मंगलबार प्रदेश ३ को नीति कार्यक्रम प्रस्तुत हुने
हेटौंडा । ३ नम्बर प्रदेशको मन्त्रिपरिषदको बैठक आईतबार बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ । सरकारले प्रदेश प्रमुख अनुराधा कोईरालामार्फत जेठ १४ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । यसैगरी आईतबार नै बसेको बैठकले प्रदेश बिकास परिषदका सदस्यहरु मनोनयन गरेको छ । परिषदका लागि जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न संघसंस्था, निजि क्षेत्रलगायत विभिन्न समुदायका क्षेत्रबाट २५ जना मनोनित गरिएको हो । परिषदमा गोपाल न्यौपाने, बिद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन, रेणु दाहाल, रजनी जोशी, कर्मु तामाङ श्रेष्ठ, भरतबहादुर केसी, अप्सरा चापागाईं, कृष्णलाल चौधरी, डा। दिनेश पौडेल, श्रीचन्द्र शर्मा, प्रताप विष्ट, भवानी राणा, डा. तिलकचन्द्र भट्टराई, दीपा बोहोरा, रघुनाथ खुलाल, कल्पना पौडेल, कुमार थापा, डा. सुनिता अमात्य, ऋषिराम घिमिरे, दिनेश श्रेष्ठ, कृष्णमान श्रेष्ठ, गिताकुमारी दाहाल, अच्युतप्रसाद पौडेल र ईश्वरचन्द्र पोख्रेललाई मनोनित गरिएको छ । प्रदेश विकास परिषद मुख्यन्त्रीको अध्यक्षतामा गठन हुने प्रावधान छ ।
सेयर खरिदको भुक्तानी अब अनलाइन बाटै, दिनमा १० लाखसम्म भुक्तानी गर्न सकिने
काठमाडौं । सेयर लगानीकर्ताले आइतबार(आजै)देखि अनलाइन बाटै सेयर खरिदको भुक्तानी गर्न सक्ने भएका छन् । लगानीकर्ताले अबदेखि नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल) को प्रणालीमा आवद्ध सबै बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन रकम भुक्तानी गर्न पाउने भएका हुन् । नेप्सेले आइतबार एक सूचनामार्फत उक्त सेवाको जानकारी गराएको हो । यसका साथै, लगानीकर्ताले नेप्सेले सञ्चालनमा ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टम(नट्स)/टिएमएसको माध्यमबाट कारोबार गर्दा एनसिएचएलमा आवद्ध जुनसुकैबाट सेयर खरिद गर्दा अनलाइन बाटै रकम तिर्न सक्ने छन् । पछिल्लो तथ्याङ्क अनुसार उक्त एनसिएचएल प्रणालीमा हाल ४८ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध रहेका छन् । त्यस्तै, नेप्सेका अनुसार लगानीकर्ताले दुई चरणमा सेयर कारोबार भुक्तानी तिर्न र लिन सक्नेछन् । हाल पहिलो चरणमा एनसिएचएल आवद्ध बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताले सदस्य दलालको खातामा अनलाइनबाट भुक्तानी गर्न सक्ने छन् । त्यस्तै, दोस्रो चरणमा सदस्य दलालबाट लगानीकर्ताले भुक्तानी प्राप्त गर्न सक्ने छन् । यसका साथै, एनसिएचएलका अनुसार हाल लगानीकर्ताले एक दिनमा एक बैंकबाट अनलाइनमार्फत बढीमा १० लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्नेछन् । यो सुविधा नेप्से, एनसिएचएल र सदस्य दलालहरुको संयुक्त प्रयासबाट थालिएको हो । जसबाट लगानीकर्ताले उच्चतम लाभ लिन सक्ने नेप्सेको अपेक्षा रहेको छ ।
विस्फोटमा परी तीनको मृत्यु, मृतक केसी विद्यार्थी नेता भएको अनुमान
काठमाडौँ । काठमाडौँमा आज साँझ भएको विस्फोटनमा परी तीन जनाको निधन भएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु भएको हो । सो घटनामा परी थप एक जना घाइते भएका छन् । घाइतेलाई स्थानीयवासीले मोटरसाइकलमा राखेर वीर अस्पतालमा उपचारका लागि लगेका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतक केसी विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी)का त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठामा भएको सामानमा समेत क्षति पुगेको छ । घटनास्थलमा थप विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ । प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिए । विस्फोटमा परेर निधन भएका केसीको शरीर क्षतविक्षत भएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो । उता, सुकेधारामा भएको विस्फोटमा परी दुई जनाको ज्यान गएको छ । निधन भएकामध्ये एक जनाको घटनास्थलमा र अर्का एकको भने उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो । निधन भएकाको पहिचान खुली नसकेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । दुवै घटनास्थलमा नेपाली सेना तथा नेपाल प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन् । सुकेधारा र घट्टेकुलोमा सिलिण्डर नै विस्फोट भएको पाइएको प्रहरीको भनाइ छ तर आफैँ विस्फोट भयो कि गराइयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सुकेधारा घटनामा परी घाइते भएकामध्ये चार जनाको ओम अस्पताल चावहिल र एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ । रासस
४ वर्षपछि यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका, बढ्न थाल्यो चहलपहल
तातोपानी (सिन्धुपाल्चोक) । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन् । गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ । सम्भवतः यही जेठ १७ गते २०७२ साल वैशाख १२ गतेदेखि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउँदैछ । विगत केही दिनदेखिको काम हेर्दा लाग्छ चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । भत्किएका केही घर बाहेकका संरचना तयारी अवस्थामा पुगेका छन् । होटल, गेस्टहाउसहरुमा पनि नयाँ मान्छे देखिन थालेका छन् । थप केही स्थानमा सडक पुनःनिर्माणको काम भइरहेको छ । नाका खुल्दैछ भन्ने सुनेका स्थानीयवासी असाध्यै खुसी भएका छन् । उनीहरुको अनुहारमा देखिने उत्साह साँच्चै लोभलाग्दो छ । वर्षौँ नाका नखुल्ने भयो भनेर पलायन भएकाहरु फर्किएर आएका छन् । नेपाल सरकारको पटकपटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । नाका खुल्ने पहिलो दिन साङ्केतिकरूपमा तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्ने छन् । ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् । नेपाल सरकारको पटकपटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । मितेरी पुल नजिकै भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेको छ । केही समयपछि ती कार्यालय तातोपानी नाका नजिकै स्थापना भएको सुक्खा बन्दरगाहमा सर्नेछन् । सीमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तैनाथ भइसकेको छ । चार वर्षदेखि नाकाको भन्सार कार्यालय कुरेर बसेका धेरैले साइँला भनेर चिन्ने तिलकबहादुर मगर अरुभन्दा बढी खुसी छन् । भन्छन्, “भूकम्पपछि तातोपानी बजार क्षेत्रमा कोही मान्छे नै देखिँदैन थिए । असाध्यै कष्ट थियो । मानिसहरु पीडामा थिए । विस्तारै चोट लागेको घाउमा मलमपट्टी भयो । यतिखेर पुनःनाका खुल्न लागेको छ ।” कार्यालय सहयोगीका रूपमा रहेका मगर पहिलेको जस्तै नाका व्यस्त होला र धेरैले लाभ पाउलान् भन्ने अपेक्षामा छन् । भोटेकोशी गाँउपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ नाका बन्द हुँदा स्थानीयबासीले धेरै सास्ती भोग्नुपरेको स्मरण गर्छन् । “व्यस्त बजार एकाएक खण्डहर बन्दा कसको मन नपोल्ला र रु हामीलाई त्यस्तै भयो । हजारौँको रोजगारी खोसियो, देशले ठूलो राजश्व गुमायो । व्यापार व्यवसाय चौपट भयो”, वडाध्यक्ष श्रेष्ठ भन्छन्, “तातोपानीलाई सुरक्षित र मर्यादित बनाउन जनप्रतिनिधिको हैसियतले जे जे गर्नुपर्छ सबै