विकासन्युज

प्रोग्रेशिभ फाइनान्सका सञ्चालक श्रेष्ठ बर्खास्त, किन भए अयोग्य ?

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेड सञ्चालक समितिका सदस्य रणदेवकृष्ण श्रेष्ठ बर्खास्त भएका छन् । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत विशाल हुमागाईँले नेपाल स्टक एक्सचेञ्जलाई सञ्चालक समितिका सदस्य श्रेष्ठ सञ्चालक पदमा बहाल रहन नसक्ने पत्र लेखेका छन् । सञ्चालक समितिको असार २ गतेको बैठकको निर्णय अनुसार सञ्चालक समिति सदस्य श्रेष्ठ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १८ को उपदफा १(घ) मा भएको व्यवस्था लागु हुने देखिएको सञ्चालक रहन नसक्ने पत्रमा उल्लेख छ । सोही ऐनको दफा १९ मा सञ्चालक पदमा बहाल रहन नसक्ने अवस्था अन्तरगतको उपदफा १(क) अनुसार श्रेष्ठ सञ्चालक सदस्यका रुपमा रहिरहन नमिल्ने देखिएको भन्दै नेप्सेलाई जानकारी गराइएको छ ।

आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने, प्रवेश निशुल्क

काठमाडौं । आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने भएको छ । जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाइने हुदाँ सोही दिन पारेर पोखरामा पनि योग शिविरको आयोजना गर्न लागिएको आर्ट अफ लिभिङ पोखराका संयोजक विश्वमोहन अधिकारीले बताएका छन् । संयोजक अधिकारीका अनुसार शिविर बिहान ६ बजेदेखि बेलुका ७ बजे सम्म केदारेश्वर मन्दिर परिसर मैदानमा हुनेछ । योग शिविरलाई भव्य रुपमा सम्पन्न पार्न विभिन्न उप–समितिहरु गठन समेत गरी तयारीलाई तिव्र पारिएको छ । आर्ट अफ लिभिङको कोर्ष अनुसार योग शिक्षकले नै सहभागीलाई योग सिकाउनेछन् । योग शिविरमा सहभागी हुने सबैलाई प्रवेश निशुल्क गरिएको जनाइएको छ । शुक्रबार हुने उक्त योग शिविरमा बढीभन्दा बढी सहभागी जुटाउन आर्ट अफ लिभिङ पोखराले आइतबारबाट पोखरा क्षेत्रका विभिन्न स्कुल, कलेज, धार्मिक संघ संस्थामा योग शिविरको प्रचार प्रसार गर्दै शिविरमा सहभागीतालाई आग्रह गरेको छ । हालसम्म विश्वभर १५५ देशमा आर्ट अफ लिभिङका सेन्टर स्थापित छन् । यसका गुरु रबिशंकर हुन् । पोखरामा मात्र करिब १८००० जनाले आर्ट अफ लिभिङको कोर्ष लिइसकेका छन् । हालैमात्र आर्ट अफ लिभिङ पोखराले अध्यात्म, उद्यमशिलता र गतिशिलता विषयक ४ दिने यूवा परियोजना सञ्चालन गरिसकेको संयोजक विश्वमोहन अधिकारीले बताएका छन् ।

कलंकी मालपोत कार्यालय नमूना घोषणा, लिन चाहेको सेवाबारे घरैमा बसेर जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरेका छन् । अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ । आज आयोजित घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले विकास र सेवाका कार्यमा प्रविधिको अधिकतम उपयोग गरी सेवाग्राहीलाई छिटोछरितो सेवा दिने नीति सरकारले लिएको बताउँदै मुलुकलाई समृद्ध बनाउन भूमिमा आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । जनताको सहजतालाई ध्यान दिन निर्देशन दिँदै उनले भने,“प्रविधिले सेवामा सहज, सुगम, पारदर्शिता ल्याउँछ, यसले उत्पादकत्व वृद्धि गर्छ, कृषि, औद्योगिकलगायत क्षेत्रमा यसको समुचित प्रयोग गरिनुपर्छ । जैविक विविधताले भरिपूर्ण मुलुकमा प्रकृतिले उपलब्ध गराएका हिमाल, तालतलैया, नदी, झरनालगायत स्रोतसाधनलाई उपयोग गरी देश विकास गर्न सकिने उनको भनाई थियो । सरकारले आगामी वर्ष सन् २०२० मा २० लाख पर्यटक पुर्याउन भ्रमण वर्षसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको बताउँदै आफूले फ्रान्स भ्रमणका समयमा यसबारे प्रचार गरेको जानकारी गराए । सो अवसरमा भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सरकारले जनताको सम्पत्तिलाई रक्षा गर्ने उद्देश्यले भूमि प्रशासनमा जग्गाका स्रेस्तालाई डिजिटलाइज्ड गरेको बताउँदै उक्त प्रणालीलाई आगामी दुई वर्षभित्र स्थानीय तहमा हस्तान्तरण गरिने जानकारी दिए । उनले जनताका काम परिरहने मन्त्रालय मातहतका सबै कार्यालयमा पारदर्शी रुपमा चाँडो काम हुने खालको परिवर्तन सेवाग्राहीले चाहेको बताए । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मालपोत कार्यालयमा सेवाग्राहीलाई सबै सुविधा एकद्वार प्रणालीअन्तर्गत उपलब्ध गराउन आजदेखि नमूना कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि भुर्तेलले अनलाइन सेवा प्रारम्भ भएपछि सेवाग्राही लाभान्वित भएको बताउँदै अहिले राजश्व सङ्कलनमा देखिएको वृद्धिले चालु आवमा ४० अर्ब राजश्वको प्रक्षेपण गरिएको जानकारी दिए ।

कञ्चनपुरको महेन्द्रनगरमा महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी

काठमाडाैं । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा बुधबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाए । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई विकेट तथा कविता जोशीले एक विकेट लिएका थिए  भने तीन खेलाडी रन आउट भएका छन् । लक्ष्य पूरा गर्न ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले  एक विकेट लिएकी थिइन् भने खेलको म्यान अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो । रासस

बिपी राजमार्गका होटलमा खाद्य स्वच्छता स्टिकर टाँसियाे,अधिकांशले पाए पहेँलो रङको स्टिकर

काठमाडाैं । बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसेको हो । राजमार्ग भएर सवारी भित्रने र बाहिरिनेको सङ्ख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धामा होटल खुल्ने क्रम बढ्दै जाँदा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै खाद्य स्वच्छता स्टिकर टाँसिएको हो । स्टिकरमा थोरैले मात्र खाद्य स्वच्छतामा राम्रो अङ्क प्राप्त गर्दै उक्त स्टिकर पाएका छन् । अधिकांश होटलले भने पहेँलो रङको स्टिकर पाएका छन् । डिभिजन कार्यालय सिन्धुलीले चियाबारीका २१ र खुर्कोटका २५ वटा होटलमा अहिलेसम्म खाद्य स्वच्छता स्टिकर टाँसेको कार्यालय प्रमुख प्रेम अर्यालले जानकारी दिएका छन् । पटक पटकको अनुगमन पछि खाद्य स्वच्छता स्टिकर टाँसिएको हो । उनले भने, “सिन्धुली चियाबारीका २१ होटलले पहेँलो स्टिकर पाएका छन्, जुन होटलमा लगाइएको स्टिकरले खाद्य स्वच्छताको दृष्टिकोणले सरसफाइ र होटलको व्यवस्थापनमा कमी भन्ने अर्थ लगाउँछ, हरियो रङको स्टिकर पाउने होटलमा उपभोक्ताले निर्धक्क खान सक्छन् ।” खुर्कोटमा होटलको अनुगमन गर्दा २५ होटलमा स्टिकर टाँसिएको र १५ वटा दर्ता बिना सञ्चालनमा रहेको पाइएको थियो । अब १५ वटा होटलमा स्टिकर टाँस्न बाँकी छ । “खुर्कोटका होटलमा भने पहिलाको अवस्थाभन्दा अहिले उल्लेख्य सुधार आएको पाएका छौँ”, कार्यालय प्रमुख अर्यालले भने । यसैगरी, खुर्कोटमा सात होटलले दुई स्टार भएको हरियो, १० वटाले एउटा स्टार भएको हरियो र आठ वटा होटलले पहेँलो रङको स्टिकर पाएका छन् । तीनवटा हरियो स्टिकर खाद्य स्वच्छताको स्तरमा क–अति उत्तम, ख–उत्तम, ग–सन्तोषजनक र पहेँलो रङको घ– सामान्य स्टिकर हुन् । तीनवटा हरियो स्टिकर रहेका होटलमा खाना निर्धक्कसाथ खान सकिने र पहेँलोमा खाना खान सोचेर मात्र खानुपर्ने भन्ने जनाउँछ । स्टिकर टाँस गर्न होटलको स्तरीकरण ५० वटा सूचकका आधारमा तयार गरिएको छ । डिभिजन कार्यालयले होटल स्तरीकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम गरेको मूल्याङ्कनमा होटलले सरसफाइ र खाद्य स्वच्छतामा सुधार गर्नुपर्ने देखिएको बताइएको छ । मूलकोट र भिमानलगायत अन्य क्षेत्रका होटलमा स्टिकर टाँस्ने जनाइएको छ । होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष अमृतबहादुर श्रेष्ठको संयोजकत्वमा जेठ १ गते खाद्य स्वच्छतास्तरीकरण समिति गठन गरिएको थियो । समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली, स्थानीय जनप्रतिनिधि सदस्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली सदस्य सचिव छन् । सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले होटलमा स्टिकर टाँस गर्दै स्तर सुधार गर्न आग्रह गरेका छन् । मापदण्डमा सञ्चालन नभएका होटललाई स्तर सुधार गर्न केही समय दिइने र त्यसपछि पनि सुधार नगरे कारवाही गर्ने उनले बताएका छन् । पछिल्लो समयमा राजमार्गको विस्तारसँगै सवारीको चाप बढ्दै जाँदा दिन प्रतिदिन होटलको सङ्ख्यामा वृद्धि भएको र गुणस्तरहीन खाना, खाजा खुवाएको भन्ने गुनासो आएकाले विभिन्न निकायसँग सहकार्य गरेर अनुगमन गरिएको उनको भनाइ थियो । होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष श्रेष्ठले होटल व्यवसायीको हितका लागि होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको बताएका हुन् । व्यवसाय सञ्चालन गर्दै गर्दा नियममा रहेर गर्नुपर्ने भन्दै उनले व्यवसायीले गुणस्तरीय व्यवसायको सन्दर्भमा काम गर्न आग्रह गर्दै कम्तीमा पनि खाद्य स्वच्छताको मापदण्ड पूरा गर्न व्यवसायीलाई आग्रह गरेका छन् । रासस

गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघरमा ठूलै जमघट

काठमाडौँ । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् । सभामा ठूलो संख्यामा उपस्थिति देखिएको छ । सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको माग गरेका हुन् । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मङ्गलबार विधेयक फिर्ता लिइएको निर्णय सार्वजनिक गरेकी थिइन् । उनले सो विधेयकलाई लिएर जनसमुदायमा भ्रम उत्पन्न गराउने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोसिस भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिएकी थिइन् ।

तोकिएको समय सकिएको डेढ महिना हुँदा पनि निर्माणाधीन पुल सम्पन्न हुन सकेन, आयोजकलाई कालोसूचीमा राख्न माग

काठमाडाैं । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा निर्माण गरिने पुल विसं २०६९ चैत २३ गते ठेक्का लागेर २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरी काम थालिएकामा २०७५ चैतमै सम्पन्न गर्नुपर्ने समय सकिएको छ । फोक्सिङटारमा निर्माणाधीन पुल सम्पन्न गर्नुपर्ने समय सकिएको डेढ महिना बित्दा करिब ३० प्रतिशत मात्र काम भएको पाइएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र नं १ का आयोजना प्रमुख कैलाश साहले बताएका छन् । आयोजना प्रमुख साहका अनुसार शुरुमा विसं २०७३ चैत २४ गतेसम्ममा पूरा गर्ने गरी ‘ससपेन्सन ब्रिज’ निर्माण गर्न विसं २०६९ चैत २३ गते ठेक्का लागेको थियो, तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको हो । करिब रु १९ करोड ६० लाखमा पूरा गर्ने गरी ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीले जिम्मा लिएको ‘आर्क’ डिजाइनको पुल निर्माणको काममा चरम ढिलासुस्ती देखिएको जिल्लावासीको गुनासो छ । हाल ढिलासुस्तीको कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरिएको छ । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार खोटाङ र पूर्वी शहर जोड्ने प्रमुख नाका हो । तर, जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने जयरामपछिको अर्को महत्वपूर्ण फोक्सिङटार पुल निर्माणमा कामको गति अत्यन्तै सुस्त देखिएको छ । डिजाइन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन । तर, पुलको नयाँ डिजाइन स्वीकृत भएयताको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीयवासी बताउँछन् । फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएकाले डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण शुरु गरिएको सडक विभागले जनाएको छ । बाढीका कारण पुल निर्माणको काम हरेक वर्षातकाे समयमा करिब चार महिना रोकिने गरेको छ । यसरी, ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गृहमन्त्रीसमक्ष २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारवाही गर्न माग गरेका थिए । शुरुका समयमा ढिलासुस्ती गरेको ठेकेदारले पछिल्लो समयमा चाहिँ पुलको कामलाई गति दिएको स्थानीयवासीले बताएका छन् । रासस

२७.५ मेगावाटको सुनकोशी मरिन ड्राइभर्सन आगामी आवबाट, ठेक्का प्रक्रिया नै ६ महिना लाग्ने

काठमाडौं । सरकारले पछिल्लो समय राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको सुनकोशी मरिन बहुउद्देश्यीय ड्राइभर्सन निर्माण कार्य आगामी आवदेखि शुरु हुने भएको छ । साढे २७ मेगावाट विद्युत सहित एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य सहित सिँचाइ विभागले पाँच वर्षअघि यो बहुउद्देश्यीय ड्राइभर्सन आयोजनाको गृहकार्य थालेको हो । हाल आयोजना निर्माणका लागि वातावरण प्रभाव मूल्यांकन( ईआईए) को काम भइरहेको आयोजना प्रमुख शुशीलचन्द्र आचार्यले जानकारी दिए । ‘फिल्ट काम सकिएको छ,’ उनले भने ‘अब छिट्टै सार्वजनिक सुनुवाइ गर्दैछौं ।’ आयोजना ठेक्का लगाउनेदेखि छनोट प्रक्रियासम्म ६ महिना लाग्न सक्छ । ठेकेदार छनोट पछि काम शुरु हुने आचार्यले बताए । आयोजना चार वर्षमा सम्पन्न गर्ने योजना आयोजनाले गरेको छ । प्रारम्भिक चरणमा उक्त आयोजना सम्पन्न गर्न करिब ८७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । सो लागतमध्ये विद्युत उत्पादनमा ५३ अर्ब र सिँचाइमा ३७ अर्ब खर्च गर्ने योजना थियो । यद्यपी विद्युतमा गरिएको लगात अनुमान ४२ मेगाका हो । विद्युत उत्पादन नै घट्ने भएपछि लागत पनि घट्ने आचार्यले बताए । प्रारम्भिक अनुमान साढे १४ मेगावाट घट्ने देखिएको छ । तराई मधेशमा सिँचाइ र विद्युतको सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ । उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टीबीएम) को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत पनि टीबीएम प्रविधिको प्रयोग गर्ने सोचमा सरकार लागेको छ । भेरी बबई डाइभर्सन आयोजनाको प्रगतिका आधारमा पनि सुनकोशी–मरिन डाइभर्सन आयोजना अगाडि बढाउन सकिने आधार र विश्वास पैदा भएकोे विभागका उपमहानिर्देशक कृष्ण बेल्बासेले बताए । टीबीएमको प्रयोगपछि सुरुङ खन्न थालिएको एक वर्षमै ७५ प्रतिशत बढी निर्माण सम्पन्न गर्न सकिन्छ । आयोजनामा कुल १२ दशमलब दुई किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ । आयोजनाबाट २ नम्बर प्रदेशका चार जिल्ला बारा, सर्लाही, रौतहट, धनुषा तथा महोत्तरीको एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ पुग्नुका साथै मरिन उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । परियोजनाबाट २ नम्बर प्रदेश आमजनतालाई खानेपानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको छ । लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भइसकेको छ । सिन्धुलीको खुर्कोट नजिक सुनकोशी नदीमा बाँध बाँधेर सुरुङमार्फत पानी मरिन उपत्यकामा खसालिने छ । आयोजनाले विकास र पुर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाइभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्न मद्दत पुग्ने बताइएको छ । योजना सम्पन्न हुन चार वर्ष लाग्ने आयोजना प्रमुख आचार्यले बताए । नेपालमा सनुकोशी मरिन ड्राइभर्सन वाहेक २१ वटा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा रहेका छन् ।