नेप्से सामान्य अंकले बढ्दा ८१ करोडको कारोबार, ५ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य ४.४२ अंकले बढेको छ । कारोबार खुलेदेखि उतारचढाव देखिएको सो दिनको नेप्से बजार बन्द हुँदा ०.३४ प्रतिशतले बढेर १३१२.१४ अंकमा पुगेको छ । सोमबारको तुलनामा परिसूचकमा सुधार आएपनि कारोबार रकममा भने गिरावट देखिएको छ । मंगलबार जम्मा ८१ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४१ करोड रुपैयाँ कम हो । सोमबार एक अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । साताको दुई दिन जस्तै लगातार तेश्रो दिनमा पनि बढी कारोबार गर्नेमा नेपाल बैंक र शिवम् सिमेन्ट नै अघि रहेका छन् । मंगलबार नेपाल बैंकको ८ करोड र शिवम् सिमेन्टको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । कारोबारको तुलनामा उत्कृष्ट भएपनि दुबै कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । सोमबारको तुलनामा मंगलबार नेपाल बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेर प्रतिकित्ता ३३३ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम्को १० रुपैयाँले घटेर प्रतिकित्ता ५८५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार विभिन्न ५ वटा संस्थाका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८४, रिलायन्स फाइनान्सको ९.७० र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.१३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी समीट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारमा आएका १२ वटै समूहमध्ये ३ वटा राताम्मे भएका छन् भने बाँकी ९ वटा हरिया देखिएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूह ६४ अंकले बढेको छ भने उत्पादनमूलक समूह ३३ अंकले ओरालो लागेको छ ।
बर्दियाको मैनापोखरमा आशा लघुवित्तले दियो ६२ जनालाई सीपमूलक तालिम
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले जेठ ५, ६, र ७ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय मैनापोखर बर्दियामा आबद्ध सदस्यहरु मध्ये ६२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ , दालमोठ तथा श्रृङगार सामाग्री बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख तेजराज न्यौपानेले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशील बन्न थप सहयोग पुग्ने तथा कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ , दालमोठ तथा श्रृङगार सामाग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ९२० जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
२५ औँ वर्षमा महालक्ष्मी विकास बैंक, सत्यमोहन जोशीलाई अभिनन्दन
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. मंगलबारदेखि २५ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिकहितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव मनाएको जनाइएको छ । दरबारमार्ग, काठमाडौँस्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरेलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरेकोमा धन्यबाद दिंदै प्रहरीहरुलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए । बैंकको प्रधान कार्यलयमा रजत जयन्तीको उपलक्ष्यमा शताब्दीपुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक सदस्यहरु रुपेन्द्र पौडेल र राजेश रौनियारकोपनि उपस्थिति रहेको थियो ।
२ वर्षमा नबन्ने भो धरहरा, ५ महिनामा बल्ल १५ प्रतिशत काम
काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पले गल्र्यामगुर्लुम पारेको धरहरा पुनर्निर्माण शुरु भएको ५ महिना भएको छ । यो अवधिमा १५ प्रतिशत मात्र काम सकिएको छ । अहिलेको कामको गति हेर्दा निर्धारित समयमा काम सम्पन्न हुने छाँट देखिदैन । ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा २ वर्षभित्र धरहरा पुनर्निर्माण सक्ने गरी जीआईईटीसी रमन जेभी कम्पनीले ठेक्का पाएको हो । कम्पनीले दैनिक सय भन्दा बढीलाई काममा खटाइरहेको छ । तर, कामको रफ्तारमा स्थानीयवासीले अवरोध गर्ने गरेको आयोजना प्रमुख श्यामचन्द्र श्रेष्ठले बताए । स्थानीयवासी किन गर्छन् अवरोध ? धरहरा क्षेत्रमा रहेको पुरानो बाटो चाहिने स्थानीयवासीको माग छ । स्थानीयवासीको माग सम्बोधन गर्न गत शुक्रबार पुनर्निर्माण प्राधिकरण र स्थानीयवासीबीच छलफल समेत भएको थियो । सुन्धारा र काठमाडौं मलबीच पिपलबोट हुँदै हुलाक विभागको बाटो नयाँबाटो खोल्ने बारेमा छलफल भएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । निर्माणस्थल वरपर मानिसको आवत जावत भइरहँदा र पटकपटक स्थानीयको अवरोधले काममा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा असर परिरहेको आयोजना निर्माण सुरक्षा प्रमुख दीपक उपाध्यायले बताए । स्थानीयवासीले बाटोको माग गर्दै पटकपटक अवरोध गर्दा विभिन्न मेसिनरी तथा अन्य निर्माणका सामान ल्याउन लैजान असहज भइरहेको निर्माण पक्षले जनाएको छ । के भन्छन् व्यापारी ? धरहरा निर्माणको क्रम जारी रहँदा प्रवेश गेट बन्द गरिएको छ । जसले गर्दा वरपरका व्यापारी प्रभावित भएका छन् । धरहरा र सुन्धाराबीचको सडक खुल्ला हुुन पर्ने माग स्थानीयको माग छ । धरहरा पुनर्निर्माणको काम शुरु ५ महिनाको अवधिमा ७ लाख घाटा भएको बाजे फास्ट फुट एण्ड फेमिली रेस्टुरेन्टका सञ्चालकले बताए । त्यस्तै, विगत १५ वर्षदेखि फेन्सी पसल सञ्चालन गर्दै आएकी अनिशा गिरी भन्छिन्-‘निर्माण कार्यलाई अवरोध गर्ने लक्ष्य होइन, तरपनि यहाँको गेट बन्द भइरहँदा हामी व्यापारीलाई समेत असर गरेको छ । भत्किएको झण्डै ४ वर्षपछि शिलान्यास गएको असार २४ गतेदेखि नै धरहरा पुनर्निर्माणको काम शुरु भएको थियो । तर, पुस १२ गते एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७२ साल फागुन ४ गते ‘म बनाउछु मेरो धरहरा‘ अभियान अन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुननिर्माणको लागि उपलब्ध गरेका थिए । त्यसको झण्डै चार वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गरेका हुन् । ६ रोपनी क्षेत्रफलमा रहेको प्रधानमन्त्री भीमसेन थापाकालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभाग सहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण हुनेछ । २०७३ असार २९ को मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो । टेलिकमले धरहरालाई व्यवसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गरेको थियो । टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई नै दिएको हो । ऊ बेलाको ११ तले धरहरा भीमसेन थापाले निर्माण गरेको ११ तलाको धरहरा वि.स १९९० सालको भुकम्पले २ तला भत्किएको थियो भने २०७२ साल बैशाख १२ गतेको भूकम्पले सो धरहरा पूरै भत्काएको थियो । यस्तो बन्नेछ धरहरा निर्माणाधीन धरहरा बाहिरबाट ११ तलाको देखिने, तर वास्तविक रुपको भित्री संरचना २२ तलाको र अन्डरग्राउण्ड दुई तलाको हुने पुननिर्माण प्राधिकरणले जनाएको छ । धरहराको परिसरमा म्युजियम, थिएटर , वाटर फाउन्टेन, रेष्टुरेन्ट, पार्किङसहित आकर्षक बगैँचासमेत बनाइने छ । अब बन्ने धरहरामा भर्याङको साटो लिफ्टमार्फत चढ्ने र ओर्लिने सुुविधा बनाइने छ । पुननिर्माण गरिन लागिएको धरहरालाई पुरानै स्वरुपमा बनाइने छ । बाहिरबाट पुरानो देखिएपनि भित्रि भाग भने आधुनिक हुनेछ । भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखिने छ । यसलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ । दुई तले बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तबरले भित्र पठाउने व्यवस्था मिलाइएको छ । निर्माणाधीन धरहरा अपाङ्गमैत्री साथै पहिलो दुई तलामा आकर्षक म्युजियम हुनेछ, जहाँ पुराना सिक्का र सिक्का छाप्ने मेसिन राखिनेछ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङ हुनेछ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।
हिमालय उर्जाको आईपीओ सूचिकृत, बुधबारदेखि कारोबार हुने, ओपन रेञ्ज कति ?
