पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो, असार भित्र सञ्चालनमा आउने
काठमाडौँ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पोरेशन (आइओसी)सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको भएकाले कर्पोरेशनले यही जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालिम दिनेछ । नेपालतिर ३६ र भारततिर ४२ किलोमिटर पाइप बिछ्याइने उक्त परियोजनालाई गति दिन निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सक्रियता देखाएपछि काम सम्पन्न भएको हो । निगमका उपनिर्देशक पुष्कर कार्कीका अनुसार तालीमपछि परियोजना हस्तान्तरण भई सञ्चालनमा आउनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको छ । मोतिहारी-अमलेखगञ्ज पाइपलाइन निर्माणसँगै उक्त पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको योजना छ । रासस
रुख काटेर बनाइयो बाटो फराकिलो
काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउन करिडोर निर्माणको कामलाई तीव्रता दिइएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि अगाडि सारेको तीन महिने कार्ययोजनाअन्तर्गत करिडोर निर्माण कार्यलाई तीव्रता दिएको हो । करिडोर निर्माणका क्रममा महाशाखाले आज काठमाडौँ महानगरपालिकाको सहकार्यमा बालाजु गुरु नानक मठ अगाडि रहेको रुख काटेर बाटो फराकिलो बनाएको हो ।उक्त करिडोर बढाएसँगै अब झोरदेखि बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु हुँदै शोभाभगवती हुँदै कालीमाटीसम्म सवारी साधन चल्न सहज हुनेछ । महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले रातोपुल, सेतोपुल, भत्केकोपुल, बालकुमारी पुल, नयाँ बसपार्क क्षेत्रमा करिडोर निर्माण गरिसकेकोको जानकारी दिएका छन् ।यस्तै, महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि सवारी साधनमा प्रदूषण चेकजाँच, जेब्राक्रसिङ निर्माण, चालकलाई सचेतनामूलक कक्षालगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले करिडोर निर्माणसँगै उपत्यकामा सवारी सञ्चालनमा सहज हुने बताए । “करिडोर निर्माण गरेर मात्र हुँदैन, सवारी साधन चल्ने खालको हुनुपर्छ”, उनले भने । यसै क्रममा साहले यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन सञ्चालनमा रहेको समेत बताएका छन् । रासस
कपिलबस्तुको बाणगंगामा आशा लघुवित्तले दियो १२२ महिलालाई सीपमूलक तालिम
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले जेठ २०, २१ र २२ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय बाणगंगा कपिलबस्तुमा आबद्ध सदस्यहरु मध्ये १२२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने साबुन तथा अचार बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै बाणगंगा नपा वडा नं. ७ का अध्यक्ष बिष्णुप्रसाद गिरीले यस्तो किसिमको कार्यक्रमले महिलाहरुलाई उद्यमशील बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख अर्जुनकुमार ओलीले कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने साबुन तथा अचार बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै १,२५३ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
अन्तःशुल्कमा नेपाल लिकर्सको उत्कृष्ट योगदान, बुझायो १ अर्ब ६५ करोड
काठमाडौ । नेपाल लिकर्सले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म आन्तरिक राजस्व कार्यालय विराटनगरमा अन्तःशुल्क बापत १ अर्ब ६५ करोड रुपैयाँ बुझाएको छ । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा राजस्व कार्यालयले अन्तःशुल्क बापत २ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेकोमा नेपाल लिकर्सको स्थान सबैभन्दा अगाडि रहेको छ । राजस्व कार्यालयका प्रमुख दिलिप गौतमले भने–‘हाम्रो लक्ष्य चालु आर्थिक बर्षमा २ अर्ब १२ करोड रुपैयाँ मात्र संकलन गर्ने रहेको थियो, तर हामीले लक्ष्य भन्दापनि धेरै अन्तःशुल्क असुल गर्न सफल भयौँ ।’ नेपाल लिकर्सले भने सिग्नेचर रेड, सिग्नेचर प्रिमियर, म्याकड्वेल नम्बर वान, एन्टीक्वीटी ह्विस्की र गोल्डेन ग्रेप ब्रान्डी लगायतका उत्पादन गर्दै आएको छ । अन्तःशुल्क मार्फत सरकालाई योगदान गरिरहेको नेपाल लिकर्सले सामाजिक रुपमा समेत आफ्नो सहभागिता जनाउँदै आएको छ । आफूहरु सामाजिक सक्रियतातर्फ लम्कदै गएको लिकर्सका कर्पोरेट महाप्रबन्धक कमल सिटौलाले विकासन्युजलाई जानकारी दिए ।
