आज गल्छी गाउँपालिका–४ मासटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि सूचना र प्रविधि नै हो । विश्वलाई एउटा कुनामा सीमित पारिदिन आधुनिक सूचना प्रविधिको उच्चतम प्रयोगबाटै समृद्धिको यात्रालाई सार्थक बनाउने अपेक्षा गर्न सकिन्छ । सरकारले देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पु¥याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक शुरुआत भएको छ । सरकारको उक्त परियोजनाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत करीब रु नौ अर्ब लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो । सोही योजनाअनुसार प्रदेश १ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई रु चार अर्ब ८८ करोड जिम्मा दिएको थियो । यस विषयमा विसं २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ । बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा युटिएल तथा कर्णाली र सुदूरपश्चिममा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन् । त्यस्तै अप्टिकल नेटवर्क विस्तारका लागि आवश्यक डिडब्लुडिएम उपकरण र राउटरका लागि पनि टेलिकमले सम्झौता सम्पन्न भएको जनाएको छ । प्रदेश नं २ अन्तर्गतका सबै जिल्लामा भने १८ महिनामै काम पूरा गर्ने प्रतिबद्धता कम्पनीको छ । टेलिकम आफैँले कतिपय ठाउँमा नेटवर्क विस्तार गरिसकेकाले मुख्य शहरमा नौ महीनाभित्रै उच्च गतिको ब्याण्डविथ उपलब्ध गराउन सकिने अवस्था छ । अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्याण्डविथ प्रवाह गर्न सकिन्छ । तामा (कपर)को तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ । सरकारी सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै सेवामा पारदर्शिता ल्याउने उद्देश्य पूरा गर्न यो एउटा बलियो आधार हुनेछ । त्यस्तै ई हेल्थ, ई लर्निङ जस्ता सुविधामा आम जनताको पहुँच पुर्याउन पनि यो सहयोगी हुनेछ । सञ्चार मन्त्रालयको तत्काल सुधार कार्ययोजना–२०७२ मा ग्रामीण दूर सञ्चार विकास कोषमार्फत अप्टिकल फाइबरको सञ्जाललाई देशव्यापी विस्तार गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा ब्रोड ब्याण्ड सेवा पु¥याउन पूर्वाधारको विकास गर्ने लक्ष्य लिइएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्रप्रसाद मिश्रले डिजिटन नेपाल फ्रेमवर्कको पहिलो खुड्किलो भएको उल्लेख गरे । सरकारले अघि सारेको डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन कनेक्टिभिटी चाहिन्छ । त्यो पनि चाँडो फाष्ट त्यसका लागि अप्टिक फाइबर प्रविधि उपयुक्त हुन्छ । यो प्रविधिले गाउँगाउँसम्म सूचना सञ्जाल विस्तार गर्न मद्दत पुग्छ । दूरदराजका जनताले सहजै केवल टिभी नेट सञ्चालन गर्न सक्छन् । यो सूचना महामार्गको रुप हो जसलाई पूर्व, पश्चिम, उत्तर र दक्षिण शहरदेखि दुर्गम गाउँसम्म विस्तार गरिनेछ । यसले चौथो पुस्ताको मोबाइल सेवा पनि सुविधा पुग्नेछ । डिजिटल नेपालको आठ आधारमध्ये पहिलो डिजिटल फाउण्डेशनमा अप्टिकल फाइबर महत्वपूर्ण पाटो बन्ने सहसचिव मिश्रको भनाइ छ । रासस
डाबर नेपालले ल्यायो ‘रियल मिक्स्ड फ्रुट मसला’, चटपटा र स्पाइसी मसलाको स्वाद पाइने
काठमाडौं । डाबर नेपालले फ्रुट जुसको बजारमा ‘रियल मिक्स्ड फ्रुट मसला’ नामक नयाँ प्रस्तुति ल्याएको छ । कम्पनीले चटपटा र स्पाइसी मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस प्रदान गर्ने उद्देश्यले उक्त मसला बजारमा ल्याएको हो । कम्पनीका अनुुसार यो रियल मिक्स्ड फ्रुट मसला असली र चटपटा मसलाहरुका साथ घोलेर तयार पारिएको जुस हो । जसले मसला स्वादको मज्जा दिने कम्पनीले जनाएको छ । रियल मिक्स्ड फ्रुट मसला टेट्रा प्याकमा उपलब्ध छ । साथै, यसको बजार मूल्य १ लिटरको २०० रुपैयाँ र २०० मिलिको २५ रुपैयाँ कायम गरिएको छ ।
बन्द विमान कम्पनीको १३ करोड बक्यौता, उड्डयन प्राधिकरणले कसरी उठाउला ?
काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ । बक्यौता तिर्न बाँकी निजी विमान कम्पनी टाट पल्टेको अवस्था वा बन्द भएमा बक्यौता असुल्न कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट समेत असुल्ने भन्नेमा कानूनी समस्या देखिएको हो । विमान कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्ड हेण्डलिङ’ तथा अन्य सुविधा प्रयोग गरेबापत तिर्नुपर्ने सो बक्यौता उठाउन चुनौती देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको करीब रु दुई अर्ब बक्यौतामध्ये सञ्चालनमा नरहेका राष्ट्रिय विमान कम्पनीको करीब रु आठ करोड र सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु चार करोड बक्यौता असुल्न कानूनी समस्या देखिएको छ । प्राधिकरणका अनुसार सञ्चालनमा नरहेका कस्मिक एयरको तीन करोड ३३ लाख १२ हजार ९०६, नेकोन एयरको चार करोड ६३ लाख ८५ हजार ५३ र अन्य राष्ट्रिय विमान कम्पनीको रु ५० लाख छ हजार ५१५ बक्यौता रहेको छ । त्यस्तै सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीमध्ये गल्फ एयरको दुई करोड २२ लाख १३ हजार ५४, किङ्ग फिसर एयरलाइन्सको एक करोड १५ लाख ९७ हजार ५६२ र अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीको रु एक करोड ४६ लाख १५ हजार ८३८ बक्यौता रहेको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । उनले भने, “अधिकांश विमान कम्पनीको बक्यौता रकम असुल्न बाँकी छ, समितिको निर्देशनअनुसार बक्यौता असुली गर्दा अब रु दुई अर्ब बाँकी छ । समितिको निर्देशनअनुसार कार्ययोजना बनाई असुलीको प्रक्रियामा र्छौँ ।” कूल बक्यौतमध्ये अधिकांश रकम भर्खरै थपिएको रकम रहेको र त्यसमा कुनै समस्या नरहेको उल्लेख गर्दै महानिर्देशक गौतमले टाट पल्टेका र बन्द भएका विमान कम्पनीको बक्यौता असुल्न केही चुनौती देखिएको जानकारी गराए । “निजी विमान कम्पनी भएकाले कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट असुल्न सकिने हो भन्ने विषयमा कानूनी सल्लाह गर्दैछौँ”, उनले भने । “निजी विमान कम्पनी भएकाले कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट असुल्न सकिने हो भन्ने विषयमा कानूनी सल्लाह गर्दैछौँ” सो कानूनी समस्याका बारेमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले त्यस्ता कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुली कारवाही अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएको समितिका सभापति भरतकुमार शाहले बताए । समितिले विमानस्थलमा सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय÷अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी कार्यालय तथा विभिन्न निजी कक्षहरुको हालसम्मको बक्यौता रु एक अर्ब ९५ करोड ३० लाख ७३ हजार २२८ यथाशीघ्र असुल गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । समितिको निर्देशनपछि प्राधिकरणले गत चैत १० गते असामी बक्यौता उठाउने कार्ययोजना तयार गरी असुली प्रक्रियामा लागेको जनाएको छ । विमानस्थलमा म्याद समाप्त भएका पसलको अटेरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सेवा सुविधाका लागि खोलिएका पसलमा चर्को मूल्य रहेको यात्रुहरुको गुनासो छ । जम्मा ५१ स्टलमध्ये अधिकांशले म्याद समाप्त भए पनि पुरानो नियमका आधारमा मुद्दा मामिला गरेर स्टल खाली