सेलपेको ब्राण्ड एम्बेस्डरमा हाँस्य कलाकार महजोडी, के हो त सेलपे ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडको वालेट लोड गर्न नपर्ने सेलपे सेवाको ब्राण्ड एम्बेस्डरमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंशआचार्य(महजोडी) नियुक्त भएका छन् । सेलकमले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकहरुमा सेवा प्रदान गर्ने निर्णयका साथ भुक्तानी सेवा सेलपे शुरुवात गर्न लागेको हो । सेलकमले सन् २०१३ मा टेलिकम सेवा प्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नं. हाल्नु पर्नेलार्ई विस्थापन गर्दै पहिलोपटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा शुरु गरेको थियो ।| भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्याण्डर्ड सेवा सहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजारमा आउन लागेको सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले बताए । के हो त सेलपे ? सामान्य भाषामा बुझ्दा सेलपे एउटा अनलाइन पेमेन्ट सेवा हो । विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमाहलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बीटुबी, बीटुजी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा सेलपे स्थापित भएको हो । स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे” को सुरुवात गर्न लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक पवन प्रधानले नयाँ विशेषता र रणनीतिका साथ बजारमा आएको बताए । ‘सबैभन्दा पहिलो फाइदा सेवाग्राहीले सेलपेमा वालेट बनाउननपर्ने हो’ उनले भने । यस्ता छन् विशेषता सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुबै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथामितव्ययी सेवाहो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनिभुक्तानीकालागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देश भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो । विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपे मार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न र अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त गर्न सक्नेछन् । यसरी न्युन शुल्क तथा भुक्तानी रकम तुरुन्तै प्राप्त गरी दोहोरो फाईदा हुने छ । साथै, राज्यको हकमा अन्य (विदेशी) भुक्तानी सेवा प्रदायकले सेवा शुल्क वापत करोडौं विदेशी मुद्रा विदेश जाने हुंदा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले सेलपे जस्तो स्वदेशी भुक्तानी सेवा प्रदायकलाई प्रोत्साहित गरी मुलुकको विदेशी मुद्रा संचयमा योगदान दिन सक्नेछन् ।
अब एक्सेल डेभलपमेन्ट बैंकबाटै एशियन लाईफको जीवन बीमा किन्न पाइने
काठमाडौं । अब एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा खरिद(किन्न) गर्न पाइने भएको छ । एशियन लाईफ ईन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने भएका हुन् । एशियन लाईफले जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एक्सेलसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।
डडेलधुरामा माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैंकिङ्ग सेवा, संख्या १०० पुग्यो
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजय मेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका-७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले १०१ वटा शाखाहरु लगायत १०० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
नेप्से दोहोरो अंकले घट्दा ६२ करोडको कारोबार, सबै समूह राताम्मे
काठमाडौं । साताको पहिलो दिनको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको आइतबारकाे नेप्से बजार बन्द हुँदा ११.९३ अंकले घटेर १३०२.६१ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशत घटी हो । त्यस्तै, परिसूचक सहित कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार कुल १६५ कम्पनीको ६२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा झण्डै ३१ करोड रुपैयाँ घटी हो । गत बिहीबार ९३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कूल कारोबारमा आएका कम्पनीमध्ये नेपाल बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । बैंकको एकैदिन ४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५६० रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे देखिएका छन् । कारोबारमा आएका कूल ११ समूह मध्ये सबैभन्दा बढी जीवन बीमा समूह ओरालो लागेको छ । बैंकिङ्, फाइनान्स, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचअल फण्ड समूह सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । उता जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतले घटेको छ ।
सिभिल बैंकको शाखा अब झापाको सुरुङ्गामा पनि
काठमाडौं । सिभिल बैंकले झापा जिल्लाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ । उक्त स्थानमा बैंकको आवश्कता महसुस गर्दै सिभिल बैंकल नयाँ शाखाको उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गरेका हुन् । उद्घाटन कार्यक्रममा पोखरेलले नेपाललाई समृद्धितर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो व्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्यखर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुँजीको निर्माण गर्न आग्रह गरेका छन् । सिभिल बैंकले आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकीले बताए । साथै, यस शाखा सहित बैंकको कुल शाखा संख्या ७५ पुगेकोे पनि छ ।
राजेन्द्र राई भन्छन्-‘लाज भन्ने कुराको अझै अस्तित्व छ भने बृद्धभत्ता बढाऊ सरकार’
‘कम्तीमा बोलीको जमान हुन्छ भने, लाज भन्ने कुराको अझै अस्तित्व छ भने बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता बढाऊ सरकार ।’ हुनत कतिपय अर्थशास्त्रका विज्ञ, विद्वान भनिएकाहरुले बृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता लाई अनुत्पादक खर्चको रूपमा व्याख्या गरेर बढाउनु हुन्न भन्लान्, भन्दै आएका पनि छन् । सिद्धान्ततः वा प्रत्यक्षत यसलाई अनुत्पादक खर्च मान्न पर्ला तर बाँच्नै गाह्रो भएको जनतालाई बचाउँन छाडेर उत्पादन के को लागि कसको लागि, जनता नबचाउने उत्पादन मात्र बढाउने, विकास मात्र गर्ने राज्य, सरकार जनतालाई के काम ? जनता ठूलो की उत्पादन, विकास ठूलो ? झन् अहिलेको साझा संकल्प समाजुनमुख हुने, अहिलेको सरकार कम्युनिष्ट सरकार, कम्युनिष्ट भन्नु बित्तिकै स्वतः समाजवाद उन्मुख, समाजवाद भन्नु बित्तिकै वितरण, उपभोग, सुख,दुःख, खुशियाली सबैमा समानता, राज्यले जनताको दायित्व लिने, सक्नेलाई योग्यता अनुसारको काम दिने, काम अनुसारको दाम दिएर जनतालाई बाँच्ने अवस्था निर्माण गर्ने र नसक्ने रोगी, केटाकेटी, वृद्धहरु, शारीरिक रूपमा असक्तहरुलाई राज्यले जिम्मा लिने, लालनपालन गर्ने व्यवस्था हो मूलतः । यसर्थ राष्ट्रिय संकल्पको हिसाबले वा वर्तमान सरकार कम्युनिष्टको हुनुको नाताले उत्पादन, विकास भनेर जनताको हितलाई उपेक्षा गर्न मिल्दैन त्यसैले आफैले बोले मुताबिक बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता बढाउनु पर्छ यो सरकारले अहिलेको बजेट वक्तव्य मार्फत ।
सबैको लघुवित्त वित्तीय संस्थाको योजना तर्जुमा गोष्ठी
काठमाडौँ । तनहुँको डुम्रेमा प्रधान कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले शनिवार पोखरामा योजना तर्जुमा गोष्ठीसम्पन्न गरेको छ । संस्थाले चालु आर्थिक बर्षको तेश्रो त्रैमासिक अवधीको समीक्षा सहित आगामी आर्थिक बर्ष २०७६/७७ को योजना तर्जुमा बिषयमा छलफल सम्पन्न गरेको हो । यही जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा संचालन भएको उक्त गोष्ठीमा संस्थाका कूल ३८ शाखाका शाखा प्रमुखहरुले आआफ्नो शाखाको लक्ष्य तथा प्रगती बिवरण र आगामी आर्थिक बर्षको कार्ययोजना प्रस्तुत गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले बताए । संस्थाका सञ्चालक भवनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न योजना तर्जुमा गोष्ठीमा बर्तमान समयमा लघुवित्तमा देखिएका समस्या र चूनौती तथा समाधानका उपायहरुबारे बिस्तृत रुपमा छलफल गर्दै संस्थाको आगामी आर्थिक बर्षको कार्ययोजना अनुरुप कार्य गर्न ३८ शाखाका शाखा प्रमुखहरुलाई आग्रह गरिएको सबैको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।
२० मेगावाटको तल्लो मोदीखोलाबाट उत्पादन लम्बियो, असार पहिलो सातादेखि परीक्षण
पर्वत । पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ । उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फेरी असार पहिलो साता पुगेको हो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ । मर्मतको काम सक्न अझै एक महीना लाग्न सक्ने देखिएको जनाइएको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भाग भेटिएको थियो । मर्मतको काम जेठको तेस्रो साताभित्र सकेर असार पहिलो सातामा परीक्षण उत्पादन गर्ने योजना रहेको आयोजना स्रोतले जनायो । टनेलको पक्की नगरिएको ठाउँमा पानी चुहिएपछि पहुँच मार्ग (अडिट टनेल)बाट पानी बाहिर आएको थियो । साउथ एशिएन लिमिटेडले सुरुङ निर्माणको काम गरेको थियो । अहिले सुरुङमा परीक्षण र मर्मतको काम भइरहेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । “मर्मत सकिएपछि सबै प्रक्रिया पूरा गरेर परीक्षण उत्पादन थाल्छौँ”, उनले भने, “केही प्राविधिक समस्या देखिएकाले परीक्षण उत्पादन सोचेभन्दा ढिलो शुरु हुने अवस्था आएको हो ।” यसैगरी, पावरहाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिएकाले निर्माणकार्यमा ढिलाइ भएको जनाइएको छ । परादीस्थित पावरहाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करीब सात मिटर छोटो भएको थियो । आयोजनाले तारको दूरी नाप्ने इञ्जिनीयरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौँ नोक्सान हुने जनाएको छ । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावरहाउसदेखि प्रसारण लाइनसम्म पुर्याउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो । विसं २०६९ साउनमा निर्माण शुरु गरिएको सो आयोजनाको उत्पादन लक्ष्य २०७४ असारसम्म थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आउनाका साथै स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायत कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको थियो । रासस