विकासन्युज

सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा, आरोही लामा सम्मानित

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया–३, संखुवासभा निवासी २६ बर्षीय जेनजेन लामाले जेठ ३ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका छन् । सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोहबीच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेनजेन लामालाई सम्मान÷बधाई सहित शुभकामना दिएका छन् ।

यूनिभर्सल पावरको अध्यक्षमा प्रभुलाल अधिकारी, प्रबन्ध सञ्चालकमा खड्का

काठमाडौं । यूनिभर्सल पावर कम्पनीको अध्यक्षमा प्रभुलाल अधिकारी चयन भएका छन् । कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक अधिकारीलाई कम्पनीको अध्यक्ष पदमा सर्वसहमत चयन गरेको हो । साथै, नवनियुक्त अध्यक्ष अधिकारीको प्रस्तावमा सञ्चालक भोजकुमार खड्कालाई कम्पनीको प्रबन्ध सञ्चालकमा सर्वसहमत चयन गरेको छ ।

बजेटको प्रभावकारी कार्यान्वयनमा सांसदहरुको शङ्का

काठमाडौं । राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरीब किसान र मजदूरलगायत सबै समुदायलाई समान रुपमा समावेश गरेकाले बजेट उत्कृष्ट आएको टिप्पणी गरेका हुन् । सांसद सरिता प्रसाईंले भने सरकारले हचुवाका भरमा बजेटको आकार बढाएको भन्दै प्रभावकारी कार्यान्वयनमा चुनौती हुने आशङ्का गरिन्। सांसद उदया शर्मा पौडेलले बजेटले महिला, वृद्धवृद्धा, अपाङ्गता र अशक्तलाई सम्बोधन गरेको छ, विद्यार्थीलाई स्कूलमै सेनेटरी प्याडको व्यवस्था गर्नुका साथै महिला स्वयंसेवीलाई समेत सम्बोधन गर्नु अत्यन्त सुखद् कुरा हो, बजेट समाजवादउन्मुख छ भने । त्यस्तैगरी, सांसद वृषेशचन्द्र लालले सरकारले अघि सारेको समृद्धिको नारामा मधेशको मूल समस्या नसमेटिएको भन्दै बजेटको विरोध गरेका छन् । सांसद राजकुमार कुँवरले बजेट समग्रमा सकारात्मक रहेको भन्दै निम्न आयबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य सकारात्मक रहेको बताए । बजेटले शहीद, बेपत्ता र घाइतेको उपचार र सुरक्षाका पक्षमा पनि मौन रहेको भन्दै तिनलाई सम्बोधनका लागि आग्रह गरेका छन् । यसरी, सांसद सिंहबहादुर विश्वकर्माले बजेट नेपाली जनताको संबैधानिक अधिकार रक्षा गर्दै राज्यको चौतर्फी विकासमा केन्द्रित भएको छ भनेका छन् । उनले बजेट जनचाहनानुरुपको लोकप्रिय रहेको भन्दै शिक्षा क्षेत्रले प्राथमिकता पाउनु सकारात्मक भएको बताए । त्यस्तै, सांसद प्रकाश पन्तले पनि बजेट वितरणमुखी र सस्तो लोकप्रियता मात्रै भएको टिप्पणी गरेका छन् । रासस

चितवनको खुरखुरेमा आशा लघुवित्तले दियो ६४ जनालाई सीपमूलक तालिम

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले जेठ २४, २५ र २६ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय खुरखुरे चितवनमा आबद्ध सदस्यहरु मध्ये ६४ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै राप्ती न.पा. वडा नं. ८ का अध्यक्ष बुद्धीराज थपलियाले यस्तो किसिमको कार्यक्रमले महिलाहरुलाई उद्यमशील बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख सुदर्शन भण्डारीले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धि भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने साबुन तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै १,३७५ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

कर्मचारीका लागि ५३ अर्ब खर्चने सरकारको तयारी, २० प्रतिशत तलब बढ्दा १२ अर्ब भार थपियो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सेवानिवृत्त कर्मचारीका लागि ५३ अर्ब खर्चिनु पर्ने भएको छ । कर्मचारीको तलवमा भएको वृद्धि तथा वर्षैपिच्छे थपिने सेवानिवृत्त कर्मचारी संख्याका कारण पेन्सन रकम बढ्न गएको हो । बजेटले आगामी आवदेखि राजपत्रांकित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनंकित कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ । यो बढेको तलवले सेवानिवृत्त कर्मचारीका लागि राज्य कोषमा १२ अर्ब भार थपिने देखिएको छ । कर्मचारीको २० प्रतिशत तलव बढ्दा निवृत्त कर्मचारीको तलवमा १३ प्रतिशतले वृद्धि हुने हुँदा आगामी आवमा पेन्सनका लागि करिब ५३ अर्ब खर्च हुने अनुमान रहेको निवृत्तभरण व्यवस्थापन कार्यालयका प्रमुख हेमन्तराज निरौलाले बताए । हाल दुई लाख ६१ हजार पाँच सय सेवानिवृत्त कर्मचारीले पेन्टनपट्टाको सुविधा लिइरहेका छन् । अहिलेसम्मको ट्रेन हेर्दा प्रत्येक वर्ष करिब ६ हजार निजामति कर्मचारी, सेना र प्रहरी निवृत्त हुने गरेका छन् भने करिब साढे ६ हजारको हाराहारीमा शिक्षक निवृत्त हुन्छन् । निरौलाका अनुसार सेवानिवृत्त कर्मचारीको तलवमा भएको वृद्धि र यस्तो संख्या समेत थपिदा चालु आवको बजेटले नपुग्ने देखिएको हो । सरकारले चालु आर्थिक वर्षमा पेन्सनका लागि ४१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो रकममध्ये हालसम्म साढे ३९ अर्ब सेवा निवृत्तकर्मचारीको लागि खर्च भइसकेको छ । नपुग वाँकी दुई अर्ब बजेट गत सातामात्रै अर्थ मन्त्रालयले निकासा गरेको छ । चालु आवको बजेट विनियोजनबाट ३० अर्ब निजामति कर्मचारी, सेना तथा प्रहरीको लागि खर्च भएको छ भने साढे नौ अर्ब शिक्षकका लागि बजेट निकासा भएको थियो । सेवा निवृत्त निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकलगायतलाई दिनुपर्ने पेन्सनको दायित्व बर्सेनि बढदै गएपछि चालु आवको साउन १ गतेदेखि सरकारले योगदानमा आधारित पेन्सन फन्ड प्रणाली लागू गरेको हो । विकास निर्माणको ठूलो बजेट पेन्सनमा खर्च भएपछि सरकारले यस आवदेखि नयाँ व्यवस्था लागू गरेको हो । राज्यलाई दीर्घकालीन पेन्सनको दायित्वबाट राहत दिने ‘निवृत्तिभरण कोष विधेयक २०७५’ गत पुस ३० गते प्रतिनिधिसभाले पारित गरेको हो । विधेयक पारित भइसकेकाले अब सरकारले गत साउन १ देखि सेवा प्रवेश गरेका राष्ट्रसेवकहरूलाई योगदानमा आधारित पेन्सन प्रणाली लागू हुनेछ । गत साउन १ देखि सेवा प्रवेश गरेका राष्ट्रसेवकहरूको मासिक तलबबाट ६ प्रतिशत कट्टा गरी साही बराबरको रकम सरकारले थपेर कोषमा रकम जम्मा हुनेछ । सेवा निवृत्त भएपछि राष्ट्रसेवकहरूले सोही पेन्सन कोषबाट मासिक रूपमा पेन्सन पाउनेछन् ।

आर सिरिजका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने ओपोको घोषणा, यस्तो छ नयाँ योजना ?

काठमाडौं । ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ । ओपोले भर्खरै रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ । रेनो र रेनो १०एक्स जुमका लागि चलिरहेको चर्चाकाबीच उपभोक्तालाई विलाशी अनुभव प्रदान गर्न अझ समावेशी डिजाइन र विशिष्ट सौन्दर्य शास्त्र मार्फत, उपभोक्ता माझ आफ्नो सेवा पु¥याउने सोचका साथ कम्पनी परिवर्तन उन्मुख भएको हो । ओपोका उपाध्यक्ष शेन यिरेनका अनुसार रेनो जस्ता प्रिमियम सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न सर्वाधिक बिक्रि हुन सफल मोडल भएतापनि आर–सिरिजलाई डिस्कन्टिन्यू गर्न लागिएको हो । ओपोको ‘क्लासिक हलमाकर्’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै ओपोले कम्पनीको ध्यान आफ्नो उच्च क्यामेरा प्रविधिमा केन्द्रित गर्दैछ । यसैको नतिजाका रुपमा ओपोको नयाँ रेनो १०एक्स जुमलाई लिन सकिन्छ । यस उपकरणमा सार्क फिन पप्–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १०एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध गरिएका छन् । ओपो रेनो सिरिजको ५जी–रेडी भर्जनपनि सार्वजनिक गर्ने ओपोको योजना छ । रेनो भ्यारियण्टमा फुल–एचडी रेजोल्यूसन सहित ६.४-ईञ्च एमोलेड डिस्प्ले जडान गरिएको छ । ८ जीबी र्याम सहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरद्वारा सञ्चारित यस फोनमा तीब्र क्षमता सहितको ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरपनि उपलब्ध छ । ओपो रेनो १०एक्स जुम इडिसनमा ६.६५ ईञ्च फुल–एचडी+ एमोलेड डिस्प्ले जडान गरिएको छ भने ओक्टा–कोर क्वालकम स्न्यापड्रागन ८५५ प्रोशेसरले शक्ति प्रदान गर्छ । प्रयोगकर्ताका सेल्फीलाई थप क्रिस्प र शार्प बनाउन यस स्मार्टफोनमा एफ र १.७ एपर्चर सहितको ४८ एमपी सोनी आईएमएक्स ५८६ सेन्सरको प्रयोग गरिएको छ । कम्पनीको यस फ्ल्यागशिप ह्याण्डसेटमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेण्डरी सेन्सर र ८ एमपी सुपर वाइड एंगल सेन्सर जडान गरिएको छ ।

