अप्रेशन क्लिन चितवन अभियान शुरू, दुई दिनमा ९३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ
काठमाडौं। चितवनमा लागु औषध नियन्त्रणका लागि चितवन प्रहरीले “अप्रेशन क्लिन चितवन अभियान” सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा आएका नयाँ प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले दुई अघिबाट “अप्रेशन क्लिन चितवन अभियान” तीव्र पारेका हुन् । जिल्ला र मातहतका कार्यालयमा एक साथ सुरु गरिएको अभियानको पहिलो दिन जिल्लामा १५ जना र अन्य ठाउँमा गरि ४० जना लागुऔषधका प्रयोगकर्ता युवाहरुलाई पक्राउ गरेको एसपी मल्लले जानकारी दिए । “चितवनलाई अपराध नियन्त्रणमा अन्र्तराष्ट्रियमा अलग पहिचान दिने सुरुवातमै उद्धघोष गरि सकेको छु एसपी मल्लले भने, अपराधको जड नै लागुऔषधबाट हुन्छ, यसकारण पहिलो प्रथामिकता राख्दै तल्लो तहबाट नियन्त्रण गर्न “अप्रेशन क्लिन चितवन अभियान” हो । अप्रेशन क्लिन अन्र्तगत अन्य अपराध नियन्त्रण र हिसां अन्त्यका कामहरु समेत आफुले गर्ने उनको भनाई छ । अभियान अन्र्तगत एसपीले पक्राउ गरेका ती युवाहरु आफै काउन्सीलिङ्ग गर्नेदेखि चुल्टेहरुको कपाल काट्ने सम्मको काम गरेका छन् । “अभिभावकले पनि आफ्ना बालबच्चा कहाँ गएका छन्, कस्ता मान्छेको संगत गरेका छन् भन्ने कुरा बुझ्न पर्यो उनले भने, बच्चाहरुको निगरानी गर्न पर्यो, त्यो भयो भने बल्ल लागुऔषध नियन्त्रण हुन्छ ।” पक्राउ परेका युवालाई एसपी मल्लले आफ्नै कार्यकक्षमा लागेर लागुऔषध नियन्त्रण बारेमा प्रशिक्षणसगैँ यसबाट हुने क्षति बारेमा जानकार बनाउने काम गरेका छन् । पक्राउ पर्नेमा १५ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरु छन् । उनीहरु रातको समयमा र एकान्तमा बसेर लागुऔषध प्रयोग गरिरहको वेला पक्राउ गरिएको प्रहरीको भनाई छ । जिल्लामा ६० प्रतिशत लागुऔषधको प्रयोगकर्ता रहेको तथ्याक छ । भने यसलाई शुन्यमा झार्ने गरि आफुहरुले अभियान तीव्र पारेको एसपी मल्लले बताए ।
भक्तपुर अस्पतालको बन्द सेवा पुनः सञ्चालन
काठमाडौं । कर्मचारी आन्दोलनका कारण बन्द भक्तपुर अस्पतालको सम्पूर्ण सेवा शुक्रबारदेखि सञ्चालनमा आएको छ । । वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रुपमा रहेको उक्त अस्पतालका कर्मचारीको आन्दोलनका कारण आकस्मिक बाहेक सबै सेवा बन्द भएको थियो । विगत तीनदिनदेखि अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाधेर ३५ कर्मचारी अस्पतालको प्राङ्गणमा धर्ना बसेका थिए ।अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपानेको नेतृत्वमा रहेको वार्ता टोलीले आन्दोलनरत कर्मचारीसँग छलफल गरी उनीहरूको माग पूरा गराउने सहमति गराएपछि बन्द सेवा सञ्चालनमा आएको आन्दोलनरत कर्मचारीे सङ्गठनका अध्यक्ष मदन द्यौलाले बताएका छन् । उनले विगत १० दिनदेखि जारी आन्दोलन भने फिर्ता नलिएको तर सेवा ठप्प पारेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भएकाले सेवा चालू गराइएको बताए । आन्दोलनरत कर्मचारीले शुक्रबार पनि हातमा कालो पट्टि बाँधेर काम गरिरहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेर निष्काशनको तयारी गरेको भन्दै २२ वर्षदेखि कार्यरत ३५ कर्मचारी आन्दोलनमा उत्रिएका थिए । रासस
प्रतिनिधिसभाकाे आजको बैठक, कसले के बाेले ?
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद इन्दुकुमारी शर्माले सरकारले शुरु गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम छिटो र सर्वसुलभ बनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभाको शुक्रबारको विशेष समयमा उनले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरेको स्वास्थ्य सेवाको हकलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुलभ बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद शर्माले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाहरुमा प्रभावकारी हुन नसकेको र सरकारी अस्पतालमा समेत छिटोछरितो नहुने गरेको भन्दै सबै सरकारी अस्पलतामा सहज र सर्वसुलभ तरिकाले सेवा दिन आग्रह गर्दै उनले सबै सरकारी अस्पतालमा निःशुल्क खानेपानीको व्यवस्था गर्नु पर्नेमा पनि जोड दिएकी छिन् । त्यस्तैगरी, सांसद राजेन्द्र गौतमले सङ्खुवासभामा केही दिनअघि आएको हावाहुरीका कारण ६० घरका कृषकको अलैँची खेती नष्ट भएकाले ती कृषकलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । सांसद प्रभु साहले रौतहट जिल्लामा घटेको १५ वर्षीय नाबालिकामाथि बलात्कार जस्तो जघन्य अपराधको घटनामा मिलापत्र गरेकामा आपत्ती जनाउँदै बलात्कार, हत्या, आतङ्कजस्ता कुरामा मिलापत्र गर्ने कार्यप्रति सरकारको ध्यान जानुपर्ने सुझाव दिएका छन् । अर्का सांसद मीना पाण्डेले सर्लाही जिल्लामा कुमार चौधरीलाई प्रहरीले समातेर हत्या गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय हत्याजस्तो गम्भीर प्रकृतिका मानव अधिकार हननका बढदै गएकामा चिन्ता व्यक्त गरे । अन्त्यमा, सांसद राधा ज्ञवालीले कृषि, सहकारी तथा प्राकृृतिक स्रोत समितिको बैठकमा तराईका अधिकांश जग्गा चौधरीको नाममा रहेको र ती जग्गाको मालिक भारतीय भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्तो विषयमा आफूले कुनै कुरा नभनेको स्पष्ट पारेकी छिन् । रासस
नक्कली प्रमाणपत्र बनाउने दुई गिराेह पक्राउ
काठमाडौं । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् । भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् । उनीहरुले सो पसलबाट विद्यालय तथा क्याम्पसहरुको नक्कली लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पराजुली र पौडेललाई बिहीबार पक्राउ गरेको हो । यसरी, नक्कली प्रमाणपत्र बनाउन प्रयोग गरिने एक थान कम्प्युटर र तीन थान प्रिन्टरसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखितसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
कृषि उत्पादन बढाउने उद्देश्यले कृषकलाई २९० पम्पसेट वितरण
काठमाडौं । समयमा वर्षात नभएर खेती गर्न नपाएका पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसानहरु गाउँपालिकाबाट पम्पसेट पाएपछि उत्साहित भएका छन् । उक्त गाउँपालिकाले सिँचाइ प्रवद्र्धन गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले २९० कृषकलाई राहत स्वरुप पम्पसेट वितरण गरेको हो । अनुदानमा गाउँपालिकाबाट पम्पसेट पाएपछि समयमा पर्याप्त वर्षा नभएका कारण रोपाइ गर्न नसकिरहेका कृषकहरु लाभान्वित भएको कृषक विजय पटेलले बताएका छन् । “हामी कृषकहरु पानीको अभावले समयमा खेती गर्न सकिरहेका छैनौ, जसले गर्दा उत्पादनमा ह्रास आउने समस्याबाट जुधिरहनुपरेको छ, अहिले गाउँपालिकाले कृषकहरुलाई समयमै खेती गर्न सक्ने र उत्पादन बढाउन सक्ने गरी पम्पसेट वितरण गरेर हामीलाई उत्साह थपेको छ ।” पटेलले