प्राधिकरणको ९ अर्ब बक्यौता उठाउन बाँकी, हेटौँडा क्षेत्रको मात्रै चार अर्ब ३२ करोड
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट रु नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ । बक्यौता मध्ये हेटौँडा क्षेत्रको सबैभन्दा बढी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा पेश गरेको विवरणअनुसार विराटनगर क्षेत्रमा १४ डेडिकेटेड र पाँच ट्रङ्क लाइनको मात्रै रु एक अर्ब छ करोड ५७ लाख ८८ हजार, जनकपुर क्षेत्रमा १० डेडिकेटेड र तीन ट्रङ्क लाइनको रु एक अर्ब नौ करोड १५ लाख ९७ हजार महसुल उठन बाँकी छ । यस्तै, हेटौँडा क्षेत्रमा कूल २८ डेडिकेटेड र ११ ट्रङ्क लाइनबाट रु चार अर्ब ३२ करोड ३९ लाख ५५ हजार, काठमाडौँमा १७६ डेडिकेटेड र तीन ट्रङ्क लाइनको रु १८ करोड ९१ लाख ६९ हजार, बुटवल क्षेत्रमा एक डेडिकेटेड र २८ ट्रङ्क लाइनको रु एक अर्ब ३८ करोड ८८ लाख १९ हजार, पोखरा क्षेत्रमा तीन डेडिकेटेड र नौ ट्रङ्क लाइनको भने पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । त्यस्तै, नेपालगन्ज क्षेत्रमा सात डेडिकेटेड र दुई ट्रङ्क लाइनको रु एक अर्ब तीन करोड २३ लाख २८ हजार र अत्तरिया क्षेत्रको आठ ट्रङ्क लाइनको मात्रै रु २३ लाख ८६ हजार बराबरको बक्यौता असुल गर्न बाँकी छ । मुख्य प्रसारण लाइनबाट कुनै पनि अवरोध नहुने गरी विद्युत् लिने ग्राहकले ट्रङ्क लाइन प्रयोग गरेका छन् । कूल २३९ डेडिकेटेड र ६९ ट्रङ्क लाइनबाट हालसम्म रु २३ अर्ब ५५ करोड ७६ लाख ४४ हजार बराबरको महसुल उठेको छ । प्राधिकरणले उद्योग तथा प्रतिष्ठानलाई पठाएको महसुलको भने रु ३२ अर्ब ४५ करोड ८० लाख ९७ हजार रहेको छ । यसैगरी, प्राधिकरणको सबस्टेशनबाट प्राधिकरण आफैँले बनाएका, उद्योगीले आफैँ बनाएका वा सिमेन्ट उद्योग लगायतलाई उद्योग मन्त्रालयले बनाइदिएका प्रसारण लाइनबाट विद्युत् लिने ग्राहक डेडिकेटेड ग्राहकका रुपमा छन् । उद्योगी–व्यवसायी सर्वोच्च र उच्च अदालत गएका कारण बक्यौता उठाउन समस्या परेको प्राधिकरणको भनाइ छ । ठूलो परिमाणको विद्युत् बक्यौता उठाउन बाँकी रहेको र त्यसमा प्राधिकरणले चासो नदिएको भन्दै ट्रान्सपरेन्सी अभियान नेपालका अनुज बाँनियाले सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका सम्बन्धमा आज लेखाले छलफल गराएको हो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए । सचिव घिमिरेले उद्योगी–व्यवसायीले महसुलका सम्बन्धमा चित्त नबुझाई अदालत गएका कारण प्राधिकरणलाई बक्यौता उठाउन समस्या भएको जानकारी दिए । उनले महसुल उठाउन प्राधिकरण सञ्चालक समितिले भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति बनाएको र सोही समितिले दिने प्रतिवेदनका आधारमा विद्युत् नियमन आयोगमार्फत महसुलका बारेमा अन्तिम निर्णय हुने बताए । विगतमा आयोग नभएका कारण महसुलको विषयमा निर्णय गर्न प्राधिकरणलाई समस्या परेको र केही समय पहिले आयोगसमेत गठन भइसकेको अवस्थामा अब केही समयपछि समस्याको समाधान हुने सचिव घिमिरेको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता महसुल उठाउन प्राधिकरण इमान्दर भएर लागिपरेको र कोही कसैलाई छुट नदिने स्पष्ट पारे । प्राधिकरणले २०७२ साल असार १२ गतेदेखि डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् दिने निर्णय गरेको थियो । नागरिकले दैनिक १४ घण्टा विद्युत्भार कटौतीमा बस्दा प्राधिकरणले ३१५ मेगावाट विद्युत् उद्योगलाई उपलब्ध गराएको थियो । रासस
४८ मेनपावरको कारोबार बन्द, बैदेशिक रोजगारीमा जान लागेकाहरु होशियार !