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको ९९ लाख कित्ता आईपीओ सूचिकृत भएको छ । कम्पनीको मंगलबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । उक्त सेयर बुधबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । जसकाे ओपन रेञ्ज न्युनतम ९९ रुपैयाँदेखि अधिकतम २९५ रुपैयाँसम्म तोकिने छ ।
जेष्ठ महिनाभरि खाद्य मेला हुने, विभागको तयारी तिव्र
काठमाडौं । नेपालमा ११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा जेष्ठ महिना भरि खाद्य मेला हुने भएको छ । नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग महानिर्देशक संजीवकुमार कर्णका अनुसार नेपालको खाद्यान्नको गुणस्तरमा प्रश्न चिन्ह उठिरहँदा यस खाद्यले मेलाले सहयोग पुराउँने बताए । विश्व संयुक्त राष्ट्र संघीय हरेक वर्ष जुन ७ तारिखमा पहिलो पटक विश्व खाद्य स्वच्छता दिवस मनाउने भएको छ । “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ खाद्य श्रृंखलाका विभिन्न चरणमा स्वच्छता र गुणस्तर कायम राख्ने कोसिस गर्दै आएको विभागका महानिर्देशक कर्णले जानकारी दिए । नेपालमा पहिलो खाद्य स्वच्छतालाई भव्यताका साथ समापन गर्न विभागका महानिर्देशक कर्णको संयोजकत्वमा विभिन्न सरकारी निकाय, उद्योग वाणिज्य क्षेत्र, उपभोक्तावादी संघसंस्था, पत्रकारहरुका संघसंस्थाबाट प्रतिनिधित्व हुने गरिएको मूल समिति र विभिन्न २१ वटा उपसमिति मार्फत कार्य भईरहेको छ । यस्ता छन् विभागकाे तयारी विभाग परिसर सरसफाइ घुम्ती खाद्य प्रयोगशाला समेतको प्रयोग गरी सडक किनारा बिक्री हुने खानेकुरा, होटल, रेष्टुरेण्ट खाद्य व्यवसायहरुको विशेष अनुगमन, खाद्य निरीक्षकहरुलाई अभिमुखीकरण, विद्यालय स्तरीय खाद्य स्वच्छता तथा पोषण शिक्षा, प्रसोधित दूध, प्रसोधित पिउने पानी तथा खानेतेल उद्योगमा असल उत्पादन अभ्यास लागू गर्न उद्यमी व्यवसायीहरुलाई प्रशिक्षणस पानी, दूध तथा तेल उद्योगहरुको अनुगमन प्रयोगशाला सम्बन्धी तालीम, उपभोक्ता भेला, मुद्दा अनुसन्धान तथा अभियोजन सम्बन्धमा खाद्य निरीक्षकहरुका लागि प्रशिक्षणस विभिन्न ९ उपभोक्ता संघ संस्थासँगको सहकार्यमा ९ स्थानमा जनचेतनामूलक उपभोक्ता मास भेला सञ्चालन गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु विराटनगर, जनकपूर, हेटौंडा, भैरहवा, नेपालगञ्ज तथा धनगढीमा कार्यालय परिसर सरसफाइ, पत्रकार भेटघाट, वक्तृत्वकला प्रतियोगिता, विद्यालय शिक्षा, उपभोक्ता भेला, माइकिङ्ग तथा पर्चा पम्पलेट जस्ता सूचनामूलक सामग्री वितरण गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिने छ ।
हाइ हिमालयन ट्रेकिङले १ करोडको लागतमा रसुवामा बनायो विद्यालय भवन
काठमाडौँ । रसुवामा भूकम्पले पूर्ण क्षति गरेको घोर्मु प्राविको भवन निर्माण गरिएको छ । भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो । नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार उद्घाटन गरे । हाइ हिमालयन ट्रेकिङ एण्ड एक्सिडेसन प्रालिले ८ कोठे भवन निर्माण गरेको हो । १ करोडको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले बताए । भवन निर्माण भएसँगै पठनपाठनमा सहज भएको प्रअ पौडेलले बताए । विद्यालयमा ६९ विद्यार्थी अध्ययनरत छन् ।
एक धनाढ्य जसले तिरिदिए ४ सय विद्यार्थीको ४ करोड डलर ऋण
