सुर्खेत र लम्कीमा सिभिल बैंक लिमिटेडको नयाँ शाखा बिस्तार
काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले र लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले उद्घाटन गरे । सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका सांसदहरु पदमबहादुर रोकाया र थम्मरबहादुर बिष्ट, बीरेन्द्रनगर उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की लगायतको उपस्थिति थियो । उद्घाटन कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपाललाई समृद्धितर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे । सुर्खेत र लम्कीशाखा सहित सिभिल बैंककोे शाखा संख्या ८१ पुगेकोे बैंकले जनाएको छ ।
तिलावे पुलमा पनि पप्पुको बदमासी, एक हप्ते अल्टिमेटम
काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बागमति पुलमा लापरपवाही गरेपछि कारवाहीका लागि सिफारिस भएको एक हप्ता अपुग्दै पप्पुको अर्काे बदमासी सार्वजनिक भएको छ । निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय समेत गुज्रिसक्दा पनि पप्पुले पर्सा जिल्लाको तिलावे पुललाई अझै अलपत्र पारिरहेको छ । आइतबार संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले तिलावे पुलको स्थलगत अवलोकन गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतको टोलीले स्थलगत अध्ययन गरेको थियो । पप्पुले पुल निर्माणमा चरम लापरवाही गरेको स्पष्ट देखिएको सभापति खड्काले बताइन् । प्रमुख जिल्ला अधिकारी भट्टराईले एक हप्ताभित्र पुलको पाइल्स निर्माण गरि अस्थायी आवत जावतको व्यवस्था नगरे कारवाही गर्ने चेतावनी दिए । सभापति खड्काको टोलीले रौतहट जिल्लाको सन्तपुर पिपरा गौर सडक अन्तर्गत चेतनगर सडकमा कमसल कालोपत्रे गरिएको गुनासो आएपछि अनुगमन गरेको थियो । अनुगमनका क्रममा कालोपत्र गरिएको सडक कमजोर देखिएकाले तत्काल प्राविधिक परिक्षण गरि दोषी उपर कारवाही गर्न पनि सभापति खड्काले हुलाकी सडक आयोजनालाई निर्देशन दिएकी छिन् ।
कृति अवार्डका लागि मंगलबारदेखि फर्म खुल्ने, नेपाली विज्ञापनहरुले तीन समूहमा आवदेन दिन पाउने
काठमाडौं । नेपाल विज्ञापन संघको आयोजनामा हुन लागेको ११ औं ‘नेपाल आईस कृति अवार्ड’को आवेदन मंगलबारदेखि खुला गरिने भएको छ । असार मसान्तसम्म आवेदन दिने गरि फर्म खुल्ला गरिएको नेपाल बिज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले जानकारी दिए । ३१ गतेपछि जुरीले ती आवेदनमाथि छानविन गरि सर्ट लिस्ट गर्ने र भदौ १३ गते सोल्टी होटेलमा अवार्ड वितरण गर्ने जनाइएको छ । २०७५ वैशाख १ गतेदेखि चैत ३० गतेसम्म बनेका नेपाली विज्ञापनहरुले तीन वटा समूहमा आवदेन दिन पाउने छन् । विज्ञापन संघको महत्वपूर्ण कार्यक्रम अन्तर्गत २०६० साल देखि शुरु भएको कृति अवार्ड हो । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरि आनका अध्यक्ष शशीले पहिलो पटक आवेदन अनलाईन मार्फत पनि गर्न सकिने व्यवस्था गरिएको र यो परिक्षणका लागि भएको बताए । आवेदन सँगै हार्ड कपि र शुल्क तिर्न विज्ञापन संघकै कार्यालयमा उपस्थित हुनुपर्ने जानकारी दिए । १० औं अवार्डमा २८ विधा समेटिएकोमा यस पटक थप २ वटा विधा थप गरेर ३० पुर्याइएइको छ । कार्यक्रममा जुरी डा. भोजराज अर्यालले विगतको भन्दा पनि भव्य बनाउँदै लैजानका लागि सम्पूर्ण मेहनत गर्ने बताए । यस्तो अवार्डले नेपाली विज्ञापन बजारको कला र मौलिकता संरक्षण गर्नका लागि पनि थप सहयोग पुग्ने उल्लेख गरे । निर्वतमान अध्यक्ष सन्तोष श्रेष्ठले आफ्नो कार्यकालमा नवौ कृति अवार्ड मात्रै आयोजना गर्न पाएको बताउँदै भूकम्पका कारण तत्कालिन अवस्थामा सम्भव नभएको उल्लेख गरे । यसलाई अझै अन्तर्राष्ट्रियस्तरको अवार्ड बनाउनका लागि पहल गर्नुपर्नेमा कार्यसमितिका पदाधिकारीहरुलाई आग्रह गरेका थिए । सो अबसरमा आनले आफ्नो वेभसाइट पनि लञ्च गरेको थियो । डिजिटल युगमा नेपाल प्रवेृश गरिसकेको अवस्थामा आनले पनि आफ्ना गतिविधिहरुलाई वेभसाइट मार्फत सार्वजनिक गर्ने र कृति अवार्डको फर्म पनि संकलन गर्ने हुनाले वेभ साइट सञ्चालनमा ल्याएको यसका संयोजक तथा आनका कार्यसमिति सदस्य जीवन पोखरेलले जानकारी दिए । महासचिव राजु कुँइकेलले विज्ञापन संघले वेभसाइट सञ्चालन गरेको र त्यसबाट एकमुष्ट सूचनाहरु लिनका लागि सबै विज्ञापन एजेन्सीलाई आग्रह गरे ।
हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा आउटलेट उद्घाटन
काठमाडौं । हिम इलेक्ट्रोनिक्सको चितवन स्थित एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा संचालन गर्नका लागि पुनःउद्घाटन गरिएको छ । न्यू श्री गणेश इलेक्ट्रोनिक्सले विगत १० वर्षदेखि चितवनमा सामसुङ इलेक्ट्रोनिक्सका आधुनिक उत्पादनहरु जस्तै टिभी, फ्रिज तथा घरयासी उपकरणहरु बिक्री वितरण गर्दै आइरहेको छ । सामसङ ब्राण्डको बढ्दो मागसँगै न्यु श्री गणेश इलेक्ट्रोनिक्स ग्राहकहरुलाई सुलभ मूल्यमा पूर्ण सुविधा सम्पन्न, नविनतम तथा उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटककाे सङ्ख्या बढ्याे