गर्न म तयार छु ।” नाका बन्द भएपछि धेरै व्यवसायी पलायन भए । दैनिक चल्ने एक हजार बढी कन्टेनर अन्यत्रै जान वाध्य भए । होटल व्यवसाय चौपट भयो । सीमा क्षेत्रमा नेपाल र चीन सम्बन्धमा आघात पर्ने कुनै पनि खालको गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्ने योजनामा लागेको छ भोटेकोशी गाउँपालिका । गाउँपालिका प्रमुख राजकुमार पौडेल भन्छन्, “हामीले स्थानीयवासीलाई नियमितरूपमा प्रशिक्षित गरेका छौँ । लामो प्रयासपछि खुल्न लागेको नाकालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्छ । छिमेकी देशविरुद्ध हुने कुनै पनि गतिविधि हाम्रा लागि मान्य छैन ।” गाउँपालिकाले नै सीमा क्षेत्रमा अरनिकोको मूर्तिसहितको आकर्षक गेट बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को तयारी थालेको छ । भुइँचालोपछि सुनसान जस्तै बनेको तातोपानी धारामा नुहाउन जानेको सङ्ख्यामा पनि बढोत्तरी भएको छ । नाका बन्द भएपछि धेरै व्यवसायी पलायन भए । दैनिक चल्ने एक हजार बढी कन्टेनर अन्यत्रै जान वाध्य भए । होटल व्यवसाय चौपट भयो । नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भने, “हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ ।” भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्रमा बढेको चहलपहलले शेर्पालाई खुसी तुल्याएको छ । भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन्, आर्थिक उन्नयन हुनेमा आशावादी देखिएका छन् । अर्का स्थानीयवासी मिङ्मा शेर्पा भन्छन्, “नेपाल सरकारको ठूलो प्रयासपछि नाका सञ्चालनमा आउन लाग्नु हामी सबैका लागि खुसी र उत्साहको कुरा हो ।” नाका खुलाउन गरेको प्रयास स्मरण गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटा भन्छन्, “लामो र अथक प्रयासले सार्थकता पाउँदैछ । गरे के हुँदो रहनेछ भन्ने पनि स्थापित भएको छ ।” ‘भूकम्प गए लगत्तै बन्द भएको नाका खुलाउन चार वर्षको बीचमा दर्जनौ पटक तत्कालीनदेखिदेखि वर्तमानसम्मका प्रधानमन्त्री, पार्टीका शीर्ष नेता, यहाँस्थित चिनियाँ दूतावास तथा कुटनीतिक रुपमा पनि ठूलो प्रयास गरेको उनले सुनाए । स्थानीयवासीसमेत सिन्धुपाल्चोककै नेता भएका कारणले पनि नेता सापकोटाले सुरुदेखि नै नाका खुलाउन गरेको प्रयासको बारेमा जानकार छन् । ती मध्येका एक हुन् विष्णु श्रेष्ठ । श्रेष्ठले भने, “सरकार नै लागेर नाका खुलाएको हो । तर जिल्लावासी नेतासमेत भएकाले सापकोटाले गर्नुभएको प्रयास र मेहनत साँच्चै लोभलाग्दो छ ।” सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक हिरासिंह महरा शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताए । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कृष्ण बस्नेत नाका सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । “केही प्राविधिक काम भइरहेको छ । कार्यालय तयारी हालतमा छ । कर्मचारीको व्यवस्थापन समेत भइसकेको छ ।” गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पनि अध्यागमन कार्यालय स्थापना गरेको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भने, “लामो समयपछि खुल्न लागेको नाकालाई व्यवस्थित बनाउन त केही समय लाग्ला तर तत्कालका लागि हामीले आवश्यक व्यवस्थापन गरिसकेका छौँ । ” केही प्राविधिक काम भइरहेको छ । कार्यालय तयारी हालतमा छ । कर्मचारीको व्यवस्थापन समेत भइसकेको छ । गृहमन्त्री रामबहादुर थापाका अनुसार नाकालाई व्यवस्थित गर्न मन्त्रालयमातहतका सबै निकायलाई व्यवस्थित, मर्यादित र भरपर्दो बनाएर सञ्चालन गर्ने गरी तयारी गरिएको छ । छिमेकको चासोलाई समेत सम्बोधन गर्ने गरी शान्ति सुरक्षाको सबै प्रबन्ध गरिएको र कुनै पनि कमजोरी हुन नदिनेमा गृह मन्त्रालय एकदमै सचेत रहेको उनको भनाइ छ । रासस
