टाटा मोटर्सको त्रैमासिक नाफा ४७ प्रतिशतले घट्यो, के के छन् कारण ?
मुम्बई । भारतीय कार निर्माण कम्पनी टाटा मोटर्सको त्रैमासिक नाफामा ४७ प्रतिशतले गिरावट आएको उक्त कम्पनीले सोमबार जनाएको छ । टाटाको आरामदायी ज्यागुअर ल्याण्ड रोभर कारका कारोबारमा चिनियाँ बजारका साथै अन्य विदेशी बजारमा आएको सुस्तता टाटाको नाफा प्रतिशत घट्नुको प्रमुख कारक भएको कम्पनीको निष्कर्ष छ । बेलायत तथा अमेरिकामा टाटाको कारोबार राम्रो भएको तर चीनमा अनपेक्षित रूपमा कमी देखिएको कम्पनीको भनाइ छ । टाटाको ज्यागुअर ल्याण्ड रोभरका लागि चीन प्रमुख बजार हो । टाटाको सन् २०१९ को शुरूवाती तीन महिना अर्थात् मार्च ३१ सम्मको नाफा ११ अर्ब १७ करोड भारतीय रूपैयाँ रहेको छ । अघिल्लो बर्ष सोही समयमा टाटाको नाफा २१ अर्ब २५ करोड अमेरिकी डलर रहेको कम्पनीको धितो बजार मूल्याङ्कनका लागि जारी विज्ञप्तिमा उल्लेख छ । “ज्यागुअर ल्याण्ड रोभरको चिनियाँ बजारमा आगामी दिनमा पनि सन्तोषजनक कारोबार नरहने वा वर्तमान चुनौति कायम रहने छ,” टाटा मोटर्सका अध्यक्ष एन चन्द्रशेकरनले बताए । “कारोबारका हिसाबले चुनौतिपूर्ण बाहिरी अवस्थालाई समाधान गर्दै कम्पनीलाई थप नाफा दिलाउनका लागि हामीले निर्णयात्मक तथा प्रतिस्पर्धात्मक रणनीति निर्माण गरी अघि बढ्दैछौँ,” उनले थपे । कारोबारमा देखिएको सुस्ततासँगै टाटाले भारतीय अर्थतन्त्रमा गर्दै आएको योगदानमा पनि सामान्य प्रभाव परेको कम्पनीको भनाई रहेको छ । टाटा मोटर्सको नाफामा देखिएको न्यूनताका बाबजुद पनि चियादेखि स्टिलजस्ता सामानको भारतीय उत्पादक कम्पनी टाटाको बम्बई स्टक एक्चेन्जमा सोमबार शेयर मूल्यमा ७.५३ प्रतिशत वृद्धि भएको छ । रासस/एएफपी
तपाइँको हुवावे मोबाइल अब के हुन्छ ? अरु एपहरु डाउनलोड हुनसक्ने
काठमाडौं । गुगलले अमेरिकी नियमको पालना गर्दै आफ्ना प्रोडक्टहरु हुवावे मोबाइलमा नचल्ने घोषणा गरेसँगै विश्वभरका हुवावे फोन प्रयोगकर्ताहरुमा संशय आएको छ । आफ्नो फोनमा अब गुगलका एपहरु प्रयोग नै गर्न नसकिने हो कि भन्ने आशंकालाई गुगलकै एन्ड्रोइड सिस्टमले प्रष्ट्याउने प्रयास गरेको छ । आइतबार एन्ड्रोइडले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डिलबाट ट्वीट गर्दै हुवावेका मोबाइलहरुमा प्लेस्टोर र सेक्युरिटि सिस्टमले निरन्तर काम गरिरहने जनाएको छ । गुगलले आफूहरु अमेरिकी सरकारको कानून पालना गर्न बाध्य रहेका बताउँदै ती अन्य सेवाहरु बन्द भए पनि यी दुई एपहरु भने निरन्तर चल्ने जनाएको हो । यस्तो अवस्थामा हुवावे मोबाइलका प्रयोगकर्ताले गुगलको प्लेस्टोरबाट गुगलका एपहरुबाहेक अन्य तेस्रो पक्षका एपहरु डाउनलोड गर्न र चलाउन सक्नेछन् भने हाल चलिरहेको गुगलकै एपहरु समेत चलिरहनेछन्, तर त्यसलाई फेरि इन्स्टल गर्न, अपडेट गर्न वा नयाँ भर्सन डाउनलोड गर्न भने पाउने छैनन् । गुगलको गुगल क्रोम ब्राउजर, गुगल म्याप, जीमेल, युबट्युब, गुगल प्लेस्टोर जस्ता दुई दर्जन भन्दा बढी प्रोडक्टहरु छन् ।
मार्जिन कारोबारमा ब्रोकरहरुकै अरुचि: राष्ट्र बैंक गएकाहरु नेप्से फर्किएनन्, कसैले डकुमेन्ट पुर्याएनन्
काठमाडौं । मार्जिन कारोबार सञ्चालन गर्न ब्रोकरहरुको नै अरुचि देखिएको छ । पुँजी बजारको विकासका लागि कोशेढुङ्गा सावित हुने भन्दै लामो रस्साकस्सीपछि आएको प्रावधान कार्यान्वयन गर्न ब्रोकरहरु उदासिन देखिएपछि प्रक्रिया अघि बढ्न नसकेको हो । यसअघि १८ ओटा कम्पनीले मार्जिन कारोबारका लागि अनुमति पाउन नेपाल स्टक एक्सचेञ्जमा निवेदन दिएकोमा आवश्यक डकुमेन्ट पूरा गरेका ४ ओटा ब्रोकरलाई मार्जिन कारोबार स्वीकृतिका लागि नेप्सेले राष्ट्र बैंकलाई सिफारिस गरि पठाएको थियो । नेप्सेको सिफारिससँगै ४ ओटै ब्रोकर कम्पनीहरुले कारोबारका लागि राष्ट्र बैंकको स्वीकृति पनि पाएका थिए । तर राष्ट्र बैंकको स्वीकृति पाएका कम्पनीहरुले फेरि नेप्सेसँग अन्तिम स्वीकृति लिनुपर्ने भए पनि कुनै कम्पनीपनि फर्केर नआएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कागजात पूरा नभएका बाँकी १४ ओटा कम्पनीहरुले समेत पुर्याउन भनिएको प्रक्रिया पूरा गरेर पनि हालसम्म कुनैपनि कम्पनी नआएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘मार्जिन कारोबारका लागि निवेदन दिएकामध्ये केहीलाई पूर्वस्वीकृतिका लागि राष्ट्र बैंकलाई सिफारिस गरिदिएका थियौं, बाँकीलाई डकुमेन्ट र प्रक्रिया पूरा गरेर आउन भनेका थियौं, हालसम्म सिफारिस गरिएका र प्रक्रिया पुर्याउन भनिएका कोहीपनि फेरि आउनुभएको छैन ।’ उनले विकासन्यूजसँग भने । किन भएन मार्जिन ट्रेडिङमा आकर्षण ? मार्जिन ट्रेडिङका लागि शेयरको छनौटमा कडा व्यवस्था भएका कारण मार्जिन ट्रेडिङमा आकर्षण नभएको हो । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मार्जिन कारोबारका लागि ३१ ओटा कम्पनी मात्रै सक्षम देखिएका छन् । नेप्सेमा सूचीकृत २०७ कम्पनीमध्ये बाँकी १७५ कम्पनीहरु शेयर मार्जिन कारोबारका लागि योग्य हुँदैनन् । यस्तो कारोबारका लागि अयोग्य संस्थाको सूचीमा अधिक बजार पूँजीकरण भएका कम्पनीहरु नै धेरै छन् । साथै, यस्तो अवस्थामा ३१ कम्पनीहरुका शेयरमात्रै धितोका लागि स्वीकार्य हुन्छन् र सोही कम्पनीका शेयर मात्रै उक्त धितोमा खरिद गर्न सकिन्छ । ‘मार्जिन कारोबारसम्बन्धि प्रावधान निकै नै संकुचित छ, यस्तो अवस्थामा मार्जिन कारोबारको हिस्सा नगन्य मात्रै हुनसक्छ, त्यसैले यसमा आकर्षण नबढेको हो’ एक ब्रोकरल भने ।
किलोग्रामको परिभाषा परिवर्तन, अरु ३ इकाईको परिभाषापनि फेरियो
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ । ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो । कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिए । पछिल्लो समय विभागले विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई पनि एनएस (नेपाल गुणस्तर) चिह्न प्रदान गर्दै आएको छ । विभागले विश्व नापतौल दिवसका अवसरमा मेट्रिक प्रणालीमा आधारित सात मूल एकाइमध्ये चार एकाइको परिभाषामा भएको परिवर्तन सोमबारदेखि लागू गरेको छ । जसमा पिण्डको मूल एकाइ किलोग्राम, तापक्रमको मूल एकाइ केल्भिन, विद्युत् धाराको मूल एकाइ एम्पियर र पदार्थको सङ्ख्याको मूल एकाइ मोलका रुपमा परिवर्तन भएको छ । १४४ वर्ष अगाडि सन् १८७५ मा मिटर कन्भेन्सनमा हस्ताक्षर भएपश्चात् विश्वभर उक्त दिवस मनाउँदै आइएको विभागले जनाएको छ । रासस
पाँच स्थानमा सुरुङमार्गको सम्भावना, कहाँ कहाँ सम्भव छ ?
