विकासन्युज

आगामी वर्ष मूल्यवृद्धि पाँच प्रतिशतभन्दा कमः अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन् । आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा राष्ट्रियसभाका सांसदहरुले उठाएको विषयको जवाफ दिँदै उनले नेपाल जस्तो मुलुकमा पाँच प्रतिशतभन्दा तलको मूल्यवृद्धि सामान्य नै हुने बताए । चालू आवको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने अनुमान गरिएको मन्त्री खतिवडाले बताए । सबै प्रदेशमा छ प्रतिशतभन्दा बढी वृद्धिको अनुमान गरिएको उनले बताए । सातै प्रदेशको आर्थिक वृद्धिदर बढी नै भइरहेको मन्त्री खतिवडाले बताए । “समानीकरण अनुदान बढी पाउने कर्णाली प्रदेश, प्राकृतिक स्रोत बाँडफाँटको विषय हामीले टुङ्ग्याइसकेका छैनौँ”, उनले भने । कृषिमा एकीकृतरुपमा धेरै कार्यक्रम आएको, रासायनिक मल कारखाना प्राकृतिक ग्यासबाट चलाउन विदेशबाट पाइपलाइन ल्याउनुपर्ने भएकाले तत्काल सम्भव नभएको उनले बताए । प्राविधिक कारणले पनि यसमा अघि बढ्न नसकिने मन्त्री खतिवडाको भनाइ थियो । चालू खर्चमा विकास कार्यक्रम पनि हुने सङ्घले प्रदेश र स्थानीय तहमा चालू खर्च भनेर दिए पनि विकास खर्च नै हुने मन्त्री खतिवडाले स्पष्ट पारे । चालू खर्चभित्र मानवीय पूँजी विकासका तालीमलगायत हुने उनको भनाइ थियो । सहुलियतपूर्ण वैदेशिक सहायता लिने गरिएकाले सही उपयोग एवम खर्च गरी निर्भरता घटाउँदै लैजानुपर्ने र राजश्व बढाउँदै जानुपर्ने मन्त्री खतिवडाको भनाइ छ । दायित्व बढी भएका स्थानमा बजेट पनि त्यही अनुपातमा हुने भएकाले तल बजेट बढाउन दायित्वसमेत वृद्धि गर्नुपर्ने उनले बताए । सहुलियतपूर्ण ऋणलगायत आयोजना उद्देश्य पूरा नभएसम्म चलिरहन्छ । राष्ट्रियसभाको अर्को बैठक आगामी असार २ गते दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । रासस

जुत्ता चप्पल निर्यातमा ३ प्रतिशत नगद अनुदान, भारत पठाउने सूचिमा थपिए ७ उत्पादन

काठमाडौं । सरकारले चुत्ता चप्पलहरुको निर्यातमा पनि नगद अनुदान दिने भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले निर्यातमा नगद अनुदान लिने वस्तुहरुको सूचिमा चुत्ता चप्पललाई पनि थपेको हो । चुत्ता चप्पल निर्यात गर्ने उद्योगीहरुले निर्यातको ३ प्रतिशत नगद अनुदान प्राप्त गर्नेछन् । डलर वा भारतीय मुद्रा दुबैमा निर्यात गर्दा त्यस्तो अनुदान प्राप्त हुनेछ । मन्त्रालयले ५० प्रतिशत भ्यालुएड गर्ने निर्यात जन्य उद्योगहरुलाई ५ प्रतिशत नगद अनुदान र ३० प्रतिशत भन्दा बढी भ्यालुएड गर्ने उत्पादन निर्यातमा ३ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य रबिन कुमार श्रेष्ठले चुत्ता चप्पलको निर्यातमा नगद अनुदान दिने सरकारी निर्णयले उत्साहित बनाएको बताए । उनले आत्म निर्भर बन्ने बाटोमा अघि बढिरहेका चुत्ता चप्पल उद्योगीहरुलाई नयाँ प्रविधि भित्र्याउन समेत नगद अनुदान प्रोत्साहनले सहयोग गर्ने उनले बताए । एसोसियसनकै पूर्व अध्यक्ष होमनाथ उपाध्यायले पनि नगद अनुदानबाट उत्साहित बनेको बताए । यसैबिच सरकारले भारत तर्फको निर्यातमा नगद अनुदान प्राप्त गर्ने उत्पादनहरुको सूचिमा ६ वटा नयाँ वस्तु थपेको छ । प्रशोधित अलैँची, मह, अदुवा, सुठो र बेसार भारतमा निर्यात गर्दा नगद अनुदान प्राप्त हुनेछ । त्यस्तै, तरकारी र फुल भारत तर्फ निर्यात गर्दा समेत नगद अनुदान पाइनेछ । बाणिज्य सचिव केदार बहादुर अधिकारीले निर्यातमा नगद अनुदान विद्यमान व्यवस्थामा परिमार्जन आवश्यक रहेको बताए । उनले सधै एउटै वस्तुलाई मात्रै अनुदान दिईरहने अवस्था र अनुदान दिँदा पनि निर्यातमा वृद्धि नहुने वस्तुहरुमाथी समिक्षा आवश्यक रहेको बताए । मन्त्रालयले फागुन १९ गते नै नगद अनुदान सम्बन्धी परिमार्जित नियमानुसार काम अघि बढाउन नेपाल पत्राचार गरिसकेको पनि उनले जानकारी दिए ।