अमेरिकी राज्य जर्जियाका चार सय विद्यार्थीले उनीहरूको ग्राजुएसनको बेला अर्बपति लगानीकर्ता रोबर्ट फ्रेडरिक स्मिथबाट एउटा सपना जस्तो उपहार पाएका छन् । उनले ती सबै विद्यार्थीले पढाइका निम्ति लिएका ऋण तिरिदिने घोषणा गरेका छन् । को हुन् यी अमेरिकी परोपकारी ? आइतवार बिहान विशेष गरी अश्वेत विद्यार्थी पढ्ने मोरहाउस कलेजमा भएको ग्राजुएसन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले २०१९ ब्याचको कक्षाका विद्यार्थीहरूलाई चकित पारिदिए । उनले ती विद्यार्थीको सबै ऋण ( करिब ४ करोड डलर) तिरिदिने वाचा गरे । केही वर्ष अघिसम्म अन्जान यी धनाढ्यका निम्ति यो घोषणा सार्वजनिक मञ्चमा उदाउने एउटा दुर्लभ घटना भयो । ५६ वर्षीय स्मिथ निजी लगानी कम्पनी भिस्टा इक्वीटी पार्टनर्सका संस्थापक हुन् । उनी अमिकाका एक चर्चित अश्वेत परोपकारी पनि हुन् । सफ्टवेअर कम्पनीहरूमा केन्द्रीत भिस्टाको कुल अनुमानित मूल्य ४६ अर्ब डलर पुगिसकेको छ । उनको व्यक्तिगत सम्पत्ति ५ अर्ब डलरको छ । यसको अर्थ हुन्छ उनी अमेरिकाकै सबभन्दा धनी अश्वेत हुन् । धनको मामिलामा उनी ओप्रा विन्फ्रेभन्दा पनि अगाडि छन् । उनी डेन्भर कोलोर्याडोस्थित अफ्रिकी अमेरिकीहरूको बाक्लो बसोबास रहेको बस्तीमा हुर्किएका हुन् । उनका बुबाआमा स्कूलका प्रधानाध्यापक थिए । माध्यमिक स्कूलमा हुँदै खेरि स्मिथले बेल ल्याब्स नामक विज्ञान अनुसन्धान कम्पनीमा काम गर्न निवेदन दिएका थिए । तर कम उमेरको भन्दै उनको निवेदन स्वीकार भएन। तर उनले निरन्तर रूपमा पाँच महिनासम्म हरेक हप्ता कम्पनीलाई सम्पर्क गरिरहे। अन्तमा उनलाई स्वीकार गरियो । पछि स्मिथले कोर्नेल विश्वविद्यालयमा रासायनिक इञ्जिनियरिङ पढे। उनले कोलम्बिया विश्वविद्यालयबाट एमबीए पनि गरे । त्यसपछि उनले स्यान फ्रान्सिस्कोमा गोल्डम्यान स्याक्समा काम गरे जहाँ उनले एपल र माइक्रोसफ्ट जस्ता प्रविधि कम्पनीसँग काम गर्ने मौका पाए । सन् २००० मा उनले गोल्डम्यान स्याक्स त्यागे र आफ्नै भिस्टा कम्पनी खोले । लगानी उद्योगका यी विशिष्ट क्षेत्रमा आफूले कसरी जातीयतासँग जुध्न परेको भनेर उनले सन् २०१४ मा न्यूयोर्क टाइम्स पत्रिकालाई बताएका थिए । कतिपय अवस्थामा जातकै कारण आफूले अन्य सहकर्मीभन्दा दोब्बर काम गर्न मनोवैज्ञानिक दबाब अनुभूति गर्ने गरेको उनले बताएका थिए । त्यसैले गर्दा उनको कम्पनी भिस्टाले विविधता र उत्कृष्टतालाई जोड दिने गरेको छ । निजी जीवन गोप्य नै राख्न रुचाउने स्मिथ अस्टिन टेक्ससमा आफ्नी पत्नी तथा पूर्व प्लेबोय मोडल होप डोराजिकसाथ बस्छन् । परोपकारको सिलसिला आइतवारको छक्क पार्ने उपहारभन्दा पहिले पनि स्मिथले मोरहाउसलाई सहयोग गरेका थिए। त्यहाँ उनले छात्रवृत्ति एवं संस्था विकासका निम्ति १५ लाख डलर दिएका थिए । सन् २०१७ मा बील तथा मेलिन्डा गेट्स अनि वारेन बफेटले स्थापना गरेको गिभिङ प्लेज नामक परोपकारी प्रतिबद्धता अभियानमा आफ्नो अधिकांश धन दिने वाचा गर्ने उनी पहिलो अश्वेत अमेरिकी थिए । आफ्नो परोपकार बारे लेख्दै उनले भनेका छन्–मेरा बुबाआमा, हजुरबुबा हजुरआमा, तथा अफ्रिकी अमेरिकीहरूको पुस्तौँ पुस्ता जसको नाम मैले कहिले थाहा पाउने छैन, उनीहरूकै कारण मेरो बाटो कोरिएको म कहिल्यै बिर्सने छैन। उनीहरूको संघर्ष, साहस र प्रगतिकै कारण मैले आँट्न र हासिल गर्न सकेँ। ‘मेरो कथा केवल अमेरिकामा मात्र सम्भव हुन सक्थ्यो। त्यसैले हामीले यो विरासत अघि बढाउन आफ्नो तर्फबाट काम गर्नुपर्छ । ’ मोरहाउसलाई गरेको सहयोग उच्च शिक्षाका निम्ति स्मिथको पहिलो चन्दा थिएन । अश्वेत तथा महिला इञ्जिनियरिङ विद्यार्थीलाई सघाउ पुग्ने कार्यक्रम सुरु गर्न सन् २०१६ मा उनले आफूले पहिले पढेको कोर्नेल विश्वविद्यालयलाई पाँच करोड डलर दिएका थिए । -बीबीसीबाट