गर्न अटेर गरिरहेका छन् । प्राधिकरणका अनुसार तीमध्ये २६ स्टलका मुद्दा अदालतमा विचाराधीन छन् । मुद्दा भएका स्टलले तत्कालीन समयमा सम्झौता गर्दा रहेको नियमावलीको व्यवस्थाअनुसार ‘म्याद थप गर्न सक्ने’ व्यवस्थालाई आधार बनाए मुद्दा हालेका हुन् । प्राधिकरणका महानिर्देशक गौतमले अहिलेको संशोधित नियामावलीअनुसार म्याद समाप्त भइसकेकाको हकमा प्रचलित नियमअनुसार हुने उल्लेख रहेको जानकारी गराउँदै स्वतः नयाँ नियम लागू हुने स्पष्ट पारे । अधिकांश मुद्दा करारमा उल्लिखित कानूनी व्यवस्थाको परिपालना गरिपाऊँ भन्ने छन् । सार्वजनिक लेखा समितिले मुद्दा विचाराधीन रहेको सन्दर्भमा यथाशक्य छिटो किनारा लगाउन महान्याधिवक्ताको कार्यालयसँग समन्वय गरी आवश्यक कार्य गर्न निर्देशन दिएको छ । विमानस्थलमा म्याद नाघेका पसल र विमानस्थल क्षेत्रका पार्किङलगायत भाडामा लगाइएका क्षेत्रको समयमै बोलकबोल गराई प्रतिस्पर्धाबाट भाडामा लगाउन र ट्याक्सीको भाडादरमा समेत अनुगमन गरी नियमित बनाउन समितिले निर्देशन दिएको छ । विमानस्थलका ती पसलले चर्को मूल्यमा बोलपत्र भर्ने र चर्को मूल्यमा सामान बेच्ने गरेकाले अब मूल्य निर्धारण गरेर मात्र बोलपत्र खोल्ने प्राधिकरणको तयारी छ । यसबाहेक विभिन्न सरकारी कार्यालयको पनि करोडौँ बक्यौता बाँकी छ । रासस
७५ आरोही सगरमाथाको चुचुरोमा, ८६८ आरोहीले लिए आरोहण अनुमति
काठमाडौँ । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको बताइन् । “सगरमाथा आरोहणका शुरुका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुनसकेको थिएन, आज रातिदेखि आरोहण हुनसक्ने जानकारी आएको छ । यति जनाले सगरमाथा आरोहण गरे भनेर विभागले भन्ने अवस्था छैन तर, पनि हामीलाई एजेन्सीले जानकारी गराएअनुसार ७५ को हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन,”–उनले भने । सगरमाथाको आधारशिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार धेरै आरोही सगरमाथाको क्याम–२ भन्दा माथि भएको र सबै आरोहीमाथि (सगरमाथाको चुचुरो) तिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ । कामिरिता २४ औँ आरोहणमा वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो । आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । उनी २४औँ पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेको पर्यटन विभागले जनाएको छ । विगत तीन दिनदेखि प्रतिकूल मौसमका कारण आरोहण हुनसकेको छैन । अहिले उल्लेख्य सङ्ख्यामा आरोही अनुकूल मौसमको पर्खाइमा छन् । सम्भवतः आज रातिबाट आरोहण हुने र भोलिसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने बताइएको छ । मौसमले साथ नदिएका कारण धेरै आरोही चुचुरोमा जाने प्रतिक्षामा छन् भने आजदेखि मौसममा सुधार आएकाले एकै पटक चुचुरोतिर जानेको भीड लाग्ने सम्पर्क अधिकृत श्रेष्ठको भनाइ थियो । कञ्चनजङ्घा, मकालु ल्होत्से, अन्नपूर्णलगायत हिमालको पनि सफल आरोहण भएको छ । आरोहीको सङ्ख्याको एकिन जानकारी आइनसकेको विभागले जनाएको छ सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३८१ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३७ विदेशी र सात नेपाली आरोही समूह छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ । रासस
२० लाख रुपैयाँको मरिच बरामद, ४५० किलो कहाँबाट आयो ?
गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ बाट प्रहरीले रु २० लाखभन्दा बढीको मरिच बरामद गरेको छ । मटिहानी–७ बस्ने महेशप्रसाद साहको पसलबाट रु २० लाख २५ हजार मूल्य बराबरको कागजात नखुलेको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । साहको पसलमा १८ वटा बोरामा २५ किलोको दरले ४५० किलो मरिच लुकाइछिफाइ राखेको अवस्थामा बरामद गरिएको प्रनाउ खड्काले बताए । बरामद गरिएको मरिच भारत तस्करी गर्ने मनसायले राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ भने यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बरामद गरिएको मरिच जिल्ला भन्सार कार्यालय, भिट्ठामोडमा बुझाइएको जिप्रकाले जनाएको छ । रासस
नागरिकबीच सहकार्य गर्न युपीएफ नेपाल र अमेरिका च्याप्टरबीच सम्झौता
काठमाडौं । राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्को महासमिती सल्लाहकार (यूनेस्को) को मान्यता प्राप्त संस्था युनिर्भसल पीस फेडेरेसन(यूपीएफ) नेपाल र अमेरिकन च्याप्टरका बीचमा आपसी हित र पारस्पारिक सहयोग बारेको समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार न्यूयोर्क स्थित होटल न्यूयोर्कर स्थित यूपीएफ कार्यालयमा हस्ताक्षर गरिएको युपीएफ नेपालका उपाध्यक्ष सन्तोषकुमार पौडेलले जानकारी दिए । समझदारी पत्रमा युर्निसल पीस फेडेरेसन नेपालका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र यूपीएफ अमेरिकाका च्याप्टरका सभापति डा. माइकल ज्याङ्किन्सले हस्ताक्षर गरेका हुन् । ‘यो समझदारीले दुई मित्रराष्ट्र नेपाल र अमेरिकाका नागरिकलाई आपसी पारस्परिक हितको कार्यका लागि अझै नजिक ल्याएको छ’ यूपीएफ नेपालका उपाध्यक्ष पौडेलले बताए । सो समझदारीमा भाइचारा, विकास आदान प्रदान, फेडेरेसनको दुबै च्याप्टरको आपसी हितका लागि ज्ञान र सहयोगको आदान प्रदान गर्ने र आपसी सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ । युनिर्भसल पीस फेडेरेसन शान्तिका लागि समर्पित विविध क्षेत्रका प्रतिनिधि व्यक्ति तथा संस्थाहरूको अन्तधार्मिक तथा अन्तराष्ट्रिय संजाल हो । युपीएफले संयुक्त राष्ट्रसंघीय दीगो विकास लक्ष्य हासिल गर्न तथा सयुत्त राष्ट्रसंघका अन्य विविध कार्यक्रमहरु प्रबर्द्धनका लागि सहयोग गर्दै आइरहेको छ ।
निशानको प्रि-बजेट अफर, ७ लाख २७ हजारसम्म छुट
काठमाण्डौँ । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले बजेट भाषण अगावै ग्राहकहरुलाई निशानका गाडीहरु किन्न आह्वान गर्दै “प्रि बजेट अफर” ल्याएको छ । यो अफर मार्फत निशानका गाडीहरुको खरिद गर्दा नगद लाभ उठाउन सकिने कम्पनीले जनाएको छ । निसानको मिक्रा एक्टिभको खरिदमा रु. ३ लाख १ हजार बराबरको लाभ उठाउन सकिने जनाइएको छ । त्यसैगरी सन्नमीमा ३ लाख ६ हजारसम्म, किक्सको खरिदमा १ लाख ९८ हजारसम्म लाभ उठाउन सकिन्छ । त्यस्तै, निशानका नाभारा र एक्स ट्रायलमा रु. ५ लाख ३७ हजार र ७ लाख २७ हजारसम्म लाभ उठाउन सकिन्छ । यो अफर स्टक सीमित रहँदासम्म नेपालका सबै शोरुमहरु लागु हुने कम्पनीले जनाएको छ ।
दैलेख ठाँटीकाँधमा एनसीसीको शाखा बिस्तार
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ठाँटीकाँधर आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको हो । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान गरिने बैंकले जनाएको छ । देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा दिंइदै आएको जनाइएको छ ।