नेपाल आईडलका विजेता रवी र प्रतिस्पर्धी अस्मिताको ‘हामी किसानी’ गीत सार्वजनिक

काठमाडौं । गीतकार गोकर्ण रुपाखेती शर्माको ‘हामी किसानी’ युटुव मार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी ओड र प्रतिस्पर्धी अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छ । काठमाडौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ । भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कलाकारहरु देख्न सकिन्छ । उक्त गीतमा गीतकार रुपाखेती शर्माले गाँउ छोडेर विदेशीने युवाहरुलाई स्वदेशमै परिश्रम गर्न र कृषि, पशुपालन लगायतका व्यवसायलाई प्रवर्दन गर्न प्रोत्साहित गरेका छन् । पछिल्लो समय सम्पुर्ण नेपाली युवाहरु गाँउ छोडेर खाडी मुलुकमा पसिना बगाउने गर्दछन् तर आफ्नै जमिन गाँउमा बाझो हुदै गएको छ । गाँउ घरमा बृद्धबृद्धा तथा बालबालिका मात्रै रहेको यथार्थलाई प्रस्तुत गरेका गीतकारले भने । भिडियो हेर्न क्लिक गर्नुहोस् ।

१०० मेगावटको नीलगिरि हाइड्रोपावर निर्माण शुरु, चार वर्षभित्रै सक्ने लक्ष्य

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।नीलगिरिपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिएका छन् । त्यस्तै, नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत्गृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पु¥याएको छ । छोटेपादेखि नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित नीलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पु¥याउन काम शुरु गरिएको छ । यसरी, डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११।५ किलोमिटर सडक निर्माण गरिएको हो । रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । सुरुङ, विद्युत्गृह र बाँधको संरचना एकैसाथ निर्माण अघि बढाउने तयारी गरिएको इञ्जिनीयर केशव वाग्लेले बताएका छन् । “नदीको उचाइ धेरै भएकाले दुई वटा आयोजना निर्माण गर्न लागिएको हो”, उनले भने, “स्रोत जुटाउनेदेखि अन्य सबै प्रक्रिया पूरा भइसकेको छ ।” पहुँचमार्ग बनेपछि निर्माण सामग्री ढुवानी गर्न र आवत–जावत गर्न सहज भएको छ । १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सो आयोजनाका लागि लगानी जुटिसकेको छ । चार दशमलव चार किलोमिटर सुरुङ हुने नीलगिरि क्यासकेडको पेनस्टक पाइपलाइन भूमिगत बनाइने भएको छ भने नीलगिरिको सुरुङ दुई हजार ४०० मिटर हुने आयोजनाले जनाएको छ ।उक्त आयोजना आगामी चार वर्षभित्र पूरा गरिने लक्ष्य छ । विकट भएर पनि पर्याप्त उपकरण र जनशक्ति परिचालन गरिएको प्रतिनिधि गौतमले बताए । ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाका लागि ठेकेदार कम्पनीसमेत छनोट भइसकेको छ । यहाँबाट उत्पादित विद्युत् दानामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशनमा पु¥याई केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । नारच्याङमा हाल दश वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा छन् । यसैगरी १६५ मेगावाटको कालीगण्डकी गर्ज, चार मेगावाटको रेलेखोला, नौ मेगावाटको सुपर घलेम्दीलगायत आयोजना निर्माणको प्रक्रियामा रहेको समेत स्थानीयवासी सुवास विश्वकर्माले बताएका हुन् । रासस द्धारा