पूर्वाधार निर्माणमा चार खर्ब २६ अर्ब बजेट, पुँजीगत खर्चभन्दा केहीले बढी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा पूर्वाधार विकास निर्माणको क्षेत्रमा चार खर्ब २६ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ । पूर्वाधार निर्माणको क्षेत्रमा विनियोजन गरेको रकममध्ये दूई खर्ब ८५ अर्ब पुँजीगत खर्च हो । सो बजेटबाट सरकारले ८० अर्ब ७० करोड चालु खर्चका लागि विनियोजन गरेको छ भने ६० अर्ब १० करोड वित्तीय व्यवस्था खर्च गर्ने कार्यक्रम बनाएको छ । पूर्वाधार विकास निर्माणमा खर्च हुने बजेट कुल बजेटको २७.८२ प्रतिशत हो । यो बजेट कुल बजेटको पुँजीगत खर्चभन्दा केहीले बढी हो । सरकारले आगामी आवको लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । त्यसमध्ये चार खर्ब आठ अर्ब ५९ करोड पुँजीगत खर्चका लागि विनियोजन गरिएको हो । आगामी आवमा सडक पूर्वाधारमा एक खर्ब ४६ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आवको लागि बिनियोजित सडक पूर्वाधार बजेटमध्ये एक खर्ब ४४ अर्ब पुँजीगत खर्च हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत संचालनमा रहेका राष्ट्रिय गौरवका आयोजना सहित अन्य आयोजनामा सो रकम विनियोजन भएको सरकारको वार्षिक विकास कार्यक्रम २०७६/७७ मा उल्लेख गरिएको छ । सरकारले सडक पूर्वाधारको क्षेत्रमा सुरुडमार्गदेखि सडक स्तरोन्नति, सासेक सडक सुधार आयोजना, पुल निर्माण समेतका आयोजनालाई यस अन्तर्गत समावेश गरिएको छ । शहरी विकास पूर्वाधार निर्माणका कार्यक्रम अन्तर्गत सरकारले आगामी आवका लागि ३६ अर्ब ८४ करोड रुपैयाँ विनियोन गरेको छ । शहरी पूर्वाधारमा विनियोजन भएको रकममध्ये २८ अर्ब सात करोड विकास निर्माणमामात्रै खर्च हुने पुँजीगत बजेट हो । शहरी पूर्वाधारमा एकिकृत शहरी विकासदेखि शहरी वातावरण सुधार आयोजनमा समेत बजेट विनियोजन गरिएको छ । सरकारले वागमती सुधार आयोजना, सघन शहरी विकास कार्यक्रम, क्षेत्रीय तथा एकीकृत बस्ती विकासका कार्यक्रम समेत समेटेको आगामी आवको रातो कितावमा उल्लेख गरिएको छ । सरकारले आगामी आवमा ऊर्जा जलस्रोत तथा सिंचाइ ठूलादेखि साना ३६ वटा आयोजनालाई कुल एक खर्ब एक अर्ब ९० करोड बजेट विनियोजन गरेको छ । ऊर्जा दशकलाई प्रवद्र्धन गर्ने कार्यक्रमदेखि ठूला साना सिंचाइ तथा जलविद्युतका आयोजना समावेश गरिएको छ । बजेटमा मन्त्रालयगत पूर्वाधार कार्यक्रम -कुल पूर्वाधार विकास बजेटः ४ खर्ब ३६ अर्ब ५९ करोड -भौतिक पूर्वाधार तथा यातायातः १ खर्ब ४६ अर्ब १५ करोड -राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषः १ खर्ब ४१ अर्ब -ऊर्जा जलस्रोत तथा सिंचाइः १ खर्ब १ अर्ब ९० करोड -खानेपानी तथा सरसफाईः ३८ अर्ब ११ करोड -शहरी विकासः ३६ अर्ब ८४ करोड -स्वास्थ्य तथा जनसंख्याः ३५ अर्ब २३ करोड -अर्थः २७ अर्ब ८४ करोड -कृषिः २५ अर्ब ४८ करोड -वन तथा वातावरणः ७ अर्ब ५९ करोड -भूमी व्यवस्था, सहरी विकास तथा गरिबी निवारणः ३ अर्ब ७५ करोड -शिक्षा, विज्ञान तथा प्रविधिः ९ अर्ब २९ करोड -संस्कृित, पर्यटन तथा नागरिक उड्डयानः २० अर्ब १२ करोड -उद्योग वाणिज्य तथा आपूर्तिः ८ अर्ब ४० करोड स्रोतः वार्षिक विकास कार्यक्रम २०७६/७७
आमा समूहले गरे सामूहिक फूल खेती
काठमाडौं । गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन् वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरिद गरेर होइन आफैँ उत्पादन गर्ने लक्ष्यका साथ सामूहिक फूलखेती शुरु गरिएको हो । कास्कीको पूर्व भेगस्थित मादी गाउँपालिकाको केन्द्र वडा नं– ३ याङ्जाकोटस्थित डाँडागाउँमा आमा समूहले थप आयआर्जनका साथै आगन्तुक पाहुनाको स्वागतका लागि गाउँमै फूल खेती शुरु गरिएको समूहका अध्यक्ष पूर्णश्री गुरुङले बताएका छन् । घरवास कार्यक्रमलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ व्यावसायिक रुपमा फूलखेती शुरु गरिएको उनले जानकारी दिएका हुन् । स्थानीय ननसुब्बा गुरुङले निःशुल्क प्रदान गर्नुभएको करिब एक रोपनी जग्गामा टनेलसहित चार हजार रुपैयाँमा खरिद गरेको फूलको बीउबाट बेर्ना उत्पादन गरी खुला रुपमा ५०० बिरुवा रोपिएको उनले बताएका छन् । त्यसैगरी, फूलखेतीका लागि कूल ५० हजार रुपैयाँ खर्च गरिएको जानकारी दिँदै उनले त्यसका लागि वडास्तरीय बजेटबाट २५ हजार रुपैयाँ अनुदान प्राप्त भएको जानकारी पनि दिएका छन् । उक्त टलेनभित्र ढकमक्क सयपत्री फूल फुलेका र घरवासमा आउने पाहुनालाई त्यही फूल टिपेर सामूहिक रुपमा तयार गरेको मालाले स्वागत गर्ने समूहको अभियानलाई निरन्तरताका लागि गाउँपालिकाको महत्वपूर्ण भूमिका रहने समूहका सचिव लालकुमारी गुरुङले बताए । ग्रामीण पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ अन्नपूर्ण आरोहण दिवस मनाउन सो घरवास कार्यक्रममा पुगेको टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ एवं नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखासहितको करिब १०० को हाराहारीमा रहेको टोलीलाई स्थानीय विभिन्न पाँच वटा आमा समूहले तयार गरेका मालाले स्वागत गरेका थिए । याङ्जाकोट सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष रोशन गुरुङका अनुसार आमा समूहले सामूहिकरुपमा उत्पादन गरेको अर्गानिक फूल खरिद गरी पाहुनालाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । गाउँमा रहेको बाँझो जग्गामा युवा शक्तिलाई परिचालन गरी कृषिमा संलग्न गराई जैविक उत्पादनमा जोड दिइने उनले जानकारी दिदैं भने, “रमणीय गाउँ याङ्जाकोटमा २५० वटा घरमध्ये अहिले १० वटामा घरवास कार्यक्रम सञ्चालन गरिएको छ जसमा १५० को क्षमता रहेको छ । यसरी खादा र आयातीत मालारहित घोषित सो गाउँपालिका १२ वटै वडामा फूल उत्पादनका लागि आमा समूहलाई अनुदानको व्यवस्था गरिएको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । पहिलो आर्थिक वर्षमा पर्यटकीय गाउँ ताङतिङको आमा समूहलाई एक लाख रुपैयाँ अनुदान प्रदान गरी फूल उत्पादनलाई जोड दिइएको उल्लेख गर्दै उनले बाह्रै महिना फूल उत्पादन गर्नेतर्फ गाउँपालिकाले तयारी गरिरहेको समेत बताएका छन् । रासस
सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमै पढ्नुपर्ने
काठमाडौं । शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ । कार्यक्रममा जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयबीच नौ बुँदे साझा प्रतिबद्धतासहित सो नियम ल्याउन लागिएको हो । सुनकोशी गाउँपालिकाको पाङ्ग्रेटारमा आयोजित उक्त कार्यक्रममा सहभागीले शैक्षिक विकासका लागि उक्त प्रतिबद्धता कार्यान्वयन गर्न सहयोग गर्ने बताएका छन् । जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा स्थानीय तहका शिक्षा शाखाका प्रमुखलगायतको उपस्थिति रहनुका साथै कार्यक्रमपश्चात् नौ बुँदे पाङ्ग्रेटार घोषणापत्रसमेत जारी गरिएको थियो । जिल्लाभरिका स्थानीय तहले जारी गरेका शिक्षा ऐन नियमावली, नीति तथा कार्यक्रमलाई एकरुपता तथा एकीकृत गर्नुका लागि सो कार्यक्रमको आयोजना गरिएको जिल्ला शिक्षा समितिका अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिएका छन ।स्थानीय तहले बनाएका ऐनअनुसार स्थायी शिक्षकको सरुवा तथा बढुवा आदिको अभिलेख केन्द्रमा नदेखिएकाले अभिलेखलाई व्यवस्थित बनाउन प्रतिबद्धताको पहिलो बुँदामा उल्लेख छ । यसरी उक्त कार्यक्रममा तह मिलान तथा समायोजनमा परेका विद्यालय र शिक्षकको विवरण व्यवस्थित गर्ने, शिक्षकको पुल दरबन्दी आवश्यकताका आधारमा सम्बन्धित विद्यालय वा अन्य विद्यालयमा पदस्थापन गर्ने व्यवस्था जिल्ला शिक्षा समितिले मिलाउने पनि सहमति गरिएको छ । रासस
पत्रकारलाई धम्की दिइएको घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’ भनेर धम्की दिएका थिए । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघको ठहर रहेको संघका महासचिव रमेश विष्टले जनाएका छन् । महासंघ घटनाको घोर भत्र्सना गर्दछ । धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाई यस्ता घटना नदोहोर्याउनेतर्फ ध्यान दिन महासंघ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ । यसैगरी जेठ २१ गते राति महासंघ धनकुटा शाखाका सदस्य दिलबहादुर (आशिष) राईलाई ४/५ जनाको अज्ञात समुहले धरानस्थित डिवीआर अनलाइन टेलिभिनको कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गर्दा पत्रकार राईको टाउकोमा गम्भीर चोट लागी धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । महासंघ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।