भने । गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएर कृषकलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । कृषिको उर्वर क्षेत्र मानिने यस गाउँपालिकामा कृषिलाई आधुनिकीकरण र कृषकलाई व्यावसायिक कृषिमा उन्मुख गराउन पम्पसेट वितरण गरिएको गाउँपालिका अध्यक्ष दीपक गुप्ताले बताए । गाउँपालिकामा पश्चिम गण्डक नहर रहे पनि सबैको खेतमा सिँचाइ नपुग्ने भएकाले पम्पसेटको मद्दतले सिँचाइ गर्न सहज हुने साथै पानीको अभाव रहेको क्षेत्रमा पनि बोरिङबाट सिँचाइ गर्नका लागि पनि पम्पसेट वितरण गरिएको उनको भनाइ छ । पम्पसेट दीर्घकालीन उपाय नभएकाले आगामी दिनमा गाउँपालिकाले सिँचाइ उपलब्धताका लागि ठोस नीति बनाएर अघि बढ्ने अध्यक्ष गुप्ताले बताएका छन् । पानी नभए खेती नै हुन नसक्ने र चर्को मूल्य तिरी बोरिङको पानीबाट सिँचाइ गरिरहेका किसानलाई यसले ठूलो राहत पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलको भनाइ छ । सरकार र कृषकको ५०÷५० प्रतिशत लागत सहभागिताबाट नै पम्पसेट वितरण गरिएको हो । उनका अनुसार गाउँपालिकाको रु ४३ लाख ७५ हजार, प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १५ लाख गरी रु ५८ लाख ७५ हजार सरकारको अनुदान र थप ५८ लाख ७५ हजार कृषकको लगानी गरी रु एक करोड १७ लाख ५० हजारको बजेटबाट पम्पसेट किसानलाई वितरण गरिएको हो । ६ वटा वडा रहेको यस गाउँपालिकाका प्रत्येक वडामा कम्तीमा ३५ जनाको दरले पम्पसेट वितरण गरेको छ । सूचना प्रकाशित गरी छनौट भएका कृषकहरुलाई पहिलो चरणमा भने १५८ जनालाई वितरण गरिएको अधिकृत पौडेलले बताएका छन् । रासस
भ्याट छलि गर्ने १५ जनालाई ३ अर्बको बिगो र ३ वर्ष कैद सहित राजस्वको मुद्दा
राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) छलि गर्ने १५ जनालाई ३ अर्बको बिगो सहित मुद्दा दायरा गरेकोे छ । नक्कली विजक प्रयोग गरी राजस्व छलि गर्ने सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं ९, वलाहा स्थायी ठेगाना भइ हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नपा वडा नं. ३, ठिमी टेर्साटार बस्ने वर्ष ४९ का गोपाल प्रसाद भट्टराईसहित १५ जनालाई विभागले मुद्दा दर्ता गराएको हो । तीन वर्ष कैद सजाय र दुई अर्ब ९८ करोड ५७ लाख बिगो असुल उपर हुने गरी काठमाडौं जिल्ला अदालत असार ५ गते मुद्दा दायरा गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । प्रतिवादीहरुले दिएकोे बयान, विभिन्न बैक तथा फाईनान्सबाट प्राप्त स्टेटमेन्ट लगायतका कागजातहरू, आन्तरिक राजस्व विभागमा पेश गरेका भ्याट तथा आय विवरणहरु समेतबाट प्रतिवादीहरु विनोद धमाला, सन्तोष कुमार कार्की, मेघ बहादुर श्रेष्ठ, धन बहादुर भोम्जन, भरत बहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला र पार्वती सुचिकार समेतका नाममा विभिन्न ८ वटा फर्महरु दर्ता गराइ राजस्व छलि गरेका हुन् । वास्तविक बस्तु तथा सेवाको खरिद बिक्री कारोबार नै नगरी झुठ्ठा बिजक तयार गरी राज्यलाई तिर्नुपर्ने राजस्व नतिरी फर्मको आर्थिक कारोवार गर्ने व्यक्तिहरू गोपाल प्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले राजस्व चुहावट गरेको देखिएको विभागले जनाएको छ ।
एक घण्टामै सकियो नेपाल इन्भेष्टमेन्ट बैंकको एसजीएम