असार १ गतेदेखि थप चार ब्रुमरले सडक सफा गर्ने, २ वटा चीन सरकारले दिने
काठमाडौं । काठमाडौं उपत्यकामा सडक सफा गर्ने चार ब्रुमर थपिने भएको छ । असार १ गतेदेखि सो संख्याको बु्रमर थपिने लागेको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले बताए । दुई ब्रुमर चिनियाँ सरकारले सहयोग गर्न लागेको हो भने थप २ वटा महानगरपालिकाले खरिद गर्न लागेको हो । यस अघि नगर कार्यपालिकाको ३२ औं बैठकले पारित गरेपछि पाँच ब्रुमर इटालियन कम्पनीबाट खरिद गरेको थिए । राती मात्र काम हुने ब्रुमरमा प्राविधिक समस्या भएमा ३ वर्षसम्मको वारेन्टी र बेलाबेलामा सबै ब्रुमर के कस्तो चलिरहेको छ त्यसलाई हेर्ने एवम् सामान फेर्ने काम गरिरहेका वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताएका छन् । ब्रुमरबाट नगरक्षेत्रको धुलो नियन्त्रणमा उल्लेख्य प्रगति देखिएकाले थप दुईवटा ब्रुमर खरिद गर्न लागिएको मनपाको भनाई छ । राजधानीको धुलो नियन्त्रणका लागि मनपाले ब्रुमर प्रयोगमा ल्याएपनि समस्या समाधान भने हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
सनराइज बैंकले एकैसाथ खोल्यो ४ शाखारहित बैंकिङ्ग सेवा, हेरौँ कहाँ कहाँ ?
काठमाडौं । सनराइज बैंक लिमिटेडले एकैसाथ ४ वटा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले रुपन्देहीको पर्साहवा र मझौली, महोत्तरीको खयरमारा र सिराहाको रामपुर बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरी शुरू गरेको हो । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त शाखा विस्तार गरेको हो । त्यस्तै, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यससँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३३ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको छ ।
सुनसरीको पानवारीमा राष्ट्रिय बाणिज्य बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय उद्घाटन गरेका छन् । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१९ पुगेको छ । उक्त शाखाको कारोबार भने गत बैशाख ३० गतेबाट संचालन भएको थियो । सो समारोहमा प्रमुख अतिथि राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले संघीय एवं प्रदेश सरकार संग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने वताए । बैंकका प्रदेश नम्बर १ का प्रमुख ऋषब भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, प्रदेश नम्बर १ सभाका प्रमुख प्रतिपक्ष दलका नेता माननीय राजिब कोइराला, धरान उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मन्जु भण्डारी सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले शुभकामना ब्यक्त गरेका थिए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, विभागीय प्रमुख राज्य लक्ष्मी श्रेष्ठ लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, उद्यमी व्यवसायीहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभागीय प्रमुख राज्य लक्ष्मी श्रेष्ठले स्वागत मन्तब्य र उप प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम संचालन गरेका थिए ।
ज्योति विकास बैंकबाट सानिमाको बीमा सेवा पाइने
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने एवम् अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकास्योरेन्स सम्झौता भएको बताइएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।