काठमाडौँ । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो । विभागले पहिलो चरणमा गत वैशाख २३ देखि २९ गतेसम्म इजाजत प्राप्त मेनपावरको सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएकामा विवरण अध्यावधिक नगरिएकाले यही जेठ ३ गतेसम्म म्याद थप गरेको थियो । कारोबार बन्द भएसँगै ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि कार्य गर्न पाउने छैनन् । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २७२ मात्र सञ्चालनमा छन् । विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरिसकेको छ । रासस
मेटलाईफ नेपालको ग्राहक सेवा केन्द्र उद्घाटन
काठमाडौँ । मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दाले मेटलाईफ नेपालको मुख्य कार्यालय पुल्चोक स्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस (ओसिपि)को उद्घाटन गरेकी छिन् । उक्त अवसरमा रेबेकाले नेपालमा नयाँ बीमा सेवा तथा डिजिटिल अभियान भित्र्याई अग्रणी बीमा कम्पनीको रुपमा मेटलाईफ राम्रो काम गरेको बताइन् । रेवेकासँगै नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम.नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमदपनि उक्त कार्यक्रम सहभागी भएका थिए । ओसिपि ग्राहकहरुलाई अझै व्यवस्थितरुपमा सेवाहरु उपलब्ध हुने स्थान हो, जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बीमा दावी, बीमालेख समर्पण, ऋण तथा विमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुन्छ । अमेरिकमा स्थापित अमेरिक लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ ।
हुवावेलाई अमेरिकाको आवश्यकता छैन, हुवावे र चीन ब्युँझिएकाे छ
काठमाडाैं । यो साता हुवावे कम्पनीको लागि भ्रामक सप्ताह भएको छ । ५ दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा ‘अनपेक्षित’ खतरा पुर्याउने टेलिकम कम्पनीहरुको सामान बिक्रीमा प्रतिबन्ध लगाउनको लागि भन्दै राष्ट्रिय आपतकालको घोषणा गरे । कुनै देश वा कम्पनीको नाम नखुलाईकनै ट्रम्पले कार्यकारी आदेशको बाध्यकारी योजना वाणिज्य विभागमार्फत् तयार गरे । त्यसको केही घण्टामै विभागले हुवावेलाई त्यस्तो सूचीमा समावेश गर्यो । यसले भन्छ कि हुवावेले “राष्ट्रिय सुरक्षा र विदेश नीति चासो” लाई उल्लंघन गरिरहेको छ । त्यसको केही दिनमै सो विभागले प्रतिबन्धलाई विस्तारै खुकुलो गर्यो र अस्थायी लाइसेन्स दिने भयो । यसले चिनियाँ सामाग्रीका विद्यमान प्रयोगकर्ताको लागि त्यस्ता सुविधाहरु दिन खुला गर्यो । तर गुगल, इन्टेल र क्वायलकमले अझैपनि आफूहरु अमेरिकी कानून पालना गर्न बाध्य भएको भन्दै त्यस्तो प्रतिबन्ध खुला गर्न प्रतिबन्ध लगाइरहेका छन् । कस्तो परिवर्तन हुनसक्छ ? यी सबै घटनाहरु विनासकारी छैनन् । इन्टेल, क्वायलकम र ब्रोडकमले अर्को व्यवस्था नभएसम्मका लागि आफ्ना सामानहरु चिनियाँ कम्पनीलाई नबेच्न भनेको एउटा रिपोर्टमा उल्लेख गरिएको छ, तर ती संस्थाहरुबाट लिने चिप्सहरु बनाउन चिनियाँ कम्पनीहरु आफैं सक्षम छन् । पक्कैपनि चिनियाँ कम्पनीहरुले आफ्ना मध्यमस्तरीय मोबाइलहरुमा क्वायलकमका चिप्सहरु प्रयोग गर्ने गथ्र्यो । तर हालैका वर्षहरुमा आफ्नै चिपसेट र मोडियमहरु प्रयोग गर्न ती कम्पनीहरुले थालिसकेका छन् । हुवावेको केयर ९०० सिरिज अहिले ती चिप्सहरुभन्दा अब्बल स्थापित भइसकेका छन्, त्यसैले यसले चीनका कम्पनीहरुलाई ठूलो असर गर्नेछैन । अब ल्यापटपका प्रोसेसरहरुमा ट्रिकेयरहरु प्रयोग हुनेछन् । हुवावेसँग पीसीका चिपसेटहरु बनाएको अनुभव पक्कै छैन, तर यस्तो अवस्थामा उसले अन्य कम्पनीहरुसँग त्यो लिनसक्छ र भविष्यमा आफै बनाउन पनि सक्छ । एन्ड्रोइडलाई हानी हुवावेलाई हस्तक्षेप गर्ने सबैभन्दा ठूलो अस्त्रको रुपमा गुगलको इन्ड्रोइड अपरेटिङ सिस्टमलाई लिएको छ । यो सत्य हो कि अहिले हुवावे र अन्य धेरैजसो स्मार्टफोनको विशाल समूह एन्ड्रोइड अपरेटिङ सिस्टम चलाउँछन् । तर स्पष्ठ हुनु जरुरी छ कि हुवावेलाई आफ्नै प्रणाली निर्माण गर्न एन्ड्रोइड ओपनस्रोत प्रयोग गर्न अझै