काठमाडौं । शुक्रबार नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा(एसजीएम) सम्पन्न भएको छ । बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त सभा शुरु भएको एक घण्टा अर्थात ११ बजेनै सम्पन्न भएको हो । उक्त सभाले बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति(एक्विजिशन) गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको छ । यससँगै फाइनान्सको १०० कित्ता सेयर हुने सेयरधनीले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउने छन् । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५९ करोड रुपैयाँ र जेबिल्स फाइनान्सको चुक्ता पुँजी ८४ करोड रुपैयाँ रहेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी १२ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ । साथै, बैंकको कुल निक्षेप १४७ अर्ब रुपैयाँ र कर्जा १३२ अर्ब रहने छ । फाइनान्सको प्राप्तिपछि पनि बैंकका संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहने छ । त्यस्तै, प्राप्ति पछि बनेको इन्भेष्टमेन्टको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने कम्पनीले जनाएको छ । हालसम्म बैंकले उपत्यका भित्र २३ र बाहिर ५७ वटा गरी कुल ८० वटा शाखा संचालनमा ल्याईसकेको छ ।
८ अर्ब १० करोड डलरको हतियार साउदीलाई बिक्री गर्ने ट्रम्पकाे अडान
वासिङ्टन ।अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अेरेबियालाई अमेरिकी हातहतियार बिक्री गर्ने अडान राख्दै आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियासँग करिब ८ अर्ब १० करोड अमेरिकी डलर बराबरको हातहतियार बिक्रीमा सहमति जनाएकाे छ । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घण्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय गरेको हो । अमेरिकी संसदको माथिल्लो सदनमा रिपब्लीकन र डेमोक्र्याट्स पार्टीका सांसदहरुले साउदी अरेबियालाई हतियार बिक्री रोक्नुपर्ने विधेयकमा मतदान गरेका थिए । उक्त विधेयक ५३–४५ ले पारित भएको थियो । मध्यपूर्वका मुलुकमा तनाब उत्पन्न भएकै समयमा अमेरिकी सिनेटमा यस्तो मतदान भएको हो । राष्ट्रपति ट्रम्पले अमेरिकी तल्लो सदन कङ्ग्रेसलाई बेवास्ता गर्दै मध्यपूर्वको क्षेत्रीय स्थायित्वमा असर पर्न थालेको जनाउँदै साउदी अरेबियालाई हतियार बिक्री गर्ने आदेश दिएको हो कङ्ग्रेसले यमन संकटका सन्दर्भमा साउदी अरेबियालाई हतियार बिक्री गर्न नहुने भन्दै एक विधेयक पारित गरिसकेको छ । तर उक्त विधेयकलाई राष्ट्रपति ट्रम्पले गत अप्रिलमा विशेषाधिकार (भिटो)प्रयोग गरी अस्वीकार गरे । संयुक्त राष्ट्रसंघले यमनमाथि भएको साउदी गठबन्धनको आक्रमणबाट यमनमा मानवीय संकट उत्पन्न भएको जनाएको छ । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले बताए। बेलायती एक अदालतले सरकारमाथि हतियार बिक्रीका सन्दर्भमा पुनर्विचार गर्न केही दिनअघि आदेश दिएको पनि मन्त्री फक्सले जानकारी दिएकाे छ । “हो, हामीलाई अदालतको आदेश चित्त बुझेको छैन र उच्च अदालतमा हामी अपिल गर्ने तयारीमा छौं,” मन्त्री फक्सले विज्ञप्तिमा मार्फत तर उनले साउदी अरेबिया र उसका साझेदार मुलुकलाई यमनी द्वन्द्वमा प्रयोग हुनेगरी हातहतियार बिक्री स्थगित गरिएको बताए । । बेलायतले यमनी द्वन्द्व शुरु भएको सन् २०१५ यतामात्र करिब ६ अर्ब ४० करोड अमेरिकी डलर बराबरका हातहतियार साउदी अरेबियालाई बिक्री गरेको छ । जर्मनीले पत्रकार जमाल खशोग्जीको हत्यापछि सन् २०१८ देखि नै साउदी अरेबियालाई हातहतियार बिक्री गर्न छाडेको छ । जर्मनीले युरोपेली युनियनमा आबद्ध मुलुकहरुलाई पनि साउदी र यसको गठबन्धनका मुलुकलाई हतियार बिक्री रोक्न आह्वान गरिरहेको छ । रासस एएफपी