काठमाडौं । गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवं होटल बाटिका रिसोर्ट, पोखराका सञ्चालक सन्तोष पोखरेलका अनुसार पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश नेपालको भैरहवा सुनौली नाका हुँदै आउने गरेका छन् । तालैतालको शहर पोखरा र यहाँ नजिकै रहेको हिमाल आदिको दृश्यावलोकन गर्दै पर्यटक रमाउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न जाने गरेको पोखरेलले जानकारी दिएका छन् । पोखरामा भारतीय पर्यटकको आगमन बढाउन नेपाल पर्यटन बोर्डसहित यहाँका पर्यटन सम्बद्ध सङ्घसंस्थाले गरेको प्रर्वद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताएका हुन् । “यस समयमा विशेषतः दक्षिण भारत, पश्चिम बङ्गाल, महाराष्ट्र, उत्तरप्रदेश, विहार लगायतका स्थानबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, उनले भने, “भौगोलिक निकटता, धार्मिक एवं सांस्कृतिक स्थलको बाहुल्यता आदिका कारण पनि भारतीय पर्यटकका लागि नेपाल घुम्ने उपयुक्त स्थल हो ।” भारतीय पर्यटक पोखरामा रहेका धार्मिकस्थलको दर्शनका साथै यहाँबाट बाग्लुङ कालिका, गलेश्वर धाम हुँदै मुक्तिनाथसमेतको दर्शनका लागि पुग्ने गरेका छन् । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणले पनि भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढेको छ । पछिल्ला दिन भारतीय पर्यटकको आगमनले पोखराको होटेल व्यवसायमा पनि उत्साह थपेको होटेल एशोसिएन अफ नेपाल(हान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । यतिखेर पोखरा आएका पर्यटकमध्ये अधिकांशले दुई रात पोखरामा बिताउने गरेको उनको भनाइ छ । अध्यक्ष तुलाचनका अनुसार पोखरामा मात्रै पर्यटक लक्षित होटेलमा रु दुई खर्बभन्दा बढी लगानी पुगिसकेको छ । पोखरामा भण्डै ७०० भन्दाबढी पर्यटक लक्षित होटेल रहेको उनले जानकारी दिएका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये कोही अत्यन्त सुविधा सम्पन्न त कोही मध्यमस्तरका होटेलमा बस्ने गरेको यहाँका व्यवसायीको अनुभव छ । केही दिनयता बढेको भारतीय पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको होटल रानीवन अर्किट, लेकसाइडका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए । यस याममा खासै उल्लेख्य सङ्ख्यामा पर्यटक नआउने गरेको भए पनि केही दिनयता भारतीय पर्यटकको आगमनले व्यवसायमा उत्साह थपेको भुजेलले बताएका छन् । नेपालको मुख्य पर्यटन बजार भारत र चीन नै हो । भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा भने अझै वृद्धि हुन नसकेको व्यवसायी बताउँछन् । नेपाल आउने विदेशी पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत मात्र पर्यटक पोखरा आउने गरेकामा पछिल्लो समयमा ५० देखि ६० प्रतिशतसम्म आउने गरेका छन् । रासस
सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल प्रालि बिराटनगरमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल प्रा.लि, बिराटनगर, मोरङ्गबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
इजरायलबाट ‘मेगा रेमीट’ सेवा शुरु
काठमाडौँ । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा शुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर(जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ । मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रमलाई तीव्रता दिएको छ । अन्य देशहरुमा पनि यसैगरी रेमीट सेवा विस्तार गर्ने बैंकको योजना छ ।
चन्द्रागिरि सामुदायिक अस्पतालको शिलान्यास,छुट्यायाे दुई करोड बजेट
काठमाडौं । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ ।चन्द्रागिरि नगरपालिकाको रु एक करोड र प्रदेश नं ३ सरकारको रु एक करोडको लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त सामुदायिक अस्पताल निर्माण हुन लागेको हो । सो नगरस्तरीय अस्पतालको शनिबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका छन् । कार्यक्रममा नेता नेपालले चन्द्रागिरि क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्न उक्त अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् । “चन्द्रागिरिका जनतालाई मात्र नभएर धादिङका जनतालाई समेत अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्नेछ”, उनले भने ।नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्यसेवाको अधिकारलाई पूरा गर्न अस्पतालले सहयोग पुग्ने बताए । १५ देखि २५ शैयासहित निर्माण हुने उक्त अस्पताल साँढे तीनतले हुनेछ । प्रदेश सरकार र नगरपालिकाबाट नपुगेको रकम चन्द्रागिरि नगरपालिका–८ ले व्यहोर्ने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताएका छन् । एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण हुनलागेको उक्त अस्पतालमा वार्षिक एक लाखभन्दा बढीले सेवा पाउने नगरपालिकाले जनाएको छ । चन्द्रागिरि नगरपालिका क्षेत्रफलका आधारमा प्रदेश नं ३ कै सबैभन्दा ठूलो नगरपालिका पनि हो । रासस