दिइएको छ र गुगलले यो पनि भनेको छ कि उसले गुगल प्लेस्टोर र गुुगल सेक्युरिटिसम्बन्धी एपहरु प्रयोगकर्तालाई अझै खुला गरेको छ । यसको अर्थ तपाईँ अहिले हुवावे मोबाइल चलाउनुहुन्छ भने पनि तेस्रो पक्षहरुको एपहरुको पहुँचमा पुग्न तपाईँ सक्नुहुन्छ । तर गुगलका प्रयोगकर्ताहरु जो जीमेल, गुगल ड्राइभ, गुगल म्याप र युबट्युबमा निर्भर छन् भने त्यस्ता फिचरहरुको सम्भावित विकल्प खोज्नुपर्ने हुनसक्छ । हाल धेरै प्रयोगकर्ताहरुले गुगलका यी प्रोडक्टहरुको विकल्पहरुको समेत समानान्तर प्रयोग गरिरहेका छन् र यो पनि सम्भव छ कि यो एउटा सौदा हो जुन केही समयमा फुकुवा हुनेछ । एन्ड्रोइड आफैंलाई यसबाट यसकारण पनि हानी छ कि हुवावेका ह्यान्डसेटहरुमा एन्ड्रोइड ओएस प्राप्त हुनेछैनन् र यदि तपाईँले त्यसलाई आफ्ना मोबाइलबाट हटाउनुभयो भने सदाका लागि त्यसलाई त्याग्नुपर्ने हुनसक्छ । यद्यपि अझैपनि सबै बिग्रिहालेको भने छैन । हुवावेले भनिरहेको छ कि उसले आफ्ना प्रयोगकर्ताहरुको सुरक्षा र गोपनियतामा संवेदनशील छ र आफ्ना प्रोडक्टहरु स्मार्टफोन र ट्याबलेटहरुमा यस्ता सुविधाहरु निरन्तर दिइरहनेछ ।’ हामीले एउटा शिक्षा पाएका छौं कि अब एन्ड्रोइडको ओएस सिस्टमको प्रतिस्थापनमा पनि हामी लाग्नुपर्छ । कम्पनीलाई स्पष्ट रूपमा अमेरिकाको आवश्यकता छैन, जो संसारमा आफ्नो व्यवसाय बन्द गर्न सक्षम भएको छ। उल्लेखनीय प्रश्न अब यो छ कि, बाँकी संसारले एन्ड्रोइड बिनाका हुवावेका यन्त्रहरू खरीद गर्नेछ । विश्वभरको गुगलको ओएस को लोकप्रियतालाई पश्रय दिँदादिँदै पनि, हुवावेले आफ्नो देश (चीन) बाहिर बाँच्न चाहान्छ भने पर्याप्त एप र ओएस प्रतिस्थापन प्रदान गर्नेबारे गम्भीरताका साथमा विचार गर्नु आवश्यक छ । यद्यपि यदि प्रतिबन्ध हटाइयो र आपूर्तिकर्ताहरूले कम्पनीसँग व्यापार पुनः सुरु गरे भने पनि यो कुरालाई हुवावेले विर्सिनु हुँदैन । हुआवेको सबैभन्दा महत्त्वपूर्ण केही साझेदारहरुले गम्भीर आरोपहरू लगाएर हुवावेप्रति पीठ फर्काएका छन् । यसलाई गम्भीरतापूर्वक सोच्नुपर्छ । engadget.com बाट अनुवादित
नेपाल एसबीआईका ग्राहक पैसा झिक्न बैंक जानै नपर्ने, ‘खल्तीबाट हुन्छ भुक्तानी’
काठमाडौँ । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले राजधानीमा एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा हस्ताक्षर गर्न आयोजित समारोहमा नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागर र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो । सम्झौता अनुसार अब एसबीआई बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने–हामी नेपाल एसबीआई बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब नेपाल एसबीआई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नु पर्दैन । त्यसैगरी, नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागरले प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका र ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्ने बताए ।
लेखा समितिको बैठकमा कुलमानले भने-‘भ्रष्टाचार गरेको भए झुण्डिन तयार छु’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टचार गरेको प्रमाणित भएमा भुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका छन् । संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर भ्रष्टाचार गरिरहेको आरोप लगाएपछि घिसिङले भ्रष्टाचार गरेको फेला पार्न चुनौती दिए । ‘तपाईले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले गर्दा मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकेका छैनौं, एकातर्फ जनप्रतिनिधि भएर आफैं विकासका काम रोक्ने अर्कोतर्फ इमान्दारीका साथ रातदिन नभनी मुलकको लागि काम गरिरहेको व्यक्तिलाई भ्रष्टचार गर्यो भन्दै जथाभावी बोल्ने’आक्रोशित हुँदै कार्यकारी निर्देशक घिसिङले चुनौती दिए । ‘भ्रष्टाचार गरेको प्रमाणित गर्नुहोस् झुण्डिएर मर्न तयार छु, सांसद हुँदैमा जथाभावी बोल्न पाइँदैन ।’ लेखा समितिले औद्योगिक तथा व्यापारिक ग्राहकसँग देखिएको डेडिकेटेट र ट्रंक लाइन महुशलका विषयमा देखिएको विवादका बारेमा छलफल गर्न ऊर्जा सचिव दिनेशकुमार घिमिरे, घिसिङ लगायतलाई डाकेको थियो । उनले सुरुमा डेडिकेटेट र ट्रंक लाइन महशुलका विषयमा देखिएको विवादका बारेमा प्रष्ट पारेका थिए । त्यसपछि सांसदहरुले आफ्नो धारणा राखेका थिए । कुलमान विरुद्ध आक्रोशित भएका मोदीले लोडसेडिङ अन्त्य गरेको जसलिंदै संस्थाभित्र भ्रष्टचार गरेको आरोप लगाए । ‘२५ मेगावाटको सोलार प्लान्ट र कोसी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टचार गरिएको छ, आफ्ना विद्युत्गृहबाट विद्युत उत्पादन नगरी कमिसनको खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ’,उनले आरोप लगाए । ‘दम्भ बढ्दै गएको छ,प्रधानमन्त्रीले पनि गर्न नसक्ने त्रिशूली ३ बी हब सबस्टेसन अवरोध गरेको भन्दै स्थानीयलाई थर्काउने ?’त्यसपछि बोल्ने पालो पाएका कार्यकारी निर्देशक घिसिङले आरोप पुष्टी गर्न चेतावनी दिए । के हो मोदीको स्वार्थ ? नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भयो । सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । यसले गर्दा दुहवीबाट विद्युत् लागी सबस्टेसन संचालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताए । ‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड थान्न सक्ने अवस्थामा छैन’,सिंहले भने । ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था छ ।’ स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ । मोदीले स्थानीयको मागलाई साथ दिंदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । प्रसारण लाइन निर्माण नसकिंदा कटहरी सवस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले संचालनमा ल्याउन सकेको छैन । प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केहीअघि तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, मन्त्री पुनको अग्रहलाईसमेत मोदीले मानेका छैनन् । स्रोतका अनुसार, त्यस क्षेत्रका उद्योगीले चुनावमा सहयोग नगरेको भन्दै मोदीले स्थानीयलाई उचालेका हुन् । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटकपटक प्रयास गरिरहेको छ । सबस्टेसन संचालनमा आएपछि गुणस्तरीय विद्युत र भोल्टेज सुधार हुने भएकाले त्यस क्षेत्रका उद्योगी व्यवसायीले पनि समस्या समाधानका लागि पहल गरिरहेका छन् । तर, मोदीकै कारण उनीहरुको प्रयास सफल भएको छैन ।
जे पे गर्दा पनि आइएमई पे, मोबाइलबाटै जेसुकैकाे पैसा तिर्न सकिने
काठमाडौं । मोबाइल वालेट एप आइएमई पे ले हालै “जे पे गर्दा पनि आइएमइ पे” नामक कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम अन्तर्गत बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरूतथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरेपछि मात्रै उक्त सेवा लिन सकिने छ । आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले भने, “आइएमई पे को प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलो भन्दा सजिलो बनाउनु नै हो । हाल आइएमई पे बाट गरिने भुक्तानीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ र आउँदा दिनमा यो अझै बढ्दै जाने विश्वास गरेका छौं ।” साथै, प्रयोगकर्ताहरूको जिज्ञासा र उत्सुकतालाई मध्यनजर गर्दै भुक्तानी गर्ने विभिन्न स्थानहरूको सङ्ख्यालाई पनि बढाउँदै लिएर जाने लक्ष्य रहेकाे उनले बताए । हाल नेपालभर १ लाखभन्दा बढी स्थानहरूमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिने छ ।
प्रनिश बुढाथोकीको ‘दाई की साली’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । गायक प्रनिश बुढाथोकीको नयाँ गित ‘दाई की साली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ । गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन । निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । उक्त भिडियोलाइ म्युजिक आई कम्पनीले बजारमा लिएर आएको हो । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस !