विकासन्युज

सनराइज बैंकमा प्रमुख कार्यकारी नियुक्ती राेक्न माग गर्दै बैंक सञ्चालकद्वारा राष्ट्र बैंकमा निवेदन

काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको नियुक्ती रोक्न माग गर्दैैै नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता भएको छ । जेठ २२ गते सञ्चालक समितिले बहुमतका आधारमा श्रेष्ठलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको माइन्यूटमा असहमति लेखेका सञ्चालक शैलेन्द्र गुरागाईले राष्ट्र बैंकमा पनि अहमति पत्र दर्ता गराएका छन् । प्रमुख संस्थापक सेयरधनीहरु मध्ये सबैभन्दा बढी सेयरको प्रतिनिधित्व गर्ने सञ्चालक र सर्बसाधारण शेयरधनीको तर्फबाट करिव ८० प्रतिशत प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई गुमराहमा राखी, त्यस्ता सञ्चालकको अनुपस्थितिमा हतार हतार निर्णय गरेको कार्यप्रति असहमति प्रकट गर्दै सञ्चालक गुरागाईले बैंकको साख समेत गिर्ने गरी भएको यस्तो कार्यमा नियामक निकायको गम्भिर ध्यानाकर्षण गराउँदै यस्तो कार्य रोक्न तथा रोकी पाउन राष्ट्र बैंकसमक्ष माग गरेका छन् । सीईओको नियुक्ती वहुमतले गरेको देखिएकोले त्यसमा कानुनी विवाद नरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । तर बैंक जस्तो संवेदनशील संस्थामा यसरी विवाद हुदाँ बैंकलाई नकारात्मक असर पर्ने बताए ।

७९७ सांसदलाई १८ अर्ब ९५ करोड, ८७ जनाले किन पाएनन् ?

काठमाडौं । संघ र प्रदेशका गरि ७९७ जना सांसदहरुले आगामी आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड रुपैंयाँ बजेट पाएका छन् । संघका दुई सदन र सातवटा प्रदेशमा गरि कुल ८८४ जना सांसद रहेका छन् । तीमध्ये ८७ जना सांसदहरुले भने त्यस्तो बजेट पाएका छैनन् । त्यसरी बजेट नपाउनेहरुमा ५ नम्बर प्रदेशका सांसदहरु छन् । सो प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल नै सांसदलाई विकास बजेट नदिने घोषणै गरेका थिए र उनले बजेट मार्फत त्यस्तो रकम पनि दिएनन् । ७९७ जना सांसदले औसत २ करोड ३७ लाख रुपैंयाँ बजेट प्राप्त गरेको देखिन्छ । प्रतिनिधी सभामा प्रत्यक्ष निर्वाचित १६२ र समानुपातिक ११० गरि कुल २७५ सांसद छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैंयाँका दरले बजेट विनियोजन गरेको छ । त्यसमा समानुपातिक ११० र राष्ट्रिय सभाका ५९ सदस्यलाई समेत समेट्ने भनिएको छ । केन्द्र सरकारले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम मार्फत प्रति निर्वाचन क्षेत्र ६ करोडका दरले कुल ९ अर्ब ९० करोड विनियोजन गरेको छ । तर, यस्तो रकम सांसदहरुले सिधै आफैं खर्च गर्न भने पाउँदैनन् । उनीहरुलाई परियोजना छनौट र अनुगमनको जिम्मेवारी मात्रै दिईएको छ । निर्माण कार्य भने सम्बन्धित स्थानीय तहहरुले लागत सहभागीता मार्फत अघि बढाउन सक्छन् । ६ प्रदेशको कथा उस्तै सात वटा प्रदेशमा प्रत्यक्ष निर्वाचित ३३० जना र समानुपातिक २२० जना गरि कुल ५५० जना सांसद छन् । तीमध्ये प्रदेश ५ का ८६ सांसदले बजेट पाएका छैनन् । बाँकी ४६३ जना सांसदले ९ अर्ब ५ करोड बजेट पाएका छन् । कुन प्रदेशमा कति ? प्रदेश नम्बर १ ले प्रति सांसद ३ करोड हुने गरि कुल १ अर्ब ८४ करोड रुपैंयाँ विनियोजन गरेको छ । प्रदेश नम्बर २ ले भने प्रति निर्वाचन क्षेत्र ३ करोड हुने गरि २ अर्ब ३५ करोड रुपैंयाँ विनियोजन गरेको छ । यस्तो रकम सांसदहरुले आफुखुसी खर्च गर्न पाउने पाउनेछन् । प्रदेश नम्बर ३ ले सांसदहरुका लागि एक अर्ब ९८ करोड रुपैंयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले सांसदका लागि रकम विनियोजन गरेको थिएन । गण्डकी प्रदेशले सांसदहरुलाई विकासमा सहभागी गराउन भन्दै ७२ करोड रुपैंयाँ विनियोजन गरेको छ । कर्णाली प्रदेशले पनि सांसदहरुका लागि १ अर्ब २० करोड रुपैंयाँ विनियोजन गरेको छ । जुन प्रति निर्वाचन क्षेत्र ५ करोड हुन आउँछ । सुदुरपश्चिम प्रदेशले प्रति निर्वाचन क्षेत्र २ करोड हुने गरि ९६ करोड रुपैंयाँ विनियोजन गरेको छ ।

प्रदेश नं १ : रु ४८ करोड बजेट विनियोजन

काठमाडौं। प्रदेश नं १ को प्रदेशसभामा आइतबार सार्वजनिक गरिएको बजेटमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि रु दुई करोड ५० लाखका दरले प्रत्येक निर्वाचन क्षेत्रमा समान रूपमा बजेट व्यवस्था गरिएको छ ।यसका लागि रु एक अर्ब ४० करोड बजेट विनियोजन गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेशसभाका सदस्यको सिफारिसमा रु ५० लाखका दरले योजना कार्यान्वयन गर्न रु ४८ करोड बजेट विनियोजन भएको छ । शिक्षातर्फ, मानव संशाधनको प्रक्षेपण गरी आवश्यक जनशक्ति उत्पादन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाका लागि रु १६ करोड ५० लाख, मदन भण्डारी प्रद्योगिक महाविद्यालय सेवा विस्तार गर्न रु एक करोड, मनमोहन प्राविधिक विद्यालयको आङ्गिक क्याम्पस सञ्चालन गर्न रु पाँच करोड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमसहित प्राविधिक विद्यालय रत्नकुमार वान्तवा, प्राविधिक शिक्षालय इलाम, शैलजा आचार्य प्राविधिक शिक्षालय मोरङ, उत्तरपानी प्राविधिक शिक्षालय धनकुटा, सुम्निमा प्राविधिक शिक्षालय भोजपुर, मौरेगढी प्राविधिक शिक्षालय खोटाङलाई अनुदान उपलब्ध गराउन रु ३८ करोड ६९ लाख, विद्यालय गुणस्तर सुधार अभियान सञ्चालनका लागि रु १७ करोड, विद्यालयमा नर्सिङ सेवा थप विस्तार गर्न रु दुई करोड, प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरुको स्तरोन्नति र संस्थागत सुदृढीकरणका लागि अनुदान उपलब्ध गराउन रु चार करोड ५० लाख, धनकुटामा निजामती कर्मचारी आवासीय विद्यालय सञ्चालनका लागि रु एक करोड व्यवस्था गरिएको छ । यसैगरी, प्रारम्भिक बालविकास केन्द्रका बालशिक्षिकाहरु र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न रु पाँच करोड ५० लाख बजेट विनियोजन गरी समग्रमा शिक्षा क्षेत्रका लागि प्रदेश सरकारले रु २८ अर्ब २८ करोड बजेट प्रस्ताव गरेको छ । स्वास्थ्य प्रवर्धनका लागि प्रदेशका विभिन्न चार ठाउँमा खुला व्यायामशाला स्थापना गर्न रु एक करोड, जिल्ला अस्पतालको भौतिक तथा प्राविधिक विकासका लागि रु छ करोड, धनकुटामा विभिन्न विशेषज्ञ सेवासहितको शिक्षण अस्पताल सञ्चालन गर्न रु चार करोड, विपन्नवर्ग तथा असहायलाई जिल्ला अस्पताल एवं विभिन्न स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधिको व्यवस्था गर्न रु पाँच करोड, आयुर्वेदिक औषधि अन्वेषण, उत्पादन र प्रशोधनको व्यवस्था गर्न रु चार करोडसहित स्वास्थ्य क्षेत्रको विकासका लागि रु एक अर्ब सात करोड बजेट व्यवस्था भएको छ । त्यस्तैगरी, खानेपानी तथा सरसफाइ क्षेत्रमा सरकारले रु तीन अर्ब बजेटको प्रस्ताव गर्दै श्रम र रोजगारीमा युवा लक्षित सीप विकास तालिम सञ्चान गरी दक्ष जनशक्ति उत्पादन गर्न रु चार करोड, मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न रु २० करोड बजेटको व्यवस्था गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित महिला तथा बालिकाको संरक्षणका लागि दीर्घकालीन पुनःस्थापनागृह सञ्चालन गर्न रु एक करोड ४० लाख, प्रदेशभित्रका ९० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप रु पाँच हजार वार्षिक, ज्येष्ठ नागरिक ग्राम स्थापना गर्न रु दुई करोड, छुवाछूतमुक्त प्रदेश बनाउन कार्यक्रम सञ्चालनका लागि रु एक करोड ४० लाख बजेट विनियोजन भएको छ । सङ्घीय सरकारको सहलगानीमा प्रदेशस्तरीय सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न प्रत्येक जिल्लामा एक रङ्गशाला निर्माण गर्न रु ३६ करोड ६० लाख, धरान उपमहानगरपालिकालाई खेलकूदग्रामको रूपमा विकास गर्न रु पाँच करोड, इटहरी रङ्गशालालाई प्रादेशिक रङ्गशाला र विराटनगरको वैजनाथपुर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको रूपमा विकास गर्न रु एक÷एक करोड, शहीद मैदान रङ्गशाला विराटनगरमा फ्लडलाइट जडान गरी रात्रिकालीन खेल सञ्चालनयोग्य बनाउन रु पाँच करोड, एन्फासँगको सहकार्यमा मुख्यमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता र लिग खेल सञ्चालन गर्नका लागि रु एक÷एक करोड बजेट विनियोजन गरी समग्र खेलकूदको विकासका लागि रु ४७ करोड ५५ लाख विनियोजन भएको छ । संस्कृतिअन्तर्गत पथरी शनिश्चरेमा बहुजातीय सङ्ग्रहालय निर्माणको लागि रु एक करोड ५० लाख बजेट राखिएको छ । प्रदेशमा सडक पूर्वाधारअन्तर्गत बृहत विराट क्षेत्रमा चक्रपथ निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न र विराटनगर चक्रपथ निर्माणकार्य प्राथमिकताका साथ सम्पन्न गर्न र आधुनिक, व्यवस्थित प्रादेशिक बसपार्क निर्माण कार्यका लागि सरकारले बजेट व्यवस्था गरेको छ । समग्रमा सडक र पुलको विकासका लागि रु आठ अर्ब विनियोजन भएको छ । सूचना तथा सञ्चार त्यसैगरी, सूचना तथा सञ्चारतर्फ सुरक्षित मुद्रण प्रेस स्थापना गर्ने, स्वतन्त्र प्रेसको मान्यतालाई स्थापित गराउँदै पत्रकारितामा गुणस्तरीय व्यावसायिकता र स्वतन्त्र एवं स्वच्छ अभ्यासलाई प्रोत्साहन गर्न ‘प्रादेशिक प्रेस इन्स्टिच्युट’ गठन गरिने, सञ्चारक्षेत्रसँगको सम्पर्क समन्वय र सहजीकरणका निम्ति ‘सूचना तथा सञ्चार निर्देशनालय’ गठनका लागि आवश्यक बजेट विनियोजन, पत्रकारको उपचार एवं सुरक्षाका लागि छुट्टै कोष प्रबन्ध गर्न बजेट विनियोजन, प्रदेशका सबै टेलिभिजन र रेडियोमार्फत ‘जनतासँग सरकारलाई प्रत्यक्ष रुपमा जोड्नका लागि ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको र पत्रकारिता लामो र उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई पुरस्कृत गर्ने गरी सरकारले शुरु गरेको कार्यलाई निरन्तरता दिने व्यवस्था भएको छ । रासस

एनसीसी बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा विशेष छुट

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ग्राण्डी अस्पतालका तर्फबाट मार्केटिङ विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ग्राण्डी अस्पतालका सेवामा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

चिनौं यी अनलाइनमैत्री ब्रोकरहरु, चर्चित ब्रोकरका ग्राहक नै अनलाइन प्रयोगमा उदासिन

काठमाडौं । शेयर बजारमा बढी कारोबार गर्ने र त्यतिकै चलखेल समेत गर्ने आरोप लाग्दै आएका ब्रोकरहरु नै अनलाइन कारोबारमा उत्साहित नरहेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्क अनुसार जेठ ३१ सम्म अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिएका ८ हजार ९ सय ४४ जना ग्राहकहरु आवद्ध रहेका ५० ब्रोकर कम्पनीहरुमा बढी कारोबार गर्ने कम्पनीहरु तुलनात्मक रुपमा पछाडि देखिएका छन् । बजारमा चर्चित नासा सेक्युरिटिज (ब्रोकर नं ५८), श्रीहरि सेक्युरिटिज (ब्रोकर नं ५६), श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नं २८), एशियन सेक्युरिटिज (ब्रोकर नं २८) जस्ता ब्रोकरहरुका ग्राहकहरु अनलाइन कारोबारप्रति उत्साहित नदेखिएका हुन् । यद्यपि अर्काे चर्चित आर्यतारा सेक्युरिटिजले भने १०.६६ प्रतिशत हिस्सा लिँदै सर्वाधिक प्रयाेगकर्ता भएकाे ब्राेकर कम्पनी बन्न सकेकाे छ । अनलाइन कारोबारका लागि सबैभन्दा धेरै युजरनेम र पासवर्ड उपलब्ध गराउने ब्रोकर कम्पनी आर्यतारा इन्भेष्टमेन्ट (ब्रोकर नं ५७) रहेको छ । उसको ९५४ जना अनलाइन ग्राहक छन् जुन कुल संख्याको १० प्रतिशत भन्दा बढी हो । त्यस्तै अनलाइन सेक्युरिटिज (ब्रोकर नं ४९) को ७४३ जना, भिजन सेक्युरिटिज (ब्रोकर नं ३४) को ७२८ जना, दिपशिखा सेक्युरिटिज (ब्रोकर नं ३८) को ६७१ जना र सुन्धारा सेक्युरिटिज (ब्रोकर नं ५२) को ५२९ जना अनलाइन ग्राहक छन् । बाँकी ब्रोकरहरुको भने त्यो संख्या ३५० जनाभन्दा कम छ । २५ ओटा ब्रोकरहरुको अनलाइन ग्राहक संख्या १०० जनाभन्दा पनि कम छ । श्रीकृष्ण सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज जस्ता चर्चित ब्रोकरहरु यही वर्गमा परेका छन् । बाँकी कम्पनीहरुको भने १०४ जनादेखि ३२८ जनासम्म अनलाइन ग्राहक रहेको नेप्सेको तथ्याङ्क छ । अनलाइन कारोबारको विश्वसनीयताप्रति बजारमा चलेको हल्लाका कारण ठूला कारोबारीहरु अझैपनि अनलाइन प्रयोगप्रति आकर्षित छैनन् । त्यस्तै अनलाइन लिएपछि ‘म्यानुअल’ विधिबाट कारोबार नै गर्न नसकिने हो कि भन्ने भ्रमका कारण पनि अनलाइनको युजरनेम र पासवर्ड दिनेको संख्या बढ्न नसकेको विश्लेषण कतिपयको छ । हाल सूचीकृत कम्पनीको शेयरमा लगानी गरी शेयर अभौतिकीकरण गर्नेको संख्या करिब १५ लाख रहेको बताइए पनि दोस्रो बजारमा कारोबारका लागि ब्रोकर कम्पनीहरुमा खाता खोलेका ग्राहहरुको संख्या भने करिब ३ लाख मात्रै रहेको नेप्सेले जनाएको छ, त्यसमध्ये पनि कतिपयले केवाईसी अपडेट नगरेका कारण खाता निष्क्रिय छ ।

गर्मी बढेपछि आजदेखि मकवानपुर र चितवनका विद्यालय बन्द, तराईको जनजीवन प्रभावित

काठमाडौँ । अत्याधिक गर्मी बढेपछि आजदेखि मकवानपुर र चितवनका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको छ । अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ । गर्मी बढेपछि अभिभावकको अनुरोध गरेकाले असार २ गते देखि ६ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी पाँच दिन सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय भएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ । हेटौँडामा अत्यधिक गर्मी बढेपछि कतिपय विद्यालयका कयौँ विद्यार्थी बेहोससमेत भएका थिए । देशैभरको तापक्रम उकालो लागि रहेको बेला भित्रि मधेस मध्येको सबैभन्दा चिसो शहर मानिने हेटौडाको समेत तापक्रम बढेको हो । अहिले हेटौँडाको तापक्रम ४० डिग्रि सेल्सियसको हाराहारीमा पुगेको छ भने अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण चहलपहल शुन्य भएको छ भने हेटौँडाका विभिन्न स्थानमा रहेका पौडी पोखरीहरुमा भिड बडेको छ । गर्मी छल्न भारत तथा नेपालका तराई क्षेत्रबाट आएकाले समेत पौडी पोखरीहरु भरिएका छन् । कतिपय व्यक्तिहरु गर्मी छल्न स्थानीय राप्ती, कुखुरेनी तथा सामारी खोलामा समेत पौडी खेल्न पुगेका छन् । यता, अत्याधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । चितवनमा ३८ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ । सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको दाहालले बताउनुभयो । गर्मी बढेसँगै साना बालबालिका बिरामीसमेत पर्न थालेका छन् । यसैबीच, तराईका जिल्लामा अत्याधिक गर्मी बढेपछि धमाधम विद्यालय बिदा दिन थालिएको छ । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”, सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवले भने, “यसले स्वास्थ्य समस्या बढाउन सक्ने हुनाले गाउँपालिकाभित्रका सबै विद्यालय छ दिन बन्द गर्ने निर्णय गर्यौँ ।” लगत्तै जिल्लाको मनराशिशवा र बलवा नगरपालिकाले पनि आजैदेखि छ दिन विद्यालय बन्द गरिने जनाएका छन् । बिहान सूर्य उदयदेखि साँझ अस्तसम्म एकटङ्कारको घामको राप बढेकाले विद्यालय बन्द लागिएको मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहले बताए । जिल्लाका अन्य स्थानीय तहले पनि आज नै विद्यालय बन्द गरिनेबारे छलफल गरिने जनाएका छन् । मौसममा सुधार नआए आज नै विद्यालय बन्द गरिने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन विद्यालय बन्द गर्ने तयारी गरेका छन् । जिल्लामा पछिल्ला तीन दिनयता यसअघि कहिल्यै नखेपिएको प्रचण्ड घामको राप बढेको छ । बर्दिवासको भोलावसन्तचोकमा जडित तापमापन सूचना केन्द्रले हिजो शनिबार दिउँसो ३ बजे ४३ डिग्री सेल्सियस तापक्रम देखाएको थियो । अहिले यस भेगमा प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल पनि सकस बनेको छ । गर्मीले गर्दा हाटबजार र कार्यालयमा पनि चहलपहल देखिँदैन । गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स-साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।

डलर र सुन साट्ने भन्दै ठगी गर्ने गिरोह सक्रिय

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएकासँग डलर र सुन साट्ने भन्दै नक्कली नोट दिएर ठग्ने तथा लुटपाट गर्ने गिरोह काठमाडौँलगायत आसपासका क्षेत्रमा सक्रिय छन् । उनीहरु काठमाडौँको नयाँ बसपार्क, बौद्धलगायत क्षेत्रमा यसरी ठगी कार्यमा सक्रिय रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँले डलर र सुन साट्ने भनेर कसैले प्रलोभन दिएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार विगतदेखि नै यस्ता व्यक्तिहरु सक्रिय रहेकाले निगरानी बढाएर धेरैलाई पक्राउ गरिएको जानकारी दिए । आइतबारमात्रै पनि परिसरले यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको साँगाबाट डलर र सुन साट्ने भनी लुटपाट गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भई काभ्रे पाँचखाल बस्ने जीतबहादुर तामाङ र धुलिखेल बस्ने रामबहादुर तामाङ पक्राउ गरेको परिसरले जनाएको छ । यसअघि नयाँ बसपार्कबाट यसैगरी ठगी गर्दै आएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । जीतबहादुर र रामबहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार बनाई विदेशबाट फर्किएका व्यक्तिहरुलाई डलर र सुन साट्नेलगायत अन्य विदेशी रकम बढीमा साट्ने भन्दै ठगी गर्ने गरेको खुल्न आएको छ । उनीहरुले पैसाको बण्डलको अगाडि र पछाडि सक्कली नोट राखी भित्र कागज राखेर ठग्ने गरेको परिसरको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

६५९ जनाले गरे सगरमाथा आरोहण, भारतीय धेरै

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस याममा सगरमाथा आरोहणका लागि सात नेपालीसहित ४४ वटा आरोहण दलका एक हजार २४ जनाले विभागबाट आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सगरमाथा आरोहण गर्न सफल भएको विभागले जनाएको छ । भारत र चीनपछि अमेरिकन आरोहीको सङ्ख्या बढी छ । अमेरिकाका ४२ जनाले सगरमाथा आरोहण गरेका छन् । संयुक्त अधिराज्य बेलायतका २९ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सगरमाथा आरोहण गर्नेमध्ये ६७ जना महिला आरोही छन् । जसमा सबैभन्दा बढी १८ जना चिनियाँ महिला आरोही छन् । नेपाली महिला आरोही ६ जनाले सगरमाथा चढेको विभागको तथ्याङ्क छ । नेपालसहित ४९ देशका आरोहीले सगरमाथा आरोहणमा गएका थिए । जसमध्ये छ मुलुक संयुक्त अरब इमिरेट, कोरिया, स्पेन, डोमिनिकन रिपब्लिक, इरान, पेरु र रिपब्लिक अफ बोत्स्वानाका आरोही सगरमाथा चढ्न असफल भएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस यामको सगरमाथा आरोहणका क्रममा आठ जनाको मुत्यु भएको र एक जना हराइरहेको पनि विभागले उल्लेख गरेको छ । रासस