व्यापारिक क्षमता अभिवृद्धिमा बौद्धिक सम्पत्तिको भूमिका विषयक कार्यशाला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार उद्योग विभाग र जेनेभास्थित विश्व बौद्धिक संगठनद्वारा संयुक्त रूपमा आयोजित व्यापार क्षमता अभिवृद्धि तथा आर्थिक विकासमा बौद्धिक सम्पत्तिको भूमिका विषयक राष्ट्रिय परामर्श बैठक तथा कार्यशाला सोमबारदेखि महासंघको सचिवालयमा शुरू भयो । कार्यशालाको शुभारम्भ गर्दैै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाल आर्थिक विकासको मार्गमा अगाडी बढेको अहिलेको अवस्थामा बाह्य लगानी आकर्षणका लागि समेत वौद्धिक सम्पत्ति संरक्षणको विषय महत्वपूर्ण भएकाले सरकारले नीति तथा कानून मार्फतनै बौद्धिक संरक्षणको सुनिश्चितता गरेको स्पष्ट पारे । औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण लगायतका महत्वपूर्ण ऐन कानूनमा यस विषयका सम्बन्धमा स्पष्ट रूपमा उल्लेख गरिएको जानकारी गराउनु हुंदै कार्यक्रमको पूर्ण सफलताको कामना समेत गरे । महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक विकास, लगानी तथा प्रविधि आकर्षण र वाह्य लगानीकर्ताहरूलाई उनीहरूको लगानीको समेत सुनिश्चितता दिलाउन पेटेन्ट, टे«डमार्क, डिजाइन, कपी राइट लगायतका बौद्धिक सम्पत्ति संरक्षणका विषय महत्वपूर्ण रहेको सन्दर्भमा महासंघले यी विषयमा सरकारस“ग वारम्वार पैरवी गर्दै आएको बताए । महासंघले वौद्धिक संरक्षणका विषयमा निरन्तर रूपमा आवाज उठाउ“दै आएको र सरकारस“ग पनि निरन्तर कार्य गर्दै आएको र आगामी दिनमा पनि सरकार र वाइपोसंग मिलेर कार्य गर्ने प्रतिवद्धता जनाए । उद्यमी व्यवसायी, बौद्धिक संरक्षण क्षेत्रमा क्रियाशिल कानून व्यवसायीहरू, नीति निर्माताहरू, सरकारी अधिकारीहरू, महासंघको कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको सो कार्यक्रममा महासंघका तर्फबाट डा. पोषराज पाण्डे, उद्योग विभागका तर्फबाट महानिर्देशक विनोद प्रकाश सिंह, नेपाल उद्योग परिसंघका तर्फबाट डा. रूद्र शर्माले कार्यपत्र प्रस्तुत गरे । उद्योग विभागको आर्थिक वर्ष २०१८÷१९ को तथ्यांक अनुसार अहिलेसम्म ४ लाख ९१ हजार ट्रेड मार्क, ७८ वटा पेटेन्ट र १५४ वटा डिजाइनहरू दर्ता भएका छन् । कार्यक्रममा जेनेभास्थित विश्व बौद्धिक संगठनको अतिकम विकसित देशहरूलाई हेर्ने विभागका परामर्शदाता मोहमद, ड्यानुअल इस्लामले कार्यक्रमको विषय माथि जानकारी गराउदै वाइपोबाट आगामी दिनमा नेपालमा हुन सक्ने सहकार्यका विषयमा प्रकाश पार्नुभयो । कार्यक्रममा महासंघका निमित्त महानिर्देशकको पनि सहभागिता थियो । कार्यशाला मंगलबारसम्म चल्नेछ ।