काठमाडौँ । देशको विभिन्न पाँचवटा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्भव देखिएको एक अध्ययनले देखाएको छ । इटेको–होमल्यान्ड–नर्थ स्टार (जेभी) परामर्शदाता कम्पनीद्वारा गरिएको पूर्वसम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी)ले पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्ग अन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा, मध्यपहाडी राजमार्ग अन्तर्गतको पोखरा–बाग्लुङ खण्डको हेम्जामा र मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख शिवप्रसाद नेपालले परामर्शदाता कम्पनीले बुझाएको अध्ययनको प्रारम्भिक प्रतिवेदनका अनुसार ती ठाउँहरूमा सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको जानकारी दिए । सुरुङमार्ग निर्माणले प्रस्तावित उक्त ठाउँहरूमा सडकको दुरी घटाउने देखिएकाले सुरुङमार्ग निर्माणका लागि ती स्थानहरू छनोट गरी पूर्वसम्भाव्यता अध्ययन गरिएको जानकारी गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नेपालले दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
मेडिकल कलेज खोल्ने सरकारको तयारी, कहाँ कहाँ खुल्छन् ?
काठमाडौँ । सरकारले बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज सञ्चालनका लागि प्रारम्भिक कार्य तीव्र गतिमा अगाडि बढाएको छ । यहि गतिमा काम भए आगामी दुइवर्षभित्र तीनसय शैयाको अस्पताल र पाँच वर्षभित्र मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने नीति अनुसार प्रदेश २ को बर्दिवास, प्रदेश ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्न लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले तीनवटै स्थानमा आगामी पाँच वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्ने गरी काम अघि बढेको जानकारी दिए । बुटवल र बर्दिवासमा कलेज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको छ, केसीले भने,“सुर्खेतमा पनि केही समयपछि द्रुत गतिमा काम अघि बढ्नेछ ।” बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवी सुवेदीले हाल भइरहेको गतिमा काम अघि बढे तीन वर्षभित्र तीनसय शैयाको अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
पाँचथरमा दुई परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या
फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिए । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरे । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय रविबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ । रासस
हेलो नेपालले ४ अर्ब ३१ करोड कर तिर्नुपर्ने, राजस्व कार्यालयले गर्यो पत्राचार
काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम हेलो नेपालले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । आर्थिक वर्ष ०६८/६९ मा कम्पनीले आफ्नो ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेजमार्फत टेलियासोनेरा कम्पनीलाई बिक्री गर्दा प्राप्त लाभमा पुँजीगत लाभकर तिर्नुपर्ने विभागले जनाएको छ । कम्पनीले सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न अटेर गरेको भन्दै विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय, बानेश्वरले पत्राचार गरेको छ । कम्पनीले आव ०६८/६९ मा ५ अर्ब ७१ करोड रुपैयाँको स्वामित्व बिक्री गरेको थियो । बिक्री गर्दा कम्पनीलाई ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँ पुँजीगत लाभ भएको कार्यालयले जनाएको छ । आयकर ऐन, २०५८ अनुसार बिक्री गर्दा लाभको २५ प्रतिशत पुँजीगत लाभकर सरकारलाई तिर्नुपर्नेमा अहिलेसम्म पनि नतिरेको कार्यालयले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।