सिभिल बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलको उपचारमा छुट

काठमाडौं । सिभिल बैंक लिमिटेडका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् । बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा सिभिल बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर. यस. भण्डारीले हस्ताक्षर गरेका हुन् ।

नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन अरु मुलुकका लागि अनुकरणीयः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछि नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन विश्वका विभिन्न मुलुकका लागि अनुकरणीय हुन सक्ने बताएका छन् । विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलनमा गृहमन्त्री थापाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान नेतृत्वमा भएको पुनर्निर्माण नेपालीका लागि मात्र नभएर विदेशीहरुलाई पनि अनुकरणीय हुन सक्ने बताएका हुन् । “जुन ढंगले विपद्को व्यवस्थापन र पुनर्निर्माण गरेका छौं, त्यो नमूना बन्न सक्छ र अरु मुलुकलाई अनुकरणीय हुन सक्छ” उनले भने ।  गृहमन्त्री थापाले विपद् व्यवस्थापन स्थानीय तहहरुको मात्र नभई विश्वव्यापी मुद्दा भएकाले सबै मिलेर चुनौतीको सामना गर्नु पर्ने धारणा व्यक्त गरे । उद्घाटन कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार लाख भन्दा बढी निजी आवासको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २८ हजार घर पुनर्निर्माणका क्रममा रहेको जानकारी दिँदै अझ राम्रो र बलियो भन्ने आवधारणा अनुसार नेपालमा पुनर्निर्माण अघि बढिरहेको बताए । भूकम्पपीडित जनताको अपनत्व र स्वामित्वमा निजी आवास पुनर्निर्माण भइरहेको भन्दै उहाँले बैंकिङ प्रणालीबाट अनुदान उपलब्ध गराइएकोले आर्थिक पारदर्शिता कायम भएको बताए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विपद्पछिको पुनर्निर्माणमा धेरै खर्च हुने भएकाले स्थानीय तहसँगको सहकार्यमा विपद्को न्यूनीकरणमा विशेष ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदा, सुरक्षा निकायका भवन लगायतलाई प्राथमिकताका आधारमा पुनर्निर्माण गरिरहेको जानकारी दिए । सम्मेलन मंगलबारसम्म चल्नेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट – एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु एवं विज्ञहरुको सहभागिता छ । त्यस्तै, चीनका पर्यवेक्षक पनि सहभागी छन् । सम्मेलनको दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धीहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिए ।  सोमबार नै नेपालमा भूकम्पपछिको पुनर्निर्माणका अनुभव र शिक्षा, विपद् जोखिम न्युनीकरणसम्बन्धी प्यानल छलफल तथा प्रश्नोत्तर भएको छ । मंगलबार नवीकरणीय उर्जा, जलवायु परिवर्तनलगायतका विषयमा प्यानल छलफल तथा प्रश्नोत्तर हुनेछ ।

राष्ट्र बैंकको ५ वटा विभागले पाए नयाँ कार्यकारी निर्देशक, लघुवित्तमा श्रेष्ठ र राष्ट्र ऋणमा अधिकारी

काठमाडौ. । नेपाल राष्ट्र बैंकको ५ वटा विभागले नयाँ कार्यकारी निर्देशक पाएका छन् । ३ वटा विभागमा वरिष्ठ निर्देशकलाई कामु कार्यकारी निर्देशककाे जिम्मेवारी दिइएकाे छ भने २ जनालाई सरुवा गरिएको छ । त्यस्तै, राष्ट्र ऋण व्यवस्था विभागमा कार्यकारी निर्देशक सुमन कुमार अधिकारी भएका छन् । यसअघि उनी संस्थागत विकास याेजनामा थिए । लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षणा विभागको कामु कार्यकारी निर्देशक डा प्रकाश कुमार श्रेष्ठ भएका छन् । उनी यसअघि ५ नम्बर प्रदेशको योजना आयोगमा काजमा थिए । नियमन विभागको कामु कार्यकारी निर्देशकको जिम्मेवारी बमबहादुर मिश्रले पाएका छन् । साढे १६ वर्ष राष्ट्र बैंकमा काम गरेका मिश्रसँग वाणिज्य बैंकमा काम गरेकाे अनुभव पनि छ । राष्ट्र बैंकमा नियुक्त हुनुपूर्व नविल र एनआसी बैंकमा करिब १० वर्ष काम गरेर थिए । वैदेशिक विनिमय विभागमा सरिता भट्ट अधिकारी कामु कार्यकारी निर्देशक भएकी छिन् । नरेश शाक्य बैंकिङ कार्यालय विभागको कामु कार्यकारी निर्देशक भएका छन् । मिश्र, भट्ट र शाक्यले यसअघि सोहि विभागकाे बरिष्ट निर्देशकका आधारमा  स्वत कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए । गभर्नर चिरञ्जीवि नेपालले जेठ २८ गतेदेखि लागू हुने गरी उनीहरूलाई विभागिए जिम्मेवारी ताेकेकाे  पत्र दिएकाे राष्ट्र बैंक स्राेतले बतायाे ।

मनसुन मोबाइल मेगा अफर: १०, १५ र २५ हजारमा दुई/दुई वटा मोबाइल

काठमाडाैं । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वर्ल्ड मोबाइल र सीटीसी मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ । मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । आईमार्स मिल्की वे एम २, लेनोभो के ६ नोट, आई मार्स भि सन ६ लगायत मोडलका मोबाइलको हकमा यो अफर लागू हुनेछ । मेलाको आकर्षणका रुपमा रहेको आईमार्स मिल्की वे एम टू मोबाइल १५ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने छ । २ वटा सिमकार्ड प्रयोग गर्न सकिने मिल्की वे एम २ मोबाइलमा ओ एस एण्ड्रोइड ८.१ भर्सन तथा ३२०० एमएएचको व्याट्री छ । ५ दशमलव ४५ इञ्चको क्यूएचडी आईपीएस स्क्रीन रहेको मिल्की वे २ मा ८ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा छ । २ जीबी र्याम तथा १६ जीबी स्टोरेज रहेको मिल्की वे २ गोल्डेन तथा ब्ल्याक कलरमा उपलब्ध हुनेछ । २५ हजार ९ सय ९९ रुपैंयामा २ वटा मोबाइल खरिद गर्न सकिने लेनोभो के ६ नोटमा ४ जीबी र्याम तथा ३२ जीबी स्टोरेज छ । ८ मेगा पिक्सेलको फ्रण्ट तथा १६ मेगापिक्सेलको रियर क्यामेरा रहेको के ६ नोटमा ४ हजार एमएएचको व्याट्री छ । फूल मेटल डिजाइन युक्त के ६ नोटमा फिंगरप्रिन्ट सेन्सर, डल्बी अटमस साउण्ड, ५.५ इञ्चको एफएचडी स्क्रीन तथा २ वटा सिमकार्ड प्रयोग गर्न सकिन्छ । १० हजार ४ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एण्ड्रोइड ७ तथा ५ इञ्चको एचडी आईपीएस स्क्रीन छ । यसका साथै १ जीबी र्याम, १६ जीबी स्टोरेज तथा २२०० एमएएचको व्याट्री रहेको भि सन ६ मा २ वटा सिम प्रयोग गर्न सकिन्छ । मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ । मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युब सिनेमाको टिकट निशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ । सोमबारदेखि शुरु भएको मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।

प्राइम बैंककोे अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ

काठमाडौं । प्राइम कमर्शियल बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ चयन भएका छन् । जेठ २७ गते बसेको बैंक संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । बैंकको गत जेठ २६ गते सम्पन्न ११औ बार्षिक साधारण सभाले संस्थापक समुहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ निर्विरोध निर्वाचित गरेको थियो । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध रुपमा निर्वाचित भएका थिए ।